जमुना, कस्तो भयो तिम्रो सुहागरात ?
समय स्वतन्त्र छ । समय कसैको बसमा छैन । आउँछ आफ्नै गतिमा अनि जान्छ आफ्नै गन्तव्यमा । हो, त्यही समयलाई चिन्न सक्नु पर्छ मान्छेले । जसले समयलाई चिन्न सक्यो उसले समयलाई जितेको भान हुन्छ । अनि सफलता प्राप्त गर्न सक्छ । तर समयलाई चिन्न नसक्नेहरु हार्छन् पटक –पटक । अनि दोष दिइरहन्छन् समयलाई । समयलाई दोष दिएर पन्छिनेहरुको कमी छैन यहाँ । त्यसैले त भन्छन् समयसँग हार्नेहरु समय बलवान छ भनेर ।
एक दिन त्यो समय मेरा लागि पनि फरक बनेर आयो । गोधुली साँझमा उसले धुलो उडाउनै सकेन । घामले आफ्ना खुट्टालाई राता बनाइरहेका बेलामा म बसेको पृथ्वी भने कालो – कालो अझैँ कालो भएर लुक्दै थियो संसारिक उज्यालोबाट । पृथ्वीले संसारिक उज्यालोबाट लुक्ने चेष्टा गरिरहेको बेलामा टुप्लुक्क आइपुगेकी थियौ तिमी मेरो अनुहारमा केही उज्याला धर्साहरु निर्माण गर्नका लागि । पूर्व परिचित भएकैले तिमीलाई ठम्याउन कुनै गाह्रो थिएन मलाई । फेरि सामान्य परिचित पनि त थियौ हामी । तर आज तिमी यत्ति बिघ्न फरक बनेर मेरो जीवनमा आएकी छ्यौ भन्ने मलाई लागेकै थिएन । मेरो जीवनको एउटा पाटोलाई च्यातिदिन र च्यातिएको पाटो सिलाइ दिनका लागि आएकी रहिछ्यौ तिमी । खसीलाई काट्नु अघि एक फुर्को मीठो घाँस खान दिइन्छ नि । मेरो जीवनको च्यातिएका पाटोलाई तिमीले सिलाई दिने कार्य र त्यो खसीलाई दिइएको घाँसमा कुनै अन्तर लाग्दैन मलाई आजभोलि ।
मैले तिमीलाई बुझ्न नसकेर हो वा तिमीले मलाई बुझ्न नसकेर । अहँ ! मलाई थाह छैन । त्यसैले त समयसँग हारिसकेको मान्छे म बारम्बार दोष दिने गर्छु समयलाई । ‘समयलाई दोष दिएर उम्कन खोज्नेहरु कायर हुन् कायर’ यी शब्दहरु तिमीबाट नै आएका हुन् नि । त्यसैले म तिम्रा अगाडि कायर हुन पनि सक्दिन र समयलाई जितेको भान आफूमा पार्न पनि सक्दिन । भन, म कति निरिहता भित्र बाँचिरहेको छु, तिमी नै भन । यसमा अरु कुनै कारण छैन मात्र तिम्रो अभाव छ ।
जुन दिन तिमीले मेरो जीवनको च्यातिएको एउटा पाटोलाई सिलाउने काम ग¥यौ त्यही दिनदेखि मलाई संसारमा अलिदिन बाँच्ने मोह पलाएको हो । जमुना, तिमीले कति बलियो मनरुपी घागोले सिलाएकी रहिछ्यौ मेरो च्यातिएको जीवनको पाटोलाई हेर न अझैँसम्म उध्रिएको छैन । तर जुन पाटोलाई तिमीले जानी जानी च्यातिदियौ त्यो पाटो सिलाउनका लागि मसँग सामथ्र्य छैन । त्यसैले अहिलेपनि च्यातिएको जीवनको पाटो लिएर हिडिरहेको छु तिम्रै खोजीमा ।
भौतारिरहेको छु दुनियाँमा । मैले यो दुनियाँबाट बिदा लिनका लागि दुईवटा काम गर्नु जरुरी छ । एउटा भेट्नु छ तिमीलाई र अर्को जित्नु छ समयलाई । भाग, जति भाग्नु छ तिमीलाई भाग । दौड एउटा लडाइँको मैदानमा दौडिरहेको घोडाको चम्काईमा दौड वा शिकारीसँग बाँच्नका लागि लम्किरहेको हात्ति जस्तै लम्क । मलाई कुनै फरक पर्नेवाला छैन । किनकी मैले आजभोली समयलाई अलि अलि चिन्न थालिसकेको छु । सिकाउँदै छ समयले मलाई । त्यसैले तिमीलाई भेटाउनका लागि मैले तिम्रा पदचापहरु पत्ता