Loading... आजः १७ असार २०८३, बुधबार । Wednesday 1st July 2026
ताजा खबर
  

काँग्रेस र काँग्रेसजन अल्मलिए

पृथ्वीनारायण शाहले नेपालको एकिकरण गरेपछि नेपालमा शाहवंशले शासन गर्दै आएको इतिहास छ । बाइसे चौबिसे टुक्रामा विभाजित भएको नेपाललाई सिंगो नेपाल र विशाल नेपालको निर्माण गरेपछि शाहवंशले आफ्नो प्रभुत्व जमाउनु स्वभाविक मान्नु पर्छ । राजा र राजदरबार भित्रका भाइ भारदारहरुको आन्तरिक कारणले गर्दा उनीहरु आन्तरिक रुपमा कमजोर बन्दै जानु नै राणा शासनको उदयको कारण मान्न सकिन्छ ।

राणाहरुले जहाँनियाँ शासनको रुपमा नेपाल माथि आफ्नो शासन सत्ता जमाएपछि नेपाली जनताले निकै दुःख पाउनु परेको थियो । एकातिर नेपाली जनताले शिक्षा, स्वास्थ्यदेखि अत्यावश्यक कुराहरुको उपभोग र उपयोग गर्न पाएनन् भने अर्कोतिर राणाहरुको काचडी गर्न कर लाग्यो । त्यसकै कारणले नेपालले भौतिक र भौगोलिक रुपमा गर्नु पर्ने विकास गर्न सकेन । तर पनि शिक्षाको क्षेत्रमा राणाले गरेको केही हदसम्मको विकासलाई भने नेपाली जनताले सह्राना गर्नै पर्छ ।

राणा शासनले चरम शोषण गरेको बेलामा राणाहरुको विरुद्धमा बोल्ने कोही थिएनन् । त्यस्तो अवस्थामा नेपाल प्रजा परिषदको नामबाट एउटा राजनीतिक चेतनाको विकास गराउने कार्य गरे केही अगुवाहरुले । पछि त्यो समूह नै नेपाली राष्ट्रिय काँग्रेस हुँदै नेपाली काँग्रेससम्म पुग्यो । नेपाली काँग्रेसको नेतृत्व गरिरहेका वी पी कोइराला र तत्कालिन राजा त्रिभुवनले राणा शासनको अन्त्यको लागि जुन कदम चाले त्यसलाई नेपाली जनताले उपलब्धीको रुपमा लिनै पर्छ । यदि तत्कालिन अवस्थामा वी पी र राजा त्रिभुवनले त्यस्तो कदम नचालेको भए आज नेपाल संघीय गणतन्त्रमा पुग्थ्यो कि पुग्थेन यसै भन्न सकिने अवस्था छैन ।

राजाले आफ्नो गद्दीको समेत वास्ता नगर्नु र वी पी ले आफ्नो ज्यानको समेत वास्ता नगरेर प्राप्त गरेको प्रजातन्त्रको जग नै आजको गणतन्त्रको मेरुदण्ड हो । भन्नेहरुले जे सुकै भने पनि देशले स्वतन्त्र पाउनुमा र जनताले सार्वभौमसत्ता पाउनुमा नेपाली काँग्रेस र राजदरवारको ठूलो भूमिका छ । इतिहास जित्नेहरुको मात्र लेखिन्छ भने झैँ अहिले आएर राजपरिवारलाई दुष्मन देख्नेहरुले हिजो स्वतन्त्रताका लागि राजपरिवारले गरेको योगदान सम्झन सक्नु पर्दछ ।

नेपालमा प्रजातन्त्रको स्थापना भएपनि त्यसको कार्यान्वयन र त्यसलाई उपयोग गर्ने कुरामा नेपाली काँग्रेस भित्र पनि आन्तरिक स्वार्थको लडाईले गर्दा २०१७ सालमा प्रजातन्त्र नै खतरामा प¥यो । राजतन्त्रात्मक रुपमा निकै महत्वाकाँक्षा राख्ने राजा महेन्द्रले प्रजातन्त्र माथि हमला गरे । जसको कारण नेपाल भौतिक विकासको संरचनामा धेरै वर्ष पछि धकेलियो । त्यसपछि २०३६ सालको जनमत संग्रह र २०४६ सालको आन्दोलनमा आइपुग्ने बेलासम्म राजा पनि फेरिए । इतिहासकै उदारवादी राजाको रुपमा चिनिएका राजा वीरेन्द्रले जनता जुन खालको शासन सत्ता चाहन्छन् त्यही शासन सत्ता दिनु पर्छ भन्ने मान्यता राख्ने भएकै कारण २०४६ सालको परिवर्तन सम्भव भएको हो । जसको नेतृत्व पनि नेपाली काँग्रेसले नै गरेको थियो ।

२०५८ सालमा राजा वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजपरिवार प्रतिको मोह पनि घट्दै गयो । त्यस पछि राजा भएका ज्ञानेन्द्रले राजनीतिक दलहरु र राजसंस्थाको दुरी बढाउने काम गरे । जसको कारण २०६२/०६३ को जनआन्दोलन भयो । अन्ततः राजाले गद्दी त्याग्नु पर्ने अवस्थाको सिर्जना भयो । जसको नेतृत्व पनि नेपाली काँग्रेसले नै गरेको थियो । नेपाली काँग्रेसको नेतृत्वमा भएका आन्दोलनहरु सफल हुँदै गए । तर नेपाली काँग्रेस आन्तरिक गुटबन्दीमा फस्दै गयो । जसका कारण काँग्रेस कमजोर बन्दै गयो । २०७२ को संविधान निर्माण गर्ने अवस्थामा आइपुग्दासम्म मात्र होइन उक्त संविधानको कार्यान्वयनको लागि २०७४ सालमा भएका स्थानीयतह, प्रदेशसभा र प्रतिनिधि सभाका निर्वाचन र अब माघ २४ गते हुन गइरहेको राष्ट्रियसभाको निर्वाचनसम्म पनि नेपाली काँग्रेसको भूमिका निकै महत्वपूर्ण रुपमा रहेको छ ।

