Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

आमा, प्रेमिका र स्वास्नी

भदौको महिना । रनक्क पोल्ने घाम । साँझपख पहेला खुट्टाको सहायता लिएर झर्दै थियो ओझेलिनका लागि सूर्य पश्चिमतिर । त्यो सूर्य जति जति तिब्रगतिमा पश्चिममा ओर्लिदै थियो त्यति त्यति पीडा भोग्नु परेको थियो मेरी आमाले, मलाई जन्माउनका लागि । सूर्यले पश्चिमको डाँडालाई छेकारो पार्नु र म जन्मिनु सँगै भएको थियो रे । मैले जन्मिदै सूर्य देखेको थिएँ रे अनि सूर्यले मलाई । मेरो पहिलो चिच्याहटसँगै प्रसव पीडालाई दबाएर मुस्कुराएकी मेरी आमा मेरा लागि सब थोक थिइन । जन्मदिने आमा, क ख सिकाउने गुरु मात्र होइन साक्षात भगवान पनि ।

खगेन्द्र अधिकारी ‘अमृत’

घाँस काट्न गएको बेला घाँसको भारी पूरा भइसकेपछि व्यथा लागेको थियो मेरी आमालाई । पिठ्यूमा घाँसको भारी र काखमा मलाई च्यापेर हिड्न सक्ने बलवान मेरी आमाले दिएका शिक्षाहरु आज यथार्थमा उभिएका छन् । म सँग आमाले कहिल्यै झुट्ठो बोलिनन् । आफ्ना दुःख, पीडा र बेदनाको पोको कहिल्यै मेरा सामु खोलिनन् आमाले । जसको वास्तविकता बुझ्दैछु म अहिले । त्यसरी हुर्काएर, बढाएर र पढाएर मलाई आफ्नो खुट्टामा उभिन सक्ने आमाले नै बनाएकी हुन् ।

गुँडमा बसेको बेला चुच्चामा ल्याएको चारा प्राप्तिका लागि च्याँ च्याँ गर्ने बचेराहरु आफ्ना पखेटामा प्वाँख पलाईसकेपछि थाल्छन् उड्न र जान्छन् टाढाटाढासम्म । त्यसरी टाढा जाने क्रममा बिर्सिदिन्छन् आमाले चारा खुवाएको ठाउँमा फर्किनै । प्रकृतिको अपरिवर्तनीय नियमहरु सकिदैन तोड्न । सायद यो पनि प्रकृतिको नियमको कुनै दफा, उपदफामा राखिएकै हुनुपर्छ । हो, त्यस्तै भएको छ मेरो जीवनमा पनि । हुन त प्रकृतिलाई जित्न कसले पो सकेको छ र ?

पढ्न हिडेको एउटा छोरो बरालिन्छ उतै । देशको राजनीतिक परिस्थितिका कारण जागिरमा गएको छोरोले रातारात देश छोड्नु पर्ने अवस्थाको सिर्जना हुन्छ । गरिबीको थिचाइबाट उन्मुक्ति प्राप्त गर्नका लागि खाडी मुलुकमा पुग्नु पर्छ एउटा उर्जाशिल युवालाई । दिशाहिन, सीपहिन, लक्ष्यहिन, कर्तव्यबिमुख अवस्थामा तिनै युवाहरुको ताँतिमा मिसिन बाध्य भएको थिएँ म पनि कुनैदिन ।

सुर्खेतको बसपार्कमा मलाई खाडि जानका लागि विदाई गर्दा मेरी आमाले प्रश्रव पीडा जत्तिकै पीडा भोगेकी थिइन् । बेस्सरी मुटु थिचेर गाडि चढेको थिएँ म । गरिबीसँग भयानक युद्ध लड्नका लागि रणभूमिमा निस्कँदा मन कति दह्रो बनाउनु पर्छ भन्ने कुरा खाडीमा ५५ डिग्रीको घाममा रगतलाई पसिना बनाई बगाउने र त्यही पसिनासँग डलर साट्नेहरुले मात्र बुझेका हुन्छन् । आफ्नो मुटुको टुक्रालाई हजारौं कोष टाढा पठाउनेहरु त्यो छोरो सहजै फर्किएको दिन त्यो पीडालाई भुल्न सक्लान् तर दुर्भाग्य त्यो छोरा धन राख्ने बाकसमा आफै निदाएर आयो भने त्यसपछिको अवस्थाको कल्पना गर्न पनि गाह्रो हुन्छ । त्यसैले संसारमा आमा भन्दा महान कोही छँदैछैन र हुनै सक्दैन । आज मेरी आमा संसारमा नभएपनि मेरो भगवान मेरी आमा हिजो पनि म भित्र थिइन, आज पनि छन् र भोली पनि रहिरहने छन् ।

