Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

आज भ्यालेन्टाइन डे मनाईँदै

नेपालसहित विश्वभर बिहीबार भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदैछ । विशेष गरी युवा युवतीले यसलाई उत्सवकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ ।


यस दिन प्रेमी प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परका व्यक्ति समक्ष प्रेम प्रस्ताव पनि राख्ने गरिन्छ । दिवसका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछन् । शहर बजारका विभिन्न फूल पसल रातो गुलाबले झकिझकाउ भएका छन् ।

कसरी सुरु भयो भ्यालेन्टाइन डे ?

अहिले विश्वभर युवा युवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवासका बारेमा विभिन्न किम्बदन्ती पाइन्छ । यो दिवसको सुरुवात प्राचीन रोमनबाट सुरु भएको हो । मध्य युगमा इंग्ल्याण्ड र फ्रान्समा १४ फेब्रुअरीका दिनदेखि चराले आफ्नो जोडीको खोजी गर्न सुरु गर्ने तथा प्रेममा लिप्त भएर सम्भोग गर्छन् भन्ने धारणा थियो ।

यस्तै प्राचीन रोमनमा महिला र विवाहकी देवीलाई सम्मान गर्दै यो दिन उत्सव मनाउने गरिन्थ्यो भन्ने किम्बदन्ती छ । यी यस्तै धेरै किम्बदन्तीको संयुक्त प्रभावबाट प्रेम दिवासको सुरुवात भएको हो । विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक सुरुवात इस्वी सम्वत २६९ रोमनबाट सुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ ।
तत्कालीन रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए । प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।

तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।

जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षर सहितको प्रेम पत्र आफ्नी प्रेमिका अथार्त जेरकी छोरीलाई दिएका कथन छ । उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइने प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।
भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दुई सय २९ वर्षपछि सन् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवसकै रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि इंग्ल्याण्ड र फ्रान्स हुँदै पछिल्लोसमय विश्वभर १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिएको छ ।

विश्वका पाँच चर्चित प्रेमप्रसंग

एन्टोनी र क्लियोपेट्रा
इसापूर्वको अन्तिम शताब्दीको यो प्रेमजोडी समर्पणको उच्च नमुना मानिन्छ । इजिप्टकी रानी क्लियोपेट्रा निकै सुन्दरी महिला मात्र थिइनन्, उनको व्यक्तित्व पनि निकै प्रभावशाली थियो, जसबाट मै हुँ भन्ने पुरुषसमेत कायल हुन्थे । उनी पहिले रोमका राजा जुलियस सिजरकी प्रेमिका थिइन् तर इसापूर्व ४४ मा सिजरको हत्या भएपछि उनको प्रेमकथाले रोचक मोड लियो । सिजरको हत्यापछि रोममा मार्क एन्टोनी नामका व्यक्ति सत्तामा हावी भए । एन्टोनीले इसापूर्व ४१ मा इजिप्टकी रानी क्लियोपेट्रालाई भ्रमणका लागि आमन्त्रण गरे । आखिर क्लियोपेट्राको त्यही राजकीय भ्रमणका बेला एन्टोनीसँग प्रेम बस्यो । एन्टोनी प्रेममा यति पागल भए कि उनी सत्ता छाडेर क्लियोपेट्राको पछि लागेर इजिप्ट आए । एन्टोनीले यसअघि नै अक्टाभियनकी बहिनीसँग विवाह गरिसकेका थिए । बहिनी ज्वाइँ अर्कै केटीसँग भागेको देखेपछि अक्टाभियन आगो भए र इजिप्टमा रहेका एन्टोनी र क्लियोपेट्राविरुद्ध युद्धको घोषणा गरे । आखिर त्यो युद्ध इजिप्ट र रोमको युद्धकै रूपमा अघि बढ्यो र त्यसमा इजिप्टले हा¥यो अनि एन्टोनी र क्लियोपेट्राले आत्मसमर्पण गरे । उनीहरूलाई पक्राउ गरेसँगै एन्टोनीलाई क्लियोपेट्राले आत्महत्या गरेको झूटो खबर सुनाइयो । प्रेमिकाको मरणको खबर सुन्न नसकी एन्टोनीले आत्महत्याका लागि तत्काल पेटमा तरबार घोचे । मरणासन्न अवस्थामा रहेका एन्टोनीलाई त्यसपछि जेल लगियो जहाँ क्लियोपेट्रा थिइन् । एन्टोनीले जेलमै क्यिलोपेट्राको काखमा अन्तिम स्वास फेरे । प्रेमीको देहान्तबाट छटपटिएकी क्लियोपेट्राले कुनै व्यक्तिमार्फत जेलमा विषालु सर्प मगाइन् । उनले त्यो सर्पलाई आफ्नो छातीमा राखेर डसाइन् र मृत्युवरण गरिन् । त्यसपछि क्लियोपेट्राको शव एन्टोनीको शव गाडिएको ठाउँमै लगेर गाडियो ।

