Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कर्णालीको कालोदिन साउन पच्चिस

सुर्खेत ।
साउन २३ गते सुर्खेतमा झुप्रा खानेपानी उपभोक्ता समितिको निर्वाचनको मतगणना चलिरहेको थियो । खानेपानी समितिको निर्वाचन आफ्नो पक्षमा पार्नका लागि राजनीतिक दलहरुले निकै खिचातानी गरिरहेका थिए ।


उता नेपाल सरकारले संघीयता निर्माणका लागि प्रदेशहरुको नक्साङ्कन ग¥यो । जसमा साविकका भेरी र कर्णाली अञ्चललाई सुदुरपश्चिम प्रदेशमा पारियो । जुन कुरा भेरी र कर्णालीका बासिन्दाहरुलाई स्वीकार्य भएन । त्यसै समयमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप प्राध्यापक तेज विक्रम बस्नेतले फेसबुकमा एउटा स्टाटस लेखेर सरकारले गरेको सिमाङ्कनको विरुद्धमा एकतावद्ध हुन आव्हान गरे । अखण्ड मध्यपश्चिमका लागि एक हुल जमात जम्मा भयो । यसरी जम्मा भएको जमातले खानेपानीको मतगणनालाई विथोल्ने कोसिस समेत गरेको थियो । खानेपानीको नेतृत्व हेडप्ने खेल अन्ततः अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानीको मुद्दामा केन्द्रित भयो । अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानीको मुद्दालाई सुर्खेती जनताले एकमतले अनुमोदन गरे ।

यस अनुमोदनसँगै एकाएक आन्दोलनमा एकपछि अर्को थपिने क्रम शुरु भयो । आन्दोलनको रुपमा उर्लिरहेको भीड खानेपानी समितिको मतगणनास्थलमा पुग्यो र ढुङ्गामुढा ग¥यो । त्यसपछि उक्त भीड जिल्ला प्रशासन कार्यालयमा गएर तोडफोडमा उत्रियो । जिल्ला प्रशासन कार्यालय लगायत राजनीतिक दलका पार्टीका कार्यालय तोडफोड गरेको भीड अनियन्त्रित भई नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काको घर तर्फ मोडियो । पूर्वगृहमन्त्री समेत रहेका खड्काको घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिनका लागि बल प्रयोग ग¥यो । यतिबेलासम्म अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानीको मुद्दाको शुरुवात गर्ने तेजविक्रम बस्नेत भने भूमिगत जस्तै भइसकेका थिए भने आन्दोलन नेतृत्व विहिन भएको थियो ।

नेता खड्काको घर तोडफोड गर्न पुगेको आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर सुर्खेतका टीकाराम गौतमको घटनास्थलमै ज्यान गयो । त्यसपछि झनै उत्तेजित बनेको आन्दोलनले प्रहरीकै गाडिसहित ६ वटा सवारी साधनमा आगजनी र तोडफोड गरेको थियो । उता सशस्त्र प्रहरीका डिएसपी निरज देवकोटाको खुट्टा भाँचियो ।


तथापी आन्दोलन रोकिएन । प्रहरी झनै आक्रमण बन्यो । प्रहरीले गोली चलाउने क्रम पनि रोकिएन । सुर्खेत वीरेन्द्रनगर ७ बस्ने यामबहादुर बिसी धमलाचोक नजिकै रहेको अवस्थामा प्रहरीको गोली लाग्यो र ढले । प्रहरीको गोलीबाट घाइते बनेका याम बहादुर बिसीलाई स्थानीय देउती नर्सिङ्ग होम पु¥याउँदा उनले संसार छोडिसकेका थिए ।

