सकियो तिहार : ३१ जुवाडे विरुद्ध ५ मुद्दा दायर
सुर्खेत
शुक्रबारदेखि हिन्दू नेपालीको पर्व तिहार सकिएको छ । पछिल्ला केही वर्षहरुमा सुर्खेतमा तिहार शान्त हुने गरेको छ । साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम र हाल कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको सुर्खेतको वीरेन्द्रनगरमा तिहार आयो भने रमाइलोसँगै डर र त्रास पनि आउने गर्दथ्यो । कहीँ न कहीँ कतै न कतै दुःखद खबरहरु देख्नु र सुन्नु पर्ने अवस्थाले गर्दा पनि तिहारमा त्रसित हुनुपर्ने अवस्था थियो । तर पछिल्ला केही वर्ष यता सुरक्षा व्यवस्थालाई उचित व्यवस्थापन गर्न सक्नु र उछृङ्खल गतिविधिहरुमा विशेष निगरानी गर्नुले पनि सुर्खेतको तिहार शान्त रहन सकेको छ ।

यस वर्षको दशैं तिहार पनि सुर्खेतमा शान्त वातावरणमा सम्पन्न भएका छन् । एकाध छिटफुटका सामान्य घटनाहरु बाहेक ठूला घटनाहरु नभएको प्रहरीले जनाएको छ । ६ वटा विशेष मोवाइल टोलीको परिचालन, राती १ बजेसम्म ट्राफिक प्रहरीको सहयोगमा विभिन्न स्थानमा मापसे चेकजाँच र प्रहरीको सक्रियता बढाइएकोले पनि घटना हुन नपाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रवि रावलले बताए ।
उनका अनुसार तिहारको समयमा जुवा खेल्ने र खेलाउनेहरुलाई पक्राउ गरिएको छ । विभिन्न फरक फरक स्थानमा जुवाखालबाट ५ लाख ५७ हजार ८ सय ३० रुपैयाँ बरामद गरेको र ३१ जना जुवाडेहरुलाई पक्राउ गरिएको छ । उनीहरुलाई कानून बमोजिम मुद्दा दायर गरेको डिउसपी रावलले बताए ।
तिहार सकिएसँगै मधेसी समूदायले मनाउने छठ पर्वको रौनक सुरु भएको छ । छठलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ । केही वर्ष पहिलोदेखि पहाडि समुदायमा पनि छठ मनाउन थालिएको छ । विशेष गरि तराई मधेश तथा मिथिलाञ्चलवासीको मुख्य चाडको रुपमा मनाइदै आएको यो छठ पहाडि समुदायमा पनि मनाउनु हिमाल, पहाड र तराईका बीचमा एकता र भातृत्वको सम्बन्धको विकास गर्नु पनि हो । तराईका जिल्लाहरुमा हिजो (बिहीबार) अर्थात चौथीको दिनदेखि सुरु हुने छठको रौनक सुरु भइसकेको छ ।
नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त छन् ।
मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई विभिन्न सङ्घसंस्था र युवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाललगायतको व्यवस्था मिलाउन थालेका छन् ।
चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन छ । पछिल्लो वर्षहरुमा मधेशी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हुँदै गएको छ ।






