Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

गीता नेपालीको उपन्यास ‘चाहनाको फूलबारी’

हामीले अघिल्लो वर्ष उपन्यासकार यामलाल गौतमको ‘भमरा नचिनेको फूल’ उपन्यास धाराबाहिक रुपमा प्रकाशित ग¥यौ । हाम्रा पाठकहरुले साहित्यको स्तम्भ निकै मन पराएर ढिदिनु भयो । अनि हामीलाई रचनात्मक सल्लाह सुझाव दिनुभयो । प्राप्त सल्लाह सुझाव अनुसार नै हामीले आज मंसिर ८ गतेको अंकदेखि उपन्यासकार गीता नेपालीको उपन्यास ‘चाहनाको फूलबारी’ धाराबाहिक रुपमै प्रकाशन गर्न शुरु गरेका छौ यहाँहरुको सल्लाह सुझावको प्रतिक्षा गर्दै हामीलाई यो उपन्यास उपलब्ध गराउनु हुने स्रष्टा गीता नेपालीप्रति आभारी छौ । पाठकहरुको सहजतालाई ध्यानमा राखी यहाँपनि निरन्तर प्रकाशन हुने जानकारी गराउँदछौ । – सम्पादक

अनिश्चित कालमा गुज्रिएको मानव चोला कहिले उकाली कहिले ओराली, कहिले घाम कहिले छायाँ, सुखको श्वास फेर्न नपाएर संसार छोड्छ विचरो प्राणी ।
सूर्यले धर्तीमा सुनौलो बिहानीको किरण बिस्तारै छोडि रहेको छ , नयाँ जोस र जाँगरसँगै सुनौला सपनाका आशाहरु बोकेर सम्पूर्ण चेतनशील प्राणीहरु आआफ्ना कार्यमा व्यस्त हुँदै छन् ।
त्यसमाथि चन्द्रिका नगरका मान्छेहरु अझ बढी परिश्रम गर्छन् ।
चारैतिर हरियाली वातावरण करिब सय भन्दा धेरै सुन्दर घरहरु भएको यो नगरमा प्रभात काकाको घर अरुको भन्दा अलि फरक छ ।
तल ठुलाठुला आठ ओटा दरार र दरार माथि पटरा बिछाएर काठै काठले बनाएको एउटा सुन्दर घर । घरको अगाडि सानो दुबी फुल, अलि छेउमा लालुपाते फुलको ठुलो बुटो बायाँतिर र दायाँतिरको साइडमा घन्टीफुलको ठुलो विरुवाले त्यो घरको अझ शोभा बढाएका छन् । घरको वरिपरि हरिया फुल चट्ट मिलाएर काटिएको छ ।
घरको दायाँ छेउबाट एउटा सानो बाटो वरिपरि फुलले नै छोपेको छ । त्यही साइडको अलि पर एउटा सानो झर्ना छ । झर्नाको माथितिर एउटा जङ्गल छ । झर्ना सानो पहाडको टुप्पाबाट खसेको छ । झर्ना खसेको तालमा हातले बनाएर राखे झंै ठुलाठुला चेप्टा पातला ढुङ्गाहरु छन् । झर्ना माथिबाट खस्ने वरिपरि हरिया सानासाना बिरुवाहरु झर्ना खस्दा आएको सङ्गीतमय धुनमा लप्प लप्प गरेर हल्लिँदै नाचेको जस्तो लाग्छ ।
तलाऊ बनेर तलतिर एउटा सानो खोला भएर बगेको छ । त्यही तलाऊमा जङ्गली बस्ने जनावर, कोइली, बाँदर, खरायो, जरायो, काग, गौँथली, भालु जस्ता पशुपन्छी आएर पानी खाने , नाच्ने रमाउने गर्छन् ।
