Loading... आजः २४ कार्तिक २०८२, आईतवार । Sunday 9th November 2025
ताजा खबर
  

तीज बिषेस मेला सम्पन्न

सुर्खेत ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व हिजो देवादिदेव महादेवको पूजा आराधना गरी मनाइयो । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित महिला पुरुषले गुण सम्पन्न वर वधु पाउने मान्यता छ ।

सुर्खेतमा बागिना समूहको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । विभिन्न व्यापारीहरुले प्रायोजन गरेको कार्यक्रम उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका उप्रप्रमुख देवी भट्टराई र वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाललाई सम्मान गरिएको थियो ।

कार्यक्रम बागिना समुहका अध्यक्ष गोबिन्द कोइराला, गंगा केसी, प्रेमदेव गिरी, कूलमान नेपाली, देवराज गिरी, रामबहादुर बुढा, ज्ञान बहादुर नेपाली लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम कलाकार प्रकाश शाहीले सहजीकरण गरेका थिए ।

तीजको महिमा

महिलाहरुले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत चिनिएको हरितालिका (तीज) विहिवार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । विशेष गरी छोरी चेलीहरु माइतीमा आउने र वर्षदिन भर घरमा परिवारका अन्य सदस्यबाट गरिएका राम्रा नराम्रा व्यवहारहरुलाई गीतको माध्यमबाट पोख्दै मनलाई हलुका बनाउने पर्वका रुपमा रहेको यो पर्व पछिल्लो समयमा भने परिवर्तन हुँदै गएको छ । प्रविधिको विकास, सामाजिक एवम् व्यवहारिक रुपान्तरसँगै आम मानिसमा आएको चेतना र शिक्षाको कारणले पनि अहिले पहिलेको जस्तो दुःख पीडाका गीतहरु भन्दा समय सापेक्ष गीतहरु बजारमा आउने गरेका छन् । अझैँ केही उछृङ्खल गीतहरु बजारमा आएकोले गीतको गीत भन्दा पनि अश्लिल ढंगबाट प्रस्तुत गीतले तीज विगारेको दोष लगाउँछिन् वीरेन्द्रनगर ११ कि हरिमाया थापा । उनले भनिन् – हामी जवानी हुँदा तीजमा गाइने गीतहरुले अभिभावकहरुको आँखा रसाउथे तर अहिले हस्यौली र ठट्यौली बाहेक अरु केही देखिन्नन् त्यसैले तीज आएको र नआएको केही फरक लाग्दैछ । उमेरले तीन बिस पुगेकी हरिमायाको जस्तै अनुभव छ कलावती खत्रीलाई पनि ।

धार्मिक शास्त्र अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरित विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरेकी थिइन । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।


संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरियो नभई हरण गरिएको हुने शास्त्रमा उल्लेख गरिएको छ । संस्कृत ब्याकरणको ‘हृञ् हरणे’ धातुमा ‘क्त’ प्रत्यय लागेर बनेको ‘हरित’ शब्दको अर्थ हरण गरेको हो ।


तीजमा बसिने ब्रत तीन किसिम रहेको शास्त्रमा उल्लेख छ । जस अनुसार ‘निराहार’ , ‘जलाहार’ र ‘फलाहार’ गरी व्रतका तीन किसिम छन, सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम शास्त्रमा उल्लेख छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ । श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार पनि यो सत्य भने होइन ।