आन्दोलन थेग्न नसक्ने दलहरु गैरजिम्मेवार

आन्दोलनको उठान गरेर लाखौ मान्छेको मनमा अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानीको मुद्दाको बिजारोपण गर्नेहरुले आन्दोलनको नेतृत्व गर्न नसक्नु नै ठूलो अभिषाप बनेको थियो । राजनीतिक मुद्दा बनाएर फाइदा लिन खोज्नेहरुले सुर्खेतमा भएको आन्दोलनलाई नेतृत्व गर्नुको सट्टा एक अर्कालाई दोषारोपण गर्दै पानी माथिको ओभाने बन्ने कुचेष्टा गरेको इतिहास ताजै छ । तत्कालिन समयमा नेपाली काँग्रेस र नेकपा एमाले दुबै पक्ष सरकारमा थिए भने माओवादी समेत त्यसको समर्थक थियो । सिमाङ्कनको बारेमा कसले राम्रो ग¥यो र कसले नराम्रो ग¥यो भन्ने कुरालाई स्पष्टसँग जनतालाई बुझाउनुको साटो केन्द्रमा भएकाहरुले गलत गरेको भन्दै स्थानीयका बीचमा श्रेय लिने दुष्प्रयासका कारण पनि आन्लोलनले चर्को रुप लिएको थियो ।

जुन आन्दोलनले सरकारी तथा नीजि सम्पत्तिको विनाश मात्र गरेन सुर्खेतका ३ जनाको ज्यान समेत लियो । सुर्खेतमा भएको आन्दोलनको आगो जुम्लामा समेत सल्कियो । तत्पश्चात जुम्लामा समेत प्रहरीले आन्दोलनकारीलाई दमन गर्न थाल्यो । गोलि चलायो र हरिबहादुर कुँवर घाइते भए । घाइते हरिबहादुर कुँवरलाई उपचारको लागि काठमाडौं त पु¥याइयो । तर पनि गम्भीर घाइते भएका कुँवरले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आफ्नो प्राण त्यागे ।

सुर्खेतको मंगलगढीमा आएको आन्दोलनले गोपालसिंह रजवारलाई पनि बचाउन सकेन । एकातिर आन्दोलनकारी र अर्कोतिर प्रहरीको भीड देखेर अत्तालिएका रजवार ज्यान बचाउन भाग्ने क्रममा प्रहरीको प्रहारबाट मंगलगढीमै ढले सदाका लागि ।

सुर्खेतको तत्कालिन क्षेत्रीय अस्पतालमा तीन जना योद्धाहरुको शव दिन प्रतिदिन सड्दै थियो भने अखण्ड मध्यपश्चिम र प्रादेशिक केन्द्र सुर्खेत हुनु पर्छ भन्ने आन्दोलन पनि चर्किदै थियो । तत्कालिन भेरीका बाँके र बर्दिया बाहेकका अरु जिल्लाका जनताका सामु अन्ततः नेपाल सरकार गल्यो र भेरी र कर्णालीका १० जिल्लालाई नयाँ सिमाङ्कन गर्दै ६ नं. प्रदेशको घोषणा गर्न बाध्य भयो ।

नयाँ प्रदेशको रुपमा नयाँ सिमाङ्कन गरेपनि ज्यानको आहुति दिनेहरु प्रति भने कुनै सुनुवाई हुन सकेन र आजका दिनसम्म भएको पनि छैन । तत्कालिन समयमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, उद्योग बाणिज्य संघका प्रमुख एवम् प्रतिनिधिहरु नागरिक समाज हौं भनेर कुर्लिनेहरु देखि स्वतन्त्र रुपमा हिडेकाहरुले समेत लिखित तथा मौखिक रुपमा देखाएका प्रतिवद्धताहरु आज पनि कुनै दराजमा थन्किएका छन् । नागरिक आन्दोलन पहिचान समितिको नाम दिइएको समितिले के निर्णय र प्रतिवद्धताहरु गरेको थियो वा राजनीतिक दलका तर्फबाट गर्न लगाइएको थियो । त्यसको लेखाजोखा अहिलेसम्म किन गरिएको छैन ।

