Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

प्रदेश प्रहरी श्रीमति संघ र युवा पिंढी

लागु औषधले नेपाली समाज आक्रान्त बनेको छ । प्रायः गरेर युवा पिंढी नै लागु औषधको शिकार भएको अवस्था छ । जानेर होस् वा नजानेर वा कसैको लहलहैमा लागेर नै किन नहोस् युवा पिंढी नै लागु औषधको शिकार भएको हाम्रो समाज अब कता जाँदैछ भन्ने चिन्ताको विषय बनेको छ । लागु औषधको बिक्री वितरण र त्यसको प्रयोगलाई समयमा नै निषेध गर्न नसकेको खण्डमा यसले व्यक्ति, घर, समाज हुँदै राष्ट्रलाई ठूलो नोक्सानी पु¥याउने निश्चित छ । लागु औषध नियन्त्रणका कार्यक्रमहरु मात्र गरेर यसलाई रोक्न निकै कठीन पनि छ । त्यसैले यसको मूल जरोलाई पत्ता लगाएर त्यसलाई उखेल्न सक्नु पर्छ ।

त्रिलोक अधिकारी

समाज हुने अवैध गतिविधिहरु रोक्ने जिम्मा प्रशासनको हो । कानून विपरित हुने कार्यहरु पत्ता लगाएर त्यसलाई कानूनको दायरामा ल्याउने र गल्ती गर्नेलाई कानूनको कठघरमा उभ्याउने जिम्मेवारी नेपाल प्रहरीलाई दिइएको छ । नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षाको व्यवस्थापन गर्ने जिम्मेवारी पाएकोले पनि लागु औषध नियन्त्रणका कार्यहरु गरिरहेको छ । तर नेपाल प्रहरीले मात्र यो सम्भव छैन । समाजमा शान्ति स्थापना गर्नका लागि सरकारको प्रशासनिक निकायदेखि स्वयम् व्यक्ति समेत सचेत हुनु जरुरी छ ।

केवल नारा मात्र लगाएर वा कागजी रुपमा हिसाव मिलान गरेर मात्र लागु औषध नियन्त्रण हुन सक्दैन । लागु औषध नियन्त्रण गर्नका लागि प्रत्येक समाजका प्रत्येक व्यक्ति र प्रत्येक घरका प्रत्येक सदस्यसम्मले आफ्नो भूमिका निर्वाह गर्न जरुरी छ । लागु औषधमा युवाहरु कसरी फस्ने गर्दछन् । उनीहरु कुन बाटोबाट त्यहाँसम्म पुग्छन् भन्ने कुरालाई पत्ता लगाउन पनि जरुरी छ । अनि औषधको सेवनले हुने हानी नोक्सानीका बारेमा फैलाउनु पर्ने जनचेतना त्यतिकै महत्वपूर्ण छ । अर्को तिर लागु औषधको कारोबार तथा सेवन गरेमा हुने दण्ड सजाय र त्यसबाट पर्ने असरहरुका बारेमा बनेका कानूनहरुको बारेमा समेत समाजले राम्रोसँग जानकारी पाउनु पर्दछ । कानूनको ज्ञात थिएन भन्न नपाइने कानून भएपनि कानूनको पालनामा सबैले भूमिका निर्वाह गर्नु पर्ने सवाललाई घर घर पु¥याउनु पनि आजको आवश्यकता हो । सिंहदरबार घर घरमा पुगेको नारा लगाए जस्तो सजिलो छैन लागु औषधको निषेध कार्य ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई हेर्ने हो भने पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनचेतनाका कार्यहरु दिनहुँ जसो गर्दै आएको छ । सदरमुकाम केन्द्रित भन्दा गाउँ केन्द्रित कार्यक्रम हुनु पर्दछ । लागु औषधको कारण व्यक्तिलाई हुने हानी नोक्सानी र उसको भविष्यको अन्यौलताको बारेमा दिइने चेतनामुलक शिक्षाले बाल मस्तिष्कमा सकारात्मक प्रभाव परेमा उनीहरु त्यसबाट बच्न सक्छन् ।