नेपोलियन र जोसेफाइन
फ्रान्सका सासक नेपोलियन बोनापार्ट तथा सामाजिक कार्यकर्ता जोसेफाइनबीचको प्रेम प्रसंग पनि उल्लेखनीय छ । नेपोलियन जब सेनामा सामान्य अधिकृत थिए, उनले दुई सन्तानकी आमा ३२ वर्षकी विधुवा जोसेफाइनलाई देख्नेबित्तिकै गहिरो प्रेम गर्न थाले । पछि सन् १९७६ मा उनीहरूको विवाह पनि भयो । विवाहपछि नेपोलियन आफ्नो सैन्य अभियानमा बढी व्यस्त हुन थाले भने जोसेफाइन परपुरुषहरूसँग लहसिन थालिन् । श्रीमतीका बारेमा नकारात्मक कुरा सुनेपछि नेपोलियन आगो भए र डिभोर्सको प्रस्ताव गरे तर जोसेफाइनले गल्तीका लागि क्षमा मागिन् र तत्कालका लागि उनीहरूको सम्बन्धविच्छेद ट¥यो । जब नेपोलियन सन् १८०४ मा फ्रान्सको सर्वोच्च शासक बने त्यसपछि उनमा एउटा छोरो जन्माएर आफ्नो उत्तराधिकारी बनाउने इच्छा जाग्यो, तर विडम्बना जोसेफाइनसँगको सम्बन्धबाट गर्भ रहेन र उनीहरूबीच १८०९ मा डिभोर्स भयो । नेपोलियनले त्यसपछि अस्ट्रियाकी म्यारीसँग विवाह गरे र छोरा पनि पाए । दुर्भाग्य भन्नुपर्छ जब नेपोलियनले जोसेफाइनसँग सम्बन्ध तोडे उनको भाग्य बिग्रिन थाल्यो । उनको सत्ता डगमगाउन थाल्यो र अन्ततः सन् १८१४ मा उनी सत्ताबाट बाहिरिएर इल्बा टापुमा निर्वासित हुनुप¥यो । जोसेफाइन अझै पनि नेपोलियनलाई प्रेम गर्थिन् त्यसैले नेपोलियन भागेर इल्वा टापु पुगेको जानकारी पाएपछि चिट्ठी लेखेर आफूलाई पनि सँगै राख्न अनुरोध गरिन् । हठी नेपोलियनले जोसेफाइनको अनुनय स्वीकार गरेनन् र अब मिलन सम्भव नरहेको भन्दै चिठी लेखेर पठाए, तर नेपोलियनले लेखेको जवाफी चिठी हातमा नपर्दै जोसेफाइनको मृत्यु भयो ।

जार निकोलस द्वितीय र अलेक्जेन्ड्रा फेडेरोभ्ना
जब निकोलस द्वितीयले राजकुमार छँदै जर्मनीकी राजकुमारी अलेक्जेन्ड्रालाई देखे उनी मायामा फसिहाले । आखिर उनीहरूबीच गहिरो प्रेम बस्यो र एकअर्कासँग छुट्टिन नसक्ने अवस्थामा पुगे । उनीहरूबीच सन् १८९३ मा इन्गेजमेन्ट पनि भयो । अर्को वर्ष निकोलसका बुवाको मृत्यु भयो र उनी रूसका राजा बने । निकोलसले राजगद्दी सम्हालेपछि सामान्य समारोहबीच अलेक्जेन्ड्रा र निकोलस द्वितीयको विवाह भयो । विवाहपछि जार निकोलस रानी अलेक्जेन्ड्राको प्रेमका दास बन्न पुगे र जनताको ध्यान दिन छाडे । फलतः जनतामा असन्तुष्टि बढ्दै गयो । पहिलो विश्वयुद्धका बेला रूसमा क्रान्ति भयो जसले जारशाहीको सत्ता ढाल्यो र राजदम्पतीलगायत राजपरिवार साइबेरिया भाग्न बाध्य भए । रूसी जनताले साइबेरिया भागेका जार निकोलस तथा रानी अलेक्जेन्ड्रालगायत राजपरिवारका अन्य सदस्यहरूलाई पनि छाडेनन् र सन् १९१८ को जुलाई १६ मा राजपरिवारको हत्या भयो ।

