मेरा प्रधानमन्त्री मेरा मुख्यमन्त्री
हस्तराज रेग्मी
नेपाल आमाले निकै ठूलो प्रसव पीडा सहेर २०७२ सालमा संविधानको जन्म गराइन । नेपाल आमाको त्यो प्रसव पीडाको महसुस समस्त नेपालीहरुले समेत अनुभव गरे । नेपाली राजनैतिक इतिहासमा जनताले नै आफ्ना प्रतिनिधिहरुबाट लेखिएको संविधान भनेर निकै चर्चा र परिचर्चा भयो । संविधान गर्भमा खेलिरहेको बेलामा त्यसको रुप रंगको बारेमा नेपाली जनताका सुझावहरु समेत संकलन भए । तर ती सुझावहरु केवल हात्तिका देखाउने दाँत मात्र थिए । नेपाली जनताका प्रतिनिधिहरुले नेपाली जनताका भावना बुझेर संविधानको खाका कोर्नुको सट्टा आफ्नो स्वार्थ सिद्धिलाई मध्यनजर गरेर संविधानरुपी कागजमा केरमेट गरेको महसुस त्यति बेला भयो जति बेला संघीय संरचनाको खाका तयार भयो ।

संघीय संरचनाको खाका कोर्ने बेलामा प्रदेशहरुको संख्या र भौगोलिक संरचनालाई मिलाउन नसक्दा मध्यपश्चिममा ठूलो आन्दोलनको जन्म भयो । जुन आन्दोलनमा यस क्षेत्रका ४ जनाले आफ्नो प्राणको आहुति दिनु प¥यो । ४ जना सपुतहरुको रगतले नयाँ प्रदेशको सिमाङ्कन ग¥यो । जुन अहिले कर्णाली प्रदेशको नाममा आफ्नो परिचय दिन थालिरहेको छ । संविधानमा असहमत हुनेहरुको भावनालाई कदर गर्न नसकेका कारण तराईमा छुट्टै आन्दोलनको शुरुवात भयो । जसका कारण नेपालीहरुले भारतको अघोषित नाकाबन्दीको सामना गर्नुप¥यो । एकातिर देश टुक्रा टुक्रा पार्ने र अर्कोतिर आफू सिंगो नेपालको नयाँ राजा बन्न चाहना राख्नुले नेपालीले खेप्नु परेको पीडालाई तोडमोड गरेर प्रस्तुतीकरण गर्ने कार्य भयो । जसका कारण तपाईको आन्दोलनको स्वरुप एकातिर थियो भने अर्कोतिर संविधानलाई अथ्र्याउनेहरुको स्वार्थ । नाकाबन्दीको समयमा के दुःख सहनु पर्छ हामी तयार छौ तर पनि देशको स्वाभिमानमा आँच आउन दिनु हुन्न नेपाली जनताको विचारबाट राजनीतिक दलहरुले फाइदा उठाउने कोसिस गरे ।
तत्कालिन समयका प्रधानमन्त्री र वर्तमानका प्रधानमन्त्री एउटै व्यक्ति हुन् । भारतको नाकाबन्दीको बेलामा भारत सामु नबुझेर निकै चर्चा कमाएका व्यक्तित्व केपी शर्मा ओली । तराइ केन्द्रित दलहरुको प्रस्ताव अनुसार संविधानको संशोधन गर्नुहुँदैन भनेर तत्कालिन समयमा अडान राखेर लोकप्रियता हासिल गरेका एमालेका अध्यक्ष । उखान टुक्कादेखि लोकोक्ति समेत राम्रोसँग प्रयोग गरेर एउटा सफल शिक्षकले आफ्ना विद्यार्थीहरुलाई कक्षा शिक्षण गरे झैँ आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन सफल नेता । उनले एकातिर नेपाली जनताको भावनालाई हावामा उडाए भने अर्कोतिर आफैले पनि हावाको कुरा गरेको भन्दै व्यापाक हास्यपात्रको रुपमा चर्चित भए । कहिले हावाबाट बिजुली उत्पादनको कुरा, कहिले ग्याँस पाइपलाइनको कुरा त कहिले रेल गुडाउनेदेखि पानी जहाजसम्मको कुरा । यसले उनलाई चर्चित मात्र बनाएन हाँसोको पात्रको रुपमा समेत स्थापित ग¥यो ।