गरिबी, अशिक्षा र बेराजगारीले पनि लागु औषधलाई प्रश्रय दिइरहेको छ । अर्कोतिर लागु औषध सेवनको सुरुवात कहाँबाट हुन्छ र कुन अवस्थाबाट हुन्छ भन्ने कुरालाई पत्ता लगाउनु पर्छ । जब घरमा अभिभावकहरुले मदिराजन्य पदार्थको सेवन गर्छन तब बाल मस्तिष्कमा पनि मदिरा प्रतिको लगाव बढ्न जान्छ । जसका कारण उनीहरु आफ्ना उमेरका साथीहरुका बीचमा सुरुमा मदिराको स्वाद लिने गर्दछन् । त्यसपछि विस्तारै उनीहरुको संगतका कारण लागु औषध वितरकहरुले मौकामा चौका हान्छन् र उनीहरुबाट आफ्नो व्यापार गर्न मनसायले उनीहरुलाई नजिक बनाउने गरेको देखिन्छ । विद्यालय जाने उमेर समूहका युवाहरु विद्यालय गए गएनन् भन्नेदेखि समयमा घर आए आएनन् भन्नेसम्मको निगरानी अभिभावकबाट हुनु पर्छ । उनीहरुका हाउ भाउ र क्रियाकलापहरुमा भएको निगरानीले व्यक्तिलाई जोगाउन सकिन्छ । अनि व्यापारको नाममा वा जागिरको नाममा वा अन्य कारणले पनि बालबच्चाहरुलाई अभिभावकले समय दिन नसकेको खण्डमा उनीहरु अभिभावकको नियन्त्रण भन्दा बाहिर हुन्छन् र साथीभाइहरु बीचमा अनेक छलफल गर्दछन् जसले गर्दा उनीहरुमा मदिरा तथा लागु औषध तर्फ उन्मुख हुने वातावरणको सिर्जना हुन्छ । जब लागु औषधको कुनै पनि तत्वलाई युवाले स्पर्श गर्ने अवसर पाउँछ तब यसले त्यसबाट छुटकारा पाउन गाह्रो छ ।

त्यसको रोकथाम तथा निषेधको लागि सबै भन्दा पहिले बिक्री वितरण गर्नेहरुलाई नै कडा भन्दा कडा सजाय दिनु पर्छ । किनकी आर्थिक लाभ लिनका लागि बिक्री गरिने लागु औषधले एउटा देशको कर्णाधारलाई दलदलमा फसाउँछ र उसको भविष्य नै अन्धकार तर्फ धकेलिदिन्छ । कुनै पनि नागरिकको भविष्य अन्धकार नहोस् भन्नका लागि सरकारले जुन कानूनको निर्माण गरेको छ त्यसलाई अक्षरस पालन गर्न गराउनका लागि प्रहरी नै पहिलो जिम्मेवारी र कर्तव्य पूरा गर्ने संगठन हो । किनकी उसलाई त्यो अधिकार छ र उसले त्यो जिम्मेवारी पाएको छ । तर स्वच्छ समाज निर्माणका लागि प्रहरीको मात्र भर पर्नु पर्छ भन्ने होइन । विकसित मुलुकहरुमा सबैले प्रहरीको जस्तै भूमिका निर्वाह गरेका हुन्छन् । त्यसैले त परिवारकै कुनै सदस्यले कानून विपरित कार्य गरेमा उनीहरुले नै प्रहरीलाई खबर गरेर त्यसलाई कानूनी सजाय दिन्छन् । तर हाम्रो मुलुकमा त्यस्तो अभ्यास हुनुको साटो प्रहरीलाई नै दबाब र प्रभाव पार्ने गरिन्छ भने प्रहरी पनि दबाब र प्रभावमा पर्ने गर्दछ । कुनै व्यक्तिले मदिरापान गरी समाजमा शान्ति भंग गरिरहेको बेला प्रहरीले उसलाई कानून बमोजिम पक्राउ गरेको खण्डमा वर्तमान तीनै तहका सरकारका प्रतिनिधि अझ भनौं जनप्रतिनिधिहरु नै प्रहरीलाई दबाब र प्रभाव पारेर उसलाई छुटकारा दिन्छन् अनि कसरी हुन सक्छ लागु औषधको नियन्त्रण ?

यता नेपाल सरकारले दिएको बर्दी लगाएर ड्यूटीमा रहेको प्रहरी नै विभिन्न नामका अमुक गुट्काहरु खाएर सडक राताम्य हुने गरी सर्वसाधारणकै अगाडि प्याच्च प्याच्च थुकिरहेको हुन्छ । के सन्देश दिन्छ यस्ता कार्यले सर्वसाधारणमा । नेपाल सरकारले निर्धारण गरेका सार्वजनिक स्थलमा गर्न नपाइने धुम्रपान तथा सूर्तिजन्य पदार्थको प्रयोगमा रोक लगाउनेहरु नै आफूले प्रयोग गरिरहेका हुन्छन् । यसका कारण पनि सर्वसाधारण नागरिकले निशंकोच त्यस्ता पदार्थको प्रयोग गरेको देखिन्छ । अरुलाई सुधार्नका लागि आफू सुध्रनु जरुरी छ । दौड्न जान्नेले मात्र हिड्न सिकाउन सक्छ भन्ने कुरालाई प्रहरीले पनि राम्ररी बुझ्नु आवश्यक छ । मानव अधिकारका नाममा, उसका व्यक्तिगत जीवनका नाममा कसैले हस्तक्षेप गर्न नमिल्ला तर सरकारी बर्दी लगाएर ड्यूटीमा बसेको प्रहरी घुम्टी पसलमा गएर चुरोट किन्छ भने उसले समाजलाई सकारात्मक दिशा तर्फ उन्मुख गराउँछ भन्नु काठमाडौका पोल पोलमा प्रधानमन्त्रीको फोटो झुण्ड्याएर नयाँ युगको सुरुवात भयो भन्नु जस्तै हो ।

