मेरा लागि धन्य छ भ्यालेन्टाइन
प्रिय कञ्जुस्नी, तिमीलाई थाह छ नि । पश्चिमाहरुले मनाउँदै आएको भ्यालेन्टाइनले नै हो हामीलाई नजिक गराएको । दशैंमा जमरा, तिहारमा मखमली, शिवरात्रीमा भाङ र धतुरो अनि होलीमा विभिन्न रंगहरुसँग रमाउने बानी परेको म । आज पराईको सांस्कृति र परम्परामा रमाउन थालेको छु । अनि थाह छ नि तिमीलाई जब भ्यालेन्टाइनकै कारण तिमी र म नजिक भयौं । तब प्रत्येक वर्षका भ्यालेन्टाइनहरु मेरा विषेश भ्यालेन्टाइन हुन थाले । कहिले भ्यालेन्टाइन आउँला र तिमीसँगको प्रगाढ मायालाई पुनः नविकरण गर्दै जिन्दगीको गन्तव्य यात्रामा पु¥याउन गोरेटोलाई फराकिलो बनाउन सकुला झैँ लाग्छ । त्यो पुरानो यादलाई नविकरण गरौला भनेर मेरो मन आत्तिन थाल्छ । किनकी जसले भ्यालेन्टाइनको शुरुवात गरे उनी र म वीचमा यसको महत्वको फरकता दाँज्न नमिल्ने भइसकेको छ अब । पराईको संस्कृतिलाई अनुशरण नगर्ने मान्छे म । आफ्नै कला र संस्कृतिमा रम्न मन पराउने म । तर यो भ्यालेन्टाइन भन्ने वित्तिकै आजभोलि मलाई आफ्नै संस्कृति जस्तो लाग्न थालिसकेको छ । ‘धर्म विहिनं पशु’ म सँग आफ्नै धर्म छ । विभेदरहित धर्मको अनुशरण गर्ने आस्तिक मान्छे हुँ म । मलाई मेरो देश, मेरो धर्म, मेरी आमा सबै भन्दा ठूला लाग्छन् । आजपनि मसँग मेरो देश र मेरो धर्म छ । तर आमा बैकुण्ठबासमा भएकोले मैले पाउने मायाको एक अंश गुमाएको छु । एउटी प्रेमिका अनि एउटा सहयात्री, भगवान शिवका झैँ आधा पुरुष र आधा महिलाको शरीर भए झैँ मेरो जीवनको आधाभाग तिमी नै भएकोले म आफूलाई भन्दा तिमीलाई बढी माया गर्छु र विश्वास पनि ।

जब म बाबाले ल्याइदिएको नयाँ नाना लगाएर बिर्खे, रामे र नरेहरुलाई देखाउन जाने उमेरको थिएँ । त्यतिबेला मलाई दशैं छिट्टै आइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । तिहारले बिदा नमागेको भए सधैं नयाँ लुगामा रमाउन पाइन्थ्यो भन्ने भान हुन्थ्यो । तर अर्को दशैं आउँदा पनि आमाले त्यही लुगा धोएर नयाँ बनाइदिएको स्मरण अहिले पनि मेरो मानसपटलमा ताजै छ ।
विस्तारै म भित्र आएको परिवर्तन र उमेरको कारणले होला । मलाई आजभोलि दशैं तिहार खासै महत्वका चाड लाग्दैनन् । अर्कोतिर म अलि व्यवहारिक पनि भएको छु । सायद त्यसैले होला यी त ऋण बोकाउनका लागि र म जस्ता हुँदा खानेहरुका लागि दशा बनेर आउने गर्दछन् ।
कञ्जुस्नी, करिब एक दशक हुन थालिसक्यो मैले तिमीलाई माया गर्न थालेको । अनि तिमीले मलाई । तिम्रा हरेक गतिविधिहरु जुन दिनदेखि मैले नजिकबाट नियाल्ने मौका पाएँ । अनि तिमीले मेरा गतिविधिहरु । आँखाका दुई नानी मध्य एउटा तिम्रो र अर्को मेरो अनि एउटा मेरो र अर्को तिम्रो भएर हामीले संसार हेरिरहेका छौ । तिम्रो मुटुको धड्कन मेरो मुटुमा जोडिएको छ । त्यसैले त जीवनका अनेक संघर्षहरु सहेर मैले यो संसारलाई नियाल्न सकेको छु । राति अबेरसम्म निन्द्रा नलागेको बेला मेरा लागि तिम्रा आँखा निदाइदिने गर्दछन् । भनिन्छ ‘मर्नदेखि डराउनेहरु पल पल मरिरहेका हुन्छन्’ । म मर्नदेखि कहिल्यै डराउँदिन । बस मलाई यत्ति डर छ तिम्रो स्पर्श बिना मैले अन्तिम पटक सास फेर्न कति गा¥हो होला । त्यसैले तिम्रा हरेक स्पर्शहरुले मलाई सुम्सुम्याइँरहेको हुनुपर्छ । यसमा म स्वार्थी पनि छु । एउटा हातले ताली बज्दैन भने झँै मैले ढुङ्गास्वरुपी भगवानसँग कामना पनि गरिरहेको छु मेरो मायाको स्पर्शमा कति कमी नहोस् ।