राजकुमार इडवार्ड र वालिस
वेल्सका राजकुमार इडवार्ड र अमेरिकी महिला वालिसको प्रेम प्रसंग पनि निकै चर्चित छ । इडवार्डले वालिसको प्रेमका लागि राजगद्दी नै त्यागेका थिए । विवाहित वालिससँग एउटा पार्टीमा भेट भएसँगै इडवार्ड मायाजालमा फसेका थिए । राजकुमारले कुनै सामान्य विदेशी महिला त्यो पनि विवाहित सँग प्रेम गर्नु सामान्य कुरा थिएन । त्यो प्रेम प्रसंगले बेलायती संसद ठूलो हंगामा मच्चाएको थियो । बुवाको मृत्युपछि उनी जबर्जस्ती राजा त बने तर राजा रहिरहन उनले वालिससँगको प्रेम सम्बन्ध त्याग्नुपर्ने थियो । इडवार्डले राजगद्धीको साटो वालिसको प्रेम रोजे र रेडियो मार्फत राजगद्दी त्यागेको घोषणा गरे ।

भोल्तेयर र इमिली
फ्रान्सका चर्चित दार्शनिक तथा लेखक भोल्तेयर एवं सज्जन सामाजिक कार्यकर्ता इमिलीबीचको प्रेमसम्बन्ध पनि निकै चर्चित छ । इमिली विवाहित थिइन् तर पनि आफ्नो वैवाहिक सम्बन्धको परवाह नगरी उनी भोल्तेयरसँग नजिकिइन् । उनीहरूबीच प्रेमसम्बन्ध झाँगियो र दुवै जना सँगै बस्न थाले । इमिली र भोल्तेयर त्यो घरमा सँगै बस्थे जुन घरका मालिक इमिलीकै पूर्व पति थिए । इमिली र भोल्तेयरबीचको प्रेमसम्बन्ध बौद्धिक एवं दार्शनिकस्तरको प्रेम सम्बन्ध मानिन्छ । १९ वर्षसम्म भोल्तेयर सँग बिताएपछि इमिलीको मृत्यु भयो ।

यस्तो छ प्रेमदिवस सप्ताह

फेब्रुअरी ७ रोज डे
भ्यालेन्टाइन सप्ताहको पहिलो दिन फेब्रुअरी ७ लाई ‘रोज डे मानिछ । यो दिनलाई प्रेमको प्रतीक गुलाफप्रतिसमर्पित गरिएको छ । गुलाफको भाषामा रातो गुलाफले भन्छ– म तिमीलाई प्रेम गर्छु । सेतो गुलाफ भन्छ, हाम्रो प्रेम पवित्र छ । पूर्ण रूपले फक्रिएको रातो गुलाफले भन्छ, तपाईं धेरै सुन्दर हुनुहुन्छ । एउटा पूर्णरूपले फक्रिएको गुलाफका साथमा राखिएको दुईवटा गुलाफको कोपिलाले सुरक्षाको आश्वासन दिन्छ । सुन्तला रंगको गुलाफले मेरो प्रेम अनन्त छ र तिमी मात्र मेरी हौं भन्ने बुझाउँछ । लामो डाँठ भएको र डाँठमा काँडासहितको गुलाफको कोपिलाले प्रेम गरेको छु, गरिरहन्छु, कसैबाट डर छैन भन्ने बुझाउँछ । यदि डाँठमा काँडा मात्र छ भने त्यसले तिम्रो सुन्दरता, तिम्रो मधुरतामा मेरो सम्पूर्ण चेतना हराएको छ भन्ने सन्देश दिन्छ ।
लामो डाँठमा भएको रातो गुलाफले म अझै तिमीलाई प्रेम गर्छु भन्ने कुरा दर्साउँछ । पूर्ण रूपले फक्रिएको गुलाफको फूलको गुच्छाले कृतज्ञता, आभार एवं श्रद्धालाई बुझाउँछ । गुलाफको कोपिलाले मैले पनि प्रेम गरेको छु भन्ने सन्देश दिन्छ । फक्रिएको गुलाफले म तिमीलाई सधैं सम्झिरहन्छु भन्ने कुरा दर्साउँछ । दुईवटा कोपिलाका साथमा फक्रिएको एउटा गुलाफ गोपनीयताको प्रतीक हो ।