आफ्नो परिवारको सदस्य गुमाउनेहरुको घाउमा मल्हम लाग्न सकेको छैन । पीडित परिवारले अहिलेसम्म केही पाउन सकेका छैनन् भने त्यतिबेला आन्दोलन गर्नका लागि उकास्नेहरुदेखि विभिन्न राजनीतिक दलका व्यक्तिहरु झण्डावाल गाडिमा कुदिरहेका छन् । शहिद परिवारका सदस्यहरुसँग गरिएका निर्णयहरु पालना गर्न गराउन नसक्नेहरुले झुठा आश्वासन दिएको किन ? शहिद परिवारले प्रश्न गर्न गरेका छन् ।

शहिदहरुले दिएको बलिदानीका कारण आज कर्णाली प्रदेशको स्थापना भएको छ भने सुर्खेत त्यसको राजधानी बनेको छ । कर्णालीवासीले कर्णालीवासी हौ भनेर गर्वका साथ ठाडो शिर पारिरहेका छन् तर शहिद परिवारहरु भने अझैँ पनि खाटा बस्न नसकेको घाउलाई बिर्सन नसक्ने अवस्थामा छन् । कर्णाली प्रदेशको राजधानीमा शहिदका नामबाट एउटा चोकको नामकरण गरिएको छैन । शहिदका नाममा एउटा पार्कको स्थापना हुन सकेको छैन । कर्णाली प्रदेश सरकार र स्थानीय सरकारहरुले अतिकतिसम्म पनि विवेकको प्रयोग गरेको देखिँदैन । सभा, गोष्ठी र सेमिनारका नाममा करोडौको बजेट स्वाहा बनाउनेहरु शहिदको नाममा सिन्को भाँच्न समेत सकेका छैनन ।

क–कसले गरे आन्दोलन

जब प्रदेश प्राप्ति र अखण्ड मध्यपश्चिमको आन्दोलनले चर्को रुप लियो तब त्यसमा एकतावद्ध हुनका लागि दिनप्रतिदिन सबै लामवद्ध हुन थाले । शुरुमा आन्दोलनको शुरुवात गर्नेहरु गुमनाम भएपनि आन्दोलनले चरमरुप धारण गरिसकेपछि त्यसको समर्थन गर्नेहरु स्वस्फूर्तरुपमा बाहिर आउन थाले । सहकारी संघ संस्थाहरुले आफ्नो व्यानरमा आन्दोलन हाँके । साहित्यकारहरुले रचना मार्फत आन्दोलनलाई समर्थन गरे । कलाकारहरुले गीत र संगीतको माध्यमबाट आन्दोलनलाई सघाउ पु¥याए । विद्यार्थीहरुको भूमिका पनि अतुलनीय रह्यो । व्यापारी, उद्योगीहरुको भूमिकाले आन्दोलनलाई थप बल पु¥यायो । सञ्चार जगतले आन्दोलनका गतिविधिहरुलाई सर्वसाधारण माझ ल्याएर जुन भूमिका निर्वाह गरे त्यसले तत्कालिन ६ प्रदेशको घोषणा हुनुमा ठूलो योगदान दिएको छ । आन्दोलनकै क्रममा समाचार संकलन गर्दै गर्दा पत्रकार समेत घाइते भए । उक्त आन्दोलनमा योगदान दिनेहरुले केवल प्रदेशको नामाकरण र राजधानी मात्र होइन समृद्ध कर्णाली चाहेका छन् ।

