Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

अन्धविश्वास बिरुद्धको हाम्रो लडाई

हस्तराज रेग्मी

मानव सभ्यताको विकास वा जङ्गली युगदेखि हालको वैज्ञानिक युगसम्म आइपुग्दा मानवको इतिहास र यसका गलत क्रियाकलापहरुका बारेमा विचार गर्न धेरै ढिला भइसकेको छ । अन्धविश्वासका कारणले समाजमा लाखौं मानिसहरु पीडित छन् ।

वास्तविक धरातालमा नअडिएर हुदै नभएको कालो खाडलभित्रको अँध्यारोमा भौतारिरहेको समाज वास्तविकतातिर नलागी ढाँट, छल अवास्थविक र हुँदै नहुने वस्तु÷तत्वका पछि लागिरहेको समाजलाई सभ्य बनाउन आवश्यक छ र संगठित रुपमा सबै प्रकारका अन्धविश्वासहरुलाई हटाउन सकिन्छ ।

नेपाली समाजमा विभिन्न स्वरुपका अन्धविश्वासहरुको चाङ देखिन्छन् । समाजलाई विकास र परिवर्तनको पक्षमा अगाडि बढ्न तीनै अन्धविश्वासले रोकिरहेका छन् । आम नागरिकलाई त्यसका विषयमा बुझाई अत्यन्तै निर्मम र कठोर तरिकाले लाग्नुपर्दछ । समाज, विकास, व्यक्तित्व विकासलाई समेत असर गर्ने अन्धविश्वासका रुपहरुलाई हटाई एउटा सभ्य समाज निर्माणको लागि सबै सचेत नागरिक, हामी युवा विद्यार्थीको उत्तिकै र हस्तक्षेपकारी भूमिका आवश्यक छ । मानिसको स्वभाव नयाँकुरा अंगाल्दै जानु र पुरानो विर्सदै जानु पनि हो । अहिलेको समाजका धेरै मानिसहरु अध्यात्मवादमा विश्वास गर्नुले पनि अन्धविश्वासका रुपहरु रहिरहेका छन् ।

उत्पत्ति

समाजको विकास सँगसँगै विभिन्न अन्धविश्वासहरु समाजमा स्थापित भएको देखिन्छ । नेपालको सन्दर्भमा जातजाति, होचोउचो, देवीदेउता जस्ता हिन्दूधर्मका संस्कारले नै अन्धविश्वासलाई समाजमा रहिरहन सहयोग गरेको देखिन्छ । मानवजातिको अज्ञानताबाट नै अन्धविश्वासको सुरुवात भएको पाइन्छ । हुँदै नभएका कुराहरुलाई विश्वास गर्नु अन्धविश्वासलाई सहयोग पु¥याउनु नै हो । समाजमा प्रचलित सबै प्रकरका अन्धविश्वासहरु धर्मसंग नै जोडिएका छन् । धर्मको जन्म नै अन्धविश्वास बाट भएको हो । विश्वमा प्रचलित सबै प्रकारका धर्ममा विभिन्न प्रकृतिले अन्धविश्वासहरु विकसित भइरहेको पाइन्छ । यिनले वैज्ञानिक परीक्षणबाट पुष्टि पाउन सकेका छैन । जसले मानव विकासलाई चुनौती भएको छ । मानव विकासलाई हेर्ने हो भने दिन दिनै परिवर्तन भएको छ । हामीले समाजतिर फर्केर हेर्दा समेत के थाहा पाउछौं भने दुईजना आमा बुबाका ८÷१० जना सन्तान हुन्छन् ।