फेब्रुअरी ८ प्रपोज डे
दोस्रो दिन अर्थात् फेब्रुअरी ८ लाई प्रपोज डेका रूपमा मनाइन्छ । यो दिन आफूले लामो समयदेखि मनपराएको व्यक्ति समक्ष प्रेम प्रस्ताव राखिन्छ ।

फेब्रुअरी ९ चकलेट डे
तेस्रो दिन अर्थात् फेब्रुअरी ९ लाई ‘चकलेट डेका रूपमा मनाइन्छ । यो दिन प्रेमी–प्रेमिका वा श्रीमान्–श्रीमतीले एक अर्कालाई विभिन्न प्रकारका चकलेट उपहार दिन्छन् । गुड मुड र रोमान्सका लागि चकलेटको भूमिका महत्वपूर्ण हुने भएकाले प्रेम र आत्मीय सम्बन्धलाई चकलेटले थप मिठासयुक्त बनाउँछ भन्ने विश्वास गरिन्छ ।

फेब्रुअरी १० टेड्डी डे
चौथो दिन अर्थात् फेब्रुअरी १० लाई ‘टेड्डी डे का रूपमा मनाइन्छ । विशेष गरी युवतीहरू टेड्डी अर्थात् भालुका बच्चाका गुडियाहरूप्रति बढी लगाव राख्छन । अतः आफ्नी प्रियसीको चाहना बुझेर नरम कपास, भुवा, भेल्भेट, फेल्ट आदिबाट निर्मित आकर्षक टेड्डी उपहार प्रदान गरिन्छ ।

फेब्रुअरी ११ प्रोमिस डे
पाँचौं दिन अर्थात् फेब्रुअरी ११ लाई ‘प्रोमिस डे भनिन्छ । यो दिन आफ्नो प्रेमप्रति वचनबद्धता दर्साइन्छ । त्यस क्रममा कहिल्यै नभुल्ने, मन नदुखाउने, जस्तोसुकै परिस्थितिमा पनि साथ नछोड्ने, खुसी राख्ने, धोका नदिने आदि वचनबद्धता व्यक्त गरिन्छ ।

फेब्रुअरी १२ हग डे
प्रियतमको अँगालोलाई सबैभन्दा न्यानो र सुरक्षित मानेर, सबैकुरा भुलेर प्रियतमप्रति विश्वस्त हुँदै उनमै हराउने छैटौं दिन अर्थात् फेब्रअरी ११ लाई हग डेका रूपमा अत्यन्त सुखदायी र रोमाञ्चक मानिन्छ ।

फेब्रुअरी १३ किस डे
सातौं दिन अर्थात् फेब्रुअरी १३ किस डेका रूपमा मनाइन्छ । चुम्बन प्रेम सम्बन्धमा रहेका जोडीले एक–अर्कालाई दिने सबैभन्दा सहज, अविस्मरणीय एवं अलौकिक उपहार हो ।

फेब्रुअरी १४ भ्यालेन्टाइन डे
यो भ्यालेन्टाइन सप्ताहको सबैभन्दा महत्वपूर्ण दिन हो जसलाई भ्यालेन्टाइन डेका रूपमा मनाइन्छ । भ्यालेन्टाइन सप्ताहका अन्य दिनहरूको तुलनामा यो दिन सबैभन्दा विशेष र रोमान्टिक हुन्छ । आफ्नो प्रेमी–प्रेमिकासँगको सामिप्यता, आत्मीयता एवं प्रेमलाई थप प्रगाढ बनाउने तथा नयाँ उचाइमा पु¥याउने सबैभन्दा राम्रो अवसरका रुपमा लिइन्छ यो दिनलाई ।

