Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

फेरि आयो, बालापनको याद

समय कति छिटो बित्छ । पत्तौ नहुने । हिजो अस्ति जस्तै लाग्छ हामीले बालापन बिताएको । चिँ मुसी चिँ खेल्दा बेस्सरी चिमोठिदिएको भनेर तिमी रुँदै आमालाई कुरा लगाउँदै गर्दा म बेस्सरी भागेको । अनि भाग्ने क्रममा मेरो निधार फुट्ने गरि लड्दा तिमी आफ्नो हातको दुखाई भन्दा मेरो निधारबाट बगेको रगत हेरेर डराएको । तिमी र म एक अर्कालाई आदर गरेर कहिल्यै पनि बोलेनौ । आजभोलि त मन्टेश्वरीमै मुण्ट्याएर तपाइँ भन्न सिकाइन्छ तर हामी ‘तँ’ –‘तँ’ मै रमाउथ्यौं नि । त्यसैको भोलिपख निधारमा सेतो पट्टिका साथ फेरि मेरो उपस्थिति अनि तिम्रो निन्याउरो अनुहार ।

‘तँलाई बेस्सरी दुखेको छ ?’

‘अँ’ मैले विस्तारै टाउको हल्लाएँ । मेरो दुखाइसँगै तिम्रो मन अत्याधिक दुखेको रहेछ त्यो भाव त म अहिले पो बुझ्दैछु । त्यो बालापनमा भएको घटना अहिलेपनि मेरो मानसपटलबाट हटेको छैन । हटोस् पनि कसरी ? त्यो दिन भाग्ने क्रममा लड्दा लागेको चोटको खत अहिलेपनि निधारमा जस्ताको त्यस्तै भएर बसेको छ । अनि कसरी बिर्सन सक्छु म त्यो दिनको घटनालाई ।

आखिर जे होस् । त्यसपछि पनि हाम्रो साथित्व निरन्तर चलिरह्यो । याद छ ऋतु तिमीलाई । कुनै दिन हामीले तिम्रो घरको बन्द कोठामा विहेबारी पनि खेलेका थियौ नि । पवित्रा दिदीको विहे भएको केही दिन पछि मात्र हो नि हामीले विहेबारी खेलेको । तिम्रा कान्छा दाजुलाई रिझाउँन सफल भएका थियौ हामी । अनि उनैलाई ब्राह्मण मानेर गरेको विहेबारी क्या अनौठो थियो नि ।

तिमी र मैले गरेको विहेबारीको सांक्षी तिम्रा कान्छा दाजु थिए । उनलाई, तिमी र मलाई बाहेक अरुलाई थाहै थिएन यो कुरा । मैले विश्वास लिएको छु अझैँ पनि कसैले सुइँको समेत पाएका छैनन् होला । कहिले काँही रिसाएको बेलामा तिम्रा दाजुले तिमीलाई ‘काठिनी’ भन्दा कत्ति नराम्रोसँग रिसाएकी थियौ नि । अनि मलाई फेरि माया गरेर ‘ज्वाइराजा’ भने गर्दथे तिम्रा दाजुले । साँच्चिकै त्यो बालापनलाई सम्झने हो भने ‘ऋतु’ आज अनौठो लागेर आउँछ ।

आजका जस्ता जिम्मेवारी र कर्तव्यहरु काँधमा बोक्नु परेको थिएन । आज जस्तो पेट पाल्नाका लागि रातदिन खटिनु परेको थिएन । च्यातिएकै लुगा होस् या नयाँ लुगा । माटोमा थचक्क बसेर सिन्किलुकाई खेल्नुको मज्जा नै बेग्लै थियो । ‘ऋतु’ याद छ नि एक दिन तिम्रा कुखुराको चल्लो चीलले ट्याप्प टिपेको थियो । तिमी धेरै रोएकी थियौ त्यतिबेला । एउटा कुखुराको चल्ला न हो भनेर मैले तिमीलाई धेरै सम्झाउने कोसिस नगरेको हो र । तर बेलुका आमाले कुखुराका चल्ला गने पछि करंग भाँचिने गरि हाल्ने भएकोले पनि तिमी रोएकी थियौ । त्यति बेला कुखुराको चल्लाको पीरले होला भन्ठानेको अहिले बुझ्दैछु तिम्री आमाको कडा शासन जंगबहादुरको भन्दा कम थिएन ।

