Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

भाषणमा होइन भिजनमा हुन्छ समृद्धि

समृद्धिको सपना देख्न नागरिक सचेत र नागरिकको चेतनास्तर पनि समृद्ध हुनुपर्दछ । समृद्ध चेतनास्तरको नागरिकले मात्र समृद्धि मस्तिष्कको प्रतिनिधि छनोट गर्ने हैसियत राख्दछ । विधि, विधान, नीति र कानूनको पश्चिमीकरण मात्र समृद्धको परिचायक होइन । नीति र कानून तबमात्र सफल हुन्छ जब त्यसको धरातलीय प्रयोग हुन्छ ।

जसले आजको समाजको तस्वीरलाई भोलिका लागि परिवर्तित गर्न सक्दछ । विधि विधान, नीति र कानून समाजको रक्षा र समृद्धिका लागि हो । तर नेपालको सन्दर्भमा योा समाज परिवर्तन भन्दा सत्ताको रक्षाको लागि बढि प्रयोग भयो । चेतनशील नागरिक समाज निर्माण गर्नु सत्तासिनहरुको परम दायित्व हो भने समृद्ध र चेतनाका प्रतिनिधि निर्वाचन मार्फत छनोट गर्ने नागरिकहरुको कर्तव्य हो । अचेतन मस्तिष्कले छनोटमा विवेक प्रयोग गर्न सक्दैन । विवेक प्रयोग नभई छनोट भएका जनप्रतिनिधिहरुबाट समृद्ध र न्यायको आशा गर्नु मरुभूमिमा पानी खोज्नु सरह हो ।

समृद्धिको शुरुवात मानिसको चेतनास्तरले मापन गर्दछ । चेतनशील नागरिक तयार गर्नु ककुनै पनि राज्यको पहिलो दायित्व हो । समृद्धि यात्राको प्रस्थान बिन्दु हो । कुनै पनि विकासको पूर्वसर्त नागरिक चेतना हो । नागरिक चेतनाले नै समाज रुपान्तरणकको नेतृत्व गर्दछ । नागरिक चेतनाको आधार नागरिक शिक्षामा राज्य वा नागरिकको ध्यानदृष्टि नपुग्नु आजको सबैभन्दा ठूलो बिडम्वना भएको छ । शिक्षा योजनामा छ । नीतिमा छ । बजेटमा छ तर बिडम्वना व्यवहारमा छैन । गाउँमा स्कुल छ, किताब छ, शिक्षक छ तर शिक्षा छैन । लगानी छ तर लाभ छैन । अरबको खाडीमा श्रम निर्यात गर्ने श्रमिक उत्पादनमा हाम्रो शिक्षा केन्द्रीत छ । आम नागरिकको चेतनाले आज नेपालका ग्रामीणवस्तीमा कुलो छ सिंचाई छैन । धारा छ पानी छैन । सडक छ यातायात छैन । जमिन छ उत्पादन छैन । नेपालको यो विद्यमान धरातललाई पहिचान गर्न नसकि समृद्धिको कोरा भाषणले मात्र समृद्धि कसरी सम्भव छ ?

जुन देशमा तीन अर्बको धनियाँ र सत्र अर्बको खसी बाहिरबाट आयात हुन्छ भने त्यो देशमा समृद्धिको आधार के हो ? यस्ता आयातका सिलसिला हजारौ छन् । समृद्धिका लागि भाषण होइन नीति, योजना र त्यसको दृढ कार्यान्वयन महत्वपूर्ण हुन्छ । जुन देशमा करोडौंको कृषि उत्पादन गर्ने कृषकको समाचार पत्रिकाको पुछारमा र दैनिक खोक्रा भाषणबाजी गर्ने अर्थहिन समाचार पत्रिकाको मुख्यपृष्ठमा छापिन्छन् भने त्यो देशमा श्रमको सम्मान कसरी हुन्छ ? जुन देशमा संस्कृति र धर्मलाई डलरमा बेचिन्छ र राष्ट्रियताका थोत्रा कोट लगाइन्छ त्यो देशको अस्मिता कसरी जोगिन्छ ? जुन देशका नेता आफ्नै मतदातालाई विजयको निर्वाचन पछि फर्केर अनुहार समेत हेर्न चाहदैँनन् त्यो देशमा समृद्धिको सामूहिक यात्रा कसरी शुरु हुन्छ ? जुन देशमा समाज परिवर्तनको बहाक शिक्षक र कर्मचारी राजनीतिक दलको झोला बोकेर राजनीति गर्छ त्यो देशका नागरिकले समृद्धिको सपना कसरी देख्न सक्दछ ?