आजभन्दा हिजो हिजो भन्दा अस्ति मानिसको सङ्ख्या कम थियो यही कुरा ज्ञानमा पनि लागु हुन्छ र धार्मिक विश्वासमा पनि लागु हुन्छ । आज समाजमा जति अन्धविश्वासका रुपहरु छन्, ती कुनै दिन शून्य पनि थिए र अहिले यी विस्तारै घट्दो क्रममा छन् । जनसङ्ख्याको सिद्घान्त अनुसार जनसङ्ख्याको बृद्घि ज्यामितीय ढंगबाट भइरहेको हुन्छ भने यही बृद्घिको प्रभावले सामाजिक अन्धविश्वासप्रति विश्वास गर्ने मानिसहरुको सङ्ख्याको बृद्घि भएको देखिन्छ । समाजमा बच्चालाई धर्मप्रति विश्वास गर्ने वातावरण खडा गरिन्छ विश्वास मस्तिष्कसंग सम्बन्धित भएरै उसले जीवनभर अनुशरण गर्न खोजिरहन्छ ।

यसबाट पनि हामी के बुझन सक्दछौ भने कुनै समय धर्मकर्म, बाइबोक्सी केही पनि थिएन । मानव विकासको क्रमसंगै यी अन्धविश्वासहरुको जन्म भएको हो । अहिले हामीमध्ये कसैले पनि भगवान, देवी, देउता, धर्म, पाप देखेका छैनौं । यदि कसैले देखेको बयान गर्छ भने उ भ्रममा छ । भगवान भनेर पूजा गर्ने, मन्दिर तथा मूर्तिहरु हामीजस्तै मानिसले बनाएका हुन् ।

ती वस्तुलाई भगवान सम्झी पूजा गर्ने उनीहरुको विश्वास हो जुन भ्रममा केन्द्रित छ । मान्छेले बनाएको मन्दिर र मूर्तिलाई थाहा पाएर पूजा गर्ने हाम्रो सोच नै समाज विकास र परिवर्तनको प्रतिफल हो । मन्दिर र मूर्तिलाई भगवानले होइन बरु मान्छले बनाए । मान्छेले बनाएको मूर्ति नै भगवान हो भन्नुभन्दा मूर्ति त एउटा सुन्दर काम हो, सीप हो, कल्पना हो भन्ने सोच्नु अनिवार्य छ । अब हामी के विषयमा स्पस्ट हुन जरुरी छ भने मन्दिर र मूर्तिहरु मान्छेले नै बनाएका हुन । यी भगवनाका रुप होइनन्, सीप, क्षमता र कल्पनाका स्रोत हुन ।

ठीक त्यसै गरी वेद, पुराण, रामयण, वाइबल, त्रिपिटक जस्ता रचना तथा लेखहरु पनि कुनै भगवानले लेखेका होइनन् । ती विभिन्न साहित्यकारका साहित्यिक कृति हुन्, लक्ष्मीप्रसाद देवकोटाको मुनामदन जस्तै । तपस्वीहरु, क्रषिमुनीहरुले वेदशास्त्र जस्ता साहित्यिक ग्रन्थहरु जन्माइसकेपछि ती काल्पनिक ग्रन्थका कथाहरुलाई सत्यताको ढ्वाङ फुकेर यसो गरे धर्म हुन्छ, उसो गरे पाप हुन्छ, स्वर्ग पुगिन्छ, नर्क पुगिन्छ भन्न थाले, प्रवचन दिन थाले । यिनै रचनाहरुलाई नियम कानुनको रुप दिएर जनतालाई अन्धविश्वासमा धकल्ने काम गरियो । यसरी आफ्ना रचनाहरुलाई नियम कानुनको रुपमा विकास गर्दा त्यो समयमा अत्यत्तै दमन भएको देखिन्छ ।

