Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

सलाम छ जयन्ती तिमीलाई

बहिनी जयन्ती,
कर्णालीको राजधानी सुर्खेतबाट असिमित स्नेह ।

सञ्चै छु म र सञ्चै छ, मेरो कर्णाली पनि । अनि आशा गरेको छु, सञ्चै होला तिम्रो कर्मभूमि भर्जिनियाँ र सञ्चै होला तिमीलाई पनि ।

लेखक :
खगेन्द्र अधिकारी अमृत

बहिनी, खबर पाएको थिएँ सञ्चै छ रे हाम्रो दैलेख पनि । तिमीलाई थाह छ नि दैलेख जिल्ला आफैमा देवभूमिको रुपमा परिचित छ । देवहरुको लोक भएकोले दैलेख भएको भन्ने सुक्ति रहेको भएपनि दघिचिले तपस्या गरेको तपोभूमि हरदम सञ्चै रहने छ भन्ने आशा गरेको छु । पञ्चकोशीको पुण्यभूमि, पर्यटकीय क्षेत्रका हिसावले होस् या धार्मिक क्षेत्रका रुपमा होस् दैलेखले आफ्नो छुट्टै स्थान बनाएको छ जसरी एउटा समाजसेवीको रुपमा तिमीले एउटा जीवनको कथा लेखेकी छ्यौ ।

Image may contain: 1 person, smiling, standing, shoes, child and outdoor

आज यी हरफहरु लेखिरहँदा तिमी दैलेखकी छोरी भएकोले पनि मैले गर्व महसुस गर्ने ठाउँ पाएको छु । सानै उमेरदेखि अत्यन्त मिलनसार र सेवाभावले ओतप्रोत भएको देख्दा अचम्म मान्नेहरु तिम्रो अद्भूद् प्रतिभाको प्रशंसक बन्ने गरेका छन् आज भोलि ।

हुन त त्यो दिन मलाई राम्ररी याद छैन तिमीले जन्मभूमि छोड्ने कुरा गरेको । तर जसरी जन्मदिने आमाको मायालाई कुनै पनि सन्तानले लत्याउन सक्दैन त्यसरी नै मातृभूमि प्रतिको अगाढ माया र सदभाव राख्ने तिमी जस्ती चेलीलाई सलाम छ जयन्ती सलाम छ ।

Image may contain: Thapa Jayanti

आज तिमी अमेरिका जस्तो सम्पन्न देशको उच्तम् सुविधा भएको शहरमा बसेकी छ्यौ । त्यो शहरले तिमीलाई काम, माम र दाम दिएको छ । त्यो संगै एउटा संस्कार सिकेर सभ्य समाज निर्माणका खातिर एउटा ‘समाजसेवा’ नामक पुस्तक पनि पढाएको छ ।

जयन्ती, थाह छ तिमीलाई, हाम्रो देशका नेताहरुले अझैँ पनि मञ्चमा पुगेर ठूला भाषण गर्न छोडेका छैनन् । राष्ट्रवादलाई व्यवहारमा उतार्न नसकेका कारण अझैँ पनि नेपाली जनताले सुखको अनुभूति गर्न पाएका छैनन् ।