हल्का पछाडिपट्टि भएर होला वातावरण निकै शीतल र रमणीय छ ।
त्यही वातावरण पशुपन्छी नै गीतिकाका मिल्ने साथीहरु भएका छन् ।
गीतिका एसएलसी पास गरेकीले +२ पढ्न सदरमुकाम जाने भएकी छ । घरमा आमाछोरी मात्र र बुवा सदरमुकाममा प्रहरी भएकाले नजिक बसेर पढ्ने सल्लाहले गाउँ छोडेर सदरमुकाम जान तयार हुन्छिन् तर असल मनका मित्र छोड्न साहै गाह्रो भएको छ ।
गीतिकाकी आमाले भनिन्– “गीतिका गीतिका, हैन यो केटी कहाँ गइछ, चिया सबै पोखिइ सक्यो ।” गीतिका– “हजुर, आमा आएँ…।” भन्दै भान्सा तिर दौडिएर चुलो माथि बसाली राखेको चियाको भाँडा उठाएर भुइँमा बसाल्दैँ–‘‘आमा छिटो चिया खान आउनुस् मैले खाएँ ।”
आमा ल, ल खा म खाँदिन, भन्ने आवाज आयो बाहिरबाट ।
गीतिका (नजिकै रहेको गिलास झिकेर चिया राख्दै) खान्छु म मात्रै । भन्दै दुबै हातमा गिलास समाती बाहिर पिँढीमा बस्दै कपाल कोर्दै गरेकी आमा नजिकै गएर ‘‘–अरे बा चिया खान पनि टाइम छैन त” ! भन्दै कपालको मुठा बान्छिन् । गीतिका हातको चिया पिँढीमा राख्दै ‘‘हजुरले चाहिँ चिया किन नखाएको त ?
आमाः मलाई हतार छ तिमीलाई त छैन नि)
गीतिकाः आमा तपाईँ भएर हतार भएको हो । म तपाईँको यस्तै चाला हो भने सदरमुकाम जाँदिन ।
आमाः ‘‘ए, पढेपछि तेरो भविष्य राम्रो बन्छ । फेरि मेरो के चिन्ता लिन्छेस् भोलि सबै तयार गर्न छ । तँ धेरै नकराएर चिया खा र मलाई पनि ल्या ।” मेरी डार्लिङ, मैले यही खोजेको त हो नि ।
आमा, म मेरा साथीहरुलाई भेट्न जान्छु । घरमा केही काम छ ?
हातको गिलास पिँढीमा राख्दै, ‘‘आमा आज मात्रै त होनि, पिलिज मामु ।’’
“ल ल छिटो आउनु ।”
हुन्छ भन्दै म दौडिएँ झर्नातिर । आमा आफ्नो र मेरो गिलास उठाउँदै सानो कुरामा पनि गीतिका धेरै खुसी हुन्छे भन्दै टाउको दायाँबायाँ हल्लाएर भित्र जानुहुन्छ ।
सूर्यले बिस्तारै किरण बढाउँदै गएकाले आकाश सफा देखिने यो समयमा हल्का हावा चलेकोले घाम चर्काे थियो, तर गर्मी थिएन । हरिया बोट विरुवाका पातहरु र डालीहरु बिस्तारै यतााउता हल्लेर शीतल प्रदान गरि रहेका थिए ।
झर्ना झरेको आबाजले झन वातावरणलाई सङ्गीतमय बनाइदिएको छ । त्यही तालमा मेरा साथीहरु तलाउमा नाच्दै छन् ।
म गुन्गुनाउँदै, तलाउको छेउँमा बस्दै यताउति हेरेँ ।
