Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

समय सापेक्ष काम गरिरहेको छु : अध्यक्ष अधिकारी

कर्णाली साहित्य समाजका अध्यक्ष एवम् विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिका अर्थसचिव खगेन्द्र अधिकारी ‘अमृत’ सँग ओखती मासिकका लागि सम्पादक विष्णुकुमार महताराले गरेको समसामयिक कुराकानीको सारसंक्षेप :

आजभोली के गर्दै हुनुहुन्छ ?
समय सापेक्ष काम गरिरहेको छु । म विशेष गरि साहित्य र पत्रकारितामा संलग्न भएकोले दैनिक पत्रकारिताको क्षेत्रमा काम गरिरहेको हुन्छु भने साहित्यलाई पनि सँगसँगै अघि बढाइरहेको छु । लेखन कार्य भन्दा पनि साहित्यको संस्थागत विकासका लागि समय खर्चिने गरेको छु ।

खगेन्द्र अधिकारी ‘अमृत’ अध्यक्ष कर्णाली साहित्य समाज
विष्णुकुमार महतारा सम्पादक ओखती मासिक

स्थानीय तथा राष्ट्रियस्तरमा यहाँले साहित्यका लागि गर्नुभएका कार्यहरु हाम्रा पाठकहरुलाई कसरी भन्न चाहानुहुन्छ ?
मैले आफैले केही गर्न सकेको छु जस्तो लाग्दैन । अर्को कुरा मैले आफैले गरेका कार्यहरुको बारेमा तपाइँले राखेको जिज्ञासाले मलाई नै अप्ठ्यारोमा पार्ने काम ग¥यो । किनकी मैले आफैले यि र यस्ता कार्यहरु गरे भन्नु भन्दा पनि साहित्यलाई माया गर्नेहरुले मेरो मूल्याङ्कन गर्नु पर्छ । तर पनि तपाइँको जिज्ञासाको उठान भइसकेपछि मैले केही कुरा भन्नलाई करै लाग्छ । तर मैले जति कामहरु गरेको छु त्यो संस्थागत रुपमा गरेको छु जस्तो लाग्छ । म विश्व नेपाली साहित्य महासंघमा पनि आवद्ध छु । विश्वका २४ वटा देशमा २८ वटा शाखाहरु संचालन गरेर हामीले नेपाली साहित्यको श्रबिृद्धिका लागि थुप्रैै कामहरु गरेका छौं । विश्व नेपाली साहित्य महासंघले गरेको विश्वव्यापी कविता प्रतियोगीताको संचालन देखि २०७२ को भू–कम्प आएको समयमा खटेर र डटेर उद्दार गर्नेहरुलाई नगद ५० हजार राशीको पुरस्कार प्रदान गरिएको थियो भने काठमाडौंमा भव्य विश्व साहित्य सम्मेलन गरिएको थियो । स्थानीय स्तरमै भन्नुपर्दा मध्यपश्चिमाञ्चल गजल मञ्चको दर्तादेखि त्यस संस्थाको उन्नतीका लागि मेरै नेतृत्वमा थुप्रै कार्यहरु भएका छन् । तीन तीन वटा सम्मानको स्थापना गरेर हामीले गजल मञ्चको उचाइँलाई बढाएका छौं । देशको बदलिँदो राजनीतिक परिवर्तन र संघीयतासँगै अब हामीले नेपाली भाषाको उद्गमस्थलको रुपमा रहेको कर्णालीलाई समेट्ने गरि साहित्यिक संस्थाको स्थापना गर्नु पर्छ भन्ने ठान्यौं । जसकारण हामीले कर्णाली साहित्य समाजको स्थापना गरेर अहिले त्यसको संस्थागत विकासका लागि अघि बढिरहेका छौं ।