हाम्रो माया र प्रेमलाई देखेर पश्चिमको महाकालि, अनि कर्णाली, भेरी, राप्ती, नारायणी नदीहरु पनि आफ्नो बहाब रोक्ने कोसिस गर्दछन् क्यारे । अविरल बगिरहने नदीहरु त यति डाहा गर्दछन् भने हामी माथि आँखा लगाउनेहरुले कति डाहा गर्छन होला । गर्न देउ ती डाहा गर्नेहरुलाई र जल्न देउ जल्नेहरुलाई ।

कञ्जुस्नी, स्वार्थी छ स्वार्थी यो संसार स्वार्थी छ । तिमी भित्र पनि स्वार्थ लुकेको छ अनि म भित्र पनि । अलिकति फरक तिमी कम र म बढि वा म कम र तिमी बढि । तर हामी दुबै स्वार्थी भएकैले त हाम्रो प्रेमको गन्तव्य आज यहाँसम्म आउन सकेको छ । आफूले माया गरेको मान्छे सुखी र खुसी भएको देख्ने तिमी भित्रको जुन स्वार्थ छ त्यसैले हामीलाई जोडिन बाध्य पारेको छ । आफ्नो जिन्दगीको खुसीका लागि तिमीभन्दा एक पल अगाडि मात्रै आफ्नो सासको डोरी चुडाउन पाउँ भन्ने मेरो जुन स्वार्थ छ । त्यही स्वार्थका कारण हामी दुबैको सास खुला आकाशमा हावाका कणहरुसँग पौठेजोरी खेलिरहेको छ ।
सायद भगवानले तिमी र मलाई यसरी नै यो संसारमा रमाउनका लागि एउटै ड्याङमा रोपिदिएका होलान जस्तो लाग्छ । म सक्थे संसारमा भेटिएका धेरै मान्छेहरुसँग रमाउन सक्थे । के तिमी सक्थिनौ र ? आफ्नो जिन्दगीलाई मात्र होइन आफ्ना खुसीहरुलाई समेत खुकुरीको धारमा राखेर केवल मेरो सुखको कामना गर्ने स्वार्थी मान्छेलाई जीवनको गोरेटोमा त्यो गोधुली साँझको बेला भेटाइदिने भ्यालेन्टाइन साँच्चिकै हाम्रा लागि महान छ, कञ्जुस्नी ।
सायद तिमीले मेरा लागि एउटा बरदान नमागेको भए आज मेरो फोक्सोले काम गर्न छाड्ने बेला भइसकेको हुन्थ्यो होला । तिमीलाई त याद छैन होला । । हुन त त्यो सानो थियो । म अब्बल अम्मलि थिएँ । तिमीले मेरा लागि मागीदिएको बरदानले पनि मेरो दीर्घायूको कामना गरेको छ । त्यसैले म भन्दा तिमी अलि बढि स्वार्थी छौ भन्ने लाग्छ मलाई ।
कञ्जुस्नी, मायामा पाउनै पर्छ भन्नेहरु भन्दा गुमाउन पर्छ भन्नेहरु महान हुन्छन् रे । त्यसैले तिमी म भन्दा महान छ्यौ । मैले तिमीबाट धेरै पाएको छु । तिम्रा लागि केही गुमाउन सकेको छैन । तर तिमीले मेरा लागि गुमाउन अब बाँकी नै के छ ? मलाई जिताउनका लागि हारी दिने तिमी । मलाई हँसाउनका लागि हाँसीदिने तिमी । यो भ्यालेन्टाइनको उपहार स्वरुप प्राप्त भएको हाम्रो जोडीको विगत जे भएपनि वर्तमान जस्तो वितेको भएपनि । मलाई चिन्ता छ भविष्य के होला भनेर ।
बुढेसकालको सहाराको लौरी भाँच्न दुष्मनहरुले आँखा लगाएको देख्दा मेरो मन अस्थिर हुने गर्दछ । चुस्स फुलेका दुईचार वटा दारी देखेर बुढेसकालले छोएकोमा पीर गर्ने तिम्रो मनलाई आफ्नै मन भित्र राख्न सकेपनि धनाढ्याहरुबाट संचालिन यो संसारमा तिम्रो छात्तिभित्रको रोगलाई ओखती गर्ने पैसाको जोहो गर्न नसकेकोमा म लाचारी बनेको छु कञ्जुस्नी । भविष्यको सुखका लागि घोट्दा घोट्दै खिइएका हड्डिहरु मेरो मायाको न्यानो स्पर्शले सञ्चो बनाउन सकेको छैन । तिमीले गर्ने ऐया र आत्थामा मलाई सास फेर्न गारो हुन्छ तर त्यसलाई निको पार्ने उपाय अपनाउन सकेको छैन मैले । मेरो अनुहारको चमकता नहराओस् भन्दै म देखि लुकेर तिमीले आँसु बगाएको राम्ररी थाह मलाई । खप्न सकिने रोग लागेर मैले तिमीलाई नभनेको बेलामा तिमीले कसरी पत्तो पाउँछ्यौ मलाई पत्तै हुँदैन । अनि कहिले काँही तिमी सानो कुरामा पनि शंका गछ्र्यौ । किनकी नारीको मन जति कोमल हुन्छ त्यति शंकालु पनि हुन्छ । तिमीले जति शंका गरेपनि म जहिले पनि विश्वास गरिरहने छु । आइ लब यू कञ्जुस्नी । आइ लब यू ।