मलाई देख्ने बित्तिकै माथि डाँडाबाट खरायो हाम फालेर आयो । म हाँस्दै मेरो राजा भन्दै बसेको ठामबाट उठँे, खरायो नजिकै आयो । म दुबै हातले समातेर मुख नजिक सुम्सुम्याउँदै मेरो प्यारो भनेर एक चुम्बन गर्दै डाँडामा हेरेको त खैरी (बाँदर) र सानी (रातो) उफ्रीउफ्री मतिर आएको देँखे पछि म बिस्तारै बस्दै खरायो सेतीलाई छाडेँ । चराहरु भुर्र उडेर खै कहाँबाट तालको ढुङ्गामा बस्न आए । मैले उनीहरुलाई हेरिरहेको थिएँ । खैरी पछाडिबाट मेरो शरीरमा हाम फाल्यो । म बसेको ठाउँबाट लडेँ ।
म अझ बढी नाटक गरेर सुतिरहेँ खैरीले दुबै हातले उठाउन खोजी तर सकिन । सबै मेरो वरिपरि निरास भएर कोही बसे कोही उभिए । एक छिन वातावरण मौन भयो ।
एक छिन पछि मलाई केही भएकै छैन भनेर हाँस्दै उठेँ । सबै खुसीले उफ्रिन थाले ।
म कपाल मिलाउँदै भने अब एउटा खेल खेलम जसले मलाई छुन्छ त्यही राजा बन्छ भनेँ । म उभिएको ठाउँबाट दौडिन थालेँ ।
हामी आफ्नै सुरमा खेलिरह्यौँ, न भोक न शोक मात्र मस्ती छ ।
मलाई कसैले पनि छुन सकेन म खुसीले हाँस्दै दौडि रहेको थिएँ । मेरो खुट्टामा चोट लागेर रगत बगेको रहेछ, त्यो खैरी देखेर दौड्दादौड्दै बिचको ढुङ्गामा थचक्क बसेँ तर मैले त्यति वास्ता नगरी दौडिरहेँ । त्यसपछि खरायो पनि बस्यो । अझ म दौडिएँ सानी टक्क उभियो ।
के भयो मलाई छोउ न भनेर म उभिएँ ।
खैरी नजिकैको हरियो पात लिँदै आफूतिर आउन टाउकोले इशारा ग¥यो । म ओठ चलाउँदै के भयो भनेर नजिकै गएर बसेँ ।
एउटा हातले मेरो दायाँ खुट्टा समाउँदै बिस्तारै अझ आफूतिर तान्यो अनि बल्ल मैले मेरो खुट््टामा ध्यान दिएँ ।
चोट लागेर पनि रगत बगिरहेको थाहा भएन । सबै मेरो खुट्टा नजिकै बसेका छन् । खैरीले रगत पुछ्दै साथीलाई हावा लगाइदिने इसारा ग¥यो तर सबैले हावा लगाउन नसक्दा खैरीले सालको सुकेको पात उठाएर हावा लगाइदियो ।
खै कता कता धेरै माया लागेर आयो । म बसेको ठाउँमा पछाडि पल्टियो । मेरो हातको नजिक सानी थिई । त्यसलाई सुम्सुम्याएँ । यस्तो लाग्यो कि म उनको सन्तान हुँ जसले मलाई धेरै माया गर्छन् । सानीले मेरो हात चाटी ।
उनीहरुले बुझेपनि नबुझेपनि मनको कुरा खोल्न मन लाग्यो । म जुरुक्क उठेँ । चोटाएको खुट्टा खुम्च्याएँ खैरी र सेतीलाई सुम्सुम्याउँदै अब भोलि म सदरमुकाम जाँदै छु ।
तिमीहरु राम्रोसँग मिलेर बस्नु खेल्नु है ।
खैरी मेरो काखमा लम्पसार सुती र गहभरी आँसु निकाल्दै नजा भन्ने सङ्केतले टाउको हल्लाई ।
हरेक शुक्रबार म तिमीहरुलाई भेट्न आइहाल्छु नि ! भन्दै म सजिलिएर बसेँ ।