तिम्रो बाबा पुजारी मान्छे । पुजारी बाजे भन्थ्यौ हामी । पुजारी बाजे भनेर नजिक हुनुको पनि स्वार्थ थियो । तिम्रो घरमा कूलपूजा भएको दिन सिँगै रोटी खान दिन्थे बुढाले । कति मीठो लागेको नि त्यो रोटी पनि । हुन त देउताको प्रसाद भएकोले पनि होला । धेरै मान्छेहरुका हुलमा तिमी र म एक एक रोटी बोकेर खाँदै गर्दा अरु हाम्रै उमेरकाहरु एक छेउली समातेर मन बुझाउँन बाध्य हुन्थे । आफू आफूले पाएको एक एक रोटी पनि फेरि एक आपसमा बाँडेर खानुको आनन्द फेरि अनुभव गर्न पाइएला कि नाइँ ‘ऋतु’ ।

पुण्य प्राप्तिका लागि छोरी रजश्वला हुनु भन्दा पहिले नै कन्यादान दिने कुप्रथाका कारण तिमी नावालिक अवस्थामै दुलही बनेको दिन मेरो मानसपटलबाट कहिल्यै मेटिने छैन । हातमा छाता बोकेर सेतो किरेमिरे ढाँकाको खास्टो ओढेर सेता दौरासुरुवालको नेपाली पोशाकमा सजिएको तिम्रो दुलाहालाई हेर्नका लागि निकै तछाडमछाड थियो । म पनि थिएँ त्यही हुल भित्र । तिमी भन्दा १२ महिना जेठो भएपनि, हलक्क बढेको भएपनि अलिक लुरे थिएँ म । तिम्रा दाजु र बुबाहरु आफ्नो कर्तव्यका लागि हैरानी गरिरहेका थिए भने रमाइलो गर्नेहरु खुबै नाचेका थिए । ‘ऋतु’ तिमीलाई आफ्नी बनाउन नपाएकोमा भित्रभित्रै मुर्मुरिएको म तिमीलाई दुलहीको भेषमा हेर्न आतुर थिएँ । तर सजाइँदै थियो होला तिमीलाई दुलहीको रुपमा ।

रातो घुम्टोमा लुकेर तिमीले मलाई हेरेको झँै लाग्यो । दुःखेको थियो तिम्रो मन । तिम्रो मनको दुखाइ बुझेको थिएँ मैले पनि । तर भन्न के नै सक्थे । केही गर्न सक्ने सामथ्र्य पनि त थिएन मसँग । ब्राम्हणले उच्चारण गरेका श्लोक र मन्त्रहरुसँगै तिमी आफ्नो विवाह कर्मको काम गरिरहँदा पनि जाँगर नचलेको झँै गथ्र्यौ । म सोच्थे तिमीलाई ‘ऊ’ मनै परेको छैन कि क्या हो । तर त्यसो रहेनछ । त्यो कुरा पनि मलाई समयले आज बताएको छ । कर्मकाण्ड अघि बढ्दै गयो । अग्नीलाई सांक्षी राखेर घुम्यौ तिमीहरु । खै केही प्रतिज्ञा त ग¥यौ गरिनौ मलाई थाह छैन । तर पनि सबैले ‘बिहे भो बिहे भो’ भन्दै तालि पट्काइरहेको बेलामा खै किन हो मेरा हात एक आपसमा जोडिन मानेनन् ।
एउटा तामाबाट बनेको ‘पैसो’ को सहायताले उठाएको एक चिम्टी सिंन्दुरले भरियो तिम्रो सिउँदो र बन्यौ तिमी अर्कैकी । भित्र भित्र निक्कै रोएकी थियौ तिमी । बाहिर नदेखाए पनि भित्र भित्र म पनि रोएको थिएँ ‘ऋतु’ तिमीसँगै । तिम्रो विवाहको कर्म सकिने बेलासम्म बसेको थिएँ । जब सकियो विवाह कर्म अनि एक तमासको मन बोकेर निस्किए म । भोलिपख तिमीलाई अन्माउने बेला तिमीसँगै रोए कमला, कल्पना, नित्रा, हरिमाया, पल्लाघरकी ठूली । नरोएको म मात्र कहाँ हो र । तर मलाई सानै देखि केटा मान्छे रुनु हुँदैन भनेर सिकाइएको थियो । रुनै परेपनि एकान्तमा रुनु पर्छ भन्ने शिक्षाबाट ओतप्रोत मान्छे म त्यो सारा जमातको अगाडि रुन पनि त हुँदैनथ्यो । एक पटक तिमीले पुलुक्क हे¥यौ मेरो अनुहारमा र लुकायौ मुख । चढ्यौ डोली र चल्यौ आफ्नो कर्मघरतिर । शुभयात्राका शब्दहरु मनमनै व्यक्त गरे मैले ।

