Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

विश्व शिक्षक दिवस र नेपाली शिक्षक

सन्दर्भ शुरुवात
सन् १९९४ देखि हरेक बर्षको अक्टोबर ५ मा Appreciating, Assessing and Improving the educators of the world भन्ने मुख्य उद्देश्यका साथ विश्व शिक्षा दिवस मनाइने सन्दर्भमा यस बर्ष पनि अक्टोबर ५ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शिक्षकको आवश्यक्ता र दायित्वका सम्बन्धमा वहस भइरहेको छ । “शिक्षामा लगानी, भविष्य सुनिश्चित” भन्ने नाराका साथ विश्वमा र नेपालमा ‘शिक्षा अधिकारको तात्पर्य, योग्य शिक्षकको अधिकार’ भन्ने आदर्श वाक्यका साथ शिक्षक दिवस मनाइएको यस परिवेशमा नेपालमा सम्पूर्ण विद्यालय र विश्वविद्यालयहरुमा अध्यापनरत् शिक्षकहरुलाई ढिलै भएपनि यो आलेखमार्फत शुभकामना प्रकट गर्न चाहन्छु ।

शिक्षक शिक्षण सिकाइ प्रक्रियाको महत्वपूर्ण मेरुदण्ड हो । महात्मा गान्धीले भनेका थिएः “Those who know how to think need to teachers.” शिक्षा प्रणालीमा शिक्षक एक महत्वपूर्ण भौतिक लगानी हो । विद्यालयका हरेक गतिविधिहरुको सञ्चालन गर्ने नेतृत्वकर्ता हो । समाज परिवर्तनको नायक हो । संविधानलाई कार्यान्वयन गर्ने Advocator हो । भविष्यका कर्णधार नागरिक बनाउने जिम्मेवार र उत्तरदायी व्यक्ति हो । बालबालिकाहरुको चौतर्फि विकास गराउने उत्प्रेक हो । पथपर्दक हो । परामर्शदाता हो । विद्यार्थी र अभिभावकको भरोसा हो । मध्यस्थकर्ता हो । सहजकर्ता हो । सामाजिक र राजनीतिक इञ्जिनियर हो । व्यक्ति, समाज र राष्ट्रको एक कुशल ड्राइभर हो । विश्वलाई नै परिवर्तन गर्न सक्ने ताकत् भएको शक्तिशाली व्यक्ति हो । भनिन्छः गुरु ब्रहमा गुरु विष्णु गुरु देवो महेश्वर, गुरु साक्षात् परंब्रहृम तस्मै श्री गुरुवे नमः ।

प्राचिनकालमा शिक्षक गुरु वा भिक्षुको रुपमा, आदर्शवादमा शिक्षकलाई अध्यात्मिक ज्ञानको संसारसम्म विद्यार्थीलाई पुर्या उन सक्ने ज्ञानी, दार्शनिक, आध्यात्मिक विचारको सम्वाहकको रूपमा, प्रकृतिवादले शिक्षकलाई सामान्य निरीक्षक र पथप्रदर्शकको रूपमा, यथार्थवादीहरूले शिक्षकलाई नैतिक र बौद्धिक रूपबाट परिपूर्ण एक निर्देशक र सहयोगीको रुपमा र प्रयोजनवादी जोन डिवेले शिक्षकलाई विद्यार्थीको सामूहिक क्रियाकलापको टोली नेताको रूपमा भूमिका अर्थाएको पाइन्छ । धर्मप्रधानताबाट विकसित हुँदै शिक्षा अधिकारमुखी विधाको रुपमा र शिक्षकको भूमिका गुरुबाट विकसित हुँदै सहजकर्ता, प्रबर्धक नेतृत्वकर्ता र अभियन्ताको रुपमा विकसित भइरहेको विद्यमान अवस्था छ ।