आन्दोलनका उपलब्धी

अखण्ड मध्यपश्चिम तथा प्रादेशिक राजधानी सुर्खेत हुनु पर्ने मागसहितको आन्दोलनले चर्को रुप लिएपछि त्यसको नेतृत्व कसले गर्ने भन्ने बारेमा राजनीतिक दलहरुमा अन्यौलता छाएको थियो । कुनै पनि राजनीतिक दलको झण्डा नबोकी राष्ट्रिय झण्डा बोकेर आन्दोलन गर्नु पर्छ यो कुनै पार्टी वा व्यक्तिको आन्दोलन नभई समग्र भेरी र कर्णालीबासीको आन्दोलन भएको बताएर अगाडि सर्ने हिम्मत लिएर कविराम पुरी मैदान उत्रिए । उनी मैदानमा आएपछि अधिकांश आन्दोलनकारी युवाहरु उनको समर्थनमा लागे । तर ठूला राजनीतिक दलहरु भने आन्दोलनको श्रेय कविरामले लैजाने हुन कि भन्ने चिन्ताले इन्तु न चिन्तु भए । त्यही डरका कारण करिब करिब नियन्त्रणमा आउन थालिसकेको आन्दोलनको अगाडि देखिन थाले पार्टीको झण्डा बोकेका ठूला राजनीतिक दलहरु ।

Image result for karnali pradesh
पार्टीको झण्डामुनी गोलबद्ध गरेर आन्दोलन हाँक्यौ भन्नेहरुले प्राणको आहुति दिएकाहरुलाई के गर्ने भन्ने बारेमा सोच्न सकेनन् । अन्ततः उद्योग वाणिज्य संघका पदमबहादुर शाहीको अगुवाई मृतकका परिवारसँग सहमति भयो जसको कारण मृतकहरुले सत्गत प्राप्त गरे ।

चारजना योद्धाहरुले ज्यान गुमाएको एकवर्ष पछि २०७३ भदौको ३ गते नेपाल सरकारबाट चारै जनालाई शहिद घोषणा गरियो । नेपालमा भएका विभिन्न चरणका आन्दोलनहरुमा शहादत प्राप्त गरेकाहरुको लाइनमा तत्कालिन ६ नं. प्रदेशका चार जनाको नाम समेत थपियो ।

भेरी र कर्णालीका १० जिल्लाका बासिन्दाले नयाँ प्रदेशको रुपमा पाएको ६ नं. प्रदेशको नामाकरण कर्णाली प्रदेश भयो र स्थायी राजधानीको रुपमा सुर्खेतको वीरेन्द्रनगर घोषणा गरियो । के प्रदेशको नामाकरण र राजधानीको घोषणाले मात्र शहिदहरुले देखेका सपना पूरा भए त ? शहिदले देखेका सपनाहरु पूरा गर्नका लागि के गर्नुपर्छ सरोकारवालाहरुले सोच्नु पर्छ कि पर्दैन ? शहिद टीकाराम गौतमका बालबच्चालाई सहज जीवन जिउने वातावरण तयार गर्नु पर्ने दायित्वबाट कोही बञ्चित हुनु हुँदैन । शहिद याम बहादुर बिसीका मातापिताको आँसु पुछ्नका लागि कसैले कञ्जस्याँई गर्नुहुँदैन । शहिद गोपालसिं रजवारको परिवारको अवस्थालाई नजिकबाट नियाल्न कोही चुक्नु हुँदैन । शहिद हरिबहादुर कुँवरको सपना माथि कसैले तुषारापात गर्न पाइँदैन । इतिहास जित्नेहरुकै लेखिन्छ । कर्णाली प्रदेश प्राप्तिका लागि शदाहत प्राप्त गर्ने चार सपुतहरुले जितेका छन् । उनीहरुको इतिहास लेख्नका लागि प्रदेश सरकार र स्थानीय सरकारहरुले कुनै कसर बाँकी नराखोस् । नत्र भोलि तिमीहरुले गरेका उपलब्धीहरुलाई कसैले लेख्ने छैन ।