Image may contain: 3 people, people smiling, text

हामी कर्णालीबासीलाई त झन सौतेलो व्यवहार खेप्न बाध्य पारिरहेका छन् । अझैँ पनि पर्याप्त सिटामोल पाउन सकेका छैनन कर्णालीका दुरदराजमा बस्नेहरुले । पुग्न सकेको छैन भेटभरी खान । हामी कर्णालीबासी अझैँ पनि ५२ प्रतिशत गरिबीको रेखामुनी छौ । तिमी पनि त्यही ५२ प्रतिशत भित्रको एउटा नागरिक हौं । हामी कर्णालीको राजधानीबासी भएर जति खुसी भएका छौ यहाँका खाल्डाखुल्डीले हामीलाई त्यत्तिकै दुःख दिएका छन् । वीरेन्द्रनगर नगरपालिकाले पोहोरसाल खाल्डामा हालीदिएको माटो केही पानीले बगायो केही हावाले उडायो अहिले फेरि त्यस्तै हालतमा पुगेका छन् ती सडकहरु । हुन त राजधानी बन्नका लागि धुवाँ, धुलो, खाल्डा, वर्षातमा हिलो हुनै पर्दोरहेछ क्यारे । तर तिमी बसेको शहरमा त त्यस्तो छैन होला । सायद यही राजधानीको धुवाँ, धुलोले हाम्रा नेताहरुको मनलाई समाजसेवा गर्न नदिएको हो कि ? जनप्रतिनिधिहरु तलबी कर्मचारी झैँ बन्न पुगेका हुन् कि ? यस्तै सोच्ने गर्छ मेरो मनले ।

Image may contain: 4 people, people standing and outdoor

सच्चा राष्ट्रवादको अर्थ व्यवहारमा लागु भएको हेर्ने हाम्रो पुस्ताको रहर पूरा हुन्छ कि हुँदैन म यसै भन्न सक्दिन । राजनीतिक नेतृत्वमा पुगेर समाज परिवर्तन गर्छौ भन्दै विभिन्न लोभ र लालचका ललिपपहरु देखाउने राजनेताहरुले तीन तहका सरकार निर्माण त गरे तर देश निर्माण गर्न सकेका छैनन् । भोग, विलाश, ऐस, आराम मात्र होइन करोडौका आलिसान महलहरुमा लाखौका बेडमा खै कसरी मस्त निदाउन सकेका छन् हाम्रा नेताहरु । भूकम्प पिडितहरुको शीत छल्ने त्रिपाल प्वाल परेको छ । बाढी पहिरो पिडितहरुको चुलोमा आगो निभ्न आँटिसक्यो । उनीहरुका समस्या अहिलेसम्म ज्यूँ का त्यूँ छन् ।

No photo description available.

तिमीले गरेको समाजसेवाले सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, कैलाली र बाजुराका असहाय र विपन्न वर्गका बालबालिकाले पढ्न पाएका छन् । आफूलाई लागेको रोग निको बनाउन औषधीहरु किन्न पाएका छन् । शारीरिक रुपमै भगवानबाट ठगिएकाहरुले जीवनमा बैशाखी पाएका छन् । यही पौषमा कालिकोटमा भएको आगलागीमा आफ्ना कापी किताब जलेर स्कुल जानबाट बञ्चित भएकाहरु स्कुल जान थालेका छन् । विगत चार वर्षदेखि पालमा रहेका सुर्खेतका बाढीपीडित र गत पुस ८ गते कालिकोटमा भएको अग्निपीडितले समेत राहत सामग्री पाएको महसुस गरेका छन् । तिमीले नेपालमा वार्षिक झन्डै ६ लाख रकम सहयोगमै खर्चिने गरेकी छ्यौ । गरिबीले पिल्सिएका बालबालिकाको केही हदसम्म भए पनि उद्धार र विपदमा परेकालाई सहयोग गर्दा तिमीलाई जत्ति सन्तुष्टि मिलेको छ नि त्यो भन्दा धेरै सन्तुष्टि तिमी जस्ती समाजसेवी छोरी जन्माउन पाएकोमा तिम्रा मातापितालाई मिलेको छ । अनि तिमीलाई कर्णाली र कर्णालीको पनि राजधानी सुर्खेती चेलीको रुपमा यो पत्र कोरिरहँदा म पनि गौरवान्वित भएको छु ।