शिक्षकहरुका प्रकार करिब एक दर्जनभन्दा बढी विश्लेषण गर्ने गरिएता पनि व्यवहारिक र वस्तुगत ढंगले अध्ययन गर्ने हो भने ३ प्रकारका प्रबृति भएका शिक्षकहरुबाट देशका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा शिक्षण भएको पाइन्छ । पहिलो प्रकारका शिक्षकलाई हेल्मेट शिक्षक भन्न सकिन्छ जुन शिक्षकहरुले शिक्षण पेशालाई यान्त्रिक र नाफामूलक व्यावसायका रुपमा लिने गर्दछन् । दोश्रो प्रकारका शिक्षकहरु जो विद्यार्थी जीवनमा डाक्टर, इन्जिनियर आदि बन्ने सपना साँची व्यैक्तिक र पारिवारीक कारणले असफलता र असक्षमताको रुग्ण मानसिकता बोकेर पारिवारिक बाध्यतामा आफूले शिक्षण पेशा रोजेका शिक्षकहरु पर्दछन । र तेश्रो प्रकारका शिक्षकहरुमा जसले शिक्षण पेशा गर्ने एकमात्र लक्ष्य र उद्देश्य लिएर शुरुदेखि नै अगाडि बढेका शिक्षकहरू पर्छन् ।

विगतदेखि वर्तमान
एक दलीय निरड्ढुश पञ्चायती व्यवस्थाको विरुद्धमा २०४६ सालको आन्दोलनमा होस् या २०६२/२०६३ को जनआन्दोलनमा होस् जनतामा चेतनाको सम्वाहकको रूपमा शिक्षकहरूले आफ्नो सशक्त भूमिका खेले, व्यवस्था परिवर्तनको लक्ष्यमा सफल पनि भए । नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि शिक्षकको महत्वपूर्ण भूमिका रहेको नेपाली राजनीतिलाई बाटो भुलेको अवस्थामा शिक्षकले खबरदारी गरी सही मार्गमा ल्याउन सक्ने बनाए । बिडम्वना शिक्षकलाई राजनीतिक पार्टीरूले झोला बोकाउने काम बढ्दै जाँदा शिक्षकको महत्व र भूमिकाले राजनीतिक मोड लियो । शिक्षकका हरेक मनोविज्ञानहरुलाई राजनीतिक रुपमा अर्थाउन खोजियो । शिक्षकका आवश्यकताहरुलाई राजनीतिक रुपमा परिभाषित गर्न खोजियो । शिक्षकका समस्याहरुलाई राजनीतिक रुपमा सौदाबाजीको एजेण्डा बनाउन थालियो । शिक्षकको भौतिक शरीरलाई अमुख दलको सदस्यको सांकेतिक हेराइ बन्यो । राज्यले समेत दूरदर्शी योजना बिना उत्पादन गरिएका दर्जनौ प्रकारका भनिएका शिक्षकहरुलाई काम कजाएर विद्यार्थीका ब्याच धकेल्ने बाहेक अरु देखिएन । काँही कतैबाट पनि कसैको ध्यान पुगेन । शिक्षकका पेशागत संघ संगठनहरुले शिक्षकका सवालमा एक पछि अर्को माग राख्दै आन्दोलन गर्ने र सरकारसंग जुहारी खेलिरहनुपर्ने लगभग दिनचर्या नै बन्यो र बनिरहेको छ भन्दा अत्युक्ति नहोला ।

जब अहिले जनताको सरकार विद्यालय नजिक पुग्यो अनि शिक्षकको व्यवस्थापननै हरेक स्थानीय तहका प्रमुख एजेण्डा बनिरहेका छन् । शिक्षकहरुलाई टिकाउन आर्थिक जोहो गर्ने विषय प्रायः स्थानीय तहको टाउको दुखाइको विषय बनेका छन् । कतिपय स्थानीय तह त शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजन गर्ने कार्यमा जोड दिइरहेका छन् । २०४६ सालको परिवर्तनसँगै शैक्षिक संस्थाको स्थापनामा देखिएको विकृति र नक्सांकनविना अनियन्त्रित रुपमा सञ्चालन भएका विद्यालयले शिक्षक स्वयंकै पेशामा ठूलो चुनौति सिर्जना गरिदिएको छ ।