जुन देशका राजनीतिक कार्यकर्ता राजनीतिलाई धन कमाउने व्यावसाय बनाउँछन् त्यहाँ समृद्धिको भाषण मात्र कोरा नौटंगी हुनेछ । दैनिक हजारौ युवाहरुको खाडी यात्रा र लासहरुसँग साटिएको बिप्रेषण रकम घर घडेरी, गहना र भोज भतेरमा बगिरहेको छ । समाजमा आजका दिनसम्म गरिबी र बेरोजगारीले आफ्नो साम्राज्य छोडेको छैन । कलकलाउँदा युवाहरु रहरलाग्दा परिवार छोडेर मुटु ध्वजा फुटाउँदै र बरबर आँसु झार्दै समृन्दपार जान बाध्य छन् । देशमा भविष्य देखिरहेका छैनन् । जुन देशको युवाशक्ति आफ्नो देशमा सुन्दर भविष्यको बाटो पहिल्याउँन सक्दैनन् र समृद्धिको सपना देख्न सक्दैनन् । त्यो देशमा दुई चार ओठे भाषणले देशको समृद्ध यात्रा कसरी शुरु हुन्छ ? प्रश्न जटिल छ ।

अपार सम्भावना भएको हजारौं हेक्टर उत्पादन क्षेत्र भएको कृषि, पर्यटन, जलस्रोत, जडिबुडीका दैवि उपहारहरु आँखा वरिपरी असरल्ल छन् । तर नेपालको युवाशक्ति समृद्धिको सपना समुन्द्र पारी देख्न बाध्य हुनु परेको छ । राजनीतिक नेतृत्व बिप्रेषणको रकममा रमाउँछ भने सम्झनुहोस् समृद्धिका भाषणहरु हावा गफ बाहेक केही हुने छैनन् ।

यहाँ पैसा होइन योजनाको खाँचो छ । यहाँ नेता होइन नेतृत्वको खाँचो छ । यहाँ भाषण होइन भिजनको खाँचो छ । सही नेतृत्वबाट सही भिजन र सही भिजनबाट सही योजनाको निर्माण तथा दृढ इच्छाशक्तिका साथ त्यसको कार्यान्वयन आजको प्रमुख आवश्यकता हो । भिजन सहितको सही नेतृत्वले भोलिको चुनाव होइन भोलिको परिवर्तन आजै देखोस् । दिनरात हरपल समृद्धिका खाकाहरु देख्न सकोस् । चिन्तन गरिरहोस् । आफ्नो पराई नभनि दलगत स्वार्थ भन्दा माथि उठेर समाजको आमूल रुपान्तरणमा दृढ रहोस् । सबै दल, वर्ग क्षेत्र र समृदायलाई समृद्धिको मूल यात्रामा सहभागी गराओस् र समृद्धि यात्रा परिणाममुखी बनाओस् ।

समृद्धिका प्रचुर सम्भावनाहरु यत्रतत्र सर्बत्र छरिएको नेपाल ती सम्भावनाहरुलाई वैज्ञानिक व्यवस्थापन गर्ने भिजनसहितको सही राजनीतिक नेतृत्वको पखाईमा वर्तमान राजनीतिक व्यवस्था ढलपल भइरहेको छ । बजार र गाउँका गल्लीहरुमा राजनीतिक विचार र खिचातानीका कथाहरु जति वाचन गरिन्छन् समाज परिवर्तनका लागि समृद्धिका योजनाहरुमा त्यत्तिकै मात्रामा बहस हुँदो हो त समाजले समृद्धिको यात्रा शुरु गरिसकेको हुने थियो । हात धुन सिकाउनेदेखि पोषिलो भोजन तयारी गर्नेसम्मको चेतना विदेशी डलरको खेती गर्नेहरुले सिकाइरहेका छन् । तिनै डलरवादीहरुलाई संरक्षण गरेर राख्नु सरकारको उदासिनता स्पष्ट छ भने आर्थिक र चेतनाका कारण पछि परेको समाज तिनै चिल्ला र मीठा कुराहरुको बिचमा रुमलिरहेको छ ।

