Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

डा. केसीलाई सेप्सिसको खतरा, के हो सेप्सिस ?

काठमाडौं ।

जुम्लामा १७ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गएरातिदेखि झन् गम्भिर बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

‘सेप्सिस’को उच्च जोखिममा रहँदै आएका डा. केसीलाई गएरातिबाट छातीमा असह्य पीडा र सास फेर्न गाह्रो भएको बताइएको छ । असह्य पीडा भएपछि उनले चिकित्सकहरुलाई सहयोगको आग्रह गरेका थिए । उपचारमा संलग्न चिकित्सकहरुले उनलाई तुरुन्तै चेकजाँच गर्दा रगतमा अक्सिजनको मात्रा ६०, श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० को हाराहारीमा पुगेको थियो । गएरातिबाटै केसीको इसिजिमा एक्टोपिक बिट्सहरु देखिन थालेको छ ।

Image result for dr govinda kc

रगतमा इलेक्ट्रोलाइट्सको घटबढ भएको र मुटुको चालमा परिवर्तन भई एक्टोपिक बिट्सहरु देखिने उपचारमा संलग्न चिकित्सक बताउँछन् । “यसरी मुटुको चाल परिवर्तन हुनु निकै नै खतराको संकेत हो,” उपचारमा संलग्न चिकित्सक डा. धिरज गुरुङले भने, “यस किसिमका चालहरु आइरहेमा बिरामीको मुटु जुनसुनै बेला पनि बन्द हुनसक्छ ।” कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले अस्पतालले इमर्जेन्सी म्यानेजमेन्टका लागि उपकरण र औषधिहरु तयारी अवस्थामा राखिएको सेप्सिसको संक्रमणका कारण धड्कन बन्द भएर आइसियुमा राख्नुपर्ने अवस्था आउन सक्ने बताए ।

त्यसैगरी, उनको पिसाब पनि विस्तारै सुक्दै गएको छ । टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाक लाग्नेलगायत समस्याहरु देखापर्ने गरेको उपचारमा संलग्न डा. पुजन कुमार रोकाया, डा. धिरज गुरुङ, डा. सिद्धार्थ खाती र डा. निराजन महासेठले जारी गरेको स्वास्थ्य अवस्थामा उल्लेख छ ।

के हो सेप्सिस ?
शरीरको एउटा भागबाट सुरु भएको संक्रमण पूरै रगतबाट शरीरका सबै भागमा फैलिनुलाई चिकित्सकीय भाषामा सेप्सिस भनिन्छ । डा. केसीको रगतमा सेतो रक्त कोषिका क्रमशः घट्दै गइरहेको छ  । अनशनको प्रारम्भदेखि नै केसीको रगतमा सेतो रक्तकोषिका घटेको हो । उनलाई दुई दिनअघि जाँच गरिएको रगतमा सोको संख्या ४००० भन्दा कम थियो  । सेतो रक्तकोषिका कम हुँदा शरीरको किटाणुसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता घट्छ । त्यस्तो मानिसमा सेप्सिसको उच्च जोखिम रहन्छ ।

अनसनको पाँचौं दिनबाट स्लाइन पानी दिन खोलिएको नसामा संक्रमण देखिएको हो । उक्त संक्रमणका कारण डा. केसीका हात सुन्निएका छन् । दुखाइ कम गर्न हातमा पट्टी बाँधिएको भए पनि त्यसले खास फरक पारेको छैन । यसरी नसा नै प्रभावित भएको अवस्थामा रगतमा संक्रमण सजिलैसँग फैलिन्छ । अझ सेतो रक्तकोषिकाको मात्रा कम भएका ’इम्युनोकम्प्रमाइज्ड’ बिरामीको हकमा त झन् शरीरभर संक्रमण फैलिएर सेप्सिस हुने सम्भावना उच्च रहने चिकित्सक बताउँछन् ।

डा. केसीले चिकित्सा शिक्षा अध्यादेश तोडमोड नगरी ल्याएमा तुरुन्त अनसन तोड्ने बताउँदै आएका छन् । तर, सरकारले चिकित्सा शिक्षा अध्यायदेशमा केही परिमार्जन गनुपर्ने अडान राख्दै आएको छ ।  अहिलेसम्म सरकार पक्ष र डा. केसी पक्षबीच सामान्य छलफल भए पनि वार्ता समिति गठन हुन सकेको छैन ।  सोमबार पनि संसदमा डा. केसीको मागअनुसारको चिकित्सा शिक्षा विधेयक तोडमोड नगरी ल्याउनुपर्ने माग राखेर नेपाली कांग्रेसले संसद अवरोध गरेको छ ।

डा. केसीको माग पूरा गराउन मानअधिकारकर्मी तथा विवेकशिल साझाले संसद भवन अगाडि आन्दोलन गरेका थिए । सरकारले वार्ताका लागि काठमाडौं ल्याउने तयारी गरेको भए पनि केसीले आफू कुनै पनि हालतमा काठमाडौं नआउने अडान कायमै राखेका छन् । वार्ताका लागि सरकारी टोली जुम्ला जानुपर्ने उनको अडान छ ।

यस्ता छन् केसी माग

१)  चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक बाँकी  बुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गरियोस् । तत्पश्चात् अविलम्ब चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालनलगनयत कामहरु सुचारु गरियोस् ।

२) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस लगायत स्नातकोतर तहका विद्यार्थी भर्ना गर्ने गरी पूर्वाधार र जनशक्ति कायम गरियोस् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गरियोस् ।

३)  माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गरियोस् ।

४) चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गरियोस् । त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस् ।

५)  विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गरियोस् ।

६)  कथित छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्य््िवधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृत्तिपछि २ वर्ष अनिवार्य सेवाको व्यवःथा गरियोस्। आगामी शैक्षिक सत्रदेखि सबै निजी संस्थाहरुमा समेत चिकित्साको स्नातकोत्तर तह निःशुल्क गरियोस् ।

७)  पठनपाठन ठप्प भइसकेको जानकी मेडिकल कलेजका विद्यार्थीहरुलाई उचित व्यवस्थापन गर्दै विद्यार्थीहरुलाई अलपत्र पार्नमा जिम्मेवार व्यक्तिहरुलाई तत्काल कारबाही गरियोस् । तथा प्रदेश २ मा सरकारी मेडिकल कलेज खोल्ने काम तत्काल सुरु गरियोस्।

बारखरी