Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कठै ! मेरो विश्वविद्यालय

असारको मध्य सातातिर एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित भइसकेपछि त्यसको नतिजा थाह पाउनका लागि झण्डै आधा महिना नै कुर्नु पर्ने अवस्था थियो ५० को दशकसम्म पनि । काठमाडौंमा परीक्षाफल प्रकाशित भएको र फलानो बोर्ड फष्ट भएको समाचार रेडियोबाट सुन्दा पनि गज्जबै लाग्ने गर्दथ्यो । गोरखापत्रमा प्रकाशित हुने परीक्षाफल हेर्नका लागि त्यतिबेलाको २० रुपैयाँसहित सिम्बोल नं. एउटा बन्द कोठामा दिनु पर्ने र पर्खाइमा बस्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य कहिले होला भनेर कामना गर्नेहरुको संख्या समेत ठूलै हुने गर्दथ्यो । आज नभन्दै त्यो अवस्थाको अन्त्य भएको छ । फलामे ढोकाको रुपमा निकै डरलाग्दो गरि आउने हाम्रा पालाको एसएलसी पनि त आउँदैन आजभोली ।

लेखक :
खगेन्द्र अधिकारी अमृत

आजभोलि त एसईइ आउने गर्दछ । परीक्षाफल प्रकाशित हुनु पूर्व नै विभिन्न सञ्चार माध्यमहरुमा ‘परीक्षाफल प्रकाशित हुँदै’ भन्ने समाचारहरु छ्यापछ्याप्ति आइहाल्छन् । त्यसको केही समयमा नै ‘परीक्षाफल प्रकाशित’ भन्ने समाचारसँगै आइहाल्छ ग्रेडसिट पनि । अनि कोही बोर्डफष्ट हुने व्यवस्था पनि त छैन आजभोलि ।

हाम्रो पालामा भन्दा निकै सहज भएको छ आजभोलि । त्यतिबेला दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, कालिकोटलगायतका पहाडि जिल्ला मात्र होइन बाँके, बर्दिया, अछाम लगायतका जिल्लाहरुबाट क्याम्पस पढ्न आउनेहरुको ओइरो लाग्ने गर्दथ्यो । दशैंको समयमा क्याम्पस पढ्न गएकाहरु गाउँ पसेपछि गाउँको रुपरंग नै फरक हुन्थ्यो । अनि कति माया गर्दथे सबै सबैले क्याम्पस पढ्नेहरुलाई ।

त्रिभुवन विश्वविद्यालयको नामै सुनेपनि दंग पर्ने हामीहरु । सुर्खेतमा हल्ला चल्न थाल्यो क्याम्पस त के विश्वविद्यालय नै स्थापना हुने । मौदगल्य सेवा समाजले पण्डित दिनबन्धु पोखरेललाई ल्याएर ठूलै महायज्ञको संचालन हुने बेलासम्म पनि सुर्खेतमा विश्वविद्यालय बन्ला र भन्ने प्रश्न गर्नेहरुको कमी थिएन । उक्त महायज्ञमा हजार, लाखका दानहरु बोलिन थालिए । बन्ने भयो विश्वविद्यालय । ठूलै हल्ला चल्न थाल्यो । तत्कालिन मध्यपश्चिमवासीहरु उत्साहित भए । कतिपयले बाँकेमा विश्वविद्यालय बनाउनु पर्ने प्रस्ताव पनि ल्याए । बाँके र सुर्खेतका बीचमा जहिले पनि जुँगाको लडाइँ भइरहने । २०७२ सालको संविधान बमोजिमको संघीयता पछि मात्र बाँकेमा जुँगाको लडाइँ गर्नेहरुले हारेका हुन् । तर त्यो भन्दा पहिले एक पटक विश्वविद्यालयको स्थापनामा पनि हारेका थिए बाँकेका जुँगावालाहरुले ।

आखिर बन्ने भयो विश्वविद्यालय । माथि पंक्तिकारले व्याख्या गरे झैँ एसएलसी र अब आफ्नै आगनमा विश्वविद्यालयको स्थापना । कति धेरै परिवर्तन हुनसक्यो । फेरियो समय बढ्दै गयो शिक्षामा चेतना र स्थापना भयो विश्वविद्यालय पनि । जब विश्वविद्यालयको स्थापना भयो । आफूले छाक काटेर दिएको मुठीदान होस् वा धार्मिक शास्त्र अनुसार पुण्य कमाउन गरिएको तुलादान होस् वा क्याम्पसको केन्द्रीय परिसरमा अर्धकदको प्रतिमा बनाउने मनोकाँक्षा नै किन नहोस् । विश्वविद्यालयको हुर्काइसँगै आफूले दिएको दानको सदुपयोग भएको ठान्दै गए मध्यपश्चिमवासीहरु ।

