गजल महोत्सव कोसेढुङ्गा सावित भएको छ: प्रा.डा. पौडेल
साहित्य व्यक्तिको विचार, धारणा, विद्रोह आदि अभिव्यक्तिको माध्यम मात्र होइन, समाज रूपान्तरणको साधन पनि हो । यो कुनै न कुनै विधामार्फत् बाहिर आउँछ ।
हरेक व्यक्तिमा रहेको सिर्जन क्षमता साहित्य र कलाका माध्यमबाट बाहिर आउने गर्छ । कसैले आख्यानलाई आफूलाई अभिव्यक्त गर्न सहज विधा मान्लान् त कसैले काव्य वा नाटक तथा निबन्धलाई । आखिर यी सबै व्यक्तिका विचार र भाव अभिव्यक्ति गर्ने गर्ने माध्यम हुन् ।
व्यक्तिले आफ्ना मन–मस्तिष्कका भावहरूलाई विरेचन गर्दा आनन्द महसुस गर्छ, हलुका ठान्छ । यसर्थ विश्वमा जति पनि यस्ता भाव अभिव्यक्तिका माध्यम छन्, तिनको सम्मान गर्नुपर्छ समाजले र राज्यले ।
नेपाल प्रज्ञाप्रतिष्ठान भाषा साहित्यलगायत समग्र वाङ्मयको श्रीवृद्धिका निम्ति राज्यद्वारा स्थापित निकाय हो । यसर्थ यसले राज्यभित्र रहेका वाङ्मयका सबै पक्षको सम्वद्र्धन र विस्तारका साथै संरक्षणका निम्तिसमेत भूमिका खेल्छ । यो प्रतिष्ठानको दायित्व पनि हो ।
अहिले नेपाल प्रज्ञाप्रतिष्ठानले नेपाली भाषा र साहित्यका समग्र क्षेत्रमा उत्तिकै प्राथमिकताका साथ काम गरिरहेको छ । नाटक, आख्यान, कविता आदिका क्षेत्रमा त धेरै पहिलादेखि महोत्सव, उत्सव, प्रतियोगिताहरू भइरहेकै छन् । काव्यभित्रकै अनेक उपविधा छन्– गजल छ, गीत छ, हाइकु छ, मुक्तक छ र यस्ता धेरै उपविधा प्रचलनमा छन् ।
केही उपविधाहरू हाम्रो माटोभन्दा बाहिरबाट नेपाली माटोमा अर्थात् नेपाली साहित्यमा प्रवेश गरेका हुन् । जस्तो: जापानबाट हाइकु भित्रियो भने अरबी, फारस र हिन्दी हुँदै गजल नेपालमा भित्रियो । अनि यी विधाहरू सय वर्ष लामो इतिहास रच्दै नेपाली माटोमा घुलमिल भइसकेका छन् ।
नेपालीपनसहितको विस्तारित स्वरूपमा अहिले गजल नेपालमा मात्र नभएर विश्वका हरेक देश, जहाँ नेपाली छन्, त्यहाँ लेखिँदै छ । १३० वर्षअघिदेखि नेपाली साहित्यमा गजल लेखिँदै आएको छ । यसमा लेखन अभियानसमेत अगाडि बढेको देखिन्छ भने गैरराज्य वा निजी क्षेत्रबाट गजलको विकास, विस्तार र परिष्कारका निम्ति अनेक कार्य भएका देखिन्छन् ।
यस्तो अवस्थामा र गजलले यति धेरै लोकप्रियता, व्यापकता पाइसकेको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले समेत गजललाई माध्यमिककालीन नेपाली कविताको अङ्गका रूपमा मात्र नभएर छुट्टै गजल उपविधाकै रूपमा अध्यापन गराउन थालेको अवस्था छ ।
