Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

अब कहाँ पुग्ला गेहेन्द्रको यात्रा

राजनीतिलाई मूल नीतिको रुपमा विकास गरेका देशहरुले भौतिक, आर्थिक र सामाजिक विकासको पाटोमा समेत धेरै फड्को मारिसकेका छन् । राजनीतिक क्षेत्रमा लागेर देशको उच्च पदमा पुगेर आफ्नो राजनीतिक यात्राको सफलता प्राप्त गरिसकेका विभिन्न मुलुकका राजनीतिक व्यक्तित्वहरु हाम्रो देशका राजनीतिज्ञहरु जस्तो आर्यघाटमा पुग्ने बेलासम्म राजनीतिक पदमा बसिरहेका भने हुँदैनन् । तर हाम्रो देशमा आर्यघाट पुग्ने बेलासम्म पनि फलानो पार्टीको सभापति वा फलानो समितिको सभापति वा फलानो मन्त्रालयको मन्त्री भनिरहनु पर्ने अवस्था छ । अमेरिका जस्तो सम्पन्नशाली देशका राष्ट्रपतिहरु पनि राजनीतिक सफलता प्राप्त भइसकेपछिको जीवन विभिन्न विश्वविद्यालयहरुमा प्राध्यापक पेशामा संलग्न भएका छन् ।

नेपालमा सामान्य रुपमा हेरिने प्राध्यापकलाई विश्वका अन्य देशहरुमा निकै महत्वका साथ हेरिने गरिन्छ । तर हाम्रो देशमा प्रधानमन्त्री भइसकेका व्यक्तिले ‘मर्न नसकेकाहरु शिक्षक बन्छन्’ भन्ने अभिव्यक्ति दिएका कुरा बेला मौकामा पत्रिकामा विवादित रुपमा प्रकाशित हुने गरेका छन् । पढेर विद्वता हासिल गरेकाहरु पनि राजनीतिमा नलागेका होइनन् । कुनै दिन डा. बाबुराम भट्टराईको नाम सुन्ने बित्तिकै नेपाली जनताले गरेको आशा र भरोसालाई जब उनी देशको अर्थमन्त्री बने तब उनले झन ठूलो आशा र विश्वास दिलाउन सके । अधिकांश नेपालीहरुको मुखमा झुण्डियो उनको नाम । धेरै नेपालीहरुले कामना गरे बाबुराम जस्तो मान्छे प्रधानमन्त्री बनेको भए यो देशले काँचुली फेर्ने थियो । तर जब उनी प्रधानमन्त्री भए तब नेपाली जनताले देखेको सपना र गरेको आशा र विश्वास बालुवाको घर जस्तै क्षणभरमै चकनाचुर भयो । उनको पालामा काठमाडौमा दुई चार घर भत्किनु र भत्काउनु बाहेक अरु माखो मरेन ।

आफ्नै पार्टीमा मन मिलाउन नसकेर नयाँ शक्तिको नाममा अगाडि बढेका उनी अहिले सबैले साथ छोड्दै गएपछि पुरानो शक्तिमा जाउँ कि दिल्लीको शरणमा परौँ भन्ने अवस्थामा पुगेका छन् । देशले मात्र नभई दक्षिण एसियाले समेत विश्वास गरेको नेताको यस्तो हालत हुन्छ हाम्रो देशमा ।
कुनै बेलामा बिबिसी नेपाली सेवामा निकै आक्रमक तरिकाले प्रस्तुत हुने स्पष्ट वक्ता, खोज र अनुसन्धानमा निकै दख्खल राख्ने प्रतिभावान पत्रकार रविन्द्र मिश्र । उनले गरेका प्रश्नको उत्तर दिन हाम्रो देशका नेताहरुलाई हम्मे हम्मे पर्ने । ढाँट र छल गरेर उत्तर दिन्छु भन्ने नसोचे पनि हुने उनीहरुले किनकी रविन्द्र मिश्र यति धेरै भित्रसम्म पुगेर प्रश्न गर्ने गर्दथे कि नेताले बोलेको झुठलाई उनले स–प्रमाण यो त यो झुठ हो भनेर जहाँको त्यही प्रमाणित गरिदिन्थे । त्यसैले उनले बिबिसीमा हाइ हाइ हुने मौका पाएका हुन् ।

