Loading... आजः २७ जेष्ठ २०८३, बुधबार । Wednesday 10th June 2026
ताजा खबर
  

सेनाको एअरवेश संचालनमा

सुर्खेत ।

कर्णाली प्रदेश भौगोलिक रुपमा विकट भएको र सबै स्थानमा यातायातको सहज पहुँच नभएको कारण आपतकालिन अवस्थामा हुने समस्यालाई मध्यनजर गर्दै नेपाली सेनाले पश्चिम क्षेत्रका लागि लक्षित गरेर सुर्खेतमा एयरवेश सञ्चालनमा ल्याएको छ । यस भन्दा अगाडि काठमाडौंबाट मात्रै प्रदान गरिँदै आएको हवाई सेवालाई विस्तार गर्ने क्रममा मंगलबारदेखि सुर्खेतमा पनि एयरवेश सेवा सञ्चालमा ल्याइएको हो । नेपाली सेनाले संचालनमा ल्याएको एअरवेशले कर्णाली प्रदेशका अधिकांश आपतकालिन घटनामा राहत हुने विश्वास लिइएको छ । केही समय अघि मात्र कर्णालीमा सुत्केरीहरुको ज्यान जोगाउनका लागि हेलिकोप्टरको सहायता लिनु परेको थियो । सुर्खेतमा तयारी अवस्थामा हेलिकोप्टर नहुने भएका कारण आपतविपतमा काठमाडौंलाई नै गुहार्नु पर्ने अवस्था थियो अब उक्त अवस्थाको अन्त्य हुने भएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले एयरवेश सञ्चालन कार्यको औपचारिक रुपमा शुभारम्भ गरेका छन् । वेशमा ह्याङ्गर निर्माण कार्यको थालनी भइसकेको बताउँदै हाल एम आई १७ सहित दुई वटा हेलिकोप्टर नियमित रुपमा तैनाथ रहने पाण्डेले बताए । आपतकालिन अवस्थामा सर्वसाधारण जनतालाई साथ दिँदै आएको नेपाली सेनाले सुर्खेतमा एअरवेशको संचालन गरेर अर्को उदाहरणीय कार्य गरेको छ । कर्णालीका अति विकट हुम्ला, डोल्पा लगायतका स्थानहरुमा सडक मार्गबाट आपतकालिन अवस्थामा सेवा दिन निकै कठिनाई छ । कच्चि बाटो र भौगोलिक विकटता कारण घण्टौको समय लाग्ने भएको अति आवश्यक अवस्थामा सुरक्षा निकायसम्म पुग्न समस्या हुने गरेको छ । दैविक विपत्तिहरु जस्तै आगलागीका घटना, बाढीपहिरो तथा आपतकालिन रुपमा उपचार गर्नु पर्ने विरामीहरुको सेवा गर्नका लागि नेपाली सेनाको एअरवेशले निकै सघाउ पुग्ने बताइएको छ । ‘आगामी १० वर्षभित्र हवाई साधन थप गरी सेकेण्ड लाइन मेन्टेनेन्ससहितको सेवा प्रदान गर्ने उद्देश्य छ’, सहायक रथी पाण्डेले भने, ‘वेशले पश्चिम तथा सुदूरपश्चिमका जनतालाई विपद् तथा आकस्मिक घटनाको समयमा छिटो, छरितो र प्रभावकारी ढंगबाट उद्दार तथा राहत वितरण कार्यमा थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।’ नेपाली सेनाको हवाई पारवहन क्षमतालाई उपत्यका बाहिर समेत विस्तार गरि सेवा प्रदान गर्ने कार्यक्रम अन्तरगत पश्चिम एयर वेशले पश्चिम तथा सुदुर पश्चिमका जनताहरुलाई विपद् तथा आकस्मिक घटनाहरुको समयमा छिटोछरितो र प्रभावकारी ढंगबाट उद्दार तथा राहत वितरण कार्यमा थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । उक्त शुभारम्भ कार्यक्रममा युद्वकार्य महानिर्देशक, व्यवस्था नीति तथा योजना महानिर्देशक, प्रबन्ध तथा संभाररथी, सैनिक हवाई महानिर्देशक, उत्तर पश्चिम पृतनापतिलगायत उच्च पदस्थ सैनिक अधिकारीहरुको उपस्थिति रहेको थियो ।