पहिलो भेटमै ढुकढुकीले सरगम बजायो
लामो समय भइसकेको थियो उनी र म बीचमा कुराकानी हुन थालेको । भौगोलिक कारणले अहिलेसम्म हामीले प्रत्यक्ष रुपमा भेट्न भने सकेका थिएनौ । उनको नेपालकै मध्यबिन्दुतिर बसाई म भने मध्यपश्चिमतिर । अहिले उनी ५ नं. प्रदेशको राजधानीमा तर म कर्णालीको । हामी दुबै राजधानीमा बसेपनि मेरो राजधानी उनको भन्दा विकट । मेरो प्रदेश नै सबै भन्दा गरिब प्रदेशको रुपमा परिचित छ । अथाह सम्भावना बोकेको प्रकृतिले सुन्दर उपहार दिएको भएपनि आत्मनिर्भर बन्न नसकेको राजधानी हो मेरो । जसरी साविकको कर्णाली अञ्चल सिंहदरबारको नजरबाट टाढा थियो त्यसैगरी अहिलेको कर्णालीमा सिंहहरु भएपनि दरबार भने छैन । अझै मेरो कर्णालीमा दरबार बन्न वर्षौ लाग्नेछ । कर्णालीका जनताले दरबार बस्नका लागि अझै युग नै पर्खनु पर्नेछ । त्यसैले राजधानीमै बसोबास गर्ने भएपनि फरक खालको पृष्ठभूमि छ हाम्रो ।

सिंहदरबारको अधिकार गाउँमा आएको भनेर निकै झ्याली पिटिएको छ । तर पनि म र म जस्तै पत्रकारहरु एउटा प्रेस पासको नविकरण गर्नका लागि ५ नंं तिरै दौडिनु पर्ने बाध्यता हटेको छैन । अनि नयाँ पास लिनका लागि पुग्नुपर्छ राणा शासनका पालामा बनेका दरबारहरुको दर्शन गर्नका लागि संघीय राजधानीमा । यस्तै यस्तै कामहरुको झोला बोकेर म संघीय राजधानी गएको थिएँ । फर्किदै थिएँ संघीय राजधानीबाट एक मुरी धुलो र धुवाँ खाएर । बुटबल भन्दा पश्चिम करिब ७ किलोमिटर तामनगर । म तामनगर आइपुगेको थिएँ । बज्यो मेरो फोनको घण्टी टिङ टिङ टिङ । मोटरसाइकलमा हिडिरहेकोले नम्बर हेर्दै नहेरी उठाए फोन र भने हेलो ।
नमस्कार । के छ खबर ? प्रश्नमै उनको स्वर चिनेपछि फर्काए नमस्कार र भने ठीकै छ अनि तिमीलाई कस्तो छ ? प्रतिप्रश्न गरे मलाई पनि ठीकै छ । कहाँ हुनुहुन्छ ? फेरि प्रश्न आयो । म त बुटवल नजिकै । मैले दिएको उत्तरसँगै उनले अलि लामो सास फेरेको समेत स्पष्ट सुनियो फोनमा । अनि म पनि त बुटवलमै छु नि । हो र ? मैले प्रश्न गरे । भेटम् न त । उनले नै प्रस्ताव गरिन् । मैले पनि स्वीकृति दिएँ । फेरि बुटवल तर्फ फर्किए म तामनगरबाट । प्रत्यक्ष नभेटेको भएपनि मैले तपाई र उनले तिमी भनेर सम्बोधन गर्ने प्रक्रिया अघि बढिसकेको छ हामीमा । हुन त उमेरले पनि म दुई चार वर्ष जेठो छु त्यसैले होला ।
एउटा परिचित भनौ या अपरिचित मान्छे त्यो पनि केटी साथी । उनलाई भेट्नका लागि म तामनगरदेखि बुटवल तर्फ गइरहेको छु । मेरो मनमा अनेक तर्कनाहरु आइरहेका छन् । मलाई थाह छैन उनी कस्ती छिन् उनको व्यवहार कस्तो छ । प्रविधिको प्रयोगले सोचेको भन्दा फरक पारिदिने गरेको अहिलेको समयमा मैले सामाजिक सञ्जालमा देखेको फोटो झैँ होलिन् या फरक । अनि के थाह उनको साथमा अरुहरु पनि कोही होलान् या एक्लै । अनि एउटा