रतपाई विभिन्न क्षेत्रमा कार्य गर्ने संस्थाहरुमा आवद्ध हुनुहुन्छ ? त्यो साहित्यमा काम गर्ने कर्णाली साहित्य समाज र विश्व नेपाली साहित्य महासंघमा जिम्मेवार पदमा हुनुहुन्छ । कति गाह्रो छ ?
सान्दर्भिक कुरा सोध्नु भयो । हो म विभिन्न लक्ष्य र उद्देश्य भएका करिब एक दर्जना संस्थाहरुमा आवद्ध छु । नेपाल पत्रकार महासंघदेखि गैससहरुमा आवद्ध छु । हेर्नुहोस्, जहाँ इच्छा त्यहाँ उपाय हुन्छ । समयलाई व्यवस्थापन गर्न सकेको छु जस्तो लाग्छ । समयलाई व्यवस्थापन गर्न सक्यो भने सबै काम गर्न सकिन्छ । अर्को कुरा विश्व नेपाली साहित्य महासंघ र कर्णाली साहित्य समाज दुबै संस्था साहित्यका क्षेत्रमा काम गर्ने भएकाले यी दुबै संस्थाहरुले मलाई केही सिक्न र केही गर्नका लागि उत्प्रेरणा दिइरहेका छन् । जसले गर्दा काम गर्दा गाह्रो सहज भएको छ । कतिपय कुरा कर्णाली साहित्य समाजले सिकाएको छ भने कतिपय कुरा विश्व नेपाली साहित्य महासंघले सिकाएको छ । जसले गर्दा मैले यी दुबै संस्थामा काम गर्न सकेको छु ।

कर्णाली साहित्य समाजका बारेमा पूर्ण जानकारी गराउँदा कसरी गराउनु हुन्छ ?
कर्णाली प्रदेश भन्ने वित्तिकै हेपिएको चेपिएको, पछाडि पारिएको वा गरिबहरुको प्रदेशको रुपमा परिभाषित गर्नेहरु पनि छन् । तर म त्यसलाई स्वीकार्न तयार छैन । कर्णाली प्रदेश के मा हेपिएको छ ? के मा चेपिएको छ ? कसरी पछाडि परेको छ ? कर्णाली कसरी गरिब छ ? आवत प्रश्नको जवाफ म तपाइँलाई दिन सक्छु । कर्णाली हेपिएको होइन त्यस्तो भान पारिएको हो । कर्णाली चेपिएको होइन अपव्याख्या गरिएको हो । कर्णाली गरिब छ भनेर परिभाषा गर्नेहरुले एक पटक कर्णालीलाई नियाल्नसक्नु पर्छ । सांस्कृतिदेखि भौगोलिक रुपमा होस् कि पर्यटकीयस्थलदेखि साहित्यका क्षेत्रमा होस् कि । जडिबुटीदेखि खानी र खनिजसम्म नै किन नहोस् कर्णाली धनि छ । आफैमा स्वर्गको टुक्राको रुपमा रहेको कर्णाली नेपाली भाषाको उद्गमस्थल पनि भएकोले हामीले पूरै कर्णालीलाई समेट्ने गरि कर्णाली साहित्य समाजको स्थापना गरेका हौं । कर्णालीका कुनै पनि कुनामा बस्ने साहित्यकारले नेपाली साहित्य फाँटमा साक्षात्कार हुन पाउनु पर्छ भन्ने हाम्रो मान्यता हो । नेपाली भाषाको विकास र विस्तारसँगै कर्णालीमा भएका साहित्यकारहरुलाई मञ्च निर्माण गर्नका लागि कर्णाली साहित्य समाज स्थापना भएको हो । यसको लक्ष्य र उद्देश्य पनि बृहत छ । तपाईलाई जानकारी नै छ । हामीले स्थापना कालको छोटो अवधिमै अझ भनौं एक वर्ष नपुग्दै दुईवटा पुरस्कार र एउटा सम्मानको स्थापना गरेका छौ । अहिलेसम्म कर्णालीमा कसैले पनि स्थापना गर्न नसकेको ५० हजार राशिको कर्णाली साहित्य समाज कृति पुरस्कार हामीले स्थापना ग¥यौं । अहिलेसम्म कर्णालीमा कसैले स्थापना गर्न नसकेको २५ हजार राशिको कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार स्थापना ग¥यौं भने ताम्रपत्र सहितको कर्णाली साहित्य समाज सम्मान स्थापना ग¥यौं । कर्णाली अब सानो कर्णाली होइन । विशाल कर्णालीको रुपमा स्थापित हुनुपर्छ । कर्णाली अब गरिब कर्णाली होइन धनि कर्णालीको रुपमा स्थापित हुनुपर्छ । कर्णाली अब नेपाली भाषाको उद्गमस्थलको रुपमा मात्र होइन नेपाली भाषा र साहित्यको विकास र विस्तारका लागि अग्रणी भूमिका निर्वाह गर्ने कर्णालीको रुपमा स्थापित हुनुपर्छ ।

