Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

सडकको फौजी ‘भूवन’

बिहान दाइहरुले उठाउनुहुन्छ । हाम्रो टोली क्याप्टेन लोके हो । लोके हामी सबैभन्दा बलियो पनि छ । त्यसले भनेको मानेन भने हामीलाई थर्काउछ । हामीलाई डेन खुवाउने पनि उही हो । कवाड बेचेर आएको पैसा राख्ने लोकेको काम हो । अनि कसैले खान दिएन भने छोलासमोसा खुवाउने लोके हो । डेन किन्न जाँदा लोके बाहेक अरु गयो भने साहुँजीले दिदैनन् । बिहान उठेपछि पल्टेर टिभी हेर्छौ । लोकेले आफूलाई मन परेको मात्र टिभीमा लगाउँछ । दाइहरुलाई भन्छौ र दाइहरुले पनि आफ्नो हिसाबले टिभी लगाइदिनुहुन्छ । दाइहरु बाहिर गएपछि लोकेले फेरी आफ्नै च्यानल लगाउछ ।


यो कोठामा हामी सत्र जना सुत्छौ, अनि संगै दाइहरु पनि । दाइहरु कहिले एकजना सुत्नुहुन्छ त कहिले दुई जना । म संँगै केहीले मात्र हामी चुरोट खान पाउँछौ । यहाँ आएबाट दाईहरुले हिसाब गर्दै चुरोट दिनुहुन्छ । अब हामीले चुरोट छोड्ने रे ? त्यही भएर अलिअलि गर्दै कम गराउनु हुन्छ दाइहरुले ।

नास्तामा प्रायः चना, चिया तथा भुटेको भात पनि खान पाइन्छ । नास्ता खाँदा लोकेले सबैलाई लाइनमा लगाउँछ र हामी लाइनमै भान्सामा गएर नास्ता खान्छौ । खाएपछि हामी आफैले आफूले खाएको भाडा माझ्नुपर्छ । त्यसपछी हामी घाम ताप्छौ । घाम ताप्नकै लागि पनि दाइहरुले फरक–फरक समूह बनाउनु भएको छ । ए, बी, सी र डी गरी चार समूहहरु छन् । सबै समूहमा समूहको क्याप्टेन छन् । क्याप्टेन बन्नलाई राम्रो मान्छे बन्नुपर्छ पहिले । दाइहरुले राम्रो मान्छेलाई मात्र क्याप्टेन बनाउनु हुन्छ । म पनि एकदिक क्याप्टेन बन्छु । अनि केटाहरुलाई हल्ला नगर भन्छु ।

सबै समूहले हल्ला तथा झगडा गर्न थाल्यांै भने दाइहरुले भन्नुहुन्छ, ‘सबैभन्दा काम नलाग्ने को हो ?’ अनि हामी सबैजनाले चिच्याउदै ठूलो स्वरमा भन्छौ, ‘कुकुर’ । ‘हामी को हौँ ?’ फेरि चिच्याउँछौ, ‘मान्छे’ । ‘मान्छे कसरी बस्छ ?’ हातलाई पलेटी कसेर, हामी ‘यसरी’ भन्दै शान्त बसेर घाम ताप्छौ ।

क्यारम र लुडो खेल्नलाई दाइहरुले ठिक्क समयमा मात्र खेलाउनुहुन्छ । विकास सधै क्यारम मात्र खेल्छ । अरुको पालोमा पनि आफ्नो भनेर झगडा गर्न खोज्छ । ऊ हामीभन्दा सानो हो । त्यही भएर पनि हामी त्यसलाई दुई चोटी क्यारम हान्न दिन्छौ । कहिलेकाँही अरु दाइदिदीहरु पनि आउनुहुन्छ । हामीलाई ललिपप ल्याइदिनुहुन्छ । हामी खान्छौ र पाइपलाई धेरै बेरसम्म मुखमा खेलाउँदै बस्छौ पनि । कोही कोही दाइदिदीहरु हामीसँग फोटो खिच्न पनि आउनुहुन्छ । त्यस्तालाई हामी ‘घर गएर राम्रो मान्छे बन्ने’ भन्दै यहाँबाट बाहिर लग्न भन्छौ । खै आजसम्म हामीलाई बाहिर लग्ने त भन्छन् तर लग्दै लग्दैनन् ।