यति सम्म कि उनीहरुको प्रवचनमा विरोध गर्न बन्देज थियो । कुनै समयको धर्म आफ्ना साहित्यिक रचनाहरुको प्रचार प्रसारले मान्छेलाई नीति नियममा बाँध्न त्यति बेला धेरै सजिलो भयो । आम मानिसमा ती काल्पनिक कथाहरुमा विस्तारै विश्वास बढ्न थाल्यो । मानिसहरु धर्म कर्ममा जोडिन बाध्य भए । यसरी सबैको कानकानमा धर्म पुप्याएपछि समाजलाई जातपातमा बाँड्ने काम भयो । यी धार्मिक ग्रन्थको प्रचारप्रसारसंगै विकास गरेको भुतपे्रत, बोक्सी, छुवाछुत, जातजाति, धर्म, पाप, स्वर्ग, नर्कको बाध्यात्मक विश्वास पछि आएर समाजको अभिन्न अंग बन्न पुग्यो । किनकि त्यतिबेला विश्वास नलाग्नेलाई विरोध गर्ने कुनै अधिकार थिएन । यही कारणले हाम्रो समाज आजसम्म अन्धकारमा र अन्धविश्वासमा छ ।

 

के हो अन्धविश्वास

धर्मको विकास संगसंगै अन्धविश्वासका विभिन्न रुपहरु पाइन्छन् । मानिसका दैनिक जीवनमा देखिने अन्धविश्वासका रुपहरुले विज्ञान र वैज्ञानिक आविस्कारहरु समेतलाई गिज्जाई रहेका छन् । रेडियो मोबाइल, गाडी हवाइजहाज जस्ता वैज्ञानिक आविष्कार भए । ती प्रयोग गर्नु तर दैनिक क्रियाकलाप अन्धविश्वासबाट ग्रस्त हुनु हाम्रो देश, समाज र स्वयम व्यक्तिमा विकासको प्रक्रियामा असर पर्नु नै हो जहाँ अन्धविश्वासको प्रभाव रहन्छ, त्यहाँ गरिबीको पनि प्रभाव रहन्छ । अन्धविश्वास र गरिबी एकै सिक्काका दुई पाटाका रुपमा समाजमा रहन्छन् । त्यसकारण गरिबीवाट उन्मुक्ति पाउन अन्धविश्वासलाई त्याग्नै पर्छ ।

हाम्रो समाजमा शिक्षित, बुद्घिजीवी, जानेबुझेका समाजका अगुवाहरुसमेत अन्धविश्वासको चरम खाडलमा परेको देखिन्छ । गाडी किनेर पूजा गर्नु, कार्यालयहरुमा पूजा कोठाको समेत व्यवस्था गर्नु, कम्प्युटर किनेर समेत पूजा गर्ने यस प्रकारका तुच्छ गतिविधि र अन्धविश्वासबाट ग्रसित व्यक्तिहरुबाट समाज परिवतर्नको आशा गर्नु नै बेकार हुन्छ । पूजापाठ, ग्रहदशा, जातपात, छुवाछूत, बलिप्रथा, झारफूक, धामीझाँक्री, कुन्डली, स्वर्ग, नर्क, पाप, धर्म, भूतप्रेत, पूर्वजन्म, पूर्वजन्म, भाकल, भगवान, राक्षस, कुमारीप्रथा, साइत हेराउनु, विरालोले बाटो काटनु, आँखा फरफराउनु, वैतरणी, जनैलगायत अन्धविश्वासका सयौं रुपहरु रहेका छन् । अन्धविश्वासका ती कुनै पनि रुपहरुलाई वैज्ञानिक अनुसन्धानले पुष्टी गर्ने सकेको छैन् ।

