संस्मरण : वीरे र बासीभात
कुरा ३१ वर्ष अगाडिको हो । भगवती प्राथमिक विद्यालय जगनाथ दैलेखबाट कक्षा ५ पास गरि कक्षा ६ मा पढ्नका लागि सुर्खेतको अमर ज्योति माध्यमिक विद्यालय नेवारेमा आएँ । म जान्ने भएदेखि नै दैलेखमा चारवटा कुनाहरु छन् भन्ने सुनेको थिएँ । उम कुना भनेको लाँकुरी गाविसमा पर्ने उम गाउँ । रुम कुना भनेको रुम गाविसको रुम गाउँ । तुर्सु कुना भनेको जगनाथ गाविसको तुर्सु गाउँ र भुर्सू कुना भनेको तोलि र नौमुलेको सिमानामा पर्ने भुर्सु गाउँ । यी चार कुना मध्येको तुर्सु कुनाबाट सुर्खेतको वीरेन्द्रनगरमा आएको एउटा गाउँले केटो म ।

सुर्खेतको वीरेन्द्रनगर आउनु भन्दा अगाडि मैले दैलेख जिल्लाको सदरमुकाममा समेत पाइला टेकेको थिएन । बजार कस्तो हुन्छ मलाई केही थाह थिएन । जति मैले बजारका बारेमा प्राथामिक शिक्षा आर्जनका समयमा किताबमा पढे त्यो भन्दा बढि ज्ञान नै थिएन । त्यसैले सुर्खेतको वीरेन्द्रनगर मेरा लागि विशाल शहर थियो । त्यो विशाल शहर भित्र म आफ्नो गाउँ खोज्ने प्रयास गर्थे । शहरको बारेमा मेरी आमाले मलाई भनेका हरेक वस्तुस्थिति आँखा अगाडि आवतजावत गर्थे ।
फागुनको महिना थियो २०४५ सालको । तत्कालिन राजा वीरेन्द्रको सुर्खेत सवारीले दुलही झैँ सिंगारिएको थियो सुर्खेत । हरेक चोकहरुमा, हरेक सडकहरुमा राजारानीको जय जयकार लेखिएका गेटहरु बनाइएको थियो । राजाको सवारी भएका कारण विज्ञ डाक्टरहरुको उपस्थिति पनि थियो सुर्खेतमा । २०४५ सालको मंसिरमा चच्चु (काठबाट बनेको एउटा खेलौना) खेल्ने क्रममा भाँडिएको मेरो दाहिने हातको उपचार त्यही मौकामा गराउनु भएको थियो मेरो दुधबाजेले ।
म मावली घरमै बस्ने भएपनि मलाई मेरो आफ्नो घरको न्यास्रो मेटिएको थिएन । एक हप्ताको समय व्यतित गर्न मलाई निक्कै गाह्रो भएको थियो । कसैले नदेख्ने गरि रुने गर्थे म । म रोएको कसैले थाह पाउँछन् कि भन्ने डर पनि थियो । झल्झली सम्झन्थे मेरो हातै भाँचिने गरि चच्चु खेलाउने बद्री, गोर्खेदेखि सँगसँगै पढेका कर्ण सिंह, मायारामहरुलाई । त्यो कलिलो उमेरमा म घर बाहिर हुँदा मेरा आँखाका नानीमै झुम्मिने गर्थे मेरा भाइबहिनी । जे होस् म पढ्न आएको हुँ पढ्नु पर्छ भन्ने मन भएपनि बहकिन्थ्यो मन र पुग्यो फेरि आफ्नै जन्मभूमिमा ।
दिनहरु वित्दै गए । चैत्रको १५ गतेदेखि हो क्यारे गर्मीका कारण विहानी कक्षा संचालन हुने भयो हाम्रो । तत्कालिन समयमा कालीप्रसाद पाण्डे हेडसर हुनुहुन्थ्यो । मेरो दुधबाजे र पाण्डे सरको राम्रो चिनजानका कारण उहाँले मलाई पनि माया गरेको मैले राम्ररी बुझ्थे । विहानी कक्षा सुरु भएको पहिलो दिनमा गंगा मिसले हामी सबैलाई पालैपालो सोध्नुभयो ‘आज विहानी कक्षाको पहिलो दिन तिमीहरुले के के खाजा खायौ ?’