मेरो नाम भुवन सुनार हो । म १२ वर्षको भएँ । गोगनपानीको ५ नं. वडामा मेरो घर छ । तपाई हामीलाई बाटोको बच्चा भन्नुहुन्छ । तर बाटोमा बसेर के नै हुन्छ र ? हामीलाई हेला गर्नुहुन्छ । हाम्रो घर छैन अनि कहाँ बस्ने त ? घरमा अरुले भनेको मान्नुपर्छ, यहाँ पर्दैन । मेरो घरमा अंकल,अन्टी, उनका दुई छोरी छन् । बज्यै पनि हुनुहुन्छ । मेरो आफ्नो दुईवटा भाइहरु पनि छन् । मेरो कान्छो भाई सन्तोषलाई खै कसले पालिदिनुभएको छ रे । मेरो बुवा आमा कोही पनि हुनुहुन्न । खै कहाँ जानुभयो ?

हामी मामाघरमा बसेका थियौ । मेरो दुईवटा भाइ पनि संगै थिए । बुवा इण्डिया गएका थिए । मैले चार कक्षासम्म मामा घरमै बसेर पढेँ । माइलो भाइभन्दा त, म र कान्छो भाई पढ्नमा खतरा थियौ ।

एक दिन मलाई मामा घरको डिङ्नाले हान्यो र हात भाँच्चियो । यी हेर्नु न बाँगो छ । बुवाले इण्डियाबाट आएर आमालाई गाली गर्न थाले, मेरो हात भाँच्चिनुमा आमालाई दोष दिइरहेका थिए । त्यो दिन बुवाले रक्सी पनि खाएका थिए क्या ? झगडामा मेरी मावलकी बज्यैलाई बुवाले चिर्पटाले हान्दा बज्यै मरिन् । पुलिसले समाउँछ भन्दै बुबा भागेँ । म, आमा र भाइहरु खुब रोयौँ ।

पछि बुवालाई पुलिसले समाएको खबर आयो, बुवा दैलेखको जेल गए । अनि हामी गाउँमा पनि बसेनौ । आमा, म र मेरा दुई भाइ सुर्खेत आयौँ । यहाँ खजुरामा हाम्री जेठी आमा बस्छिन् । उनी कहाँ हामी पनि बस्न थाल्यांै । लगभग तीन, चार महिना बस्यौँ क्या ? त्यसपछि आमा खै को सँग पोइल गइन् ।

हामीले आमालाई भेटेनौ । ठुलीआमाले हामीलाई बामेखोला लगेर छोडिदिइन् । बामे खोलामा हाम्रो फुपु छिन् । फुपुले हामीलाई नुहाई दिइन्, कपालमा तेल घसिदिइन् । फुपाजू पनि इण्डिया गएका थिए । फुपु बिहान रोटी खादै वन जान्थिन् । हामी घरमै खेलेर बस्थिम् । पछि फुपुले हामीलाई दैलेख अंकलको घरमा पठाइदिइन् । फुपुको घरमा पनि हामी दुई, तीन महिना बसेका थियौ क्या ? अंकलले पनि अब काम गर्नुपर्छ भन्दै होटलमा कुरा मिलाउनु भयो ।

दैलेख डुङ्गेश्वरमा रहेको नवजीवन कटेजमा मैले काम गर्न थाले । मेरो काम भाडा माझ्ने थियो । आम्मा… मा ! ठूल्ठूला तबेली माझ्नु पथ्र्यो । बिहान साँझ दुईपल्ट माझ्थे । अनी दिउँसो फुर्सदको समयमा खोलामा सधैजसो पौडी खेल्न जान्थे । मलाई त्यहाँ साहुँले नयाँ कपडा किनिदिएका थिए । साहुले मलाई चुरोट खायो भनी निकै हकार्थे । चुरोट खान मैले त्यही सिके । लुकिलुकी चुरोट खान थालिसकेको थिए । होटलमा काम गर्न खास्सै राम्रो लागेन । ग्राहक पनि गाली गर्ने साहु पनि गाली गर्ने । अनी दैलेखका अरु दुई साथिहरु सहित हामी भागेरै सुर्खेत आयांै । कति रात त हामीले खान पनि पाएनौं, तर जब लोकेसँग भेट भयो उसले सबै काम सिकायो, खान पजि सिकायो । चाइना पुल मुन्तिरको ठुलो ढुङ्गा हाम्रो अड्डा हो ।

