Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

कर्णाली प्रदेशसभाको स्थापना दिवस मनाईदै

सुर्खेत ।

कर्णाली प्रदेश सभाले आफ्नो पहिलो स्थापना दिवस मनाउने भएको छ । स्थापना भएको तीन वर्ष प्रवेश गर्न लागेपनि औपचारिक रुपमा स्थापना दिवस पहिलो पटक मनाउन लागिएका कारण पहिले स्थापना दिवस भनिएको उपसभामुख पुष्पा घर्ती मगरले जानकारी दिईन । २०७४ माघ २१ गते कर्णाली प्रदे सभाको पहिलो बैठक बसेको थियो ।

‘हामीले प्रदेश सभा स्थापना भएको दिनलाई भव्य रुपमा मनाउने गरी तीन दिने कार्यक्रम राखेका हौं ।’ दिवस मूल समारोह समितिको उपाध्यक्ष रहेकी उनले भनिन, ‘भोली विहानैबाट खेलकुदका कार्यक्रमहरु सञ्चालन हुनेछन् ।’ उनका अनुसार स्थापना दिवसको अवसरमा व्याडमिन्टन, कुर्सी दौड, घैंटो फोडने खेल खेलाईनेछ । व्याडमिन्टन खेलको उदघाटन सभामुख राजबहादुर शाहीको जोडी र सामाजिक विकास मन्त्री दल रावलको जोडी बीच आइतबार विहान सात बजे प्रदेश सभा प्रांगणमा खेल्न लागिएको उनको भनाई थियो ।

खेलमा सरकारका मन्त्री, प्रदेश सभाका सदस्यहरु, संसद सचिवालयका कर्मचारीहरुको सहभागिता रहनेछ । १९, २० र २१ गते आयोजित उक्त समारोहको पहिलो दिन आइतबार खेल खेल्ने, विहान १० बजे कार्यक्रमको उदघाटन गर्ने कार्य हुनेछ । यस्तै दोश्रो दिन अर्थात माघ २० गते ११ बजे देखि तीन बजेसम्म संघीयतकाका विषयमा व्यापक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

अन्र्तक्रिया कार्यक्रमका लागि कर्णाली प्रदेशका तीन सय भन्दा बढी व्यक्तिलाई निम्तो पठाइएको सचिव जीवराज बुढाथोकीले जानकारी दिए । २१ गते शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको र उक्त कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, विद्यार्थी, शिक्षकलगायतको सहभागिता रहने उनको भनाई थियो । सोही दिन ३१० पृष्ठको स्मारिका र प्रदेश सभा सदस्यहरुको परिचय खुल्ने पुस्तकको विमोचन हुने जनाइएको छ ।