के भन्छन् शहिद परिवारका सदस्यहरु

आफ्नो परिवारको सदस्य गुमाएका शहिद परिवारका सदस्यहरु अहिलेपनि मर्माहत छन् । तत्कालिन ६ नं. प्रदेश स्थापनाका लागि आफ्नो प्राणको आहुति दिने शहिदहरुलाई सरकारले सम्मान गर्न नसकेकोमा उनीहरुको मन दुःखेको छ । एकातिर परिवारको सदस्य गुमाउनु पर्दाको पीडा अनि अर्कोतिर उनीहरुको सम्मान हुन नसक्नुले शहिद परिवारहरु विक्षिप्त छन् । शहिद हरिबहादुर कुँवरका दाजु राजबहादुर कुँवर भन्छन्, ‘प्रदेश सरकारले शहिदका नाममा १ मिनेट मौनधारण गरेर उनीहरुप्रति ख्याल ठट्ठा गरेको छ । यसलाई बन्द गर्नुपर्छ ।’ शहिदको बलिदानीबाट प्राप्त भएको प्रदेशको सांसद र मन्त्री बनेर झण्डावाल गाडिमा हिड्नेहरुले शहिदलाई सम्मान गर्न नसकेको बताउँदै कुँवरले भने, ‘ प्रदेश सरकारले बजेट छुट्याउने बेलामा दुर्घटनामा परेकाहरुको नाममा छुट्याएको छ तर शहिदलाई उपेक्षा गरिएको छ ।’ कर्णाली प्रदेश सरकार संचालन गर्नेदेखि स्थानीय सरकार संचालन गर्नेहरु समेत गलत नियतबाट प्रशिक्षित भएको उनको आरोप छ । उनी भन्छन्, ‘चार जना योद्धाहरुले आफ्नो प्राणको आहुति नदिएको भए र यस प्रदेशको स्थापना नभएको भए यिनीहरु कहाँबाट मन्त्री बनेर हिड्न पाउथे यिनीहरुले सोचेका पनि छैनन् ।’

यस्तै शहिद यामबहादुर बिसीकी बहिनी एवम् शहिद याम बिसी स्मृति प्रतिष्ठानकी सचिव भगवती बि.सी. को भनाई पनि त्यस्तै छ । ‘शहिदको नाममा पार्क बनाउनेदेखि शहिदको सालिकको स्थापना गर्ने समेतका आश्वासनहरु दिए तर अहिले सत्ता र शक्तिमा पुगेपछि उनीहरुले हामीलाई चिन्न समेत छोडिसके । चोकको नामाकरण गरेर शहिदलाई अमर बनाउने कुरा गर्नेहरु आजभोलि शहिदको स्मृति दिवस मनाउनका लागि सरकारी हल माग्न जाँदा भाडा खोज्छन् । यिनीहरुले कसरी शहिदको सम्मान गर्न सक्छन् ’ बिसीको भनाई छ । शहिद परिवारलाई एउटा परिचय पत्रको समेत व्यवस्था हुन सकेको छैन भने सरकारी सेवा सुविधा किटान भएको छैन । अक्षयकोषको स्थापना, शहिदका नामबाट छात्रबृत्ति वितरण, सडक तथा चोकको नामाकरण गरेको खै ? कर्णाली प्रदेशका सबै सरकारी कार्यालयहरुमा शहिदको फोटो राखेर त सम्मान दिन सकेका छैनन् भने यिनीहरुले शहिदको सपना साकार गर्लान् र शहिद परिवारको लागि आशाको केन्द्र बनेर काम गर्लान भन्ने आशा मर्न थालिसक्यो ।

शहिद टीकाराम गौतमका छोरा अमृत गौतम भन्छन्, ‘शहिदको नामलाई दीर्घकालिन रुपमा अमर बनाउने कार्य गरेको भए पुग्थ्यो । शहिद परिवारलाई रोजगारीदेखि उनीहरुको जीवनयापन गर्ने कुरा समेत ध्यान दिनु पर्नेमा उल्टै शहिद स्मृति दिवस समेत कर्णाली प्रदेशले मनाउन सक्दैन ।’

शहिद गोपालसिंह रजवारका छोरा दीपक रजवारको गुनासो पनि अमृत गौतमकै जस्तो छ । उनी भन्छन्, ‘ आन्दोलन पश्चात हामीसँग गरिएका कुनै पनि बाचाहरु पूरा भएनन् त्यसले शहिदको सपनालाई ठेस पुगेको छ ।’सूक्ष्मदृष्टि साप्ताहिकमा खबर छ ।