यहाँहरुले स्थापना गरेका पुरस्कार तथा सम्मानका लागि स्रोतको व्यवस्थापन कसरी गर्नुभएको छ ?
हेर्नुहोस्, कुनै पनि कार्य गर्दा स्रोत आफै आएर सबै काम हुन्छ भन्ने होइन । त्यसका लागि मैले अघि भने झैँ संस्थालाई संस्थागत विकासका रुपमा अगाडि लैजान सक्नुपर्छ । हो, हामीले जुन कामको सूरुवात गरेका छौं त्यसका पछाडि हामीलाई त्यत्तिकै ठूलो चुनौति पनि छ । तर पनि त्यो चुनौतिको सामना गर्दै अगाडि बढ्नका लागि हामीले जुन पाइला उचाल्यौं त्यो अगाडि नै बढाएर टेक्ने हिम्मत छ । विशेष गरि एउटा अक्षयकोषको स्थापना गरेर पुरस्कार तथा सम्मानलाई निरन्तरता दिने प्रण गरेका छौ । जसका लागि कर्णाली प्रदेश सरकार, स्थानीय सरकारदेखि विभिन्न व्यक्तित्वहरुले हामीलाई साथ दिनुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौ । कर्णाली साहित्य समाजका संस्थापक संरक्षक वरिष्ठ कथाकार मदन पुरस्कार विजेता आदरणीय महेशविक्रम शाहदेखि हाम्रा सल्लाहकारज्यूहरु डा. दीपेन्द्र रोकाया, प्रा. डा. जीवेन्द्रदेव गिरी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायको सल्लाहमा हामी अघि बढेका छौ । यहाँका विभिन्न अग्रणी व्यक्तिहरुदेखि उद्योगी व्यापारीहरुलगायत कर्णालीमा जन्मेका थुप्रै साहित्यकार, लेखक तथा अग्रजहरु हाम्रो साथमा हुनुहुन्छ भने हामी अनुजहरुलाई पनि सँगसँगै लिएर अगाडि बढिरहेका छौ । जसले गर्दा हामीलाई स्रोत साधनका बारेमा त्यत्ति धेरै समस्या आउँछ जस्तो मलाक्ष्ई लाग्दैन ।

