Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कहिलेसम्म असुरक्षित हुने नारीहरूले

संसारको आधा आकाश ढाकेको नारी र आधा आकाश ढाकेको पुरूषको कारण नै संसारको प्राकृतिक नियमको पालना भएको छ । यो संसारमा नारी र पुरुष  दुबैको अस्तित्व बराबर नै छ । तर पनि संसारका अधिकांश देशहरूमा किन नारी माथि थिचो मिचो हुने गर्दछ ।

अर्थात नारीहरूले दबिएर बस्नु पर्ने कहिलेसम्म ? नारीहरू स्वतन्त्र रूपमा जीवन यापन गर्न पाउने अवस्थाको सिर्जना कहिले हुन्छ ? यस्ता सामान्य लाग्नेतर जटिल प्रश्न भित्र खोजिने उत्तरहरूको कार्यान्वयन कहिले हुने ?

हाम्रो धर्म, संस्कृति र परम्पराले नारीलाई देवीको रूपमा मानेको छ । एउटा आमालाई पूजा गर्ने समाजले एउटा छोरीलाई पनि पूजा गर्नुको साटो गर्भमै भ्रण हत्या गरिन्छ । छोरी भएको कारण यो संसारमा जन्म लिन नपाउनु भन्दा ठूलो अन्याय के होला । नेपालको सन्दर्भमा पनि नारी स्वतन्त्रताका कानूनहरू बनेका होइनन् । तर कानूनहरूलाई किन पालना गरिदैन । बनेका कानूनहरूको पालना नहुनु र छोरी माथि लैङ्गिक रूपमा हुने भेदभाव निन्दनीय छन् । कानूनको पालना गर्ने र गराउने निकायमा बसेकाहरूले समेत लैङ्गिक रूपमा भेदभाव गर्नुले पनि कानूनको पालना नभएको हो । एउटा प्रहरीबाट एउटा बालिका बलात्कृत भएको घटनाले कानूनको ठाडै उपहास गरिरहेको हुन्छ ।

भरखरै कैलालीमा भएको क्रुर अपराधको दर्शकको रूपमा एउटा नगरपालिकाको प्रमख रहनु र एउटी नारीलाई बोक्सीको आरोपमा निर्घात कुटपिट भएको घटनाको जति नै विरोध र भत्र्सना गरेपनि कम हुन्छ । जनताबाट निर्वाचित जनप्रतिनिधिले आफ्ना जनताको जिउधनको समेत सुरक्षाको ग्यारेन्टी गर्नु पर्नेमा उल्टै एउटी नारीलाई लगातार छ घण्टासम्म कुटाइ खाएको हुरेर सहन सक्ने कस्ता जनप्रतिनिधि हुन उनी । कैलाली घटनाको भिडियो नै सार्वजनिक भइसकेको अवस्थामा कानूनको पालना गराउने निकाय प्रहरीले कुटपिटमा संलग्नलाई नियन्त्रणमा त लियो । तर नगरप्रमुखको रोहवरमा अपराधीलाई छोड्न मिल्छ कि मिल्दैन । त्यता तर्फ ध्यान दिएन । अनि जनप्रतिनिधि भएकै कारण एउटा जघन्य अपराध गरेको अपराधीलाई कानूनको दायराबाट छुटाउन मिल्छ कि मिल्दैन । यतिसम्म सोच्न नसक्ने कस्तो जनप्रतिनिधिलाई जिताए त्यहाँका जनताले । जनताले उनीबाट के यही आशा गरेका थिए । त्यो जनमासको वीचमा एउटा नगरप्रमुखले ती नारी माथिको कुटपिट रोक्न सक्थे । नारी माथि भएको हातपातलाई रोक्न सक्ने क्षमता सम्म नभएको मान्छेलाई जनप्रतिनिधि हुने अधिकार पनि त छैन होला ।

दाइजोको नाममा कुटिनु पर्ने मात्र होइन जिउँदै आगो लगाएर मार्ने बिभत्स घटनाहरू बारम्बार दोहोरी रहेका छन् । त्यस्ता घटना दोहोरिन नदिन सरकारले निर्माण गरेका कानूनहरूलाई पालना गराउन किन सक्दैन । वर्षको एक दिन नारी दिवस मनाउने र साँझ घरमा पुगेको बेलामा उल्टै नारीलाई थर्कमान बनाउने दरिद्र सोचको अन्त्य कहिले हुन्छ । जब नारीलाई एउटा खेलौनाकाृे रूपमा लिने प्रथाको अन्त्य हुँदैन, जब नारीलाई एउटा मेसिनको रूपमा लिने प्रचलनको अन्त्य हुँदैन, जब नारीलाई एउटा समान अधिकारमा बाँच्ने वातावरणको सिर्जना हुँदैन तबसम्म हाम्रो समाजमा यस्ता घटनाहरू दोहोरीरहन्छन् ।

यो लेख सूक्ष्मदृष्टि साप्ताहिकमा चौथो वार्षिकोत्सवको अवसरमा प्रकाशित भएको छ ।