साथीको हैसियतले उनले मलाई भेट्ने इच्छा जाहेर गरिन् र मलाई पनि भेट्न मन भयो । तर पहिलो भेटमा म उनीसँग के कुरा गर्न सक्छु होला । उनले के भन्लिन् अनि मैले के जवाफ फर्काउला । यस्तै कुराहरु मनमा खेलाउँदै पुगे म बुटवल बजारको पाल्पाली रेष्टुरेण्टको नजिकै । मेरा लागि बुटवल त्यति धेरै परिचित छैन । किनकी बाटो हिड्ने बेलामा बाहेक अरु समयमा बुटवलमा मेरो खासै काम पर्दैन र रोकिन्न म । त्यसैले बुटवलले मलाई राम्रोसँग चिनेको छैन ।
पाल्पाली रेष्टुरेण्टको नजिकैबाट फोन गरे । सुनौल जाने चोकमा आउन आग्रह गरिन् । म फेरि अगाडि बढे । सुनौल जाने चोकमा रोकिएको थियो एउटा मोटरसाइकल । रातो कुर्ता सुरुवाल अनि कालो हेलमेट । सिल्की पारिएको कपाल । न होचो न अग्लो कद । एउटा अपरिचित महिला दाँया बाँया नजर डुलाइरहेकी । सामाजिक सञ्जालकै कारणले उनलाई चिन्न गारो परेन । नजिकै रोके मैले पनि मोटरसाइकल र भने नमस्कार ।
उनले मेरो नमस्कार मलाई फर्काइनन् खै किन हो । मलाई थाह छैन । तर भनिन् ए ए । मेरो पछि पछि आउनुहोस् । हस्, मैले स्वीकृति जनाए । अनि उनी अगाडि अगाडि म पछाडि पछाडि एउटाले अर्कालाई लखेटे झैँ । अगाडिकोले पछाडिकोलाई भेटाउन नदिए झैँ कुँहिरह्यौ हामी । करिब १४ किलो मिटर कँुदे पछि एउटा कटेज भेटियो । त्यही कटेजको आडमा रोकिन् उनले मोटरसाइकल । अनि विस्तारै पुगे म पनि र रोकिए त्यही । मेरो मनमा कता कता डर पनि लागिरहेको थियो । किनकी बुटवलले मलाई राम्रोसँग चिन्दैन अनि म पनि बुटवललाई । बुटवलले मेरो बारेमा केही सुनेको छैन तर मैले बुटवलको बारेमा केही त सुनेको छु । जीवनमै पहिलो पटक भेटिएका साथी हौ हामी । जुन स्थानको बारेमा मलाई केही थाह छैन त्यही स्थानमा थियौ हामी ।
खाजा खाँदै गफ गरौला । उनले प्रस्ताव गरिन् । हुन्छ । मैले पनि सहमति जनाएँ । त्यसपछि त्यो ग्रीन कटेलको पछाडि रहेको दुई तले भवनको सिंढीबाट उक्लियौ हामी माथि कोठातिर । पापले भरिएको कुण्ड भनिन्छ मनलाई । मेरो मनले के के सोचिरहेको थियो त्यो सिंढीमा उक्लिरहेका बेला । तर त्यहाँको डाइनिङ्ग माथिल्लो तलमा नै रहेछ । जब माथि नै पुगियो सबै कुराको अवगत भयो मलाई । किनकी त्यहाँ अरु ग्राहकहरु पनि बसिरहेका थिए । हामी पनि बस्यौ पंक्तिमा । एकै छिनमा एउटा वेटर हातमा पानीको बोतल सहित हाजिर भए । के खाउँ हजुर ? उनको प्रश्न थियो । वेटरको प्रश्न सुनेपछि उनले पुलुक्क हेरिन् म तिर । सोधिन् के खाउँ ? मःम या सेकुवा । गोरु, भैसी र कुकुर बाहेक अरु सबै चल्छ मलाई मेरो उत्तरले अचम्मित भएको मैले सहजै पत्तो पाइसकेको थिएँ । त्यसो भए सेकुवा नै खाउँ । उनले अर्डर गरिन् । उनकै रोजाईको खाजा खानु थियो मैले ।