Image may contain: text

जयन्ती, थाह छ मलाई । तिमी जस्ता विभिन्न पेशा व्यवावसायका लागि लाखौ नेपालीहरु नेपाल बाहिर छन् । कसैले मनग्य आम्दानी गरिरहेका छन् भने कसैलाई आफ्नो दैनिक गुजारा गर्न धौ–धौ परिरहेको छ । विदेशमा बस्ने सबै नेपालीहरुको माया भने नेपालप्रति हुनु खुसीको कुरा हो । फरक यत्ति हो कसैले प्रत्यक्ष रुपमा देखाउन सकेका छन् कसैले देखाउन सकेका छैनन् । कोही सकि नसकि देखाउँछन् कोही सकेर पनि देखाउन चाहँदैनन् । स्वदेशमै बस्नेहरुले आफ्नै मातृभूमिलाई कत्तिको माया गरिरहेका छन् भनेर नाप्न सकिने यन्त्र त छैन तर उनीहरुको व्यवहारको कारण उनीहरुले गरेको मायालाई आंकलन भने गर्न सकिन्छ ।

जयन्ती, म यो पत्र यसकारण लेख्दैछु तिमीलाई । तिम्रो कर्मभूमिमा भएको ‘समाजसेवा’ नामक एउटा पुस्तक किनेर पठाइदिनु नेपालमा पनि । ता कि त्यो किताबको अध्ययन पश्चात कमी आओस् भ्रष्टाचारमा र फैलिन सकोस् तिमीले गरे जस्तै निस्वार्थी समाजसेवाभाव जताततै । तिमीले जस्तै निस्वार्थ समाजसेवा गर्नु पर्छ भन्ने मनलाई व्यापक बनाएर हाम्रो देशका राजनेताहरुलाई पढाउनु छ ।
जयन्ती, यहाँ शिक्षित भनिएका मान्छेहरुले किताबमा भएको शिक्षा ग्रहण गरेका छन् । हात हातमा प्रमाण पत्र प्राप्त गरेका छन् । वर्तमान सरकारले भने जस्तै तिनै प्रमाण पत्रहरु धितो बन्धक राखेर ऋण लिने तरखर गरिरहेका छन् । म पनि त्यही लाइनमा उभिएको छु । तर यहाँ सामाजिक शिक्षा, नैतिक शिक्षा र चेतनाको शिक्षा प्राप्त गरेकाहरुको अभाव छ । त्यसैले त बढिरहेको छ भ्रष्टाचार । एउटा सर्जकको सिर्जनालाई हत्या गरिन्छ यहाँ । एउटा किसानले लगाएको तरकारीले बजार पाउँदैन र डोजर लगाएर त्यसलाई सखाप पार्न त्यो किसान फेरि ऋण गर्न बाध्य हुन्छ तर तरकारी भारतबाट आयात गरिन्छ । यस्तै बिडम्बना छ यहाँ । यस्तो शिक्षाले मेरो देश कहिले बन्छ तिमी बसेको भर्जिनियाँ शहर जस्तै सम्पन्न । भन्न त नभनेका होइनन् सिंगापुर र स्वीजरल्याण्ड बनाउँछौ भनेर । तर अहिलेसम्म एनसेलले तिर्नु पर्ने कर उठाउन सकेका छैनन् । एउटी मात्र निर्मला होइन हजारौ निर्मलाका बलात्कारिहरुलाई दण्ड दिन सकेका छैनन् । जेलमा बसेको मान्छेले संसदको सपथ खाने मेरो देशमा चेतनाको शिक्षा अनि व्यवहारिक शिक्षाको निकै ठूलो खाँचो छ ।

No photo description available.