यहाँहरुले वितरण गर्ने पुरस्कारको दायरा कस्तो छ ?
कुनैपनि पुरस्कारको स्थापना गरेर त्यसलाई निरन्तरता दिन जत्ति गाह्रो छ त्यो भन्दा ठूलो चुनौति त्यसको गरिमालाई बचाई राख्नुमा छ । त्यो विषयलाई कर्णाली साहित्य समाजले राम्रोसँग बुझेको छ । जसका लागि हामीले पुरस्कार वितरणका लागि एउटा छनौट समिति बनाएका छौ । कार्यसमितिले प्रत्येक विधामा ३ जनाको नाम सिफारिस गर्दछ भने त्यसबाट १÷१ जनाको नाम छनौट समितिले सिफारिस गर्दछ । भरखरै मात्र हामीले वितरण गरेको पुरस्कारमा कथाकार महेश थापाको कथाकृति ‘मरीचिका’लाई ५० हजार राशिको कर्णाली साहित्य समाज कृति पुरस्कार प्रदान ग¥यौ । यो देशभरमा उत्कृष्ट कृतिका रुपमा हामीले छान्यौ । जुन मदन पुरस्कारका लागि समेत छनोटमा परेको थियो । यो पुरस्कारका लागि देशभरका कृतिहरु अध्ययन गर्ने व्यवस्था गरेका छौ । त्यसैगरि कर्णाली साहित्य समाज प्रतिभा पुरस्कारका लागि कर्णाली भित्रकै स्रष्टा हुनुपर्छ भन्ने हाम्रो कार्यविधि छ । यस वर्ष चर्चित आख्यानकार बुद्धिसागरलाई २५ हजार राशिको कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार प्रदान ग¥यौं । त्यसैगरि ताम्रपत्र सहितको कर्णाली साहित्य समाज सम्मान कवि तथा पत्रकार श्यामललाई प्रदान ग¥यौं । चारैतिरबाट हामीले गरेको कार्यको प्रसंशा भयो । म दाबा गरेर भन्छु हामीले सही निर्णय गरेका थियौ । सबै राष्ट्रियदेखि मोफसलसम्मका संचार माध्यमले पनि उचित स्थान दिए हामी आभारी छौं ।

यी त भए पुरस्कार र सम्मानका कुरा । यहाँले भने झैँ अब संस्थागत विकासका लागि के योजना छन् नि ?
धेरै योजनाहरुको बारेमा त मैले भनिसके । तर पनि त्यत्तिमै हामी सिमित रहनु हुँदैन । त्यसैले ‘कर्णाली’ नामक वार्षिक मुखपत्रको तयारी हुँदैछ भने विभिन्न साहित्यिक गतिविधिहरु संचालन गर्दैछौ भने कर्णालीको राजधानीमा एउटा साहित्य घर होस् जहाँ सबै साहित्यकारहरुले साहित्यिक गतिविधि संचालन गर्न सकुन् । आम नेपाली जनता र नेपाली वाङ्मयका क्षेत्रमा भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना, संरक्षण एवम् सम्बद्र्धन गर्नका निमित्त हरेक क्षेत्रबाट भएका रचनात्मक, भावनात्मक एवं प्रतिक्रियात्मक अभिव्यक्तिहरूलाई समावेश गराउ“दै सामाजिक रूपमा हुने गरेको विकृति र विसंगतिहरूको निराकरण गरी स्वस्थ्य र सु–समाज एवम् साहित्यिक संस्कारको जगेर्ना गर्ने धारणा जगाउने उद्देश्यले विभिन्न चेतनामूलक र मनोरञ्जनात्मक साहित्यिक लेख–रचनालगायत अन्य विविध कार्यक्रमहरू सञ्चालन गरी जनचेतना अभिवृद्धि गर्ने–गराउने लक्ष्य कर्णाली साहित्य समाजले लिएको छ ।