आफै हीनताले ग्रस्त, पारिवारिक र आर्थिक बाध्यताले शिक्षक भएका अधिकांश शिक्षकहरूले समाजमा आफ्नो स्थान बनाउन आफू निरीह भएपछि शिक्षक कक्षा कोठामा भन्दा पनि ट्युशन कोठामा नै बढी रमाउनु पनि स्वभाविक नै हो भन्ने लाग्दछ । सामुदयिक विद्यालयका करिब शत प्रतिशत शिक्षकहरु तालिमप्राप्त भएको तथ्यांक हामी पढ्न पाउँछौं । बिडम्बना तिनी तालिमहरुको कक्षाकोठमा प्रयोगको अवस्था ५० प्रतिशत पनि नभएको अध्ययनले बताएको तितो यथार्थता हामीसंग छ । शिक्षकहरूको कमजोर कार्य सम्पादनको एउटा प्रमुखपक्ष तालिम पनि हो । शिक्षक हुन चाहने जनशक्तिलाई शिक्षक अभिमुखीकरण तालिमको अभाव छ । विकसित मुलुकहरूमा शिक्षक बन्न चाहनेले अनिवार्य रूपले अभिमुखीकरण तालिम लिनुपर्ने हुन्छ त्यो पनि कुन तहमा शिक्षण गर्ने हो त्यही तहको । नेपालमा पनि शिक्षक लाइसेन्सको अवधारणा त ल्याइयो तर त्यो पनि यान्त्रिक नै भयो । लाइसेन्स र स्थायी शिक्षक नियुक्ति र सिफारिश गर्ने महत्पूर्ण अधिकार पाएको शिक्षक सेवा आयोग संविधानको कुनै कुनामा एउटा संवैधानिक आयोगको बुँदामा अटाउन सकेन । निजी क्षेत्रका शिक्षकहरूको लागि सरकारबाट तालिमको आवश्यकता नै पूर्णरुमा महसुस गरिएको छैन । सेवा, सुविधा, स्तर र व्यवस्थापन तथा हेराइमा विविधता पाइने आम शिक्षकहरुमा उहि जवाफदेहिता र उत्तरादायित्वको प्रश्न चिन्ह सधै तेर्सिरहनु पनि अन्यथा होइन ।

अबको शिक्षकको भूमिका कस्तो हुनुपर्छ ?
शिक्षकको भूमिकाका सन्दर्भमा यूनेस्कोले सारमा भनेको छ कि “The right to education means the right to a qualified teacher.” भारतका पूर्व राष्ट्रपति A.P.J Abdul Kalam ले भनेका थिएः “What we need is a creative syllabus, teacher and creative classrooms for value based quality school education.”