काठमाण्डौंबाट बस आउने बेला हामी बसपार्क जान्थ्यांै, र माग्थ्यौं । रुन लागेको जस्तो गरेर ‘दुईतिन दिनदेखि खान पाएको छैन’ भन्न लोकेले सिकायो, केटाहरुले सिकाए । केही केहीले मात्र पैसा दिन्थे । कोहीले गाली गर्थे । लाज–लाज कुरा गर्थे । अरु समयमा आइएमइ, एरीचौक, क्याम्पस लाइन, वीरेन्द्रचोकमा माग्थ्यौ । साँझ हाम्रो सुत्ने अड्डा नेता चौक हो । डेनको जस्तो मज्जा कही हुँदैन । एकपल्ट घण्टाघर नजिकै डेन फुकेर म राजा भएको थिए ।

कस्तो मज्जा आएको थियो । बेस्सरी फुके, ताने, फुके, ताने । हेरेको पूरा फूलबारी थियो । फूलै फूल । म मात्र बीचमा । म राजा भएर बीचमा बसेको थिए । राजाहरु फूलको बीचमा बस्छन् नि त ? यो सुर्खेतमा कति रुखहरु अनि, कति टावर त मैले डेनले नै ढालेको छु । तर हाम्रो केटाहरुले चाइनापुल तल रहेको ढुङ्गालाई कहिले उठाउन सकेनांै । बजारमा मान्छेहरुलाई हामी गायव बनाइदिन्थ्यौं । डेन खाएपछि जादु गर्न सकिन्छ । मान्छे गायव बनायो अनि सुनसान बाटोमा एक्लै हिड्यो ।

नब्बे रुपैयाको एक डिब्बा आउछ डेन । पैसा भएको बेला त अली ठूलो किन्थ्यौ, नत्र त्यही सानो नब्बेवाला । डेन भनेको कार्पेट टाल्ने हो के । एकचोटी एरीचौक नजिकैबाट सधै डेन किन्ने पसललाई पुलिसले गाली ग¥र्यो अनी त्यहाँ आजभोली दिन्नन् । आजभोली अली परको छ, पसलको नाम भन्यो भने त हजुर पनि गएर रिसाउनुहुन्छ नि ?

बाटोमा हिन्दा ज्याकेटमा मुख नजिकै डेन लुकाउँछु । अनि घोप्टो परेर फुक्दै हिड्यो । राती सुत्दा पनि लुकाएर खाएपछि चाली नालीमा फ्याक्दिन्छौ । फालेको दूधको प्याकेट डेन खान सबैभन्दा राम्रो हो । कवाडी उठाएर बेचेको पैसाले डेन र छोला समोसा खान पुगिहाल्छ, मागेको पैसा ले त झ्न मोज । डेन फुकेर हामी मोटु पत्लु खेल्छौ । साच्चिकै मोटु पत्लु आउछन् । आवाजमा हामीलाई लगेको बेला पाइप चढेर सुरुमा भाग्ने म नै हुँ । भ्mयाउँ लाग्थ्यो त्यहाँ । यहाँ भैरवमा झन् त्यस्तै । बुवाको अनुहार पनि याद छैन । आमाको अनुहार भने अली अली मात्रै याद छ ।

म आर्मी बन्ने भनेको तर हात भाँचियो अब कहाँबाट बन्ने ? अस्ती बाटोमा डाक्टरले कानमा लगाउने भेट्टाएको थिए । आम्मा.. !! पूरा सुनिदो रहेछ नि ? अब भोली डाक्टर बन्ने हो । हात भाँच्चेर फौजी त हुँदैन तर डेनको जादुमा भने म धेरै पटक फौजी भएको छु । बाटोमा हिडेका मान्छेलाई पूरै गोलीले हान्देको छु ।

कम मज्जा आउछ ? म यो सडकको फौजी हुँ । अब यहाँबाट फुपुको घरमा बस्छु भन्छु, अनि फुपुको घरमा चार पाँच दिन बस्छु । अनी सबैले मलाई उतै बस्यो भन्छन्, फेरि बस्ने त यही डेन फुक्दै हो ।

(भुवन सुनार अस्थायी रुपमा भैरव युवा सशक्तिकरण केन्द्र नेपालमा अस्थायी रुपमा पुर्नस्थापित सडक बालक हुन् । उल्लेखित भोगाइ तथा शब्द भुवनको आफ्नै हो ।)

काँक्रेविहार दैनिक