यस क्रममा नेपाल प्रज्ञाप्रतिष्ठानले गजललाई प्राथमिकतामा नराखेको र गजलका निम्ति केही गर्न नचाहेको जस्ता गुनासा सुनिए । हुनत यसअघि पनि प्रतिष्ठानले गजलसम्बन्धी गोष्ठीहरू नगरेको होइन तर यसलाई राष्ट्रव्यापी रूपमा सम्बोधन गर्नु आवश्यक थियो । म काव्य विभागको जिम्मेवारीमा रहेका कारण मलाई यसबारे निकै पेचिलो दबाब आइरहेको महसुस भइरह्यो ।
एउटा राम्रै कार्यक्रम गरौँ गजलका विषयमा । यस क्रममा मैले प्रतिष्ठानका कुलपति, उपकुलपति तथा सदस्य सचिवसँग सल्लाह गरेँ, प्रस्ताव राखेँ । उहाँहरूले राम्रो कुरा हो, यो आवश्यक छ, संयोजन गर्नुहोस् भन्नुभयो अनि गजल क्षेत्रकै केही व्यक्तिहरूसँग पनि कुरा गरियो । पटक पटकको छलफल भयो । सकेसम्म राष्ट्रव्यापी बनाउने प्रयत्न गर्ने कुरा भयो ।
अन्ततः २ दिने गजल महोत्सव गर्ने निर्णयमा पुगियो । यो १५–१६ गते माघमा काठमाडौंमा प्रज्ञाप्रतिष्ठानमै उक्त महोत्सव अत्यन्त भव्य रूपमा सम्पन्न भयो ।
नेपाली गजलमा लामो समयदेखि मतभेद र विवाद कायम छन् भन्ने जगजाहेर नै थियो र यसलाई न्यूनीकरण गर्नु पनि थियो । म आफू गजलबारे त्यति चासो नराखे पनि गजल पनि काव्यकै अङ्ग भएको र काव्य विभाग नै त्यसका लागि जिम्मेवार भएको महसुस गरेर एउटा महोत्सव वा गोष्ठीको आयोजना गर्दै उक्त मतभेद र विवादको निरूपण गर्नु पनि उपयुक्त होला भन्ने लाग्यो ।
यसै क्रममा छोटो समयमा प्रतिष्ठानले देशभरबाट हरेक प्रदेशबाट ५ जनाका दरले युवा गजलकार र प्रौढ अतिथि गजलस्रष्टाहरूसमेतलाई एकै थलोमा राखेर अन्ततः भव्य गजल महोत्सव सम्पन्न मात्र गरेन, गजलमा देखिएका विवादका जडसम्म पुगेर एउटा मध्यमार्गी घोषणासमेत सहभागीका तर्फबाट सोही महोत्सवमै गरियो ।
मलाई लाग्छ, यो महोत्सव नेपाली गजलको विकास, विस्तार र परिष्कारका लागिसमेत एउटा कोशेढुङ्गा साबित हुनेछ ।
अन्त्यमा, राष्ट्रिय युवा परिषद्को साथ र सहयोग नभएको भए सायदै उक्त कार्यक्रम यसरी सम्पन्न हुन सक्थ्यो । यसका लागि संयोजकका नाताले परिषद्प्रति हार्दिक आभार व्यक्त गर्छु । ५५ सदस्यीय तयारी समिति, मिडिया, पत्रकार मित्रहरू, प्रतिष्ठानका प्राज्ञज्यूहरू, कर्मचारी लगायत सबैप्रति धन्यवाद भन्नै पर्छ ।
राजधानीबाहिर र भित्रबाट कार्यक्रममा सहभागी भएर कार्यक्रम भव्य बनाउने सबैप्रति महेत्सवको संयोजकका नाताले आभार प्रकट गर्छु । आगामी दिनमा पनि यस्ता ओजपूर्ण कार्यक्रम गर्न प्रतिष्ठानलाई उत्साह थपिएको छ ।
(नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख तथा राष्ट्रिय गजल महोत्सव, २०७६ का संयोजक प्रा.डा. हेमनाथ पौडेलसँगको कुराकानीमा आधारित)
शिलापत्र