त्यही हाँसो भित्र उनी आफै पनि हाँसिरहेका थिए । हास्ने क्रममै आफैलाई विश्वासको मत दिएको दल एमाओवादीका कारण त्यसदिन उनी संसदमा नराम्रोसँग रोए । जुन दिन प्रचण्डले उन माथि विश्वास छैन भनि संसदमा अविश्वासको मत प्रस्ताव गरे । बाहिर आँसु नझारे पनि प्रधानमन्त्रीको कुर्सी छोड्दा कत्तिको पीडा हुन्छ भन्ने कुरालाई प्रचण्ड र केपी ओलीको तत्कालिन दोहोरीबाट नेपाली जनता प्रष्ट भएका थिए ।
त्यसपछि संविधान बमोजिम गर्नु पर्ने निर्वाचनहरुको लहर शुरु भयो । चतुर राजनीतिज्ञ प्रचण्डले काँग्रेससँगको सहकार्यमा छोरीलाई महानगरको प्रमुख बनाए । माओवादीकै कारण धेरै स्थानमा काँग्रेसले हावा खानु प¥यो स्थानीय तहको निर्वाचनमा । तर पनि कुटनीति नजानेका देउवाले प्रचण्डलाई आफ्नो पद जोगाउनका लागि ज्यू हजुरी गरिरहे ।
फेरियो राजनीति रंग । भाइ फुटे गँवार लुटे भन्ने कुरालाई कम्यूनिष्टहरुले बुझेछन् क्यारे । भविष्यमा पार्टी एकिकरणको कुरा गरेर गठबन्धनको आयोजना गर्दै भागबण्डा सहित निर्वाचनमा गएको बेलामा प्रदेश र संघीय निर्वाचनको परिणाममा काँग्रेसले छात्ति पिटेर रुनु बाहेक अरु केही उपलब्धि गर्न सकेन । जसको कारण संघदेखि प्रदेशसम्म कतैपनि काँग्रेसले सरकारको नेतृत्व हात पार्न सकेन । राष्ट्रवादको नाराका कारण एमालेले आफ्नो पक्षमा भोट बटुल्यो । गठबन्धनका कारण हामीले हा¥यौ भनेर आत्मसन्तुष्टि गरेको देखाउनु र भित्र भित्र भुसको आगो जस्तै जल्नुको उपाय पनि छ छैन काँग्रेससँग ।
मेरो देशका प्रधानमन्त्री मीठो शैलीमा बोल्छन् । तरकारीमा अन्य मसला नलागेको भएपनि स्वाद भएपनि नभएपनि बेसारले आँखाको स्वादलाई मेटाए झँै ओलीले आफ्नो बोलीको प्रभाव पार्न सकेकै छन् । त्यसकै सिको गर्न निकै मिहिनेत गरेर लागि परेका छन् मेरो प्रदेशका मुख्यमन्त्री पनि । मृत्यू र मुक्तिलाई शिरमा राखेर कुनै दिन आन्दोलन गरेका थिए महेन्द्रबहादुर शाहीले । उनले ठूलो साहस बटुलेका थिए । जसका कारण उनकै भाषामा नेपाली जनताले मुक्ति प्राप्त गरे । तर मेरो भाषामा के एउटा मुख्यमन्त्री बन्दैमा नेपाली जनताको मुक्ति भइहाल्छ । आखिर जे भएपनि उनलाई उनको निर्वाचन क्षेत्रका जनताले विश्वास गरेर जिताए । त्यसपछि वामगठबन्धनको फलस्वरुप कर्णाली प्रदेशको मुख्यमन्त्री हुने सौभाग्य समेत मिल्यो ।