भूजा, मटमास सहितको पोलेको खसीको मासु आयो टेवलमा । त्यो देख्न साथ मुखमा पानी आउन शुरु भइसक्यो मेरो । कति बेला खाउँ भन्ने लागिरहेको थियो । मेरो मुखमा आएको पानी रोक्न सकिन मैले र उनका अगाडि घुटुक्क थुक निल्न पनि त सक्दिन थिएँ म । अतः त्यो अवस्थाबाट सहज परिस्थितिमा आइपुग्न गिलासमा भएको पानीको एक घुट्को घुटुक्क पारे मैले । सायद बुझिछन् क्यारे । खानकै लागि आएको हो यो खाउँ उनले शुरु गरेपछि मलाई झनै सहज भयो । भूजा मिसाएर पालेको मासु खाँदै एक अर्काको बारेमा प्रत्यक्ष रुपमा जानकारी आदान प्रदान गरिरहेका थियौ हामी ।
उनले सोधेका प्रश्नहरुको जवाफ कम तर प्रश्न माथि प्रश्न गरिरहेको थिएँ म । अनि नियाल्दै थिएँ उनका शरीरका अंगहरु । उनको हाउभाउ अनि उनले कुरा गर्ने शैलीलाई । सायद त्यसै गर्दै थिइन् होला उनले पनि । कम्ता मीठो लागेको थिएन त्यो पोलेको मासु मलाई । धेरै खाइयो जिन्दगीमा पोलेको मासु तर त्यति मीठो कहिल्यै लागेन । आज जुनाको आडमा बसेर खाएकोले हो वा भोकले हैरान पारेकोले हो । मलाई नै थाह छैन । जति मीठो मलाई लागेको थियो सायद उनलाई त्यत्ति नै मीठो लागेको थियो होला । एकैछिन्मा सकिन् उनले र सके मैले पनि । यो खाजाको समयमा धेरै कुराको जानकारी आदानप्रदान भइसकेको थियो हामी बीचमा ।
जुनाले भनिन् अरु पनि खाउँ । म बडो समस्यामा परे । खाउ भनौं पहिलो भेटमै गिद्ध जस्तो व्यवहार भएको मान्छे भेटेकोमा उनलाई नराम्रो लाग्ने हो कि नखाउँ भनौ त्यति मीठो खाजा फेरि कहिले खान पाइने त्यो पनि जुनाको आडैमा बसेर । फेरि उठाए पानीको गिलास र पिएँ एक घुट्को घुटुक्क ।खाजा खाइसकेपछि पनि एक छिन् गफियौ हामी । एकले अरुको प्रशंसा गर्नु भन्दा पनि आफूले आफैलाई चिनाउने कार्यमा तल्लिन भयौ हामी ।
पेशाले म पत्रकार । उनी नेपाल सरकारको जागिरे । नेपाल सरकारको जागिरलाई वैधानिक कमैयाको उपमा दिने गरेका छन् धेरैले । अनि मैले पनि उनलाई त्यही वैधानिक कमैयाकै दर्जामा राखेर आफ्ना कुरा बताइरहेको छु । म भने अवैधानिक कमैया भएकोले होला उनले धेरै कुरा सहजै पत्तो पाइसकेकी थिइन् जस्तो लाग्छ मलाई ।
त्यो ठाउँ नै त्यस्तै रहेछ । धेरै मान्छेहरु पोलेको मासु खाने क्रममा पुग्दारहेछन् त्यहाँ । उनीसँगको पहिलो भेटमा सम्झना स्वरुप एउटा सेल्फी खिच्ने रहर पलाएको थियो मेरो मनमा । त्यो रहरलाई कसरी टिप्ने भन्ने दाउ हेरिरहेको थिएँ म । जुन ठाउँमा हामी बस्यौ त्यो ठाउँमा सेल्फी खिच्न सक्ने वातावरण नै थिएन । त्यसैले म मेरो रहर टिप्न पाउँदिन कि भन्नेमा चिन्तित थिएँ । उनको त्यो लोकसेवा पास गर्न सक्ने क्षमता भएको दिमागले के सोचिरहेको थियो मैले सोच्नसम्म सकेको थिएन । त्यसपछि फेरि अनिश्चित गन्तव्यका लागि निस्कियौ हामी । झरियो एक तला तल । जहाँ रेष्टुरेण्टको काउण्टर रहेको थियो । विल तिर्नु थियो हामीले पोलेको मासु भएको । अनि म अवैधानिक कमैया भएपनि तम्सिएँ बिल तिर्नका लागि । उनी त झन वैधानिक कमैया भएकोले नतम्सिने कुरै भएन । हामीले एक आपसमा हतार ग¥यौ बिल तिर्नका लागि । उनले पुलुक्क हेरिन् म तिर र भनिन्, ‘फेरि बुटवलमा आएको बेलामा भेट्ने मन छैन वा मलाई कर्णालीको राजधानी सुर्खेतमा बोलाएर बुलबुले घुमाउने मन छैन ।’ अलमलमा परे म । उनका कुरा सुनेर । अड्किएँ र उभिएँ एक टकले । उनले बिल तिरिहालिन् । जीवनमा केटी साथीसँग खाजा खाएको बिल उनले नै तिरेको मेरो आँखाले देखिरहेका छन् तर म भने अलमलमा परेको छु । के गरौ र कसो गरौं पनि भएको छ । मैले आफूलाई आफै के ठान्ने मेरो दिमागले मलाई संचार गर्न नै सकेन ।
फेरि पनि म सेल्फी खिच्ने योजनामै फर्किएँ र भने कमसे कम एउटा फोटो त खिच्नु पर्ने हो । मेरो शब्द सुनिसकेपछि उनले विहानको भेट झैँ फेरि भनिन् त्यसो भए मेरो पछि लाग्नुहोस् । नयाँ ठाउँँमा पुगेको कारण म निकै कमजोर भएको महसुस गरिरहेको छु । बिहान देखि कुदिरहेको छु एउटा साथीको पछाडि । त्यति बेला लाग्यो यो मोटरसाइकल कि मसँग नभएको भए कि उनीसँग । छुट्टछुट्टै हिड्न बाध्य थियौ हामी । उनी अगाडि र म पछाडि फेरि शुरु भयो दौडादौड । त्यसरी दौड्ने क्रममा पुग्यौ हामी एउटा रमणीयस्थलमा । बुझिन् उनले मेरो कुरा या उनको मनमा पनि लागेको थियो त्यस्तै तिर्सना । त्यो रमणीयस्थलमा पनि हामी धेरै बेर रोकिने वातावरण बनेन । तर मनको एउटा रहर भने पूरा भयो । कहिले एकल त कहिले युगल फोटोसुट ग¥यौ हामीले । तिनाउ रिभर साइडमा हेल्पी र सेल्फी दुबै प्रकारका फोटोहरु क्यामेरामा कैद गरेपछि अब हामी छुट्टिने समय आउन थालिसकेको थियो । आज बुटवलमै बस्न उनले मलाई आग्रह नगरेकी होइनन् तर बाध्यतामा थिएँ म । पुग्नु थियो भोलि विहान ७ बजे दाङमा हुने एउटा कार्यक्रममा । त्यसैले छुट्टिने तरखर गर्दै थियौ हामी । यतिबेलासम्म मैले उनका शरीरका पुरै अंग–अंगमा आँखा दौडाइसकेको थिएँ त्यो मोटरसाइकलमा हामी दौडे जसरी । त्यसपछि केही मिनेटमै हामी उक्लियौ पूर्वपश्चिम राजमार्गमा । विहान बुटबल बजारमा भेटेका थियौ हामीले म फर्किएको थिएँ तामनगरबाट त्यसैले मैले तामनगरसम्म पुग्नलाई आग्रह गरे उनलाई । मेरो आग्रहलाई नकार्न सक्ने अवस्था थिएन उनको ।
त्यसैले ७ किलोमिटरको यात्रा गरेर तामनगर पुग्यौ हामी फेरि । त्यो यात्रु प्रतिक्षालय भन्दा करिब ५० मिटर पश्चिमतिर तिरमिराए एक पटक आँखा । मैले सुर्खेतको बुलबुले, काँक्रेविहार र देउती बज्यै मन्दिरमा आउन गरेको निम्तासँगै छुट्टियौ हामी पुराना साथीहरु झैँ झ्याप्प हात मिलाएर । त्यो गुट खेलाईमा मैले औपचारिक रुपमा उनको हात समातेको थिएँ । पहिलो पटक उनको हात समात्दा एक जना गीतकारले भने झैँ म भित्र पनि ‘पहिलो भेटमै ढुकढुकीले सगरम बजायो ।’









