जाजरकोटी युवा क्षितिजको कविताले जित्यो गोपीको प्रथम पुरस्कार
माघ १८ काठमाडौँ |
शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गोपी’ले आयोजना गरेको कविता लेखन प्रतियोगितामा जाजरकोटका क्षितिज समर्पण (रामकुमार शाही) प्रथम भएका छन् । उनले लेखेको कविता ‘अस्थिपञ्जर बन्नुअघि’ले सर्वोत्कृष्ट भई प्रथम पुरस्कार जितेको हो । पुरस्कार राशी ३० हजार रुपैयाँ रहेको छ ।

प्रतियोगिताका सहभागीहरुले ‘गोपी’ फिल्मको ट्रेलर हेरेर त्यसैमा आधारित स्वावलम्बन तथा स्वरोजगार विषयमा कविता लेखेका थिए । सबै कविताको मूल्यांकन कविद्वय उपेन्द्र सुब्बा र नवराज पराजुलीले बुधबार गरेका हुन् ।
आयोजक आरोही इन्टरटेनमेन्टका अनुसार प्रतियोगिताका लागि २ सयभन्दा बढी कविता प्राप्त भएको थियो । ती कविताबाट निर्णायकद्वयले उत्कृष्ट १० छानेर प्रथम, द्वितीय र तृतीय विजेताको छनोट गरेका थिए ।
जाजरकोटको साविक पुन्मा गाविस–३, छिप्रेना हाल भेरी नगरपालिका–५ मा जन्मिएका क्षितिज अहिले काठमाडौँमा बसेर पत्रकारिता, साहित्य र कलाकारितामा संलग्न छन् । उनी यसअघि पनि जिल्लास्तरमा हुने विभिन्न प्रतियोगिता विजयी हुने गरेका थिए । उनको आगोका फूलहरु (गजलसंग्रह)–२०६७ र कैफियत (संयुक्त गजलसंग्रह)–२०७० प्रकाशित छन् ।
प्रतियोगितामा निरज दाहालको ‘स्वावलम्बी झन्डा’ द्वितीय र सुमन थापा मगरको ‘फर्किउ तिमी’ कविता तृतीय पुरस्कार जित्न सफल भएका छन् । उनीहरुले क्रमशः २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
उत्कृष्ट १० परेका बाँकी सातवटा कवितालाई सान्त्वनास्वरुप ५–५ हजार रुपैयाँ प्रदान गरिनेछ । सान्त्वना पुरस्कार पाउन सफल कवितामा मदन पन्थीको ‘श्रमको शरम’, दीपक पाण्डेयको ‘सपनाको फाँटबारी’, रमा फुयालको ‘तिम्रो पर्खाइमा’, प्रकाश आचार्यको ‘संकल्प’, शुभचन्द्र राईको ‘समयको आह्वान’, निखिल पाण्डेको ‘आधुनिक मदन’ र नवराज अधिकारीको ‘गोपी बनुँ मै पनि’ छन् ।
विजेताहरुलाई आगामी हप्ता पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । सयौं युवालाई कविता लेख्न उत्प्रेरित गरेकोमा कविद्वय सुब्बा र पराजुलीले ‘गोपी’ फिल्मप्रति आभार व्यक्त गरे ।
यस्तो छ प्रथम स्थान हासिल गर्न सफल कविता ः
अस्थिपञ्जर बन्नुअघि
सान्दाई !
तिमीले हरियो पासपोर्ट
बनाएको दिन
मैले पनि हरियो सपना देखेँ,
तिमीले ‘यहाँ बसेर काम छैन’
भनेको दिन
मैले एकपटक यो माटो छामेर हेरेँ,
खैर ! यी त उहिलेका कुरा !
आज सोच्छु–
तिमीले हरियो पासपोर्ट बनाएको दिन
मैले हरियो सपना नदेखेको भए
मेरो जिन्दगीका धेरै हरियालीहरु हराउने रहेछन्
हेर्छु मेरो बारीमा–
हुर्किदै गरेको हरियो साग
हुर्किदै गरेको हरियो काउली
हुर्किदै गरेको हरियो बन्दा
साना सन्तानजस्तै–लहलहाउँदो खेती
यी सबै–सबै हराउने रहेछन् ।
सान्दाई !
तिमीले ठूलो जहाज चढेको दिन
तिमीलाई विदा गर्न ‘एअरपोर्ट’ नपुगेको भए
देख्ने थिइनँ हुँला– तिम्रो आँखाको आँशु
बुझ्ने थिइनँ हुँला –परिवारसँग छुट्टिनुको पीडा
देख्ने थिइनँ हुँला–तिम्री छोरी र पत्नीको आर्तनाद
तिमीले ठूलो जहाज चढेकै दिन
मैले देश नछोड्ने ‘ठूलो अठोट’ नगरेको भए
नआउँदै हराउने रहेछन्–
मेरा जिन्दगीका ‘ठूला’ बसन्तहरु !
मेरो गाई फार्ममा–
हुर्किदै गरेकी बाच्छी हेर्छु
तिम्री सानी छोरीलाई सम्झिन्छु,
कुखुरा फार्ममा हुर्किदै गरेका चल्लाहरु हेर्छु
तिमीजस्तै ‘परदेशी’का सन्तान सम्झिन्छु,
खाडीको तालो बालुवामा
तिमीले कतिपटक र्कोयौ होला–
आफ्ना कलिला सन्तानको ‘स्केच’
कतिपटक बनायौ होला
आफ्नी अर्धाङ्गिनीको आकृति !
सान्दाई !
तिमीले खाडीमा पसिनाको नाइल बगाउँदा
मैले मेरै देशमा पसिनाको कर्णाली बगाएँ
मेरो पसिनाको सुगन्धमा
बारीभरी फुलेको छ तरकारी
खेतभरी झुलेको छ धान
मेरै पसिनाको बास्नाले अघाउँछन्–गाईहरु
मेरै पसिनाको बास्नामा हुर्किन्छन्–चल्लाहरु
सायद, तिम्रो पसिनाको पलङमा
मस्त सुत्दो हो–मुदिर
पसिनाको रङ उस्तै भएपनि
पसिनाको मूल्य फरक हुँदोरहेछ
तिमीले बगाएको पसिना
खाडीको बालुवाले सोसिरहेको बेला
मेरो पसिनाले आफ्नै देशको माटो सिँञ्चिरहेछ ।
सान्दाई !
तिमीले पनि–
हरियो पासपोर्ट बनाउन छोडेर
आफ्नै बारी हरियो बनाउन लागेको भए
कुपोषणले खिइने थिइन होला–सानी छोरी
भत्किने थिएन होला–खुशीको पर्खाल
र, हरियै हुँदो हो तिम्रो जिन्दगी पनि–
मेरो बारीको तरकारीजस्तै !
सान्दाई !
तिमीलाई मेरो सानो अनुरोध–
अस्थिपञ्जर भएर फर्किनु अघि नै फर्किदेउ
यही माटोमा बगाउँला पसिनाका अनेक नदीहरु
झन् अग्लो बनाउँला खुशीको सगरमाथा
र, हरियो बनाउँला–जिन्दगीका पत्रैपत्र ।
कुसेमालिका अनलाइन






