अर्गानिक खेती एक परिचय, फाइदा र विरूवाको खाध्यतत्व व्यवस्थापन
परिचयः
अर्गानिक खेती एउटा समग्र कृषि उत्पादन प्रणाली हो । जसमा कृषिजन्य वस्तुहरू जस्तै खाद्यान्न, फलफूल, दूध एवं दूधजन्य पदार्थ, मासु, अण्डा जस्ता वस्तुहरूको उत्पादन तथा प्रशोधन जैविक पद्धतिबाट गरिन्छ । यसलाई अर्गानिक खेति पनि भनिन्छ । यसले आफ्नो फार्म भन्दा बाहिरबाट आपूर्ति हुने कृत्रिम कृषि सामाग्रीहरू जस्तै रासायनिक मल, रासायनिक बिषादी, हर्मोन जसले वातावरण र स्वास्थ्यमा प्रतिकूल असर पार्छ, त्यस्तालाई निरूत्साहित गर्छ र आन्तरिक व्यवस्थापनलाई बढी जोड दिन्छ । अर्गानिक खेतीको मुख्य उद्देश्य भनेको दिगो रूपमा पारिस्थितिक प्रणाली र वाताबरण सन्तुलन गर्नु तथा कम लागतमा गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्नु हो । कृषि उत्पादन गरिने जमीन तथा वरपरको क्षेत्रमा रहेका वनस्पति, जीवजन्तु र शुक्ष्म जीवाणुहरू वीचको जैविक चक्रको सहअस्तित्व कायम राख्न सहयोग गर्नु हो, यसका साथै परम्परागत ज्ञान, शीप, कला र कृषि प्रणालीको संरक्षण तथा सदुपयोगमा जोड दिदै माटोको उर्वराशक्ति र जल–सम्पदाको दीगो उपयोग गरी समुचित व्यवस्थापन गर्नु हो ।
अर्गानिक कृषिका मुख्य ४ ओटा सिदान्त रहेका छन्
१. स्वास्थ्यको सिद्धान्त (PRINCIPLES OF HEALTH )
२. पर्यावरणीय सिद्धान्त (PRINCIPLES OF ECOLOGY)
३. निष्पक्षताको सिद्धान्त (PRINCIPLES OF FAIRNESS)
४. स्याहारको सिद्धान्त (PRINCIPLES OF CARE)
यसै गरेर अर्गानिक कृषिको मार्गदर्शक सिद्धान्तहरूमाः एकल बाली प्रणालीलाई एकीकृत बाली प्रणालीमा रूपान्तरण गर्ने, रोग–कीरा व्यवस्थापनमा आइ.पी.एम तरिका अपनाउन, उत्पादन तथा प्रशोधन स्थल कुनै मिसावट र रसायन तथा विषादीबाट हुने प्रदूषणबाट मुक्त हुनुपर्दछ । पशुपालनको हकमा घाँसमा आधारित पशुपालन गरी पशुपंछी दाना उत्पादनमा एन्टिवायोटिक्स र हर्मोन जस्ता रसायनको प्रयोग गरिनु हुंदैन, स्थानीय हावापानी सुहाउँदो र रोग–कीरा कम लाग्ने किसिमको बाली बिरूवाको जात छनौट गरिनु पर्दछ, माटोको उर्वराशक्ति वृद्धि गर्न प्राङ्गारिक मलको उपयोग गर्ने र माटोमा खाद्यतत्व आपूर्तिका लागि घरखेतमा उत्पादित प्राङ्गारिक पदार्थको उपयोग गर्ने ।
अर्गानिक खेतीका फाइदा तथा महत्वहरूः
कृषि प्रणालीलाई जैविक विविधता उन्मुख गराउन, माटोको जैविक क्रियाकलापलाई वृद्धि गर्न, मित्रजीवहरूको संरक्षण तथा माटो, हावा र पानीलाई स्वस्थ राख्न , बालीचक्र, कोशेबाली, हरियो मललाई बाली प्रणालीको अभिन्न अङ्गको रूपमा लिइ खेती गर्न, दीर्घकालिन रूपमा माटोको उर्वराशक्तिलाई कायम गर्न अर्गानिक कृषिको निकै आवस्यक छ, यसै गरेर बाली र पशुको अवशेषलाई कुहाएर पुनः प्रयोग गर्दै खाद्यतत्वको आपूर्ति गर्न, कम्पोष्ट मल तथा गोठे मलको अधिक सदुपयोग गर्न, आइ.पि.एम तरिकाबाट हानिकारक किरा तथा झारपातको नियन्त्रण गर्न, माटोको अवस्था अनुसार शुन्य खनजोत, न्यूनतम खनजोत, उचित खनजोत आदि तरिका अपनाउन प्रांगारिक कृषिको निकै महत्व छ यसका साथै प्राङ्गारिक उत्पादनलाई प्रशोधन गर्दा गुणस्तरलाई कायम राख्न, स्थानीय श्रोत साधनको समुचित प्रयोग गरी वातावरण संरक्षणमा सहयोग गर्न. अर्गानिक उत्पादनका गुणस्तरीय खाद्यवस्तुबाट जनस्वास्थमा सकारात्मक प्रभाव ल्याउन अर्गानिक कृषिका फाइदा हुन् ।