तत्कालिन ६ प्रदेशको मुख्यमन्त्री कर्णाली अञ्चलमा हुर्केको मान्छे । त्यो पनि सर्वहारा वर्गको नेतृत्व गर्दै आएको मान्छे । यस प्रदेशका जनताका अलिकति आशाका त्यान्द्राहरु पलाए । अब त कर्णाली मात्र कर्णाली नहोला । फेरिएला कर्णालीको काँचुली पनि भनेर । तर जसले मेरा प्रधानमन्त्रीले रेलदेखि पानी जहाजसम्मका कुरा गरेर नेपाली जनतालाई ट्वाँ पर्ने गरि भाषण सुनाउँछन् त्यो भन्दा पनि खप्पिस रहेछन् मेरा मुख्यमन्त्री ।
मुख्यमन्त्रीले सरकारी निवास सर्नेबेलामा काटेको कालो बोकोले अहिलेसम्म मोक्ष प्राप्त गरेको छैन होला । मर्नु वा मारिनु मात्र मोक्ष प्राप्ति हुनु होइन । हिजोका दिनमा भत्काइएका मन्दिर र जलाईका मौलाहरुको पूर्ननिर्माण नभएसम्म सरकारी निवासमा काटिएको त्यो निर्दोष कालो बोकाले कसरी मोक्ष प्राप्ति गर्छ होला र । मुख्यमन्त्रीको अर्को उद्घोष आयो । कुनै पनि मन्त्रीहरुलाई सभा सम्मेलन उद्घाटन गर्न रिबन काट्ने काममा जान रोक लगाउँछु । एउटा औपचारिक कार्यक्रममा आयोजकदेखि सहभागीसम्मले बिताउने समयलाई सिर्जनशील कार्यमा प्रयोग गर्नु पर्छ । भाषण सुनेर र सुनाएर विकास हुँदैन । वा यस्तो पो योजना हुनु पर्छ त । कर्णालीबासीले स्यावासी दिए । तर दुर्भाग्य भन्नु पर्छ । उनले आफ्ना मन्त्रीलाई त के उनी आफै पनि उद्घाटनदेखि पुरस्कार वितरणमा व्यस्त हुन्छन् । पाँच जना कृषकलाई पुरस्कार हस्तान्तरण गर्न आफूसहित पाँच जना मन्त्री लिएर औपचारिक कार्यक्रममा गएको देख्दा हाम्रा प्रधानमन्त्री झैँ मुख्यमन्त्रीको पनि बोलीको ठेगान नभएको स्पष्ट भयो ।
फेसबुक बन्द गर्ने कुराले देशैभर निकै चर्चा पायो । प्रविधिको विकास गरि अझ बढि सेवा र सुविधा दिनु पर्ने समयमा जुकेले निर्माण गरिदिएको फेसबुक पनि बन्द गर्ने योजनाको छविमा नराम्रो दाग लगायो । तर राणाशासन कालमा रुख सोझो छ कि बाङ्गो भनेर राणाहरुले सोध्दा रुखलाई आफ्नो गर्दनसँग दाँजेर ज्यान जोगाउने नेपाली झैँ उनले पनि छवि जोगाए फेसबुक बन्द भनेको मन्त्रालयमा मात्रै हो भनेर । तर आफुले फेसबुक चलाउन छोडेनन् । कर्णाली प्रदेशलाई डिजिटल प्रदेशको रुपमा विकास गर्ने चमत्कारिक कुरा आयो । तरकारीमा नुन छैन पाडाको के मा तेल भने झैँ । धर्ती माताले पादेको बेलामा ५ नं. प्रदेशदेखि नै बिजुली बेपत्ता हुन्छिन् । वैकल्पिक उर्जाको कुनै तयारी छैन । यता गफ मात्र मीठा । सायद त्यही भएर कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा यो विषयले त्यति धेरै चर्चा नपाएको होला ।
