मायालुले खोसेको चुरोटको सर्को
बाहुनले राखिएको नाम त अमृत हो उसको । तर एक पटक उसले आमाको चौबन्दी चोलीको गोजीबाट जाइफल चोरेको थियो । त्यसै दिनदेखि घर, छिमेक, टोल हुँदै सबै गाउँलेहरु उसलाई जाइफले भनेर चिन्छन् । खासै नराम्रो पनि लाग्दैन उसलाई जाइफले भनेकोमा । आमा बा को जेठो छोरो । जेठो भएकैले होला उसले आफू भन्दा पछाडिका भाइबहिनीको हेरालोदेखि अलि ठूलो भएपछि गाई बाख्राको समेत हेरालो बन्नु परेको छ । आफ्नै गाउँमा विद्यालय नभएकोले पनि जाइफलेका गाउँका धेरै बालबालिकाहरु विद्यालय जानबाट बञ्चित छन् । भरखरै भरखरै शिक्षाको विकास हुने क्रम शुरु भएको छ । बालबालिकाहरुलाई स्कुल पठाउँ भन्ने त धेरै छन् तर नजिकमा स्कुल नभएकोले गर्दा त्यो केवल नारामै सीमित छ । जाइफलेका बडा बा को जेठो छोरो भने विद्यालय जान्छ । उतै बस्छ कहिले काँही २ हप्ता दिनमा एक पटक त कहिले १ महिनामा एक पटक आउँछ । ऊ घर आयो भने उसका उमेरका साथीहरु निकै माया गर्दछन् । ऊ पनि निकै ठाँटिएको हुन्छ । पढ्न त कतिमा पढ्छ जाइफलेलाई पनि थाह छैन । तर पनि हाम्रा दाजु पढेका छन् भनेर अरुहरु सँग अलि अलि गफ पनि दिन्छ जाइफले ।

ध्यावन्त खेती घोकन्त विधा । जति धेरै गोठमेल गर्न सक्यो । मल जलको व्यवस्थापन गर्न सक्यो त्यति धेरै बाली फस्टाउने हो । अनि जति धेरै बुझेर धोक्न सक्यो त्यति धेरै विधा आउने हो । कुनै पनि कुरामा राम्रो ध्यान दिन सकेको खण्डमा मात्र त्यस क्षेत्रमा प्रगति हुन्छ । जाइफले आफूले जानेको काममा निकै मिहिनत गर्ने गर्दछ । त्यसैले त जाइफलेले गोठालो गर्न थालेपछि उसका बाख्रा सप्रेका छन् ।
जाइफलेलाई आज अचम्म लागेको छ । हिमालको फेदसम्मै हिउँ आइपुगेको छ । जाइफलेले अहिलेसम्म हिउँ परेको प्रत्यक्ष रुपमा देखेको छैन । बाख्रा चराउन जाने क्रममा ऊ पहाडको शिरमै पुगेको छ । पहाडको शिर र हिमालको फेदी भनेका आमने सामने पर्दछन् । आकाशबाट पानी त होइन परेको के हो खै कपासको भुवाँ झैं छ । अनौठो अनुभव गरिरहेको छ जाइफले । नहोस् पनि कसरी पहिलो पटक हिउँ देख्न पाउँदा । १३÷१४ वर्षको उमेर । झोलाका कापी किताब बोकेर स्कुल जाने उमेरमा बाख्रा गोठाला जान बाध्य छ जाइफले । जाइफले आफूभन्दा ठूला गोठालाहरुको प्रिय पनि छ । उसलाई सबैले माया गर्दछन् । किनकी ऊ अरुहरुले भन्दा धेरै ख्याल गर्छ बाख्राको । आफ्ना र अरुका बाख्रा भनेर कहिल्यै फरक गर्दैन उसले । अरुहरु गफमै मस्त भएको बेलामा पनि जाइफले बाख्राले मन पराउने डाले घाँसहरु काटेर बाख्रालाई खुवाउने गर्दछ । माघको महिना । पहाडको टुप्पासम्म हिउँ परेको । चिसोको कुरा गरी साध्य छैन । करिब १२ वर्ष अघि आएको थियो रे त्यो ठाउँमा हिउँ । त्यतिबेला जाइफले अबोध बालक थियो अनि उसलाई पत्तो नै छैन । १२ वर्षमा खोलो पनि फर्कन्छ भन्ने हो रहेछ । शिवेले भन्ने यहाँसम्म हिउँ आएको मलाई थाहा नै थिएन । झन यो जाइफलेलाई त के थाह हुनु ।
जाइफलेका ओठ निलाम्य भएका छन् । चिसोको कारण रगत नै नभएको जस्तो देखिन्छ । चिसोले थुरथुर काँपीरहेको छ जाइफले ।