जयन्ती, तिमी बसेको देशका पूर्व राष्ट्रपति विश्वविद्यालयमा पठाउँछन् रे । तर मेरो देशका पूर्व भिआइपीहरु के गर्दैछन् मैले तिमीलाई भनिरहनु पर्ला र ? तिमीले जुन व्यवहार सिक्यौ त्यो कहाँबाट ? तिम्रो मनमा जुन निस्वार्थ भावना पलायो त्यो कुन शिक्षाबाट ? अमेरिकामा बसेपनि कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा रहेका असहाय बालबालिकादेखि विपदमा परेकालाई तिम्रो कुन नजरले देख्न सक्यो ? सुर्खेतका बाढीपिडित र कालिकोटका अग्नीपिडितहरुको व्यथालाई कसरी महसुस गर्न सक्यौ तिमीले ? तिमीले अध्ययन गरेको अमरज्योति नमुना माध्यमिक विद्यालयमा आफ्नो नामबाट ३ लाखको अक्षय कोष र मातापिताको नामबाटसमेत जनजागृत प्राथमिक विद्यालय पदमपुरमा एक लाखको अक्षयकोष खडा गर्नुपर्छ भन्ने सुसंस्कृत शिक्षा तिमीलाई कसरी प्राप्त भयो ?

अक्षयकोषको स्थापना गरेर विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नु पर्छ ता कि उनीहरुले शिक्षाको उज्यालोबाट बञ्चित हुनु नपरोस् भन्ने कुरा कुन किताबबाट सिक्यौ तिमीले ? आफूले गरिरहेका कर्महरुलाई सफल पार्नका लागि आफ्ना जन्मदाता मातापिता धर्मजंग र पार्वती थापालाई पनि यही कार्यमा सरिक गराउनका लागि कुन मन्त्र सिकायौ तिमीले ? अनाथ बालबालिका सुधार गृह, असहायका लागि सहयोग, विपन्नलाई सम्पन्न बनाउन शिक्षा, रोगीलाई औषधी, पिडितलाई राहत अनि दैनिक आफ्ना कर्महरु सञ्चालन पनि । त्यसैले हो मैले तिमीलाई सलाम ठोकेको । कुनै न कुनै शिक्षा त अवस्य होला । पठाऊ त्यो किताब नेपालमा पनि । म पढ्न लगाउँछु हाम्रा नेताहरुलाई । जसले पद, प्रतिष्ठा र पैसाका लागि नूनदेखि सुनसम्मका काण्डहरु मच्चाउँछन् । सच्चिउन् तिनीहरु । जसले शक्ति र सत्ताका आडमा दण्डहिनताको विकास गरिरहेका छन् । भन जयन्ती भन, यो सब कुरा मेरो देशका राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले सिक्न जरुरी छ । ता कि उनीहरुले नेपाल बन्द गर्न, आम अडताल, गाडि र सरकारी तथा व्यक्तिगत सम्पत्तिमा आगजनी बिर्सिदिउन् ।

Image may contain: 1 person, smiling

सुर्खेतको सिम्ताको राकममा दृष्टिविहीन छात्रवास मात्र होइन उनीहरुका लागि पलङ, डसना र सिरक, शिद्ध बहिरा स्कुल खजुरालाई शैक्षिक सामग्री लगायत न्यानो कपडा, सडक बालबालिकाको उद्धार, कैलाली जिल्लाका शारीरिक रूपमा अशक्त र मानसिक रूपमा पीडित सडक बालबालिकालाई आर्थिक सहयोग, उपचार अभावमा छटपटाईरहेका बालबालिका तथा ज्येष्ठ नागरिकलाई उपचार सहयोग, क्यान्सर, पक्षघात, दीर्घरोगीसहित दुर्घटनामा परेर उपचार अभावमा छटपटाइरहेका बिरामीलाई सहयोग यति सबै क्षेत्रहरुमा कसरी पुग्यो तिम्रो ध्यान । स्वास्थ्य र शिक्षामा मात्रै नभएर वातावरण सरसफाइमा समेत सहयोग, सुर्खेतमामात्र हैन रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको रारी बजार सरसरसफाई अभियान, सरसफाइको क्षेत्रमा जनचेतना फैलाउने कार्य, फोहोर व्यवस्थापन गर्ने, डस्बिन राख्ने यी सबै तिमीले अमेरिकामा बसेर सिक्यौ वा अन्य कुनै माध्यमबाट ।