लगाइसकेको छु । छोड्नेवाला छैन ति पदचापहरुलाई । अनि तिमीले पनि त मेटाउन सक्ने छैनौं आफ्नै निशानीहरुलाई । त्यसैले तिमीले जतिसुकै भुल्ने कोसिस गरे पनि म भुल्न सक्छु होला भन्ने लागेको छ भने बिर्सिदेउ जमुना त्यो भ्रमलाई । तिमीले पालेको भ्रमबाट तिमी आजै मुक्त हुनु छ र भेट्न जरुरी छ मलाई । एक पटक सिर्फ एक पटक । किनकी जीवनका सबै कहानीहरु पोख्नु छ तिम्रा अगाडि र बगाउनु छ समुन्द्र बनेर ती कहानीहरुसँगै तिमीलाई । अनि बग्नु छ आफूपनि समाउँदै तिम्रो अधर र चुम्दै तिम्रो निधार । पुग्नु छ जिन्दगीको अन्तिम गन्तव्यमा । बाँधेर तिमीलाई आँगालोमा र बाँधिएर तिम्रै आँगालोमा ।
आखिर के गरिन मैले तिम्रा लागि । हुन त केही गरे जस्तो लाग्दैन होला तिमीलाई । एउटा गरिबले जतिसुकै कमाए पनि साहुको ऋण तिर्दैमा सकिन्छ सम्पत्ति अनि के बाँकी रहन्छ ऊ सँग । हो, मायाको त्यस्तै गरिब हुँ म । तर पनि स्वाभिमानमा हुर्किएको गरिब । यति कुरा ख्याल गर तिमीले । मैले तिम्रो हरेक कदममा साथ दिएको छु । तिमी रुँदासँगै म पनि रोएको थिएँ अनि भिजेको थियो त्यो सिरानी । मेरो मनले तिम्रो शरिरका प्रत्येक अंग प्रत्यंगहरु छामेको छ । अनि तिमीले मेरो मनको हरेक कुनामा डुबुल्कि मारेकी छ्यौ ।
जमुना, याद छ तिमीलाई । एक दिन कोदोको पिठोमा पुरानो ज्यामिरको कालो चुक साँधेर खाएको । क्या मीठो थियो नि त्यो कोदोको पीठो पनि । अनि हाम्रै बारीको मेवा मैले नै चोरेर ल्याएको तिम्रो लागि । कति मन पथ्र्यो नि मेवा तिमीलाई । हुन त मेवा र लिची भनेपछि म पनि हुरुक्कै हुन्छु तिमीलाई थाह छ यो कुरा पनि । अनि मलाई सबै भन्दा मन पर्ने ओखर तिमीले घरबाट लुकाएर ल्याएकी थियौ नि । तिहारको दिनमा दाजु भाइका शत्रुहरुलाई नाश गर्न कामना गर्ने ओखर मेरा लागि लुकाएर ल्याएको म बिर्सिन सक्दिन । त्यो भन्दा ठूलो माया अरु के हुन सक्छ । तुलना गर्ने शब्द छैन मसँग ।
तर, तर मलाई लागेको थिएन । यति छिट्टै तिमीमा यस्तो परिवर्तन आउँछ भन्ने । जुन दिन तिमीले म भन्दा धेरै सम्पत्ति भएको युवकको संगत भेट्यौ त्यही दिनदेखि मोडिएको हो तिम्रो जीवनको बाटो । मलाई राम्रोसँग थाह छ यो कुरा । भारतका अधिकांश गल्लीहरुमा गएर रातको समयमा चौकीदारी गरेको पैसाले तिम्रा लागि किनिदिएको त्यो पाइन्ट र सि–सर्ट आजभोली त लगाउनै छाडिछ्यौ । देखिदैन त कहिल्यै पनि फेसबुकका वालमा त्यो पोशाकको फोटो पनि । फालिदियौ ती फोटोहरु । कि जलाइदियौ ती गुलाबी रंगका टि सर्ट र घिउ कलरका पाइन्टहरु ।
जमुना, म अलिकति बहकिए । थोरै रिसाए पनि । यी शब्दहरुलाई तिमीले चामल केलाए जस्तै केलाउ त । धेरै मायाले लतपलिएका हुन सक्छन् यी शब्दहरु । तिमीलाई थाह छ एउटा पागल जस्तै बनेको प्रेमी हुँ म । मलाई अहिलेपनि याद छ तिमीले भनेकी थियौ, मैले समयसँग हारेकै कारण म तिम्रो जीवनसाथी तर असल साथी जहिले पनि बनिरहने छु । तिमीले त बिर्सिसकि होल्यौ यी शब्दहरुलाई । मलाई सोध्नु छ तिमीसँग । जमुना कस्तो भयो तिम्रो सुहागरात ?