उपरोक्त भनाइको तात्पर्य नै गुणस्तरीय शिक्षाकालागि गुणस्तरीय शिक्षक आवश्यक छ । शिक्षाको गुणस्तर शिक्षकको गुणस्तरभन्दा माथि हुन सक्दैन । अबको शिक्षक थप जिम्मेवार र उत्तरदायित्व बन्न जरुरी छ । कक्षा कोठा मात्र नभै उनीहरुले समूदायको पनि नेतृत्व गर्न सक्नुपर्दछ । पुरै समुदायलाई शिक्षित तुल्याउने पनि शिक्षक नै हो । संविधानको कक्षाकोठामा र समुदायमा कार्यान्वयन गर्ने जिम्मेवारी नै शिक्षकको हातमा छ । कक्षाकोठा भित्रको शिक्षणको अतिरिक्त प्रत्येक विद्यार्थीको सिकाई उपलब्धी सुनिश्चित गर्ने, कमजोर विद्यार्थीको लागि अतिरिक्त काम गरी उनीहरुको सिकाइमा परेको कठिनाइलाई समाधान गरी क्षमतामा अभिवृद्धि गर्ने, प्रत्येक विद्यार्थीको रेकर्ड राख्ने, त्यही रेकर्डको आधारमा निरन्तर मूल्यांकन गर्ने, सवैको गृह कार्य परिक्षण गरी सुधार गर्न उत्प्रेरित गर्ने जस्ता हजारौं कामहरु शिक्षकहरुले गर्नु पर्ने काममा पर्दछन् । शिक्षकको सक्षमताको प्रारुप २०७२ ले निर्धारण गरेका ८ वटा सक्षमताहरुले सबै शिक्षकहरु निर्देशित हुन आवश्यक छ । बालबालिकाहरुले गरेका क्रियाकलाप निरीक्षण गर्न सक्ने र उनिहरुको मनोविज्ञान बुझी पथप्रदर्शन गर्न सक्ने क्षमताका साथै बालबालिका तथा समाजको नेतृत्व गर्ने र निर्देशन दिन सक्ने क्षमता २१ औं शताब्दीका शिक्षकमा हुनुपर्छ ।
एक असल शिक्षक बन्नका लागि आवश्यक पर्ने व्यक्तिगत, सामाजिक र पेशागत गुणहरुले शिक्षक सुसज्जित भएको हुनुपर्छ ताकि उसले व्यक्ति, समाज र राष्ट्रलाई आधुनिक परिवेश अनुसार प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बदलिरहन उद्दत छ । विद्यार्थीको सिकाइ उपलब्धिप्रति पूर्ण रुपमा जिम्मेवार बनी शैक्षिक गुणस्तर सुधारको एक कुशल अभियन्ता र समाज र राष्ट्र परिवर्तको एक नमूना तथा उदहारणीय व्यक्तित्व बन्न जरुरी छ ।

उपसंहार
नेपालको नयाँ संविधानले विद्यालय शिक्षा स्थानीय सरकारको जिम्मा लगाएको छ । स्थानीय तहका अगुवा भनेका शिक्षक नै हुन् । उनीहरुकै संलग्नतामा मात्रै स्थानीय सरकारले शिक्षाको उचित व्यवस्थापन गर्न सक्छ । शिक्षकलाई बाहिर राखेर उनीहरुको मानमर्दन गर्ने काम भए त्यो स्थानीय तहको लागि प्रत्युत्पादक ठहरिन्छ । स्थानीय सरकारको निगरानीमा शिक्षकले आफ्नो भूमिका खेल्नु पर्ने कुरा घाम जत्तिकै छर्लंग छ । त्यसैले शिक्षकले पनि स्थानीय तहहरुसंग सहकार्य गरी शिक्षाको गुणस्तर उकास्न सहयोग गर्नुपर्ने हुन्छ । स्वस्फूर्त रूपमा शिक्षक अगाडि नसर्ने हो भने सामुदायिक विद्यालयमा घट्दै गई रहेको विद्यार्थी संख्या, बढ्दो स्कूल गाभिने संख्या तथा बन्द हुने स्कूलको बढ्दो क्रमले सार्वजनिक शिक्षानै धराशायी हुने लक्षण देखा परिसकेको छ । यो अवस्थाबाट माथि नउठे देश विकासको धरोहर संस्थाको अवसान प्राय निश्चित छ ।