कक्षा कोठामा अध्यापन गरिररहेको शिक्षकले सूर्ति माडेर खानुबाट विद्यार्थीले के शिक्षा लिन्छन् त्यस तर्फ शिक्षकले सोच्नु पर्छ कि पर्दैन । स्वास्थ्य संस्थामा बसेको चिकित्सक नै मदिरा सेवन गरेको अवस्थामा भेटिन्छ भने उसले विरामीलाई कस्तो सेवा प्रवाह गर्छ होला । तीन कक्षामा अध्ययन गरिरहेको एउटा बच्चा गृहकार्य गर्न लागिरहेको बेलामा उसको बाबुले चुरोट किन्न पठाउँछ भने त्यो बच्चाको मस्तिष्कमा कस्तो प्रभाव पर्छ होला ।

सरकारी कार्यालयमा बसेर पान गुट्का खाएर एउटा कर्मचारीले दाँया पट्टिीको भित्तोमा थुकेर झिंगा भुनभुनाउने बनाएको देखेपछि एउटा सेवाग्राहीले के सोच्छ होला । एउटा राजनीतिक कर्मीले खुला स्थानमा बसेर चुरोटको धुँवा उडाइरहेको देखेपछि उसलाई भोट दिने जनताको के आफूलाई धिकार्दैनन् होला र ? यी यावत कुरालाई आफैबाट निर्मूल पार्न सकेपछि मात्र लागु औषधको नियन्त्रण गर्न सजिलो होला । नत्र हलो अड्काउने र गोरु चुट्ने बाहेक अरु केही हुन सक्दैन ।

पछिल्लो समयमा प्रदेश प्रहरी श्रीमति संघ कर्णाली प्रदेशले लागु औषध विरुद्धको जनचेतनामुलक कार्यक्रमको आयोजना गरेर उदाहरणीय कार्य प्रस्तुत गरेको छ । जुन कार्यले प्रहरी मात्र होइन प्रहरीका परिवार, आफन्तसँगै प्रत्येक जन जनले लागु औषध विरुद्धको अभियान नै चलाउनु पर्छ भन्ने सन्देश दिएको छ । गैर सरकारी संस्थाको रुपमा स्थापना हुने अनि स्वदेशी नगददेखि विदेशी डलरसम्म कुम्ल्याउने र मिठासपूर्ण तरिकाले प्रतिवेदन निर्माण गर्दैमा लागु औषध नियन्त्रण होला भन्ने नठाने पनि हुन्छ । यदि साँच्चिकै कर्णाली प्रदेशलाई लागु औषध निषेधित प्रदेशको रुपमा विकसित गर्ने हो भने प्रदेश प्रहरी श्रीमति संघले आसरा नेपालको सहयोगमा गरेको कार्यक्रमको सिको गर्न जरुरी छ । प्रहरी श्रमिति संघले यस्तो कार्य गर्न सक्छ भने समाज रहेका अन्य समुदायले किन गर्न नसक्नु । अभिभावकको तर्फबाट, शिक्षकको तर्फबाट, कर्मचारीको तर्फबाट, स्वास्थ्यकर्मीको तर्फबाट राजनैतिक दलको तर्फबाट अनि सबै भन्दा बढि जनप्रतिनिधिहरुको तर्फ यस्ता कार्यक्रमहरु बारम्बार भइरहनु पर्छ । जबसम्म घर, समाज, गाउँ, जिल्ला, प्रदेश र हाम्रो देश लागुऔषध प्रयोगमा शुन्यमा झर्दन तबसम्म सबैले आ आफ्नो क्षेत्रबाट यसका विरुद्ध एक भएर लाग्न जरुरी नै छ । प्रदेश प्रहरी श्रीमति संघ र आसरा नेपाललाई सफलताको शुभकामना ।