अर्गानिक कृषिको लागि न्युनतम् मापदण्डः
अर्गानिक खेती गरिने जमिन र रासायनिक खेति गरिने जमिन बीच दुरी, रसायनिक मिसावट , रूपान्तरित अवधि र प्राङ्गारिक प्रमाणिकरणलाई ध्यान दिनुपर्छ ।
अर्गानिक खेती गरिने जमिन र रासायनिक खेति गरिने जमिन बीच दुरीः
अर्गानिक खेति हुने जमिनलाई प्रदूषण र मिसावटबाट जोगाउन अर्गानिक जमिन र रासायनिक खेति गरिने जमिन बिच दुरी कायम राख्नुपर्छ । जसलाई मध्यवर्ती क्षेत्र भनिन्छ । यस्तो दुरी अर्गानिक र रसायनिक खेति बिच सडक भएमा ४ मिटर र अन्य अवस्थामा कम्तिमा ५ मीटर हुनु पर्नेछ ।
रसायनिक मिसावटः रसायनिक मल, बिरूवा बर्द्धकरसायन र हर्मोन र रोग ,कीरा, झारनाशक रसायनिक विषादी जस्ता कुनै किसिमको रसायन प्रयोग भएको हुनु हुँदैन । रसायनको संसर्गमा आएका मेसिन, औजार तथा उपकरणहरू सफा गरेर मात्र अर्गानिक खेति गरिने जमिनमा प्रयोग गर्नुपर्दछ ।
रूपान्तरण अवधिः रूपान्तरण अवधि अर्गानिक खेति शुरू भएको मिति देखि गनिने छ । रूपान्तरण अवधिको पहिलो वर्षमा (अर्गानिक प्रणालीमा ल्याइएको एक वर्षसम्म) प्रमाणिकरण गर्ने निकायले बेला बेलामा निरीक्षण गर्नुपर्दछ । रूपान्तरण अवधिको दोस्रो र तेस्रो बर्षको उत्पादनलाई राम्रोसँग निरीक्षण गरेर प्रमाणीकरण निकायले ’रूपान्तरण अवस्थाको प्रमाणीकरण चिन्ह’ प्रदान गर्न सक्नेछ । यसरी रासायनिक खेति गरिएको जमिनमा अर्गानिक कृषि रूपमा प्रमाणीकरण गर्न ३ वर्ष लाग्छ । रूपान्तरण अवधि एक वर्षभन्दा कम भएको उत्पादनलाई प्राङ्गारिक मानिने छैन । यधवी, तिन वर्ष भन्दा बढि बाँझो रहेको जमिन र सामुदायिक वनमा उत्पादित वा वन क्षेत्रबाट संकलित उपज र पशु मौरी चरण क्षेत्रको हकमा जमिनको रूपान्तरण अवधि प्रमाणिकरण प्रस्तावना स्वीकृत भएको मितिबाट गणना गरिन्छ ।
अर्गानिक खेतीमा खाद्यतत्व तथा मलखाद व्यवस्थापन र बोटविरूवाले खाद्यतत्व उपयोग गर्ने तरिका ः
कृषि उत्पादन बढाउन आवश्यक पर्ने विभिन्न पक्षहरू मध्ये खाद्यतत्व र मलखाद व्यवस्थापन महत्वपूर्ण मानिन्छ । यसको लागि सर्वप्रथम स्थान एवं बाली विशेषको सिफारिस मलखाद दर थाहा पाइराख्नु पर्छ । यसबाट कुन बालीलाई कति रासायनिक मल हाल्दा आवश्यक खाद्यतत्व आपूर्ति हुन्छ र सोही अनुपातमा प्राङ्गारिक मलमा पाइने खाद्यतत्वको आधारमा परिमाण निर्धारण गर्नु पर्छ । उन्नत जातहरूमा स्थानीय जातको तुलनामा खाद्यतत्व उपयोग गर्ने क्षमता अधिक हुन्छ । यसैगरि खाद्यतत्वको आवश्यकता बाली विशेषको आधारमा जस्तै अन्नबाली, दालबाली, तेलबाली, नगदेबाली, फलफूल, तरकारी आदिको लागि