डर यस्तो कुरा हो जसले मानिसलाई नियन्त्रण र बाध्यतामा राखेको हुन्छ । डरकै कारणले भुतप्रेत  बाइबोक्सीको धारण समाजबाट हटाउन सकिएको छैन । डरकै कारणले अन्धविश्वासले जरा गाडेको पाइन्छ । यदि डर हुंदैनथ्यो भने दिनमा नदेखिने भूत रातमा पनि देखिने थिएन । कतैबाट आएर खाइदिने पो हो कि ? विरामी पारिदिन्छ कि ? मारिदिन्छ कि ? जस्ता डर नहुंदा हुन् त सायद अन्धविश्वास नै हुने थिएन होला । सुरुमा मानिसको विचार वा सोचाईंको क्रम र वस्तुहरुको भौतिक क्रम मिलाएर अन्धविश्वास जन्मियो भनौ वा दैवीशक्तिमाथिको विश्वास जन्मियो । समाजलाई नियन्त्रणमा राख्न र वस्तुहरुलाई नियन्त्रणमा राख्न धर्म र पापको कुराको प्रचार प्रसार गरियो । यसरी अन्धविश्वास जानीजानी पालियो । त्यस्तै पहिलेका मान्छेले मान्छेको मृत्युलाई स्वीकार गर्न सकेनन् जसले अरुको मनमा डर थियो । अन्धविश्वासले मान्छेलाई उ आफैबाट आफैलाई छुट्टाएर झुटो कुरा हो भन्ने थाह हुँदाहुँदै पनि नस्वीकार्ने, हठी, स्वार्थी, विना बुद्घिको मानसिक दास र रुढीवादी धारणाको शिकार बनाउने काम गरियो । यस्तो अन्धविश्वासले ज्ञान र बुद्धिको हत्या गर्ने, नस्ट गर्ने काम गर्छ । हामीलाई व्यक्तित्व, विवेक, सोचाई, क्षमता आदि सबै ग्रस्त गरेर यति अन्धो बनाउछ कि हामीले के गर्नुहुन्छ, के गर्न हुंदैन भन्ने कुरा नै थाह पाउदैनौ । यसलाई हतियारको रुपमा प्रयोग गर्नेले भने सधै हामीमाथि विजय प्राप्त गरिरहेका हुन्छन् र उनीहरु सधै सुखी जीवन विताइरहेका हुन्छन् ।

अन्धविश्वासका असर

समाजले बालबालिका र विद्यार्थीलाई विभिन्न बहानामा अन्धविश्वासको प्रभावमा पारेको छ । खासगरी बच्चा सानो हुँदा आफ्नो नियन्त्रणमा राख्नको लागि भूत भनेर तर्साउने, देउताले कान काट्छन् भनिदिने, ब्रत बस्न सिकाउने, साइत हेराउने, विरामी हुदाँ अस्पताल नभएर झारफुक गर्ने, बोक्सी लागेको भनिदिने र अन्धविश्वासप्रति गहिरो छाप बसाली दिने गरिन्छ । यो नै उसको जिवनमा हुने मानसिक असर हो । महिनावारीको शुरुआतमा देउता रिसाउँछन् भनेर सूर्यको प्रकाश वा पुरुषलाई हेर्न नहुने, घरभित्र जान नहुने, दैनिक क्रियाकलाप गर्न नहुनेजस्ता अन्धविश्वासका छापहरु बालमष्तिस्कमा जबरजस्ती थुपारीदिनाले उनको सोचाइ नै नकारात्मकातिर मोडिदिनाले समाज विकास र व्याक्तित्व विकासमा समेत असर गरेको देखिन्छ । अन्धविश्वास बालबालिकाको विरुद्घ खडा गरिएको खतरनाक पर्खाल हो । यो पर्खाल भत्काउन सचेत नागरिकको दायित्व हो । हाम्रो सिकिरहेको र सिक्दै गरेको शिक्षाले पनि समाजमा विद्यामान रहेका अन्धविश्वासका विरुद्घ लड्न सिकाएको छैन । आधारभूत तहमा यस प्रकारको पाठ्यक्रम समावेश गर्न आवश्यक छ ।