मसँगै पढ्ने धेरै साथीहरुले विभिन्न थरिका उत्तरहरु दिएका थिए उहाँलाई । जुम्लाबाट सुर्खेत आएर पढ्न बसेको वीरबहादुर शाही पनि म जस्तै सोझो थियो । ऊ, प्रेम, भीम बहादुर र म मिल्ने साथी भएका थियौ । त्यसैले एउटै बेन्चमा बस्ने गथ्र्यौ । पालो वीर बहादुरकै आयो । उसले घरमा भाउजुले बासीभात भुटि दिएको र त्यही खाजाको रुपमा खाएको कुरा सुनायो । सत्य बोलेको थियो उसले । उसको सत्यतालाई शहरका साथीहरुले पचाउन सकेनन् र हाँसे बेस्सरी । त्यो साथीहरुको हँसाईमा माया होइन गिज्याहट मिसिएको सजिलै थाह पाउन सकिन्थ्यो । गंगा मिसले किन हाँसेको भन्दै अलि ठूलो स्वर पारेपछि सबै चुपचाप लागेका थिए ।
साथीहरुले झैँ आफूले विहानीको खाजा के खाएको भन्ने बारेमा उत्तर दिने मेरो पनि पालो आयो । विहान जुरुक्कै उठेर मुख धोएर झोला बोकी विद्यालय पुगेको म । खाएको केही थिएन तर पनि यसो मिलाएर भन्न कर लाग्यो मलाई पनि । चना र अण्डा खाएको भनेर ढाँटिदिएँ मैले । कसैले पैसा नै बोकेर आएको सुनाएका थिए । मेरो खल्तीमा १ रुपैयाँ पनि थिएन । साथीहरुको कुरा सुनेर मलाई लाग्थ्यो यिनीहरु शहरका धनि मान्छेका छोराछोरी होलान् ।
पहिलो दिनको पढाइ सकेपछि विद्यालयबाट करिब १ घण्टाको हिडाइपछि म पुगेको थिएँ मामाघर । मसुरोको दाल र भात कम्ता मीठो लागेको थिएन मलाई । सायद त्यतिबेलासम्म भोकै बसेको मेरो पहिलो दिन थियो त्यो । दोस्रो दिन विहान कक्षा कोठामा पुग्दा बल्याकबोर्डमा सेतो चकले ठूला अक्षरमा लेखिएको थियो ‘बासीभात’ । वीरबहादुरलाई हामी साथीहरु ‘वीरे’ भनेर बोलाउथ्यौं । बोर्डमा लेखिएको ‘बासीभात’ शब्द वीर बहादुरको अपमान गर्न कसैले लेखेको थियो । वीर बहादुर त्यसको बारेमा सरहरुसँग कुरा लगाउन पनि सक्दैन थियो । त्यसपछि वीरेको परिचय नै फेरियो ‘बासीभात’ मा । सबैले ‘बासीभात’ भनेर उसलाई गिज्याउन थाले । मिल्ने साथी भएपनि अरुहरुको लहलहैमा लागेर प्रेम, भीमबहादुर र म पनि गिज्याउने गथ्र्यौ यसलाई । तर विद्यालयबाट हिडेपछि भने मैले कहिल्यै गिज्याइन । किनकी म आफूलाई सम्झन्थे र वीरेसँग तुलना गर्थे । ऊ पनि गाउँबाट आएको म पनि गाउँबाट आएको । मेरो भन्दा पनि उसको भाषा अझैँ गाउँले थियो । अझ धेरै साथीहरुले उसलाई ‘जुम्ली’ भन्थे । मलाई पनि पाखेको दर्जा नदिएका होइनन् ।
मिति ठ्याक्कै सम्झना छैन । तर बैशाखको अन्तिम तिर हुनुपर्छ । एक दिन वीरे विद्यालय आएन । एकदिन, दुईदिन, तीनदिन हुँदै वीरे विद्यालय आउन छोडेको धेरै दिन भइसक्यो । ऊ कहाँ गयो किन विद्यालय आउन छोड्यो कसैलाई केही पत्तो छैन । मतलव पनि भएन । तर मेरा आँखाले भने कक्षामा वीर बहादुरलाई खोज्ने गर्थे । उसको घरको ठेगाना पनि थाह थिएन । न कि म उसलाई खोज्न सकुँ ।