हुर्किदै बढ्दै जाने क्रममा आमाले जत्ति माया गरेपनि छोराछोरीले आफ्नो प्रेमी प्रेमिकालाई माया गर्न थाल्छन् । यसमा पनि प्रकृतिले भूमिका खेलेको हुन्छ नै । जब मान्छे प्रेममा पर्छ तब उसले सबथोक प्रेम हो भन्ने सम्झिन्छ । वास्तवमा भिन्न प्रकारको भएपनि प्रेम त सबथोक रहेछ । चाहे त्यो आमाले बच्चालाई गर्ने प्रेम होस् । चाहे त्यो प्रकृतिलाई गरिने प्रेम होस् । चाहे त्यो प्रेमीप्रेमिका बीचमा गरिने प्रेम होस् या देशप्रेम नै किन नहोस् । यसकारण प्रेम संसारमा सबैभन्दा बलियो छ । प्रेमले नै संसारमा ठूला ठूला परिवर्तन गरिदिएको छ ।

केही प्राप्तिका लागि भन्दा पनि त्यागका लागि गरिएको प्रेम महान हुँदोरहेछ । मैले अहिलेसम्म प्राप्तिका लागि प्रेम गर्न जानिन । यसो भनिरहँदा प्रेममा त्याग नै के गर्न सकेको छु र जस्तो पनि लाग्छ । मैले जुन प्रेम गरेको थिएँ र छु त्यो मेरा लागि थोरै र उनका लागि धेरै बनिदेओस् भन्ने मेरो चाहना र इच्छा छ । जुलियटले गरेको जस्तो प्रेम र उनको जस्तो प्रेम कहानीको निर्माण गर्न त सक्छु सक्दिन तर एउटा ढुकुर जोडीको जस्तो प्रेमको प्रेमिल कहानीको लेखनी भने सम्भव छ भन्ने लाग्छ ।

मान्छेको जीवनमा दुई वटा साथी महत्वपूर्ण हुँदा रहेछन् । एउटा जीवन साथी र अर्को असल साथी । जीवन साथी भनेको जिउने समयसम्म सँगसँगै जीवन विताउने । सुखदुःखहरु बाँड्ने । प्रकृतिको नियमलाई अँगालेर जीवनचक्रको साइकल चलाउने ।

तर असल साथी भनेको नितान्त फरक हुँदोरहेछ । भौगोलिक रुपमा नजिक होस् या टाढा । मानसिक रुपमा जहिले पनि सँगसँगै रहन सक्नेरहेछ । एक आपसमा मन मिलेन भने छोडिदिने रहेछ जीवनसाथीले । तर कहिल्यै नछोड्ने रहेछ असल साथीले । संसारमा श्रीमान्बाट श्रीमतिका हत्या भएका अनेक घटनाहरु छन् । श्रीमतिबाट श्रीमान्का हत्या भएका अनेक घटनाहरु छन् । तर असल साथीले असल साथीको हत्या गरेको घटना इतिहासमै छैनन् । यदि साथीकै हत्या गर्दछ भने त्यो असल साथी थिएन र होइन । असल साथीले त ज्यानमा ज्यान दिन सक्छ । सायद त्यसैको कारण होला असल साथीको रुपमा रहेका प्रेमीप्रेमिकाहरु एक आपसमा प्राप्त हुन नसक्दा सँगसँगै संसार नै छोडिदिन्छन् । बनि दिन्छन् उदाहरणीय ।

श्रीमान्को मृत्युपछि श्रीमति र श्रीमतिको मृत्युपछि श्रीमान् खोज्नु सामान्य जस्तै छ । तर एउटा असल साथीले जीवनमा एक पटक मात्र असल साथी रोज्छ । खोजेको असल साथी बन्नै सक्दैन । भेटिएको पो असल साथी हुन्छ त । कतिपय अवस्थामा मान्छे विक्षिप्त बन्छ । अनेक दुःखकष्टहरु आइपर्दा विक्षिप्ततामा डुबेकोलाई डुङ्गा झैँ समुन्द्रमा तैरिएर उसको दुःखको सागरबाट बाहिर ल्याउन सक्ने सामथ्र्यको प्रयोग गर्ने असल साथी हो । जसलाई आजको आधुनिक जमानामा प्रेमी वा प्रेमिको संज्ञा दिइएको छ । सबै प्रेमीहरु असल नहुन पनि सक्छन् । सबै प्रेमिकाहरु पनि असल नहुन सक्छन् । जसले व्यक्तिगत स्वार्थको लागि माया गरेका हुन्छन् ति असल हुनै सक्दैनन ।

साँचो अर्थमा भन्ने हो भने पृथ्वीको निर्माण गर्ने ढुङ्गा, माटो, हावा, पानी, असल साथी रहेछन् । असल साथी भनेको त निकै सहनशील हुन सक्नु पर्दोरहेछ । ढुङ्गाले जति थिचेपनि माटोले कहिल्यै ऐया भन्दैन । पानीले जति बगाए पनि माटोले कहिल्यै सकिएँ भन्दैन । हावाले जति छिचोले पनि पानीले कहिल्यै साथ छोड्दैन । त्यसैले मलाई पनि हावा जस्तै बन्न मन छ । पानी जस्तै बन्न मन छ । ढुङ्गा जस्तै बन्न मन छ, अनि माटो जस्तै मन छ । किनकी यिनीहरु एक अर्कामा कहिल्यै प्राप्ति चाहँदैनन् । प्रेमिका होस् कि श्रीमति, प्रेमी होस् कि श्रीमान् । बुझ्न सक्नुपर्छ एक अर्कालाई । गर्न सक्नु पर्छ त्याग । अनि पो संसार सुन्दर हुन्छ ।