शिवले भन्यो ए ! आइज यता बस् । फेरि चिसोले जालास् नि । मोटाघाटा बाघलाई बुढाखाडा माघलाई भन्छन् । यो माघमा जानलाई त्यो के बुढो भइसके र । दिपकले थप्छ । बाहिर हिउँको सिरेटोले निकै चिसो बनाएको छ । शिवे, दिपक र जाइफले निकै मिल्ने साथीहरु हुन् । शिवे करिब २ वर्ष अगाडि देखि नै चुरोट पिउछ । तर आफू भन्दा ठूला मान्छेहरुका अगाडि डर र लाज दुबै मान्छ । त्यसैले दिपक र जाइफलेलाई अरुहरुलाई नभन्नु है भन्दै उसले विश्वास दिलाएको हुन्छ । ज्यादै जाडो भएकोले आज दिपक र जाइफलेलाई पनि चुरोट पिउन सल्लाह दिन्छ शिवेले । शिवेको सल्लाह अनुसार नै जाइफलेले जीवनमा पहिलो पल्ट चुरोटको एक सर्को तान्यो । कति न अम्मली होला भने झँै मज्जाले तान्यो अर्को सर्को पनि । तर एक छिनमा टाउको दुखेको अनुभव भयो उसलाई । चिसोको कारण त्यति धेरै असर नभएपनि उसले तानेको चुरोटको पहिलो सर्कोले नै उसको फोक्सोलाई छोइसकेको थियो ।
पढलेख नगरेको भएपनि बुद्धि चाँही लगाउँछ जाइफले । उसले जब चुरोटको सर्को तान्यो त्यसपछि मनमनै सोचिरहेको छ, धत, म बहुला त भएन । चुरोट पो पिएँ त आज । कतै आमा बाले थाह पाए भने । मनमा डर पनि पलाएको छ । उसले आफैँलाई हप्काउछ मनमनै । तर हप्काउँदाहप्काउँदै मानौँ नाइटैदेखि तुलबुलीको एउटा कस्तो मुस्लो उठयो भने बसेको ठाउँमा बस्नै नसकी जुरुक्क उठ्छ । एकछिन भौतिारिएको झैँ हुन्छ ।
संगत अनुसारको फल भने झैँ । विस्तारै विस्तारै जाइफले पनि चुरोटको अम्मली पो बन्न थाल्यो । कुनै दिन साथीको लहलहमै एक दुई सर्को तान्ने मान्छे । आज उसलाई चुरोट नभई हुन्न । अम्मल भनेको निकै खतरनाक हुन्छ । एकपटक लत बसिसकेपछि छुटाउन निकै गारो हुने । हुँदाहुँदै जाइफले चुरोटको पक्का अम्मली भयो । हुन त सामान्य गोठालो हो जाइफले तर पनि के के न बुद्धि लगाउँछ र के के बनाउने गर्दछ । काठको कामदेखि ढुङ्गाको काम समेत गर्नमा खप्पिस छ ऊ ।
जाइफलेको मामाको छोरा धने मलेशिया गएर आएको छ । ऊ पनि मामाको घरमा जान्छ । धने जाइफले भन्दा साढे पाँच वर्षले जेठो छ । हेर्दा पनि खाइलाग्दो । गोरो वर्णको । क्या रहर लाग्दो ज्यान बनाएर आएछ धने । जाइफलेलाई पनि विदेश जान पाएको भए त त्यसरी नै म पनि …. भन्ने लाग्छ । त्यसपछि उसले पनि विदेश जाने योजना बुन्छ मनमनै ।
दैवले भन्छन रे तँ आँट म पु¥याउँछु । हेर्दा हेर्दै जाइफले २३ वर्षे लक्का जवान भइसकेको छ । यो उमेरसम्म आइपुग्दा उसले चुरोट त कति पियो पियो । हो चुरोटले क्यान्सर हुन्छ भन्ने थाह पनि छ उसलाई तर पनि लत बसेकोले पिउछ उसले । उसलाई चुरोटको प्यास अरु कुनै बस्तुले मेटाउन सक्दैन । चुरोट नपाउँदाका, सलाई नजुट्दाका, बाआमाले थाहा पाउलान् भन्ने डरले लुक्दा– लुकाउँदाका चाखलाग्दा काण्ड कति छन् कति । समय बदलिँदै गयो । मामाको छोरा जस्तै उसको पनि विदेश जाने र धेरै पैसा कमाउने रहर पूरा हुनै आँट्यो । अन्ततः ऊ बैदेशिक रोजगारीको लागि हानियो कतार तिर ।
कतार गएको एक वर्ष भइसक्दा पनि उसले आफ्नो लतलाई नियन्त्रण गर्न सकेन । गरोस् पनि कसरी । किनकी १५÷१६ वर्षको उमेरदेखि नै उसलाई चुरोटको नराम्रो तल बसिसकेको छ । त्यही लतका कारण उसले कतारको गर्मीको कुनै वास्ता नै गर्दैन । त्यो ५० डिग्रीको गर्मीमा पनि उसलाई चुनोट नपिइ हुँदैन ।