बिबिसीको जागिर छोडेर नेपाली राजनीतिमा साझा पार्टीको नाम दिँदै आएका रविन्द्र मिश्रले के राजनीतिमा पनि त्यत्तिकै सफलता प्राप्त गर्लान त ? यो प्रश्नको उत्तर रविन्द्र मिश्रले पनि तीन करोड नेपालीलाई चित्तबुझ्दो ढंगले दिनसक्नु पर्छ । उनले दिने उत्तर बिबिसीमा नेताहरुले दिएको जस्तो उत्तर होइन उनले नेताहरुलाई सोधेको प्रश्नको जस्तो उत्तर आउनु पर्छ । कारण सहितको । तर्क सहितको ।

कुनै समयमा सुर्खेतमा विग्रेका भत्केका र सुषुप्त रुपमा रहेका विद्यालयहरुलाई सुधार गर्नु पर्ने भयो भने सुर्खेतको शिक्षा क्षेत्रले गेहेन्द्रप्रसाद दहालको नाम अग्रपंक्तिमा राख्ने गर्दथ्यो । विशेष गरी उनले जनसेवा माविलाई सफल विद्यालयको रुपमा निर्माण गरेको इतिहास सुर्खेतीहरुका अगाडि कसैले वर्णन गरिराख्नु पर्दैन । जनसेवा माविमा गरेको उन्नती र प्रगतिको सिको गर्दै श्री कृष्ण संस्कृत मावि इत्राममा ल्याईएका गेहेन्द्रले इत्राम विद्यालयमा जादुको छडीले फु मन्त्र गरे झैँ परिवर्तन गरे । जसको कारणले उनको जीवनमा अर्को ठूलो सफलता प्राप्त भयो ।
शिक्षक जीवनमा उनले कमाएका सफलताका ईटाहरु र जेसिसको राष्ट्रिय अध्यक्ष भएको बेलामा कमाएको इज्जत र सम्मानले गेहेन्द्रलाई हाइ हाइ गर्नेहरुको कमी भएन ।

राजनीतिक पद ओगट्दै शिक्षक भइरहनु राम्रो होइन भन्ने तर्कका साथ प्रस्तुत भएका गेहेन्द्रले शिक्षक पेशामा सफलता प्राप्त गरेकै हुन् । तर भरखरै सम्पन्न भएको स्थानीयतहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदका लागि अघि सरे । त्यसमा उनका आलोचकदेखि समर्थकसम्म देखिए त्यो स्वभाविक पनि थियो ।

तर भरखरै उनी रविन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीको छ नं. प्रदेशको संयोजक बनेका छन् । ‘हामी नष्ट हुन्छौ तर भ्रष्टा हुँदैनौ’ भन्ने मूलमन्त्रका साथ अगाडि बढेका रविन्द्र मिश्रको विवेकशील साझा पार्टीले कति नेपालीको मन जित्न सक्ला ? त्यो त भविष्यले देखाउने नै छ । तर पछिल्लो समयमा संगठन विस्तारको कार्यमा लागेको विवेकशील साझा पार्टी र त्यसको प्रदेश संयोजक बनेका गेहेन्द्रको अगाडि ठूलै चुनौतिको पहाड खडा भएको छ । यो पहाडलाई भत्काउन त्यति सजिलो छैन । किनकी हिजोका दिनमा डा. बाबुराम भट्टराईलाई विश्वास गरेका जनताले अहिले उनलाई हेर्ने नजरमा परिवर्तन गरेका छन् । हिजोका दिनमा बिबिसीमा काम गर्ने बेलामा होस् अथवा कविता संग्रह विमोचन गर्दाका बखत रविन्द्र मिश्रलाई हेर्ने नेपाली जनताको नजर र अहिले राजनीतिज्ञको रुपमा आइसकेपछि हेर्ने नजरमा फरकता छ भन्ने कुरा रविन्द्र मिश्र स्वयम्ले राम्ररी बुझेका होलान् । त्यसैगरी हिजो शिक्षक हुँदाका बेलामा होस् कि जेसिसको नेतृत्व गर्दाका बखतमा होस् गेहेन्द्रलाई हेर्ने सुर्खेतीहरुको नजर र पछिल्लो समयमा राजनीतिज्ञको रुपमा हेर्ने नजरमा फरकता भएको गत स्थानीय तहको निर्वाचनले पनि देखाएको छ ।

हिजोका दिनमा जसरी सफलताको इतिहास रच्दै अगाडि बढेका थिए भोलीका दिनमा पनि त्यसरी नै अगाडि बढ्न सक्छन् कि सक्दैनन् गेहेन्द्र त्यो त भविष्यले देखाउने नै छ ।