Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

२७ औं साधारण सभा सम्पन्न

सुर्खेत
देउती बज्यै सामुदायिक वन उपभोक्ता समूहको २७ औं साधारण सभाबाट दिपा शर्मा अध्यक्षमा निर्विरोध निर्वाचत हुनु भएको छ । शर्माको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको हो ।

जसको उपाध्यक्षमा शेर बहादुर थारु सचिवमा वासुदेव शर्मा सहसचिवमा पद्माखर जैसी र कोषाध्यक्षमा सहवीर सुनार चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा मान बहादुर खत्री, लक्ष्मण चौधरी बिमला थापा, मनकुमारी सुनार, नरबहादुर बुढाक्षेत्री, गणेश बहादुर चन्द, बालकृष्ण चौधरी, सीता बुढाक्षेत्री र चविसरा वली चयन हुनु भएको छ भने १ जना महिला सदस्य कार्य समितिले मनोनित गर्नेछ ।

साधारण सभामा उपभोक्ता समूहका कोषाध्यक्षले २० लाख ९६ हजार ९ सय १८ रुपैयाँ ५१ पैसाको आय–व्यय प्रस्तुत गर्नुभएको थियो ।


साधारण सभाको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै कार्यक्रमका प्रमुख अतिथि एवम् कर्णाली प्रदेशका उद्योग पर्यटन तथा वन वातावरण मन्त्री नन्दसिंह बुढाले सामुदायिक वनहरुलाई पर्यटकीय वन क्षेत्रको रुपमा विकास गर्नु पर्ने बताउनु भयो । समुदायले नै वन विनास रोक्न सक्ने भएकोले वन संरक्षण गर्नका लागि समुदायका सबै उपभोक्ताहरु जुट्नु पर्ने उहाँको भनाई थियो । जसका लागि वन ऐनमा समेत सुधार गर्न आवश्यक रहेको बताउँदै योजनावद्ध रुपमा ऐनहरु पनि सुधार गर्दै जाने उहाँको भनाई थियो ।


यसैगरी उक्त वन समूहका निवर्तमान अध्यक्ष एवम् कर्णाली प्रदेश सभा सदस्य कार्यक्रमका विशेष अतिथि पद्मा खड्काले वन जोगाउन सके मात्र वनबाट पाउनु पर्ने फाइदा पाउन सकिने बताउनु भयो । उपभोक्ताका आवश्यकताहरु परिपूर्ति गर्दै वनको संरक्षण, सम्वद्र्धन र विकास गर्न सकिने बताउँदै संसद खड्काले देउती बज्यै सामुदायिक वनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी अन्य सामुदायिक वनको दाँजो उदाहरणीय वन बनाउन सबै उपभोक्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, एक व्यक्ति दश विरुवाको नीतिलाई आत्मसाथ गर्न सकेको खण्डमा कुनै पनि वन क्षेत्रका डाँडाहरु नाङ्गा हुँदैनन् । विशेष अतिथिको रुपमा शुभकामना मन्तव्य दिने क्रममा संसद खड्काले भन्नुभयो, सबै तहका सरकारहरुले नीति तथा कार्यक्रममा परिवर्तन गर्नुका साथै उपभोक्ताहरुले समेत वन जोगाउनका लागि व्यवहारमा परिवर्तन गर्न जरुरी छ ।


वीरेन्द्रनगर इलाका वन कार्यालयका घनश्याम चपाईले वन जोगाउन सके मात्र वन्यजन्तु लगायत प्राणी जाति जोगिने बताउँदै वन जोगाउनका लागि उपभोक्ताहरु नै सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष रत्न बहादुर बुढा र वडा नं. ११ का वडाअध्यक्ष नन्दलाल शर्मालाई सम्मान समेत गरिएको थियो ।