करिब करिब सूर्यले बिदा लिने समय भइ सकेको छ । समय बितेको थाहा नै भएन ।
आमा हतारिँदै घर जाने होइन ? आवाज अघि र आमा पछि आउनु भयो ।
म हतारिँदै उठेर जानै लागेको थिएँ ।
चुप, धेरै कुरा नवना । ल–ल जाउ ।
म गएँ सबैले मायाको नजरले मलाई हेरि रहे ।
म बेला बेलामा फर्किँदै हेर्दैगर्दा घर पुगेको थाहा नै भएन ।
बिस्तारै अँध्यारो बढ्दै थियो । दिनबाट रात तिर बिस्तारै पर्दै थियो । गाउँका मान्छेहरु सबै मेलापातबाट फर्कि सकेका थिए । सबैको घरमा पानी चुहाउने र आगो बाल्ने काम हुँदै छ ।
म कोठामा जान घर भित्र ख्वास्स पसेर मेरो कोठाको ढोका खोलेँ ।
खाना पकाउने होइन ? भन्दै भान्सातिर लागिन् ।
आज खानै मन छैन्, त्यसो भए बिहानको खाना तताएर खाउँ है ।
छिटो आऊ म तयार पार्छु । सदा झैँ खाना खाएर हामी सुत्न विस्तरामा पल्टियाँै ।
भोलि सदरमुकाम जाने कोही साथीहरु चिनेको छैन । सबै सामानहरु बुवाले मिलाए पनि आमा जस्तो कहाँ हुन्थ्यो र ?
फेरि बुवा बिहान गए साँझ, साँझ गए बिहान केही ठेगान छैन । यस्तै कुरा सोच्दासोच्दै कति खेर भुसुक्क निदाएँ छु । थाहै भएन । चारैतिर सुन सान थियो । मिर्मिरे उज्योलोमा आमा उठेर मेरो निम्ति नास्ता तयार गरिसक्नु भएछ । केही छिनपछि म उठेँ र बिहानको क्रियाकलाप (दाँत ब्रस गर्ने मुख धुने, ट्वाइलेट जाने) सकेर नास्ता खाई म जान तयार भएँ । म पनि गाडीसम्म जान्छु ।
हिँड भनेर मलाई अगाडि लगाउनु भयो ।
मलाई भने एक पटक झर्नामा गएर सबैलाई भेटेर आउन मन थियो तर आमाका अगाडि केही भन्न सकिन र पछिपछि लागँे । आमा टक्क उभि एर छिटो आन भनेको सुनेँ ।
मलाई यहीँबाटै छकाएर जान मन थियो । म कपाल मिलाउँदै छु तपाईँ हिँड्नुस न म आइहालेँ भने तर छकाउन सकिन । गाडी आयो छिटो आइज भनेको । गाडी रोकियो । आमाले गाडीको ड्राइभरसँग कुरा गर्दै भन्नुभयो नानुलाई राम्रोसँग लैजानु है ।
उ मुस्कुरायो मात्र ।
म गाडीमा नजिकै पुगेर, हुन्छ म जान्छु तपार्इँ घर जानुस् भनेँ ।
हुन्छ, राम्रोसँग जाऊ, गएपछि फोन गरे, लौ मोबाइल भनेर दिुनभयो । ‘‘अब यो तिम्रो भयो ।”
‘अब यो तिम्रो भयो’ । साह्रै खुसी लागेर मन चिच्याएको थाहा नै भएन । गाडी स्टार्ट भयो । “ल आमा म गएँ” गाडी भित्र छिरँे पछाडिको सिट खाली रहेछ त्यहीँ गएर बसेँ ।