यस्तो शिक्षाको खाँचो हाम्रो देशका वडादेखि सिंहदरबारसम्म बस्ने सम्पूर्ण जनप्रतिनिधिहरुलाई छ । जसले आफ्नो तलब आफै तोकेर जनताको करको दुरुपयोग गरेका छन् । साँच्चै जयन्ती तिमी एउटा खुला किताब हौं । बालबालिकाहरुले पढिरहेका छन् तिमीलाई जसले किताबको अभावमा विद्यालय जानबाट बञ्चित हुनु परेको थियो । भविष्यमा लेख्नेछन् तिनीहरुले एउटा अमृतमय कथा । भनिन्छ, इतिहास जित्नेहरुकै लेखिन्छ । आज दुईतिहाइ जितिरहेकाहरु भोलि हार्न सक्छन् । तर तिमी कहिल्यै हार्ने छैनौ । २०७१ साल साउनको अन्तिमबाट पालमुनि रहेका सुर्खेतका बाढीपीडितले यो जाडोमा पाएको न्यानो कपडा कहिल्यै बिर्सिने छैनन् । अनि तिमी कसरी हाछ्र्यौ ? २० जना विद्यार्थीले पढाइदेखि सम्पूर्ण खर्च तिमीले भर्जिनियाँमा बगाएको पसिनाबाट पाइरहेका छन् । अनि तिमी कसरी हाछ्र्यौ ? त्यो रुकुमको कालिका प्राथमिक विद्यालय सुन्दरपानी, दीपज्योती प्राथमिक विद्यालय र बालकल्याण माध्यमिक विद्यालयमा पढिरहेका विपन्न वर्गका विद्यार्थीले हराउने छैनन् तिमीलाई । त्यस्तै, जाजरकोटको नारायण माध्यमिक विद्यालयमा ४ जना, सुर्खेतको अमरज्योति नमुना माध्यमिक विद्यालयका ६ जना, जनजागृत प्राथमिक विद्यालय पदमपुरका ३ जना विद्यार्थीले कसरी हराउलान् आफ्नो जिउँदो भगवानलाई । अनि तिमी कसरी हाछ्र्यौ ?

Image may contain: 19 people, people standing and outdoor

जयन्ती, तिमीले गरेको यो निस्वार्थी योगदानको चर्चा मैले जत्ति गरेपनि अपूर्ण हुन सक्छ । म यत्ति भन्छु । तिम्रो समाजसेवी मन सदा खुसी रहोस् । जीवनका हजारौं मोडहरुमा कहिल्यै दुःखको अनुभूति गर्न नपरोस् । जीवनमा एक पछि अर्को गर्दै खुसीहरु थपिँदै जाऊन् । तिमीले ज–जसको उद्दार गरेकी छ्यौ तिनीहरुले देशको लागि कर्म गर्न सकुन् ।

तिमी कर्णालीकी चेली भएकोमा कर्णालीबासीलाई गर्व महसुस भएको छ । आर्थिक अवस्था कमजोर भएरै पढ्न नपाएकाहरु भोलि यस देशका होनाहार जनशक्तिको रुपमा उत्पादन भए भने एउटा जिउँदो भगवानको रुपमा पूजा गर्नेछन् तिमीलाई । पृथ्वीलोकमा जन्म लिएको सार्थक हुनेछ तिमीले । तिमी जस्ती छोरी जन्माउन पाएकोमा गर्वले फुलेको मातापिताको छात्ति अनि त्यो ठाडो शिरलाई नमन मेरो तर्फबाट ।

उही तिम्रो दाजु खगेन्द्र अधिकारी ‘अमृत’
कर्णाली प्रदेशको राजधानी
वीरेन्द्रनगर सुर्खेत

नोट : यसमा प्रकाशित भएका तस्बिरहरु जयन्ती थापाको फेसबुक वालबाट साभार गरिएका हुन् |