सकिँदै तीजः संस्कृति भन्दा विकृति धेरै
लक्ष्मीप्रसाद लम्साल
सुर्खेत ।
‘तीजको खाजा मीठो भदौरे तामाले, भान्जी लिन आउँला भन्थे हाम्रा मामाले’, गाउँघरमा चलनचल्तीमा रहेका तीजका भाका हुन् यी । ‘बर्ष दिनको तिजमा आएबैनी लिनलाई, बिदा माग ज्वाइसित २÷४ दिनलाई, माइत गएर भाउजुको गालि खानु भन्दा, जान्न दाजु माइत म यहि छ आनन्द’ राजु परियार र शर्मिला गुरुङ्गको स्वरमा रहेको यो गीत कुनै समय नेपाली नारीहरुको लागि एकदमै चर्चित थियो । यथार्थमा रहेका शब्दहरुले चेली माइती बीचका अन्तरबेदनाहरु पोखिएका यस्ता गितहरुले सबैको मन छुने गर्दथ्ये । गाउँघरमा साँच्चीकै तिज आए जस्तै लाग्थ्यो । तर अहिले समयसंगै तीजका भाकाहरु पनि परिवर्तन हुन थालेका छन् । नयाँ भाकामा नयाँपन सँंगै गीतको नाममा विकृतिहरु बढेको पाइन्छ ।
पछिल्लो समयमा चेलीहरुले पोख्ने पिडा भन्दा क्षणिक मनोरञ्जनका लागि ‘दिदीबहिनी मात्रै नाच्छन जहिले पनि तीजमा हामी पनि नाच्नु पर्छ बिच्च बिच्चमा’ ‘अहिले कै सालमा पाइल जान पाम’ ‘नाचम् हामी डिस्कोमा तीज’ जस्ता भाकाहरुले तीजको संस्कृति भन्दा विकृतिलाई प्रोत्साहान गरिरहेका छन् । नारीहरुको विशेष पर्वको रुपमा रहेको तीजमा नरहरुको बाहुल्यता रहनुले कतै संस्कृति नै ओझेलमा पर्ने पो हो कि भन्ने चिन्ता हुनु स्वभाविकै हो ।
तीजका भाका मात्र फेरिएका छैनन् तीज मनाउने तरिकाहरु फेरिएका छन् । संस्कृतिलाई जोगाइ राख्नका लागि पहिचानको संरक्षण गर्नुपर्दछ । तर पहिचान नै गुम्ने खतरा उत्पन्न भएको छ । आधुनिकताको नाममा परम्परालाई नै तोड्ने गरि भएको परिवर्तनले भविष्यका सन्ततीहरुलाई के सन्देश दिन सक्ला ?

तीजकै अवसरमा सुर्खेतको खुला मञ्चमा तीजका अनेक कार्यक्रमहरु भए । नेपाली कला र संस्कृति तथा लोकगीत र नृत्यको क्षेत्रमा विशेष दख्खल राख्ने बागिना समूहको आयोजनामा तीज विशेष कार्यक्रम भयो । तीजको अवसरमा दिदीबहिनीहरु छमछम नाचे । आदिम कालदेखि मनाइदै आइएको तीज धार्मिक रुपमा मात्र होइन वैज्ञानिक रुपमा पनि विशेष महत्व राख्ने गर्दछ । हिन्दु नेपाली नारीहरुले तीजलाई विशेष चाडको रुपमा मनाउने गर्दछन् । जुन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार पनि मनाए ।
परम्परागत रुपमा सुनिने चेलीका बिलौनाहरु सुनिदैनन् आजभोलीका तीजमा । माइती लिन नआएपछि वा माइती जान नपाएपछि गरिने बिलौनाका स्वरहरु परिवर्तनसँगै हराइसकेका छन् । घरमा सासु र नन्दहरुले गर्ने व्यवहार वा भाउजुले नन्दमाथि गर्ने व्यवहारलाई गीतको माध्यमबाट पोखिने पर्वको रुपमा तीज देखिन छाडेको छ । आजभोली त तीजलाई संस्कृति र परम्परा भन्दा पनि परिवर्तनको नाममा विकृति मौलाउँदै गएकोमा चिन्ता व्यक्त गर्दछन् ७४ वर्षीया गंगा सिंह ठकुरी ।
