महोत्सवलाई सहयोग गर्ने प्रतिवद्धता
सुर्खेत माघ २४ ।
यहि माघ २६ गतेदेखि वीरेन्द्रनगरमा हुने प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४लाई सफल बनाउनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता सरोकारवालाहरुले जनाएका छन । प्रादेशिक संरचनामा गईसकेपछि पहिलो पटक हुन लागेको प्रदेशस्तरीय महोत्सव सुर्खेतवासीको मात्र नभई सम्पूर्ण प्रदेशवासीको प्रतिष्ठाको विषय भएको भन्दै यस्तो प्रतिवद्धता जनाइएको हो ।
यसअघि महोत्सवप्रति असन्तुष्ट रहेका भनिएका केहि व्यापारी व्यवसायीहरुसंग भएको बैठकमा उनीहरुले महोत्सवलाई सफल बनाउनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । स्थानीय उत्पादनको प्रवद्र्धन एवं स्थानीय व्यापारीको हीत हुने गरी सञ्चालन हुने महोत्सवमा आप्mनो कुनैपनि किसिमको अवरोध र असहयोग नहुने भन्दै उनीहरु मेलालाई सघाउने बताए । यसैगरी महोत्सव मूल आयोजक समिति अन्तर्गत गठित सुरक्षा व्यवस्थापन समितिको बैठकमा जिल्लास्थित सम्पूर्ण सुरक्षा निकायहरुले पनि महोत्सवलाई मध्यनजर गरी आवश्यक सुरक्षा प्रवन्ध मिलाउने बताएका छन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले महोत्सवलाई सुरक्षित एवं सभ्य बनाउनका लागि मादकपदार्थ तथा जुवाजन्य गतिविधिलाई प्रतिवन्ध लगाउनुपर्नेमा जोड दिनुभयो । मादकपदार्थ तथा अन्य लागूपदार्थ प्रयोग गरी महोत्सवमा अवाञ्छित गतिविधि गर्नेलाई तुरुन्त पक्राउ गरी कारवाही गर्ने उहाँको भनाई छ ।
सुरक्षा व्यवस्थापन समितिको बैठकमा जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्टिय अनुसन्धानका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सुरक्षा व्यवस्थापन समितिको बैठकले महोत्सव अवधिभर महोत्सव स्थलमा मादकपदार्थको वेचविखन तथा जुवातासलाई पूर्ण रुपले बन्देज गर्ने निर्णय गरेको छ ।
पहिलो पटक आयोजना हुन लागेको प्रदेशस्तरीय महोत्सवको उद्घाटन बिहीबार विहान ११ बजे प्रदेश प्रमुख दुर्गाकेशर खनालले गर्ने कार्यक्रम रहेको छ ।
त्यसअघि मंगलगढीचोकबाट विभिन्न जातजातिको मौलिक पहिचान एवं संस्कृति झल्किने झाँकीसहितको शोभायात्रा निकालिने महोत्सव मूल आयोजक समितिका संयोजक पदमबहादुर शाहीले बताए ।