तिम्रो विहे भएको ६ महिना ११ दिनपछि मेरो पनि पालो आयो दुलाह बन्ने । सेता दौरा सुरुवालको पहिरनमा फेटा बाँधेर हातमा घामपानी बिनाको छाता भित्र सजिए म पनि । परम्परा अनुसार हिडियो दुलही लिनका लागि । तिम्रो र मेरो विवाह कर्म धन्न धन्न एउटै एउटै पारामा भएको थियो । उस्तै उस्तै प्रकारले भएको थियो मेरो विहेपनि । अलिकति फरक थियो भने तिम्रो विहेमा मन्त्रोउच्चारण गर्ने ब्राह्मण र मेरो विहेमा मन्त्रोउच्चारण गर्ने ब्राह्मण फरक थिए । अर्को फरक भनेको तिम्रो विहेमा म उपस्थित थिएँ तर मेरो विहेमा तिमी थिइनौं ।

चाहेर होस् या नचाहेर । ‘ऋतु’ तिमी र म एक बन्न सक्ने सम्भावना थिएन । हामीलाई एक जोडि बन्नबाट रोक्ने तगारो बनेको एउटै बस्तु थियो । त्यो हो तिमी ल्याइते पट्टिकी छोरी थियौ । ल्याइते पट्टिकी छोरी विहे गर्न नदिने त्यो समाज आजको जत्तिकै चेतनशील भइदिएको भए सायद तिमी र जीवनभरका लागि एक हुने थियौ होला । अहिले भाग्यलाई भन्दा पनि समाजलाई दोष दिएर आफ्नो मन आफै बुझाउनु परेको छ मैले ।

विहे तिम्रो पनि भयो र मेरो पनि । तिमी पनि आफ्नो घरमा, म पनि आफ्नो घरमा । तीज, माघे सक्रान्ति, होली, दशैं, तिहार जस्ता चार्डमा तिमी आउथ्यौ माइतीमा । हुन्थ्यो बोलचाल । गरिन्थ्यो भलाकुसारी । जीवनभर समाजले दिएको धोकासँग समयले फेरि अर्को पटक धोका दियो । स¥यो तिम्रो परिवार बसाइँ । भौगोलिक रुपमै छुट्याइदियो हामीलाई र बनाइदियो धेरै टाढाका जस्तै । म आफ्नै जन्मस्थानमा भएपनि तिमी भने आफ्नो परिवारको साथ पराइको देशमा छ्यौ । हुन त भारतको बनारस विधाको भूमि हो । पृथ्वीकै पुण्यभूमिको रुपमा रहेको बनारसमा पुगेपछि तिमीले धेरै ज्ञान हाँसिल गरेको हौली । कहिले काँही तिम्रा दाजुसँगको भेटमा तिमीलाई सोध्ने गर्छु । तिमीले विताएका सुखका दिनहरुको वर्णन सुनेर आफैले सुखभोग गरे झैँ आनन्द लाग्छ ।