कर्णाली प्रदेशमा साहित्यको विकास गर्नका लागि के गर्नुपर्ला ?
जति साहित्यिक संघ संस्थाहरु स्थापना हुन्छन् ती सबैको एउटै उद्देश्य हुने गर्दछ साहित्यको विकास । सुर्खेतमा पनि यस्ता धेरै संस्थाहरु छन् । संस्था स्थापना गरेर वर्तमान नेपालको राजनीतिक शक्तिहरु झँै तेरो र मेरो भन्नु भन्दा पनि समग्र साहित्यको विकास गर्नका लागि सबै साहित्यकारहरु एक ठाउँमा गोलवद्ध हुनु आवश्यक छ । भलै विधा फरक होलान् । ती फरक विधालाई विभागको रुपमा विकास गरेर सबैले एकै स्थानबाट अगाडि बढ्न सके साहित्य क्षेत्रमा लाग्नेहरुले सफलता प्राप्त गर्न सकिन्छ । अर्को तर्फ कर्णाली प्रदेश सरकारले पनि विशेष भूमिका निर्वाह गर्न जरुरी छ । सरकारले बाटो, पानी, भवन जस्ता भौतिक विकासलाई मात्र विकास देख्ने हो भने साहित्यको विकास कहिले हुन्छ ? तर मानसिक र बौद्धिक विकासका लागि कर्णाली प्रदेश सरकारले यहाँका साहित्यकार साहित्यिक संघसंस्थाहरुसँग हातेमालो गरेर अगाडि बढ्न सक्नु पर्छ । किनकी सबै कुरा सरकारले गर्ने होइन । सरकारले तत् निकायसँग समन्वय गरेर अगाडि बढ्ने हो भने सबै क्षेत्रमा लक्ष्य हासिल गर्न सकिन्छ ।

कर्णालीमा साहित्यको पछिल्लो अवस्थालाई कसरी नियाल्नु भएको छ ?
कुनै समयमा पछाडि परेको छ भनेर व्याख्या हुने कर्णाली पछाडि छैन मैले पहिल्यै भनिसके । साहित्यका क्षेत्रमा पनि विगतभन्दा वर्तमान गतिविधिहरु बढेका छन् । भविष्यका लागि योजनाहरु बनेका छन् । कर्णाली प्रदेश सरकारले नै जुम्लामा ठूलो साहित्यिक कार्यक्रमको आयोजना गर्दैछ । प्रज्ञा प्रतिष्ठानले वर्षेनी कर्णालीका कुनै न कुनै भागमा कार्यक्रम गरेकै छ । जिल्लामा स्थापित भएका संस्थाहरुले साहित्यिक कार्यक्रमहरु गरेकै छन् । साहित्यिक पत्रिका प्रकाशनको क्रम बढ्दो छ । यसले गर्दा पनि पछिल्लो समयमा कर्णालीमा नेपाली भाषा र साहित्यको क्षेत्रमा प्रगति भएको छ ।

अन्तमा, मैले सोध्न छुटेको र तपाइँले भन्नै पर्ने के छ ?
यो अवसरका लागि ओखतीलाई धन्यवाद । म के भन्छु भने साहित्यको विकास र विस्तारका लागि जो जो जुन जुन स्थानबाट लागिरहेका छौ । सबै लागौं । साहित्य भनेको समाज परिवर्तन गर्ने मियो भएकोले त्यो मियोको संरक्षण गर्नु सबैको कर्तव्य हो । त्यो कर्तव्यबाट हामी कोही पनि विमुख हुन मिल्दैन । व्यक्तिगत रुपमा लेखन शैलीको विकास गर्नु र संस्थागत रुपमा संस्थाको विकास गरि मञ्च खडा गर्नु नितान्त फरक कुरा हुन् । एउटा कोठामा बसेर लेखनशैलीमा उत्कृष्टता दिन सकिएला तर संस्थागत विकासका लागि योगदान चाहिन्छ । सिर्जनाका लागि पठन संस्कृतिको विकास गर्नु त्यत्तिकै जरुरी छ । अग्रजको सल्लाह, सुझाव र पठन विना लेखनशैलीमा निखारता आउँदैन । तर संस्थागत विकासका लागि त्याग, लगानी, निष्ठा र इमान्दारिताको खाँचो पर्दछ । अनि मात्रै मञ्चको निर्माण हुन्छ । जुन मञ्चले साहित्यकार भनेर चिनाउँछ । अर्काले खडा गरिदिएको मञ्चमा भाषण गर्नु भन्दा आफूले मञ्च निर्माण गरि अरुलाई भाषण गर्न लगाउँदा आनन्द प्राप्त हुन्छ ।

ओखती मासिकबाट