सार्वजनिक सुनुवाईमा जनप्रतिनिधिले भने, प्रतिवद्धता पूरा गर्दैछौ
सुर्खेत ।
कर्णाली प्रदेशका राजधानी वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा जन निर्वाचित प्रतिनिधिहरुले जनता समक्ष गरेको प्रतिवद्धताहरु क्रमिक रुपमा पूरा गर्दै आइरहेको बताएका छन् ।

जनताका तर्फबाट आएका प्रश्नहरुलाई सुझावको रुपमा ग्रहण गरेको बताउँदै वडा नं. ६ का वडा अध्यक्ष मोति प्रसाद कंडेलले भने, हामीले तपाईहरु समक्ष गरेको प्रतिवद्धताहरु सबै पूरा हुन सकेका छैनन् तर निरन्तर रुपमा पूरा गर्ने क्रममा छन् ।’ देश संघीयतामा गइसकेपछि भएको पहिलो निर्वाचनबाट आफूहरु निर्वाचित भएकोले कतिपय कानून निर्माण र कार्यान्वयनमा ढिलाई भएको बताउँदै वडाअध्यक्षले थपे, ‘टोलको अनुगमन गर्ने अधिकार वडालाई छ भने टोलमा भएका विकास निर्माणका कार्यहरुको अनुगमन गर्ने अधिकार टोलविकासलाई छ । त्यसैले तपाईहरुको टोलमा हुने कार्यहरु स्तरीय छन् छैनन् अनुगमन गर्नुहोस् र सरोकारवालालाई खबरदारी गर्नुहोस् वडा जहिले पनि तपाईहरुको पक्षमा रहन्छ ।’ वीरेन्द्रनगर नगरपालिकाबाट अपेक्षा अनुसार बजेट नआएकोले सोचे अनुसारका कतिपय कामहरु हुन नसकेको स्वीकार गर्दै वडाअध्यक्ष कंडेलले भने, ‘तपाईहरुका सल्लाह सुझाव अनुसार अगाडि बढ्छौ । विकास निर्माणका कार्यमा कहाँ कमजोरी हुन्छ हामीलाई सचेत बनाउनुहोस् तपाई हामीले सोचे जस्तै वडा निर्माणमा अघि बढौं ।’
सार्वननिक सुनुवाई कार्यक्रममा टोल विकास समितिहरु पनि जवाफदेही हुन सकेमा मात्र टोल सुधार गर्न सहज हुने बताउँदै जिल्ला समन्वय समितिका सदस्य पूर्णाकुमारी चालिसेले टोल विकास समितिले विकास निर्माणको कार्यमा विशेष भूमिका खेल्ने भएकोले वडा र टोल विकासको सम्बन्ध नङ र मासुको जस्तै हुनु पर्ने बताइन ।
यसैगरि वडा सदस्य उपेन्द्र खड्काले सबै भन्दा धेरै जनघनत्व भएको वडा केही समस्याहरु रहेको बताउँदै ती समस्या समाधानका लागि वडा समिति तयार रहेको बताए । उनले भने, ‘हामीले हजुरहरु समक्ष गरेका प्रतिवद्धताहरु पूरा गर्न प्रतिवद्ध छौ ।’
आर्थिक वर्ष ०७५÷०७६ मा ६ नं. वडा कार्यालयले गरेका कार्य तथा आम्दानी खर्चको विवरण वडा सचिव उत्तम अधिकारीले वडा कार्यालयले प्रस्तुत गरेका थिए । १ करोड ३० लाखको कारोबारमा १ करोड १४ लाख ८६ हजार भुक्तानी भइसकेको र १५ लाख १३ हजार भुक्तानी हुन बाँकी रहेको वडासचिव अधिकारीले बताए । जेष्ठ नागरिकका लागि आँखा शिविरदेखि नालाको सरसफाई, भौतिक संरचनाको निर्माण, सीपमुलक तालिम तथा टोल विकास समितिहरुसँगको सहकार्यका साथै बालक्लब, आमा समूह लगायत अन्य संघसंस्थाहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालन गरेको वडासचिव अधिकारीको भनाई थियो ।