एकातिर काँग्रेसको आन्तरिक गुटबन्दी र अर्कोतिर वाम गठबन्धनको कारण प्रदेश तथा प्रतिनिधि सभामा नराम्रो हार व्यहोर्न पुगेको नेपाली काँग्रेसले अबका दिनहरुमा आफ्नो बाटो कसरी तय गरेर अगाडि बढ्ने हो त्यो हेर्न बाँकी छ ।

आखिर किन हा¥यो त काँग्रेसले ?

नेपाली काँग्रेसको महाधिवेशनको बेलामा तीन गुटको सिर्जना भयो । एकातिर सिटौला र थापा, अनि पौडेल र कोइराला भने अर्कोतिर देउवाको गुट । आन्तरिक गुटका कारण कमजोर बन्दै गएको काँग्रेसले आन्तरिक कुराहरुदेखि पार्टी भित्र योगदान गरेका नेता तथा गाउँस्तरमा रहेका कार्यकर्ताहरुको समेत मन बुझाउन सकेन । वाम गठबन्धनका अगाडि घुँडा टेक्नु परेको कारण दिएर मात्र काँग्रेसको अहिलेको नेतृत्वले ढुक्कसँग बस्न मिल्ने अवस्था छैन । हिजोका दिनमा वी पी ले कसरी काँग्रेसको निर्माण गरेका थिए । त्यसलाई आत्मसात गर्नु पर्नेमा त्यता तर्फ काँग्रेसको अहिलेको नेतृत्वले कुनै चासो नदेखाउनु नै काँग्रेस हारको अर्को कारण हो । राम्रालाई भन्दा पनि हाम्रालाई शक्तिमा पु¥याउने खेलमा लागेका नेताहरुको कारणले गर्दा नै काँग्रेस कमजोर भएको हो । अहिलेसम्म कुनै प्रशिक्षण, अन्तरक्रिया वा पार्टीका गतिविधिहरु गाउँतहसम्म पु¥याउन नसक्नु नै काँग्रेसको दुर्भाग्यको शुरुवात हुनु हो ।

जबसम्म आफ्ना नजिककाहरुलाई शक्तिमा पु¥याउने खेल खेलिन्छ तबसम्म काँग्रेसको हविगत यही रहन्छ । हिजोका दिनमा राजपरिवारसँगको सम्बन्धका कारण सबैको प्रिय बन्न सकेको काँग्रेस अन्ततः आफू पनि सकिने अवस्थामा पुग्यो भने त्यो भन्दा पहिले नै राजसंस्थालाई सिध्यायो ।

प्रतिनिधि सभा र प्रदेश सभामा आएका मतहरुलाई गणना गर्ने हो भने अरु पार्टीको भन्दा बढि मत छ भनेर घमण्ड गर्नेहरुले सोचे हुन्छ नराम्रो चीजलाई मिल्काउनका लागि सबै लागि पर्छन भन्ने कुरा । अनि अर्को सत्य के हो भने दुई वा दुई भन्दा बढि शक्ति मिलेमा एक्लैले केही गर्न सक्दैन । तर पनि यदि सत्यको पक्षमा छ भने जति सुकै शक्तिहरु मिलेपनि केही फरक पर्दैन भन्ने कुराको हेक्का हुनु पनि जरुरी छ । महाभारतको युद्धमा पाण्डवहरु र कौरवहरुको संख्यालाई तुलना गरेर हेर्न सक्ने कि नसक्ने ? कौरवका पक्षमा भएका शस्त्र, शस्त्र, अनि फौजलाई हेर्ने कि नहेर्ने ? तर पनि सत्यको पक्षमा भएका पाण्डवहरुको नै विजय भएको थियो ।

काँग्रेसले जनतालाई राणाहरुको दासताबाट मुक्ति दिएपनि त्यो भन्दा पछाडि खेल्नु पर्ने भूमिका खेल्न सकेन । मनमोहन अधिकारीको नेतृत्वमा भएको नौ महिने सरकारले ल्याएको आफ्नो गाउँ आफै बनाउँ कार्यक्रमलाई एमालेले अहिलेसम्म भजाइरहेको छ । ५ वर्षको लागि ताजा जनमत ल्याएर आएका वामहरुले सत्ता संचालनको शुरुवात गर्ने तरखर भइरहेको बेलामा वृद्धभत्ता दिने उमेर ६५ वर्षमा झारेर काँग्रेसले लोकप्रियता कमाउँछु भन्ने सपना देखेको छ भने त्यो दिवास्वप्ना मात्र हो । किनकी यो त मनमोहनको पालामा आएको कार्यक्रम हो । त्यस्तै नयाँ कार्यक्रमको सिर्जनात्मक शुरुवात गर्न नसक्नु काँग्रेसको कमजोरी मात्र होइन लाचारीपना पनि हो ।

नेपाल ९४ प्रतिशत ओमकारहरुको बसोबास भएको देश हो । यस्तो देशलाई धर्म निरपेक्ष बनाउनु पनि काँग्रेसको लागि अर्को सफलताको कारण बन्न पुगेको छ । अबका दिनहरुमा काँग्रेसले कुन बाटो समातेर अगाडि बढ्ला भनेर काँग्रेसजनहरु नै अल्मलिएको अवस्था छ ।