समय वित्दै गयो । २०४६ सालको आन्दोलनको बारेमा अलि अलि जानकारी छ मलाई । रमेश केसीलगायतको टीमले बहुदलीय प्रजातन्त्र जिन्दावाद । निरंकुशी राजतन्त्र मुर्दावाद भनेर लगाएको नारा गाउँमा भएका जात्रा र उत्सव जस्ता लाग्थे मलाई । तीनै अग्रज दाजुहरुको नेतृत्वमा म पनि लागेको थिएँ जुलुसमा । घण्टाघर नजिकैको खुलामञ्च अगाडि प्रहरीले जुलुसलाई तितरवितर पारेपछि सबै कता भागे कता । तर म भने आफू बस्ने ठाउँ जाने बाटो समेत कता हो भन्ने थाह नभएपछि त्यही खुलामञ्चको छेउमा उभिएँ । एक जना प्रहरीले ‘तँ अण्डा भित्रै छस् त्यो पनि आन्दोलनमा आएको ?’ भनेपछि म रोएको थिएँ । उमेरले पनि सानै भएकोले उसले मेरो परिचय लिएर मलाई घर जान भनेपछि म घर गएको थियो । त्यसकै भोलि पल्ट नेपालमा बहुदल घोषणा भएको थियो ।
म पढ्दै र बढ्दै जाने क्रममा दिनहरु बित्दै गए । म पनि शहरलाई बुझ्दै जान थाले । गाउँमा वल्लो पल्लो घरका मान्छेहरुका बीचमा हुने सम्बन्ध र शहरमा मान्छेहरुको सम्बन्ध फरक भएको मैले राम्ररी बुझिसकेको थिएँ । तर वीरे भने आजसम्म पनि कतै भेटिएन । धेरै दिन, महिना र वर्षहरु वितिसके तर वीरेको सम्झना आउँदै थियो मलाई । मैले चाहेर हो वा नचाहेर वीरेलाई बिर्सनै सकेको थिएन ।
फागुनको महिना । नेपालगञ्जको मौसम क्या सफा । म पनि एकदिन नेपालगञ्ज गएको थिएँ । प्रहरीमा भर्ति हुने योजना थियो । प्रहरीमा फारम भर्न भनेर लाइन लागिरहेको बेला ठ्याक्कै वीरे जस्तै मान्छे मेरो अघिल्तिर लाइनमा थियो । उसँग अनुहार मिल्ने अरु कोही पनि त हुनसक्छ । म हत्तपत्त बोल्न सकिन । उसले पनि फर्की–फर्की हेर्छ मलाई । आखिर म नै बोलें ‘तपाई वीर बहादुर होइन र ?’ बोलि सुनेपछि हो भन्दै उसले मसँग हात मिलायो । दुबै जनाले फारम भ¥यौ । त्यसपछि खुबै नयाँ पुराना कुरा गरेका थियौ हामीले ।
‘सबैले ‘बासीभात’ भन्दै गिज्याएकोमा म स्कूल आउनै सकिन यार । निकै लाज लाग्यो । जसका कारण म फेरि जुम्ला मै फर्के र उतै पढे ।’ साथीहरुले गिज्याएको कारण वीर बहादुरले विद्यालय नै बदल्नु परेको यथार्थ सुनेपछि ज्यादै नमीठो लाग्यो मलाई पनि । प्रहरी भर्नाको छनोट सकियो । म प्रहरीका लागि योग्य हुन नसकेपनि वीरे योग्य ठहरियो । त्यसपछि प्रहरी सेवाबाट उसले देशको सेवा गर्न थाल्यो ।
अफसोच, देशमा चलेको राजनीतिक द्वन्द्वका कारण देशले ठूलो जनधनको क्षति व्यहोर्नु परेको थियो । तत्कालिन माओवादी र सरकारी पक्षले एक अर्कामा संयमता अपनाउन नसकेका कारण धेरै आमाका काखहरु रित्ता भए । धेरैका सिंउँदो पुछिए । देशलाई आवश्यक जनशक्तिले अनाहकमा ज्यान गुमाउनु प¥यो । दुई छोरा र एक छोरी अनि श्रीमती र आमाको आश्रय बनेको वीरे पनि प्रहरीको नाताले विभिन्न भिडन्तमा सामेल भएको थियो । कति भिडन्तमा वीरे जस्तै माओवादीको तर्फबाट लड्ने योद्धाहरुले ज्यान गुमाएका थिए । कतिपय भिडन्तहरुमा वीरेका साथीहरुले पनि । सुर्खेतको अवलचिङ्गमा भएको भीडन्तबाट त्रसित बनेको वीरे दैलेखको नौमुलेमा भएको भीडन्तमा वीरता प्राप्त गरेको समाचार आफ्नै हातले लेख्नु पर्दा म निक्कै भक्कानियको थिएँ । आज पनि सडकमा वीरेसँग अनुहार मिल्ने मान्छे देखेको नराम्रोसँग झस्किएँ म ।