विश्वविद्यालय वामे सर्न थालिसकेको बेलामा अख्तियारको आँखा लाग्न पुग्यो विश्वविद्यालयमा । पदाधिकारीहरुले आफ्नी श्रीमतीलाई पेटीकोट किनेका बिल मात्र नभई दाल र ढाल किनेका बिलहरु समेतको भूक्तानी विश्वविद्यालयबाट लिएपछि अख्तियार पस्नु आवश्यक थियो विश्वविद्यालय बचाउनका लागि । विश्वविद्यालयमा अनियमितता गर्नेहरुलाई च्याप्प समातेर झ्याप्प पारेपछि विश्वविद्यालय पदाधिकारी विहिन बन्न पुग्यो । मियो विनाको दाँइ जस्तै बनेको विश्वविद्यालयमा सुर्खेती शिक्षाविद कालीप्रसाद पाण्डेलाई उपकूलपति र विश्वविद्यालय स्थापना गर्ने समयदेखि अहोरात्र खट्ने महेन्द्रकुमार मल्ललाई रजिष्ट्रारको रुपमा नियुक्ती गरेपछि विश्वविद्यालयले पहेलो बनेको पात फेरेर फेरि हरितकण धारण गरेको इतिहास कसैले लुकाएर लुक्नै सक्दैन ।

विश्वविद्यालय संचालन गर्नु एउटा विद्यालय संचालन गरे झँै हुँदैन नै । समयक्रमसँगै विश्वविद्यालयमा नयाँ उपकूलपति आए । प्रा.डा. उपेन्द्रकुमार कोइराला । उता विश्वविद्यालयका स्थापनाकालमा सदस्य सचिवको भूमिका निर्वाह गरेका डा. महेन्द्रकुमार मल्ल रजिष्ट्रार पदमा बहालै थिए । नेपाल आयल नियमदेखि उच्च माध्यामिक शिक्षा परिषद र नेपाल खाद्य संस्थानसम्मको नेतृत्व गरेका व्यक्तिको आगमनले विश्वविद्यालयले साँच्चिकै आफ्नो सुन्दर रुप धारणा गरेर विश्वका लागि विद्यालय बन्छ भन्ने आशा सबैको मनमा पलायो ।

विश्वविद्यालयमा आई कार्यभार सम्हाल्ने दिनमा नै उपकूलपति कोइरालाले आफूले २९ वर्षको उमेरमा विद्यावारिधी प्राप्त गरेको बताउँदै विश्वविद्यालयमा ४ वर्ष काम गर्ने गरि आएको र विश्वविद्यालयको मुहार फेरेरै फर्किने बताउँदा गड्गडाहट तालि बजेको अहिलेजस्तै लाग्छ । तर ४ वर्ष वित्न थालिसकेछ । ‘विश्वविद्यालय यस्तो बनाउँछु कि म जाने बेलामा सबै रुनेछन्’ उपकूलपति कोइरालाका यी शब्द अहिलेपनि कानमा गुञ्जिरहेका छन् भने उनी जाने दिन नजिकिँदै गर्दा तत्कालिन मध्यपश्चिम र वर्तमानको कर्णाली प्रदेशका जनता रुन सुरु गरिसकेका छन् ।

उपकूलपति कोइरालाको कार्यबाट सबै भन्दा धेरै विश्वविद्यालयका रजिष्ट्रार (हाल निलम्बित) डा. महेन्द्रकुमार मल्ल रोएका छन् । फरक राजनीतिक आस्थाका कारण उनलाई मात्र रुवाइएन उनी जस्तै फरक राजनीतिक आस्था र विचार राख्नेहरु नराम्रोसँग रोए । विश्वविद्यालयलाई विधि बमोजिम संचालन गर्नुपर्छ भनेर आन्दोलन गर्ने आफ्नै विद्यार्थी माथि सार्वजनिक मुद्दा लगाइएको छ । मुद्दा खेपिरहेका विद्यार्थीहरु रोएका छन् । उपकूलपतिको कार्यले राजनीतिक आस्थाका कारण नियुक्ती पाउनेहरु भने रमाएकै होलान्, हाँसेकै होलान् । त्यस्ता मान्छेलाई नियुक्ती गरिएको छ जुन मान्छेले बनाएको ५० पूर्णाङ्कको प्रश्नपत्रमा कतै ४७ अंकभार राखिएको हुन्छ कतै ५४ अंकभार राखिएको हुन्छ । यसले विद्यार्थीहरुलाई झनै रुवाएको छ । साँच्चिकै प्रा.डा. कोइरालाले हसाउन जानेका नै रहेछन् कि क्या हो । आफ्नै विचारसँग विचार मिल्नेहरुलाई पनि गुट र उपगुटमा एकतावद्ध हुन नसकेका कारण तिनलाई पनि रुवाए ।