ब्यागको गोजीमा हेरँे आमाले ३००० एक ठाउँमा र १०० एक ठाउँमा राखिदिनु भएको रहेछ । १०० रुयैयाँ झिकेर भाडा दिन समाति रहेँ । केही छिनमा भाडा माग्दै आएपछि कन्ड्क्टरलाई त्यो पैसा दिएँ गाडी गुडि रहेको थियो, म गाडीमा निदाएँछु ।
तिन घन्टा पछि झर्ने ठाउँ आयो म ओर्लिएँ । बुवा त्यहीँ नजिकै उभिएको ठाउँबाट म भएको ठाउँनिर मुस्कुराउँदै आउनु भयो म पनि बुवा तिर हेरी मुस्कुराएँ र हातमा ढोग दिए । एक छिन बसेर, सन्चो बिसन्चो आदान प्रदान भयो । राम्रो काम गर्न ढिलो गर्नु हुदैन । बुबाले भन्नु भयो कोठामा जाउँ ।
‘‘हिँड आज नै कलेज जानुपर्छ ।”
तिमी पढ्ने मात्र काम गर । अनि अरु काम मेरो, भन्दै बुवा ले रिक्सामा बसाउनु भयो र आफु पनि बस्नु भयो ।
सदरमुकाम गएर होला मान्छेहरु यताबाट उता उताबाट यता आवत जावत गरिरहेका थिए । गाडी भरी ताँतीको ताती भिडभाड थियो रङ्गी चङ्गी कहीँ गीत बजेको त कतै टिभी चलेको छ ।
धुलो धुवाँ पनि तीव्र रुपमा नै बढेको थियो ।
यताउता गर्दागर्दै मेरो कोठा आएको थाहा नै भएन । नजिकै रहेछ कोठा ! रिक्सा अडियो ।
बुवाले रिक्साको सामान उठाउँदै, झर भनेर आफू पनि झर्नु भयो । अनि सामान निकाल्दै पर्स निकालेर १० रुपैयाँ दिनु भयो र सामान बोकी अगाडिको निलो गेट खोलेर बुवा र म भित्र पसेर सुरुको कोठाको ढोकाको चाबी खोल्नु भयो ।
घर तिन तलाको रहेछ । वरिपरि घरैघर भएका निलो कलर रङ एकदमै सजिएको सिसै सिसाले बनेको । कास यो हाम्रो घर भएको भए…. ।
बुवाले कुकरबाट भात झिकेर थालीमा भात, दाल र टमाटरको अचार दिनु भयो । आफूले पनि खानु भयो र मलाई छिटो खान आग्रह गर्नु भयो ।
मलाई भने खानै मन थिएन । मन नभए पनि खाएर हात धुँदै भने । बुवा मलाई कलेज…विचमा कुरा काट्दै हाँत धुँदै बुवाले भन्नुभयो आज तिमीसँग म जान्छु । नजिकै छ । बिस्तारै थाहा पाउँछ्यौ, जाऊ तिमी तयार होउ ।
म कोठाबाट बाहिर त निस्किए तर कहाँ जाने थाहा छैन । बुवाले अगाडि बाथरुम छ भनेर आवाज मात्र पठाउनु भयो । म अगाठि बढँे दायाँ तिर बाथरुम ट्वाइलेट लेखेको देखेर म ढोका खोलेर भित्र पसेँ ।
धारा खोलेर मुख धोएँ । माथि ऐना र नजिकै एउटा डिब्बामा ब्रस र काइँयो देखेर मैले काइँयो झिकेर ऐना हेर्दै कपाल मिलाएर बाहिर निस्कँे ।
बुवाले ‘‘भएन ?” भन्दै बाहिरबाट भित्र जानु भयो । भईसक्यो बुवा जाऊँ भन्दै म बाहिर निस्केँ ।
म भित्रबाट मोटरसाइकलको हेल्मेट टाउकोमा राख्दै मलाई कालो ब्याग दिनु भयो । मैले हतारिँदै सोधैँ ‘के हो यो ?