पाश्चात्य संस्कृतिले हाम्रो संस्कृतिलाई जित्नै आँटेको छ । त्यसैले त अंग्रेजी नयाँ वर्ष, भ्यालेन्टाइन, क्रिशमस, अप्रिल फूल के के हुन के के मनाउन थालेका छौ हामीहरुले पनि । भ्यालेन्टाइन डे भन्दा अगाडि आउने विभिन्न डे हरुमा जाइफले पनि आफ्नै पाराले रमाएको जस्तो देखिन्छ । उसलाई अरु कुनै मतलब छैन । काममा गयो काम ग¥यो । अनि कोठामा आयो खाना खायो । मन लागेको बेलामा चुरोट पिउन पायो भने पुग्यो उसलाई ।
एक दिन खाना खाइरहेको थियो । उसलाई माया गर्ने र उसले माया गर्ने मान्छे जोडिएका थिए सामाजिक सञ्जालमा । तपाई एक छिन उठ्नुस् त । ऊ कुनै प्रश्न नगरी खान छोडेर जुरुक्क उठ्छ अनि फेरि त्यही मन परेको मान्छेको आदेश आउँछ अब बस्नुस् । बस्छ । त्यसपछि सोध्छ मलाई किन उठाएको र बसाएको ? उसले जवाफ पाउँछ मेरो शक्ति कति छ भनेर मापन गरेको नि । हुन त एकसिंगे गैंडालाई पनि तह लगाउन सक्ने नारीहरु त्यसै महान भएका होइनन् । गफिँदै खाना खाइ सक्छ । त्यसपछि उसले फेरि एउटा चुरोट निकाल्छ र उडाउन थालिहाल्छ धुवाँका मुस्लाहरु । छोरालाई तह लगाउन गारो भयो भने अलि कडा खालको बुहारी ल्याइदिनु पर्छ भन्थे गाउँमा बुढापाकाहरु । जाइफलेले चुरोटको धुवाँ उडाइरहेको बेलामा उसलाई माया गर्ने मान्छेले उसको चुरोटको लत कसरी छुटाउने भन्ने बारेमा सोचिरहेको हुनुपर्छ । आखिर निस्वार्थी माया गर्ने हो भने त्यति त सोच्नु पनि प¥यो ।
जाइफलेका साथीहरु भन्छन्– यो मान्छेले खाना छाड्ला तर चुरोट छाड्दैन । जति भने पनि लाग्दैन । शिवले सिकाएको यो लत अब कहिल्यै छोड्न सकिदैन त ? जाइफले मनमनै सोच्ने पनि गर्दछ । तर पनि जब उसको मनमा चुरोट आउँछ तब फेरि माया गर्न थालिहाल्छ चुरोटलाई । तपाईले चुरोट पिउन थालेको कति भयो कसरी सिक्नु भएको अनि छोड्नका लागि कोसिस गर्नुभयो गर्नुभएन लगायतका यावत प्रश्नहरुको उत्तर पाइसकेकी जाइफलेकी प्रेमिकाले जुक्ति निकालिन र एक दिन जाइफले चुरोट तानिरहेको बेला भनिन् – तपाई मलाई एउटा उपहार, दान, बरदान, चन्दा जे भने नि दिन सक्नु हुन्छ कि ? उसका लागि मैले जीवन त दिन सक्छु भने के नै माग्ने होलिन् र । यस्तै विचार गरेर जाइफलेले हुन्छ मागि हेर न भनिदियो । तर जाइफलेलाई पूर्ण विश्वासमा पारेर मात्र उनले भनिन्– तपाईले पिइरहेको चुरोट दिनहोस् मलाई । खस्न त खस्यो छाँगाबाट तर पनि वचन दिइसकेकोले पूरा गर्नै पर्छ उनको मागलाई । अनि उनले त्यो मेरा लागि नै भनेकी हुन् । मन भित्रसम्म छोयो जाइफलेलाई यो कुराले ।
कुनै दिन जाइफलेकि आमाले उसले चुरोट पिएको पत्तो पाएकी थिइन । नराम्रोसँग गालि खानु परेको थियो उसले । तर पनि सकेको थिएन छोड्न । आफूलाई जसले ज्यान सुम्पेकी छे उसलाई वचन दिएको छ । आमालाई दिन नसकेको वचत मायालुलाई दिएपछि साँच्चिकै उसलाई माया गरेको कारण त्यो दिनदेखि उसले चुरोट पिउन छोडिदियो । आजभोलि कसैले उसको नजिकै चुरोट तान्यो भने नराम्रो नजरले हेर्छ जाइफले कस्तो चुरटे रहेछ । कस्ती रहिछे यसकी मायालु जसले चुरोट पिउन छुटाउन सम्म सकेकी छैन ।






