Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

आज श्री कृष्ण जन्मअष्टमी

भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

Image result for shree krishna janmashtami
दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।

Image result for shree krishna janmashtami
चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पु¥याऊँ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ ।

वासुदेव नन्दको घरमा गई कृष्णलाई त्यहीँ छोडी त्यही दिन नन्द पत्नी यशोदाको गर्भबाट जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिक ब्युँझिएको प्रसङ्ग महाभारत ग्रन्थमा उल्लेख गरिएको छ ।

श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरिदिएका थिए । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप आजको पर्व मनाउने गरिएको हो । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गरेका थिए । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गरेका थिए । यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै ‘श्रीमद्भगवत् गीता’ हो । यसैकारण श्रीमद्भगवत् गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ ।

बाल्यकालदेखि नै विचित्र लीला देखाउँदै आएका श्रीकृष्णले गोपिनी र राधासित गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ । “यो नै पूर्वीयजगत्को प्रेम दिवस हो र भ्यालेन्टाइन डेका नाममा नेपाल भारतलगायत पूर्वीय दर्शनलाई अँगाल्दै आएका देशमा गरिने तामझाम पश्चिमी संस्कृतिको अन्धानुकरण हो, प्रशासनिक सेवाबाट अवकाश पाएपछि साहित्य सृजना र आध्यात्मिक खोज–अनुसन्धानमा लागेका गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले भने ।

मानव जातिलाई सुरक्षित पारी धर्मको रक्षाका लागि धरतीमा अवतरित भएका श्रीकृष्णले नै पुतना, कंश, जरासन्ध र शिशुपाल आदि दानवी प्रवृत्तिलाई अन्त्य गरी मानव मात्रलाई भयमुक्त बनाएका थिए । यसै प्रसङ्गमा भगवान् श्रीकृष्णले श्रीमद्भगवत् गीतामा भनेका पनि छन्–
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
अर्थात् जब जब भारत वर्षमा धर्मको लोप हुन्छ र पाप बढ्दछ त्यस बेलामा धर्मको रक्षाका लागि मैले मानव रुप धारण गरेर धरतीमा जन्म लिनेछु । भगवान् श्रीकृष्णको यही कर्मको सम्झनामा अहिले पनि श्रीकृष्ण जन्माष्टमी पर्व भव्यताका साथ मनाउने गरिएको छ । आजको दिन पाटनको मंगलबजारस्थित प्रसिद्ध श्रीकृष्ण मन्दिर, काठमाडौँको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, उत्तरी भेग बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिरमा र देशभरका अन्य कृष्ण मन्दिरमा भव्य रुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

आजको दिनमा विशेषगरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

कृष्ण जन्माष्टमीको महत्व

कृष्ण जन्माष्टमीलाई सातम, आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । श्रीकृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ ।

जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौं अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरबहरूसँगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उहाँका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो । जन्माष्टमीमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ । यसै उपलक्ष्यमा काठमाडौंलगायत मुलुकका विभिन्न नगरका विभिन्न धार्मिक संघरसंस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिने चलन छ । भारतमा समेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन् ।