बुवाले भन्नु भयो ‘‘किताब हो” ? म खुसी हुँदै हातमा लिएँ ।
हामी सर्र्र…. क्याम्पस पुगेर बुवाले मोटरसाइकल रोक्नु भयो र उ त्यही हो भनेर डेखाउनु भयो । म मुन्टो हल्लाउँदै अगाडि बढेँ ।
विद्यार्थी यताउता गरिरहेका थिए । कोही कोही मलाई तलदेखि माथिसम्म हेर्थे । म बुवाले भनेको कोठामा गएँ । डेक्समा बसेँ र ब्याग राखेँ ।
सबै जना नाचिनेकोले म कोहीसँग बोलिन ।
एक जना केटा साथी आएर ‘‘तपाईँलाई मैले कतै देखे देखे जस्तो लाग्यो” भनेर नजिक आएर कपाल मिलाउन थाल्यो । मैले उसको मुख झ्याप्प हेरँे बुबा तिर हेर्दै भने देख्नु भयो होला ।
‘‘तिम्रो नाम के हो ?”
‘‘मेरो नाम गीतिका हो । किन ?”
त्यतिकै ढोकाबाट दुईवटा केटीहरु हाँस्दै भित्र पसे ‘‘ओ सुवास” भन्दै आँखाको इसाराले जिस्काए ।
उ त खप्पिस रहेछ ।
ए साह्रै खुसी देखिनु हुन्छ नि के छ कोहीसँग भेट भयो कि ? भन्दै हाँसेर उनीहरुको शरिरमा हात राख्दै कुरा ग¥यो ।
मैले नदेखे झँै गरिरहेँ ।
उनीहरु नजिक आएर ‘‘तपाईँको घर कता हो र भने ।” सजिलो पाराले ‘‘चन्द्रिका नगर”भनेँ । म दीक्षा, म टिना भनेर परिचय दिए । मेरो नाम…विचमा कुरा काट्दै सुवासले गीतिका भनिदियो ।
‘‘नाम मन प¥योकि क्या हो ।” उनीहरु पुन जिस्किन थाले । मैले उनीहरुलाई अलि व्रmोधको आँखाले हेरँे ।
सुवास कस्तो हुनुहुन्छ ‘‘गीति दिदी रिसाउनु भयो ।”
पहिलो दिन त्यसै भयो । त्यसपछि गाउँकै स्कुल जस्तो लाग्न थाल्यो म कलेज आउने जाने गर्दा गर्दै हाम्रो ११ को पढाई सकियो र हामी परीक्षा दिएर आफ्नो घरमा गयौँ । बिच बिचमा मेरो बुवासँग मोवाइलमा कुरा हुन्थ्यो ।
हामी पुनः कक्षा १२ मा पढ्न थाल्याँै । साउनको महिना झरीमा किसानको हिरामोती उब्जाउने समय भएकाले सबै किसान जति खेत वारीमा पुरापुर समय दिँदै थिए, तर सहरमा त्यस्तो थिएन । बिहानको खाना खाएर कलेजको कपडा लगाउँदै थिएँ । फोनको घन्टी बज्यो । मेलै हतारिँदै फोन उठाएँ सुवास रहेछ । मोबाईलको घन्टी उठाएर “हेलो, हेलो गीतिका दिदी हो ।” म खाटमा बस्दै ‘‘हो” ‘आज छिटो कलेज आउनु’
“किन ?”
‘‘काम छ,” “ल म आउँदै छु ।”
हवस् भनेर फोन कटायो । म हतारिँदै कलेज गएँ सबै जना एक ठाउँमा उभिएर बसेको देख्दा ‘‘ओहो के हुँदै छ” यहाँ, सुवास हाँस्दै ‘‘केही होइन तपाईको मोबाइल दिनुहोस् न ? ”
‘‘किन ?” ‘दिनु न फेरि, ब्याग डेक्समा राख्दै हुन त आफ्नो निजी सामान कसैलाई दिनु हुँदैन तर केही छैन भन्दै हातमा दिएर बसेँ ऊ हाँस्दै थियो ।
क्रमश अर्को साता ….