एकातिर डलरको लोभ र अर्कोतिर जनतालाई भ्रममा हाल्न सक्ने शक्तिको समीश्रणका कारण जनताको चेतनास्तर माथि उक्लिनुको साटो दिन प्रतिदिन धरासायी बन्दै गइरहेको छ । कुर्सीमा पुग्नका लागि जनतालाई ठूल्ठूला सपना बाँड्ने र सत्ताशीन भइसकेपछि आफूलाई देवत्वकरण गर्ने पाखण्डी राजनीतिका कारण जनताले आशा र भरोसा गर्न छोड्ने समय आइसकेको छ ।

सामान्य चप्पल लगाएर राजनीतिक यात्राको शुरुवात गरेकाहरु आज पजेरो बिना सवार हुन नसक्ने भएका छन् । उनीहरुको बिलासिताको जीवन देखेर अड्कल मात्र होइन यथार्थतामा समेत भएको परिवर्तन र जनताले पाएको परिवर्तनको महसुस जो कोहीले गर्न सक्छ । कुर्सीमा बस्नेहरुले त्यसको मर्यादा राख्न सकेका छैनन् । कुर्सीमा आसिनहरु आफू र आफ्नो दल अनि आफन्तका लागि त्यसको दुरुपयोग गरिरहेका छन् । मञ्चमा बोकेको कुरा व्यवहारमा लागु गर्दैनन् । व्यवहारमा लागु गरिएको कुरालाई बाहिर बोल्न सक्ने अवस्था नै छैन । नागरिकहरु सत्ताको भ¥याङ सावित भएका छन् । गाउँमा सिटामोल किन्ने आवाज उठ्दैन तर आफ्नो सेवा र सुविधालागि एक मतले तालि बजाउने व्यावसायिक राजनीति हाम्रो देशको अभियान बन्न पुगेको छ ।

वर्तमान नेतृत्वले सबैलाई समानान्तर रुपमा हेर्न सक्ने नजर र सबैका इच्छाहरुलाई समानान्तर रुपमा सुन्न सक्ने भिजनसहित चारैतिर हेर्ने र सबैलाई सुन्नसक्ने संस्कृतिको विकास हुनु पर्नेमा सकेसम्म अँध्यारो कोठामा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिई स्रोत साधन र अधिकारको बढ्दो दुरुपयोगले समृद्धि यात्राको कल्पना कसरी गर्न सकिन्छ र ?

राजनीतिक, प्रशासनिक वा समाजका अन्य क्षेत्रहरुमा जो जसले जे जसरी नेतृत्व गरिरहेकाक छन् तत् नेतृत्वमा फराकिलो सोच बहुआयामिक दृष्टिकोण र दृढ इच्छाशक्तिका साथ अघि बढ्न जरुरी छ । आफू र आफ्नाहरुको स्वार्थ भन्दा माथि उठेर देश र जनताको लागि शासन गर्ने प्रबृत्तिको विकास नभएसम्म देशले समृद्धिको अनुभव गर्न सक्दैन । त्यसका लागि राजनीतिलाई पेशा होइन सेवा बनाएर लाग्न जरुरी छ । जबसम्म राजनीतिलाई सेवा बनाउन सकिदैन तबसम्म यो कमाई खाने भाँडोको रुपमा प्रयोग भइरहन्छ । मञ्चमा पुगेर एउटा व्यक्तिले गरेको भाषण र त्यसलाई विश्वास गर्नेहरुले दिएको भोटले दीर्घकालिन राजनीति बन्न सक्दैन भन्ने चेतना राजनीतिकर्मीमा आउन सकेपछि मात्र उनीहरुले जनताको जनभावनाको कदर गर्नेछन् । समृद्धि प्राप्त गरेका विश्वका कयौं मुलुकहरु भाषणमा भन्दा पनि भिजनमा लागेर नै समृद्ध बन्न सकेका हुन् भन्ने हेक्का राख्न जरुरी छ । अनि मात्र यिनीहरुले समृद्धिको नारा लगाएको सुहाउँला कि ?

(लेखिका राप्रपा युवा संगठन कर्णाली प्रदेश संयोजक हुनुहुन्छ ।)