तीजको अघिल्लो दिन नै दर खाने दिनको रुपमा हाम्रो धर्म र परम्पराले छुट्याएको छ । तर एक महिना अघिदेखि तडक भडकका साथ दर खाने र खुवाउने नाममा देखाइने भड्कावले समाजमा संस्कृति र परम्परा हराउन थालेको बताउँछिन् वीरेन्द्रनगर ८ निवासी तुल्सादेवी पाण्डे । रंगीचंगी पहिरनमा छमछम नाच्दा एक छिन हेर्नका लागि त मज्जा होला तर तीजको यथार्थता र वास्तविकतालाई यसले बचाउन सक्दैन भन्छिन् जाजरकोट जुनिचाँदेबाट सुर्खेत आइपुगेकी ५९ वर्षीया नन्दकला शाही ।
तीज त एउटा उदाहरण मात्र हो । हामी नेपालीहरु र हाम्रो हिन्दु धर्मभित्र धेरै चाडपर्वहरु छन् । पछिल्ला वर्षहरुमा आधुनिकताका नाममा चाडपर्व मनाउने जुन प्रवृत्ति देखिएको छ त्यसले मान्छेलाई झन गरिबी तिर धकेल्दै छ । किनकी देखासिकी गर्ने र ऋण तथा सापट गरेर भएपनि पर्व मनाउने भएकोले यसले अनावश्यक खर्च बढाउने गरेको छ । चाडपर्वहरुमा गरिने खर्च भनेका अनुत्पादक खर्च हुन् । अनुत्पादक रुपमा प्रयोग भएको खर्चले मान्छेलाई गरिबी तिर धकेल्ने निश्चित छ ।
हामीले गाउने गीतमा सासुले दिएका दुःखका बेदनाहरु ओकलिन्थ्यो अहिले बुहारीले भन्दा सासुले दुःख पाउनु पर्ने अवस्थाको सिर्जना भएको बताउँछिन् हरिकला शाही । ‘आजकाल बुहारीहरुले के दुःख पाउँछन् र बेदनाका गीत गाउनु’ उनले भनिन् ‘उहिले हामीलाई १३ वर्षकै उमेरमा डोली चढाएर कन्यादान गरिदिन्थे । वर्षदिन भरी घरको काम, गाईबस्तुदेखि खेतीपाती गर्नु पर्दाको पीडालाई ओकल्नका लागि तीज पर्खिनु पथ्र्यो । अहिले विहान घरमा भएभने साँझ माइतीमा हुन्छन् । त्यसैले पनि हाम्रा पालाका जस्ता गीतहरु सिर्जना हुन नसकेका होलान् ।’
संस्कृति र परम्परालाई जोगाइ राख्ने हो भने बुहारीलाई हेला नै गर्नुपर्छ भन्ने होइन तर सासुलाई पनि माया गर्नुपर्छ भन्ने चेतनाको विकास हुनु जरुरी भएको बताउँछन् वीरेन्द्रनगरको खुला मञ्चमा तीज हेर्न आएका साटाखानीका रत्नलाल सुवेदी । ऋण गरेर लगाएका गहनाले सुन्दरता भन्दा पनि पारिवारिक रुपमा किचलो उत्पन्न गर्ने उनको भनाई छ । संस्कृति र परम्परा जोगाउनका लागि कुरितीलाई हटाउनु पर्छ तर संस्कृति नै विनाश गरियो भने भविष्यमा सन्ततीहरुले सराप्नेछन् भन्छन् वीरेन्द्रनगर ९ का जयप्रसाद शर्मा ।