सिफारिस दर फरक फरक हुन्छ । साथै मलको आवश्यकता र मात्रा सिंचित र असिंचित जमिन अनुसार फरक पर्छ । पाखोबारीमा खेती गर्दा भन्दा खेतमा खेती गर्दा मलको मात्र बढी चाहिन्छ । छोटो समयमा तयार हुने बालीको लागि कम मल चाहिन्छ भने र लामो समय लिने बालीको लागि बढी खाद्यतत्व उपयोग गर्ने क्षमता फरक हुन्छ । यसको साथै माटोमा संचित खाद्यतत्वले पनि यसमा प्रभाव पारेको हुन्छ । त्यसकारण यी सबै पक्षहरूलाई आधार मानेर प्राङ्गारिक मलको परिमाण निर्धारण गर्नु पर्छ ।
विरूवालाई आवश्यक पर्ने खाद्यतत्व प्रदान गर्न नसकिएमा आशा अनुरूप उत्पादन लिन सकिँदैन । प्राङ्गारिक मल जुन बालीमा प्रयोग गरिने हो त्यो बालीले एकै पटकमा सबै खाद्यतत्व उपयोग गर्न सक्दैन । उदाहरणको लागि गोठेमल प्रयोग गर्दा नाईट्रोजन ३०—५० प्रतिशत, फस्फोरस १०—१५ प्रतिशत र पोटासको ५०—६० प्रतिशत पहिलो बालीले उपयोग गर्न सक्छ । बाँकी खाद्यतत्व पछि लगाइने दोस्रो र तेस्रो बालीले उपयोग गर्दछन् । यस हिसाबले रासायनिक खेतीबाट प्राङ्गारिक खेतीतर्फ जाँदा शुरूका १—२ वर्षसम्म लगाइने बालीलाई माथि तोकिएको मात्राले चाहिने खाद्यतत्व आपूर्ति गर्न प्राङ्गारिक मलको परिमाण अपुग हुन सक्छ । तत्पश्चात् सिफारिस अनुसार प्राङ्गारिक मलको मात्रा प्रयोग गर्दै गएमा माटोमा खाद्यतत्वको संचितिमा बृद्धि भइ सन्तुलन कायम हुन्छ । जसबाट बोट विरूवाको आवश्यकता निरन्तर पूरा हुँदै जान्छ । त्यसैले अर्गानिक खेतीमा संलग्न कृषकहरूको उत्पादन केही समय पछी बढ्दै जान्छ र दिगो रहन्छ ।
प्रांगारिक मलका श्रोतहरू ः
प्राङ्गारिक खाद्यतत्व आपूर्ति गर्न प्राङ्गारिक मलका विभिन्न श्रोतहरू प्रयोग गर्न सकिन्छ जस्तै गोठेमल, कम्पोष्टमल, बायोग्याँस स्लरी, कुखुराको सुली, पिना, हाडको धूलो, रक्तचूर्ण, मानव मलमूत्र, भर्मिकम्पोष्टमल, हरियोमल, एजोला, कोशेबाली, सुक्ष्म जीवाणु मल, बालीको अवशेष आदि प्राङ्गारिक मल प्रयोग गर्न सकिन्छ । यसैगरि माटोमा प्राङ्गारिक पदार्थको न्यूनिकरण हुन नदिन न्यून खनजोत वा शुन्य खनजोत, घुम्तिबाली, मिश्रित वा अन्तर बाली अभ्यासहरूलाई व्यवस्थापन गर्दै लैजानु पर्छ, व्यावसायकर्ताले यी प्राङ्गारिक मलका श्रोतहरू एवं व्यवस्थापन पक्षहरूलाई योजनाबद्ध रूपमा एकिकृत गरेर प्रयोगमा ल्याउन सकेमा दिगो रूपमा माटोको उर्वराशक्ति कायम राख्न सकिन्छ । जसले गर्दा कुनै एक मात्र प्राङ्गारिक मलको ठूलो परिमाण जुटाइ रहनु पर्दैन । यी मुख्य खाद्यतत्वहरूको अतिरिक्त प्राङ्गारिक मलबाट बोटविरूवाको बृद्धि र विकासको लागि आवश्यक अन्य सहायक एवं सूक्ष्म सबै खाद्यतत्वहरू उपलब्ध हुन्छन् । जुन रासायनिक मलबाट सम्भव छैन ।
(लेखकः भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय, नीजी सचिवालय, कर्णाली प्रदेश, सुर्खेतका कृषि प्रसार अधिकृत हुनुहुन्छ ।)
यो लेख सूक्ष्मदृष्टि साप्ताहिकमा चौथो वार्षिकोत्सवको अवसरमा प्रकाशित भएको छ ।