शिक्षा मन्त्रालयले भर्खरै मात्र कार्य सम्पन्न गरेको देशभरको शिक्षक दरबन्दी मिलानको एक Road Map स्थानीय तहहरुसंग समन्वय गरी कार्यदलको प्राप्त प्रतिवेदनको आधारमा कार्यान्वयन गरी सम्पूर्ण विद्यालयका विद्यार्थीले योग्य र गुणस्तरीय शिक्षकबाट शिक्षा प्राप्त गर्ने हक सुनिश्चत गर्नुपर्छ । शिक्षकमा नाममा आइरहेका समस्यालाई स्थायी रुपमा समाधान गर्ने संयन्त्र निर्माण गर्नुपर्दछ । शिक्षकहरु पनि जागिरे मनोविज्ञानबाट माथि उठी हाम्रो विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने कुरामा संवेदनशील बन्न जरुरी छ । विद्यालय र विश्वविद्यालयमा अध्यापन गर्ने शिक्षक हुनका लागि हाम्रो शिक्षा नीति र योजना मेधावी विद्यार्थीहरुको गन्तव्य बन्न सक्नुपर्दछ । उच्च शिक्षा नीति २०७२ अनुसार हाम्रा विश्वविद्यालयहरु Center for Excellence का रुपमा अगाडि बढ्नुपर्छ जसको नेतृत्व शिक्षकबाट मात्र सम्भव छ । शिक्षकको तह र श्रेणीगत पद्धतिलाई परिमार्जित गरी SSRP (२०६६-२०७२) ले ल्याएको नीति अनुसार ४ प्रकारका शिक्षकमा वर्गीकरण गर्न जरुरी छ । विद्यालय क्षेत्र विकास योजनाले ल्याएको दृष्टिकोण अनुसार विद्यालयमा योग्य प्रअ लगायत शिक्षक व्यवस्पान र शिक्षक शिक्षाका नीतिहरु कार्यान्वयनमा ल्याउन आवश्यक छ ।

अन्त्यमा,
देशको शिक्षा क्षेत्र वास्तविक रुपमा शिक्षकले हेण्डलिङ गरिरहेका छन् । शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाका शब्दमा ‘शिक्षकले चाहेमा गर्न सक्छन’ भन्ने उद्गार साच्चिकै महत्वपूर्ण, समयसान्दर्भिक र व्यावहारिक छ । अर्को शब्दमा भन्दा शिक्षक ड्राइभर हो जागिरदारे मात्र होईन । प्रत्येक बालबालिकाहरुको ड्राइभर, समाजको ड्राइभर अनि सिंगो राष्ट्रको ड्राइभर हो शिक्षक । शिक्षा क्षेत्र र शिक्षकप्रति सम्मान गर्न नसके नत शिक्षाको गुणस्तरको कुरा गर्दा सुहाउँदो हुन्छ नत देशको समृद्धिको कुरा । शिक्षकलाई असल शिक्षक हुनबाट विमुख गराउने अझ भनौं शिक्षकलाई आफ्नो दायित्वबाट विचलित गराउने जिम्मेवार पक्षहरू तीनवटै तहका सरकारहरु, राष्ट्रिय शैक्षिक तथा आर्थिक नीति, अभिभाक, विद्यार्थीलगायत हामी सबै जिम्मेवार बन्न जरुरी छ । शिक्षकहरुको स्थायी व्यवस्थापन गर्नका लागि शिक्षक सेवा आयोगलाई संवैधानिक आयोग बनाइनुपर्छ । सबै प्रकारका शिक्षकहरुमा देखिएका समस्याहरुलाई तीन तहकै सरकारको आपसी समन्वय र सहकार्यमा स्थायी रुपमा समाधान गरिनुपर्दछ । साथै शिक्षकहरु पनि पेशागत रुपमा शिक्षण पेशालाई पहिलो प्राथमिकतामा राखी आफ्ना बालबालिकाको शैक्षिक गुणस्तर अभिबृद्धितर्फ स्वस्फूर्त जिम्मेवार र उत्तरदायी बन्न आवश्यक छ । आफ्नो निरन्तर पेशागत विकासमा सदा लागिरहनु अहिलेको आवश्यकता पनि हो । अनिमात्र नोबेल पुरस्कार विजेता Malala Yousafzai ले भनेजस्तै (Let us remember, one book, one pen, one child, and one teacher can change the world.) शिक्षकले विश्व परिवर्तन गर्न सक्दछन् । विश्व शिक्षक दिवसको नाराले पनि सार्थकता पाउँने निश्चित छ । नेपाली शिक्षकहरुको अन्तर्राष्ट्रय स्तरमा पनि साख उँचो रहने कुरा निश्चित छ ।

लेखक : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौमा उपसचिव हुनुहुन्छ ।