यसैगरि सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कंडेलले समस्या मात्र नभएर समस्याका साथमा समाधान पनि सँगै आउने भएकोले समाधानलाई प्रयोग गर्ने तर्फ ध्यान दिनु पर्ने बताए । उनले भने, ‘नीजि क्षेत्रले पनि वीरेन्द्रनगर बजार सरसफाइको लागि सहयोग गरेको छ ।’ व्यापारीहरु फोहोर गर्ने मात्र नभएर सफा समेत गर्नु पर्ने भएकोले त्यसतर्फ सबैले जिम्मेवारी बोध गर्नु पर्ने उहाँको भनाई थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा याम बहादुर श्रेष्ठले भने, ‘६ नं. वडाले शिक्षा क्षेत्रमा समेत उल्लेख्य योगदान गरेको छ । फोहोर व्यवस्थापनलाई आधुनिकिकरण गर्न जरुरी छ । शिक्षाको विकासले चेतना बढ्ने भएकोले सचेतनामूलक कार्यक्रम संचालन गर्न उनले सुझाए । फोहोर उत्सर्जन गर्नेले विसर्जन गर्न पनि जान्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा समाजसेवी नन्द भण्डारीले विकास निर्माणका कार्यहरु गर्दा होस् वा उपभोक्ता तथा निर्माण समितिको गठन गर्दा फरक दृष्टिकोण राख्न नहुने बताए । उनले भने, ‘उपभोक्ता समितिको गठनमा सबै पक्षलाई समेट्न जरुरी छ ।’ हाम्रो भन्ने भावनाबाट जागृत हुन सकेमा हामीले तिरेको करको सदुपयोग हुने उनको भनाई थियो ।
भगवती टोलका अध्यक्ष नन्दा दाहालले सबै मिलेर काम गरेको खण्डमा सहजता र सफलता दुबै मिल्ने बताइन । दशरथपथ टोल विकासका सचिव बालकुमारी डाँगीले फोहोर व्यवस्थापनका क्षेत्रमा वडाले विशेष ध्यान दिनु पर्ने बताइन । घण्टाघर टोल विकास समितिका अध्यक्ष टीका गौतमले कर्णालीको राजधानी वीरेन्द्रनगर र वीरेन्द्रनगरको मुटु ६ नं. वडा भन्नेहरुले आफ्नो मुटुलाई जस्तै वडालाई पनि माया गर्नुपर्ने र सफा राख्नु पर्ने बताइन । उनले भनिन्, ‘अनियन्त्रित रुपमा फोहोर फाल्नेलाई कानून बमोजिम कारवाही गर्नु पर्छ ।’

सार्वजनिक सुनुवाई कार्यक्रममा कमल जिसीले असारे विकासको अन्त्य नभएसम्म निर्माण गरिएका कुनै पनि भौतिक संरचना स्तरीय नहुने भन्दै वडा कार्यालयले वीरेन्द्रचोकलाई स्थायी रुपमा निर्माण गर्न सकेकोमा गुनासो गरे । यसैगरि बलबहादुर योगी, कृष्णा बोहोरा, लगायतले विभिन्न प्रश्नहरु राखेका थिए ।
फोहोर व्यवस्थापनका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिँदै ग्रीन सिटीका शशि केसीले वर्षातको समयमा फोहोर उठाउने कार्यमा समस्या भएको, ल्याण्डफिल साइडमा समेत कच्ची बाटोको कारण गाडि पुग्न समस्या भएको भएपनि वर्षातको कमीसँगै फोहोर व्यवस्थापनमा सहजता आउने बताए । उनले भने, ‘फोहोर निकाल्नेहरु पनि सचेत रहन सकेको खण्डमा फोहोर व्यवस्थापनमा सहजता आउँछ ।’

सूक्ष्मदृष्टि साप्ताहिक र क्वीकखबर डटकमले संयोजन गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सामाजिक परिचालक एवम् कम्प्यूटर सहायक रेखा केसीले शब्द स्वागत गरेकी थिइन भने वडाअध्यक्ष मोति प्रसाद कंडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण खगेन्द्र अधिकारीले गरेका थिए । कार्यक्रममा वडा नं. ६ भित्रका टोल विकास समितिका प्रमुख एवम् प्रतिनिधि, बाल क्लब, युवा क्लब, लक्षित वर्गसहित ६ नं. वडाबासीहरुको उपस्थिति रहेको थियो ।






