पछिल्लो समय भत्ताको कारण निकै चर्चामा छन् मेरा मुख्यमन्त्री । कुनै पनि सार्वजनिक कार्यक्रममा दिइने दैनिक भत्ता, बैठकहरुमा दिइने बैठक भत्ता प्रदेशको राज्य कोषमा जम्मा गर्नु पर्ने निकै स्वागत योग्य अभिव्यक्ति आयो । एउटा कार्यक्रममा न्यूनतम् ३ सय भत्ताले कसैको जीवनस्तरमा परिवर्तन ल्याउन सक्दैन । तर त्यो पैसा राज्यकोषमा जम्मा भएको खण्डमा प्रदेशमा निकै ठूलो परिवर्तन ल्याउन सक्छ । त्यस्ता भत्ता रकमहरु एक वर्षसम्म जम्मा गर्ने हो भने कर्णालीको एउटा जिल्लाको आधा विकास गर्न त पुग्छ होला । मुख्यमन्त्रीले यति मीठो अभिव्यक्ति दिँदा कर्णालीवासीले किन नाक खुम्च्याए त्यतातिर मुख्यमन्त्रीको ध्यान अझैँ पुग्न सकेको छैन । अरुहरुले भत्ता रकमलाई राज्य कोषमा जम्मा गर्नुपर्छ भनिरहँदा उनले किन भन्न सकेनन् कि मैले मुख्यमन्त्री भए वापत पाउने ५३ हजार ९ सय रुपैयाँ पनि प्रत्येक महिना राज्यकोषमै जम्मा हुन्छ भनेर । मेरो प्रदेशका संसदहरुले पाउने भत्ता रकम पनि राज्यकोषमै जम्मा गर्नु भनेर भन्न नसक्ने अनि सामाजिक क्षेत्रमा काम गर्ने गैससले गाउँमा सुधारिएको चुलोको तालिम दिए वापत दिइने खाजा खर्च र भत्तालाई राज्यकोषमा जम्मा जगाउने अभिव्यक्ति दिने । यो त मेरा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति झैँ भएन र ?
एक समयमा गैससहरुले हामीलाई परनिर्भर बनाएको भन्दै कर्णालीलाई कृषिमा अर्गानिक बनाउने घोषणा जस्तै गैसस मुक्त प्रदेश बनाउने अभिव्यक्तिले निकै चर्चा भयो मेरा मुख्यमन्त्रीको । सायद त्यही अभिव्यक्तिका कारण उनी एक दुई कार्यक्रममा रिबन काट्न समेत गएनन् । कर्णालीबासीमा अर्को खुसीको लहर छायो अब हामी गैससको भर पर्ने दिन भए र हामी आफै आत्मनिर्भर बन्ने भयौ भनेर । विचारा कर्णाली त्यसै कर्णाली भएको होइन । आश्वासन दिने र तर पूरा नहुने प्रर्यायवाची नै कर्णाली हो । पछि मुख्यमन्त्रीज्यूले सुधारेर भने उनले भने अनुसारको काम गर्ने गैसस मात्र कर्णालीमा काम गर्छ पाउँछ रे । अब आत्मनिर्भर बन्न नसकिने हो कि भनेर कर्णालीवासीलाई फेरि अर्को पिर थपिएकै बेलामा निकै तामझामको साथमा भएको गैससको कार्यक्रमको प्रमुख वक्ताको रुपमा रहेका मुख्यमन्त्रीले भने गैससको साथ र सहयोगले कर्णाली समृद्ध बन्नेछ । यस्ता क्रियाकलापले कुनै दिन नेपाललाई सिंगापुर र स्वीजरल्याण्ड बनाउने जुन सपनाहरु बाँडिएको थियो त्यो भन्दा माथि उठ्न कोही सकेका छैनन् । त्यसैले मेरा प्रधानमन्त्री र मेरा मुख्यमन्त्री दुबै महान छन् । यी दुबै महामहिमहरुलाई यो पंक्तिकारको तर्फबाट नागरिक अभिनन्दन ।






