बालुवा बेच्दै जीवन गुजार्दै
सुर्खेत ।
झट्ट हेर्दा २० / २१ वर्षको कलिलो उमेर । साथमा दुई छोराछोरी । अर्कातिर एक थुप्रो बालुवा । सुर्खेतको झुप्राखोलामा दैनिक बालुवासँगै खेल्ने गर्छिन गौमता रोकाया (नाम परिवर्तन) । उच्च शिक्षा हासिल गर्ने बेलाको उमेरमा दुई छोराछोरी र एक आफ्नो पेटको लागि बालुवाको बिक्री नगरि धरै छैन रोकायालाई । श्रीमान् कमाउनकै लागि भारतको कालापहाडमा छन् । ६ देखि ८ महिनाको वीचमा एक पटक आउँछन् र १०÷१५ दिनमै फर्किन्छन् फेरि कालापहाड ।

दिनमा करिब १० कट्टा बालुवा चालेर साँझ विहानको समयमा करेसाबारीमा तरकारी खेती समेत गर्न भ्याएकी छिन् गौमताले । भन्छिन्, ‘गरे के हुँदैन र ? मैले आफ्नो परिवारको पेट पालेर पनि सहकारीमा भविष्यको लागि सानो रकम पनि जम्मा गर्ने गरेकी छु ।’ आजको सानो बचत भोलि छोराछोरीहरुको शिक्षामा खर्च गर्ने योजना छ उनको । एक कट्टा बालुवाको बिक्रीबाट आउने ५० रुपैयाँले पनि ठूलो सहायता गरेको जस्तै लागेको छ उनलाई । नलागोस् पनि कसरी ? त्यही ५०÷५० रुपैयाँको बालुवा बेचेर नै जीवन गुजारा भएको छ ।
हुन त सुर्खेतको झ्प्रा खोलामा उनी एक्लै छैनन् । उनी जस्ता धेरै गौमताहरु भेटिन्छन् कलिला बालबच्चाहरुसँगै बालुवा चाल्ने ठाउँमा । प्राय ः सबैको योजना बालुवा बेचेर पैसा कमाउने नै हो । तरपनि अनेकथरीका बाध्यताले उनीहरुलाई बालुवासँग रमाउन बाध्य बनाएको छ । यो उमेरमा त्यो पनि दुई÷दुई वटा बच्चाबच्ची अनि यस्तो अप्ठ्यारो काममा कसरी आइपुग्नुभयो हामीले जिज्ञासा राख्यौ गौमतासँग । १६ वर्षे उमेरमै अर्काको लहलहैमा लागेरै भागी विवाह गरे । त्यतिबेला बालविवाह गर्नु हुँदैन भन्ने सम्म जानकारी थिएन मलाई । त्यसपछि घरपरिवारमा श्रीमानका दाजुभाइहरु छुटि भिन्न भए । अनि आफ्नो लागि आफै नगरे कसले गरिदिन्छ ? विवाह गरेको केही वर्षमा नै बच्चा जन्मे । पाल्नु प¥यो यिनीहरुलाई । जग्गाको नाममा घर बनाएको एक कट्टा ऐलानी बाहेक केही छैन । त्यसैले यही बालुवासँग खेलेकी छु । रमाएकी छु । पालिएकी छु र पालेकी छु छोराछोरीलाई ।’ हामीसँग कुरा गरिरहँदा कतै खुसी त रोदन मिसिएको थियो उनको अनुहारमा ।
आफूसँगैका अन्य साथीहरु अहिलेपनि पढ्न गएको कोही त जागिर खान गएको देखेर उनलाई पनि रहर लाग्छ । तर के गर्नु बेलैमा बुद्धि पुगेन । आज पछुताउनु परेको छ । त्यसैले गौमता भन्छिन्, २० वर्ष भन्दा मुनि कसैले विवाह नै नगरुन । पढ्न पनि नपाइने रैछ । अनि घरको झमेलाले झेल्दो रहेछ । त्यसपछि दुःखी जीवनको शुरुवात हुने रैछ । बेलामा बुद्धि पु¥याएको भए आज बालुवा चालेर जीवन गुजारा गर्नु पर्ने थिएन होला सायद भन्ने लाग्छ उनलाई ।
त्यस्तै कथा छ गौमतासँगै बालुवासँग रमाइरहेकी नन्दा सारुको पनि । सुर्खेतको झुप्रा खोलामा बालुवा चाल्दै आएकी नन्दा सारुको पनि गौमताको जस्तै कथा छ । उनको जीवनको कहानी पनि गौमता भन्दा कम छैनन् । फरक यत्ति छ गौमताका श्रीमान् कालापहाड छन् भने नन्दाका श्रीमान् आठ वर्षदेखि कहाँ छन् भन्ने पत्तो छैन । श्रीमान् फर्केर आउँछन् कि भन्ने आशा समेत लाग्न छाडिसकेको छ ननदालाई । उनी भन्छिन्, ‘दिनभर खोलामा बालुवा चालेर आफ्नो दिनचर्याहरु गुजारी रहेको छु । २ छोरा १ छोरी छन् । दिनभर खोलामा बालुवा चालेर साझँ घरमा गएर आफ्नो बच्चा बच्चीको लागी भए पनि जसो तसो गुजरा चलाएकै छु ।
यहि वालुवा चालेर जिविकोपार्जन गरेकै छु ।’ उनले पनि गौतमाले झैँ सहकारी संस्थामा अलिअलि बचत पनि गर्ने गरेकी छिन् । आजको बचतले भविष्यमा छोराछोेरीको लागि केही गर्न सक्छु की भन्ने आशा छ उनलाई । दिनमा ६ कट्टा बालुवा उठाउछु बेच्छु छोरा छोरीको लागी पढाई खर्च र घर खर्च चलाउछु । गौमता र नन्दा त प्रतिनिधि पात्र मात्र हुन् । यसरी आफ्नो दैनिक चलाउनेहरुको संख्या ठ्याक्कै यत्ति नै छ भनेर भन्न सकिदैन । तर पनि खोलाको बालुवासँग खेल्दै गरेका यिनीहरु मात्र होइन यिनीहरुका बालबच्चाहरुको भविष्य के होला । यसैले चासो र चिन्ता देखाएको पाइँदैन ।