जहाँ अन्धविश्वासको प्रभाव रहन्छ त्यहाँ गरिबीको समेत प्रभाव रहछ । विश्वका विभिन्न देशहरुमा धार्मिक युद्घहरु भएका छन् । ती युद्घहरु अन्धविश्वासबाट प्रेरित देखिन्छन् । आफ्नो धर्मलाई महान् ठान्ने अरुको धर्मलाई तुच्छ ठान्ने र युद्घहरु गर्ने काम पूर्णतः मानव जाति विरुद्घको अपराध हो । अशिक्षा, गरिबी, भोकमरी, सरुवा तथा माहामारी रोगहरु अन्धविश्वासका उपहार हुन् । नेपालकै सन्दर्भमा पनि बोक्सीको आरोपमा कैयौं निर्दोष महिलाले ज्यान गुमाउनु परेको छ, कैयौं अंगभंग हुनुपरेको छ भने अर्कोतर्फ देउता खुसी पार्ने नाममा देशका विभिन्न ठाउँमा मानव बलिसमेत दिने गरिएको छ । देउतालाई भाकल गरी दिइने पशुबलिको त गणना गरी साध्य नै छैन अर्कोतर्फ धामीझाक्री र छाउपडीजस्ता अन्धविश्वासका स्वरुपहरुले नेपाली समाज विकासको मार्गलाई अवरोध गरेको छ । धर्मका नाममा गरिने यसप्रकारका गतिविधिले न त समाजलाई सहयोग पुगेको छ न त राज्यलाई नै । नागरिकलाई पीडा थपिदिएको छ, यातना थपिदिएको छ । अशिक्षा, गरिबी, भोकमरी, सरुवा तथा महामारी रोगहरु अन्धविश्वासका उपहार हुन् । यसप्रकारका उपहारहरुले संसारका दशौं करोड मानिसमा ठूलो क्षति पुगेको छ । यति ठूलो क्षति हुँदासम्म पनि समाजमा अन्धविश्वासले जरा गाडेको छ यो दुखको कुरा हो । यसले मानव जीवनलाई अत्यन्तै कष्टकर बनाएको छ ।

संवैधानिक उपचार

समाजमा प्रचलित अन्धविश्वासलाई मुलुकी ऐन– २०२० समेतमा केही दण्ड सजायको व्यवस्था गरेको पाइन्छ । खासगरी नेपालको संविधान– २०७२ को धारा १६ देखि धारा ४६ सम्म विभिन्न मौलिक हकको व्यवस्था गरिएको छ । धारा ४७ मा ती हकहरु कार्यान्यनको लागि व्यवस्था गरिको छ भने धारा १८ मा समानताको हक जसमा जातजाति, धर्म, वर्ग, लिंगका आधारमा कसैलाई भेदभाव गर्न नपाइने र गरिएको खण्डमा दण्ड सजायको व्यवस्था गरिएको छ । धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हकसमेतको व्यवस्था गरेको छ । त्यस्तै धारा २९ मा शोषणविरुद्धको हकको व्यवस्था गरिएको छ । धर्म, प्रथा, परम्परा, संस्कार प्रचलन वा अन्य कुनै पनि व्यक्तिलाई शोषण गर्न पाइने छैन भन्ने व्यास्था गरिएको छ । त्यस्तै धारा ४२ मा सबै नागरिकलाई सामाजिक न्याय र सामाजिक सुरक्षाको हकको व्यवस्था गरिएको छ । तर खुलारुपमा संविधानले व्यवस्था गरेका मौलिक हकको हनन भएका हजारौं घटना घटेका छन् । त्यसरी घटना घटाउने अपराधीलाई कारवाही गर्ने कानुन र संयन्त्रको अभावले ती घटनाहरु नियन्त्रण भएका छैनन् । जसका कारण सामाजिक अपराधमा कमी आएको छैन । अपराधिक अन्धविश्वासलाई कानुनतः दण्डनीय मानिन्छ तर त्यसलाई कार्यान्वयनमा ल्याउन आनाकानी गरिन्छ । धेरै घटनाहरुमा मेलमिलाप गराइन्छ सामाजिक अपराधमा संग्लग्न व्यक्तिहरुलाई कार्वाही गर्नुको साटो राज्यद्वारा संरक्षण दिइन्छ । समाजिक अपराधहरु निरन्तर बढ्नुमा राज्य नै प्रमुख रुपमा दोषी देखिन्छ ।