Loading... आजः ९ असार २०८३, मंगलवार । Tuesday 23rd June 2026
ताजा खबर
  

संसदको प्रथम अधिवेशन बस्यो : प्रदेशसभा कार्यसंचालन आन्तरिम कार्यविधि पारित (फोटो फिचर सहित)

सुर्खेत ।


प्रदेश नं. ६ को प्रदेशसभाको पहिलो अधिवेशन प्रदेश नं. ६ को अस्थायी मुकाम सुर्खेतको वीरेन्द्रनगरमा आज (२१ माघ ) सम्पन्न भएको छ । प्रदेश नं. ६ का प्रदेशसभा सदस्यहरु मध्ये जेष्ट सदस्य हिमबहादुर शाहीले तोकिएको समयमा नै अधिवेशन शुरु भएको जानकारी गराएपछि अधिवेशनको औपचारिक शुरु भएको हो ।


राष्ट्रिय धुन बजेपछि शहीदहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो भने त्यसपछि जेष्ठ सदस्य सभामुखको हैसियतले प्रदेश प्रमुख दुर्गा केशर खनालले बैठक आव्हान सम्बन्धि पठाएको पत्र सभामुखले पढेर सुनाउनु भएको थियो ।


त्यसको लगत्तै सांसदमा प्रतिनिधित्व गर्ने दलहरुबाट एक÷एक प्रदेशसभा सदस्यहरुलाई बोल्ने समय दिइएको थियो । जस अन्तर्गत राप्रपाबाट सोशिला शाही, नेपाली काँग्रेसबाट जीवनबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही र नेकपा एमालेबाट यामलाल कंडेलले आ–आफ्नो भनाई राख्नुभएको थियो ।

सांसदमा भनाई राख्ने संसदहरुले यस क्षेत्रको जल, जमिनदेखि जडिबुटी र पर्यटन तथा खानी समेतको सही उपयोग गरेर प्रदेशलाई समृद्धि तर्फ लैजानु पर्नेमा जोड दिनु भएको थियो ।

संसदहरुको बोल्ने क्रम सकिएपछि सभामुखले प्रदेशसभा कार्यसंचालन आन्तरिम कार्यविधि सांसदमा पेश गर्नुभएको थियो । उक्त प्रदेशसभा कार्यसंचालन आन्तरिम कार्यविधि सम्र्वसम्मतले पारित भएको थियो । सभामुखको निर्वाचनका लागि यही माघ २९ गते १ बजे पुनः अर्को बैठक तोकिएको छ ।

के भने सांसदमा वक्ताहरुले ?
महेन्द्रबहादुर शाही

यो जनताको आन्दोलनबाट प्राप्त प्रदेश हो । सबै प्रदेशभन्दा हाम्रो जिम्मेवारी चुनौतीपूर्ण छ । यो क्षेत्र अगाडि बढ्न नसक्नेको मुख्य दोषी राज्य व्यवस्था थियो । हामीले छुट्टै प्रदेश प्राप्त गर्नु हाम्रा लागि ठूलो उपलब्धी हो । अबको बाटो विकास र समृद्धिको हो । ६ नं. प्रदेश रोग, भोक र शोकबाट ग्रसित छ । तर, अब हामी गरीब हुनुपर्ने र पछि पर्नुपर्ने कारण छैन । हामीसँग स्रोत साधन छ । सबैभन्दा ६ नं. प्रदेश विकट छ । अरुलाई गाली गरेर यो प्रदेश समृद्ध बनाउन सकिँदैन । अब सबै मिलेर प्रदेशको समृद्धिका लागि लाग्नुपर्ने आवश्यकता छ ।
यामलाल कँडेल
यो प्रदेश जनताको आन्दोलनबाट प्राप्त प्रदेश हो । बाँके र बर्दिया पनि नछुटेको भए हुन्थ्यो । तर, हामीले जे प्राप्त गरेका छौं अब त्यसलाई सुन्दर र सबल प्रदेश बनाउने अभिभारा जनताले हामीलाई सुम्पेका छन् । अहिलेसम्म प्रदेशको अवस्था हेर्दा निराराजनक भएपनि अवका दिनहरुमा हामीले यस प्रदेशलाई अन्य प्रदेशभन्दा समृद्ध बनाउने कार्यमा एकजुट भएर लाग्नु पर्ने बेला आएको छ । तर, हामीले प्राप्त गरेको प्रदेश अन्उ प्रदेश भन्दा सम्भावना कम छैनन् तर त्यसको उपयोग गर्नु पर्नेछ ।

जीवनबहादुर शाही

यो प्रदेश सबैभन्दा कान्छो हो । यो प्रदेश आज पनि सबैभन्दा पछाडि छ । सबैभन्दा गरीब छ । अहिले पनि हाम्रो प्रदेशलाई हेयको दृष्ट्रिले हेरिएको छ । हामी कर्णालीका जनता भनेर हेपिएको थियौ अब हामी समृद्ध प्रदेश बनाएर समृद्ध प्रदेशका जनता भनेर चिनिु पर्छ । हामीले नै अब प्रदेशको जिम्मा लिनु पर्छ । हुन त हामी प्रतिपक्षमा रहन्छौं । प्रतिपक्षमा रहेतापनि प्रदेशको समृद्धि र विकासका लागि पक्षविपक्ष हुनेछैनौं । यहाँको जल,जमिन, जडिबुटी लगायतका स्रोतसाधनको प्रयोग गरेर प्रदेशलाई समृद्ध बनाउन सकिन्छ । अब भाषणमा होइन काम गर्नुपर्छ ।

शोसीला शाही

यो पृथ्वीनारायण शाहले निर्माण गरेको देश अहिले यहाँसम्म आएको छ । ९४ प्रतिशत हिन्दूहरु भएको देशलाई धर्मनिरपेक्ष बनाइएको छ । यो जनताको चाहना विपरित हो । त्यसैले जनताको चाहनालाई कदर गर्दै अगाडि बढ्नु पर्छ । प्रदेशको समृद्धिका लागि एक भएर लाग्ने कुरामा आफू र आफ्नो पार्टी जहिले पनि दृढ छ ।