कुनै दिन एउटा रथका दुई पाङ्ग्रा जस्तै भएर हिडेका विश्वविद्यालयका उपकूलपति र रजिष्ट्रार तब छुट्टिए तब उनीहरुका बीचमा नियुक्ती प्रकरण मिलेन । त्यसपछि शक्ति र सत्ताको आडमा उपकूलपतिले गुहारे कूलपतिलाई अर्थात प्रधानमन्त्रीलाई । आफूलाई प्रधानमन्त्रीको दाहिने हात नै भएको बताउँदै आएका प्रा.डा. कोइराला नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरुसँग आफ्नो नाता सम्बन्ध रहेको बताउँदै आएका छन् । जसका कारण आफूले करोडौ पैसा विश्वविद्यालयमा ल्याउन सफल भएको बताउँछन् । तर पनि विश्वविद्यालयको रुप फेरिएको छैन । किन ? यो कर्णालीवासी जनताको प्रश्न हो । विश्वविद्यालयका शुभचिन्तकहरुको प्रश्न हो ।

एउटा विश्वविद्यालयको वार्षिक उत्सव मनाउने क्रममा सबैले अपनत्व गर्नु पर्ने वातावरणको सिर्जना गर्न सकिएन । जिन्दावाद र मुर्दावादका नाराहरु लागे । विद्यार्थीलाई प्रहरीले भ्यानमा राखेर हिरासतमा लिँदै ग¥यो यता विश्वविद्यालयको उन्नती र प्रगतिको कामना गरेर भाषण गरियो । यो भन्दा लज्जास्पद अरु के हुन सक्छ । नीजि कलेजको प्रचार गरेको सि–सर्ट बहिष्कार गर्ने विद्यार्थी र जबरजस्ती टि–सर्ट वितरण गर्नेहरु दुबै पक्षले विश्वविद्यालयको खिल्ली उडाए । कर्णालीवासी जनताको मनोभावनामा नराम्रो ठेस लगाए । कर्णाली प्रदेशका प्रदेश प्रमुख वार्षिक उत्सवको उद्घाटन गर्न पानसमा दीप प्रज्ज्वलन गर्दै थिए अर्कोतिर प्रहरीको घेराबाट फुत्तिएका विद्यार्थीहरुले मुर्दावादको नारा लगाए । विद्यार्थीलाई बुझाएर यथार्थताको गुदी खोल्न नसक्नेहरुले प्रदेश प्रमुखको समेत अपमान गरे ।

अहिले पनि विश्वविद्यालय प्रहरीको घेरामा छ । विश्वविद्यालय भनेको खोज, अनुसन्धान गर्ने र उच्च शिक्षा हासिल गर्ने अनि देश र जनताको लागि अझ भनौं विश्वको लागि आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने थलो होइन र । यसलाई प्रहरीको एउटा ब्यारेक जस्तो बनाएर कति दिनसम्म विद्यार्थीलाई त्रसित बनाउँदै अध्ययन अध्यापन गर्ने गराउने ? गम्भीर भएर सोच्नु पर्छ कि पर्दैन ।

विश्वविद्यालयले नवौं साधारण सभा गरेको छ । सुर्खेतमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयको नवौं साधारण सभा काठमाडौंंमा गरियो । त्यो पनि फरक आस्था भएका सिनेट सदस्यहरुलाई खबरै नगरि । अनि कूलपति नै सिनेटमा बोल्नु भएन । हिजोका दिनमा टि–सर्टमा लाखौं पैसा बचाएको के सिनेट काठमाडौंमा गरेर मस्ती गर्नका लागि हो ? आम सर्वसाधारणहरुले सोधिरहेका छन् ? यस्ता कार्यले उपकूलपति फर्कने बेलामा यहाँका सर्वसाधारण रुने कि हाँस्ने ? चिट चोर्न नपाएको कारण देखाउँदै विश्वविद्यालयको अवस्था तनावग्रस्त छ । विद्यार्थीलाई पढ्न सिकाउने हो । चोर्न, ढाँट्न, आन्दोलन गर्न, तोडफोड गर्न त नेताहरुले सिकाइहाल्छन् नि । कठै ! मेरो विश्वविद्यालय कहिले विश्वविद्यालय जस्तै बन्ला ।