गुलाफको संख्या र अर्थ

आज भ्यालेन्टाइन डे का अवसरमा विभिन्न प्रेमी प्रेमिकाहरुले एक अर्कामा गुलाव साटासाट गर्दछन् । कतिपयले एउटा त कतिपयले एक भन्दा धेरै गुलाव दिने गर्दछन् । कति गुलावको अर्थ के हो भन्ने नबुझेरै गुलाव दिनेहरुको संख्या भने उल्लेख्य छ । जानौ गुलावको संख्या र अर्थ ः
एउटा गुलाफको अर्थ प्रेमको पहिलो संकेत, २ वटा गुलाफ एकअर्कामा मायाको महसुस, ३ वटा गुलाफ आई लभ यू, माइ स्विट हर्ट, ५ वटा गुलाफ म तिमीलाई धेरै माया गर्छु प्रियसी, ६ वटा गुलाफ म तिमीलाई माया गर्छु, धेरैधेरै सम्झन्छु, ७ वटा गुलाफ तिम्रा लागि मसँग हरेक कुरा छ, ९ वटा गुलाफ के हामी दुई जना जुनीभर सँगसँगै जिउन सक्छौं ?, १० वटा गुलाफ तिमी धेरैधेरै राम्री छौं, ११ वटा गुलाफ तिमी लाखँैंमा एक हौं । यसैगरि १२ वटा गुलाफ मेरा लागि स्थिर हुनुहोस्, १३ वटा गुलाफ हामी सधैंभरिका लागि मित्र हौं, १५ वटा गुलाफ म साँच्चै क्षमा चाहन्छु, २१ वटा गुलाफ म प्रतिबद्ध छु, २४ वटा गुलाफ तिमी सधैं मेरो दिमागमा हुँदैनौ, ३६ वटा गुलाफ म हाम्रो रोमान्टिक क्षण सम्झँदैछु, ४० वटा गुलाफ माया साँचो हो, ९९ वटा गुलाफ म मृत्युको दिनसम्म पनि तिमीलाई माया गरिरहनेछु, १०० वटा गुलाफ म सम्पूर्ण रूपमा तिमीप्रति समर्पित छु, १०१ वटा गुलाफ तिमी मेरो एउटै मात्र हौं, १०८ वटा गुलाफ के तिमी मसँग विवाह गर्छौं, ३६५ वटा गुलाफ म तिमीलाई हरेक दिन प्रेम गर्छु र ९९९ वटा गुलाफ मेरो प्रेम अनन्त छ ।

‘भ्यालेन्टाइन डे बारे केही रोचक तथ्यहरु

प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएका हरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ ।
पश्चिमा देशहरुबाट सुरु भएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकैँ झाँगिएको पाइन्छ । भ्यालेन्टाइन डे आफैमा एक रोमान्टिक दिन हो र यो प्रेममय दिन हो । यो प्रणय दिवस सँग विभिन्न खाले कथा तथा इतिहास जोडिएका छन् र यस विषयमा विभिन्न खाले तथ्यहरु पनि छन् । कतिपय तथ्यहरु हामीले नसुनेका पनि हुनसक्छौँ र सुन्दमै रोचक लाग्दछ ।

तपाइँलाई थाहा छैन होला, नाटककार शेक्सपियरको चर्चित लभस्टोरी रोमियो एण्ड जुलिएटकी नायिका जुलियटको घरमा हरेक वर्ष भ्यालेन्टाइन डे को दिन हजरौँ चिठीहरु पठाइन्छन् । इटालीको भ्यारोनामा जुलियटको काल्पनिक गाउँ छ । दुनिया भरबाट यो गाउँमा जुलियटलाई सम्बोधन गरी प्रेमपत्रहरु आउँदछन् । भ्यालेन्टाइन डे को दिन विश्वमा औषतमा २ लाख २० हजार जना मानिसले आफ्नो पार्टनरलाई बिहेको प्रस्ताव गर्दछन् । प्रेमको प्रस्ताव गर्नेहरुको संख्याको त गणना नै छैन । भ्यालेन्टाइन डे को दिन विश्वमा १ अर्ब कार्ड आदानप्रदान हुन्छन् । क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष पछि सबैभन्दा बढि कार्ड आदानप्रदान हुने दिन यहीँ हो । भ्यालेन्टाइन डे को दिन अमेरिकामा मात्रै एक अर्ब डलर बराबरको चकलेट खरीद बिक्रि हुन्छ । यो दिन मुटु आकारको साढे ३ करोड चकलेट बक्स बिक्रि हुन्छन् । भ्यालेन्टाइन डे को दिन अमेरिकामा मात्रै १९ करोड बराबरको गुलाबको फूल किनबेच हुन्छ । गुलाबको फूललाई इटालीको रोममा प्रेमको देवीको मनपर्ने फूल पनि भनिन्छ । भ्यालेन्टाइन डे मा गुलाब खरीद गर्नेमा सयमा ७३ प्रतिशत पुरुष हुन्छन् । त्यस्तै अन्य भ्यालेन्टाइन गिफ्ट खरीद गर्नेमा सयमा ८५ जना महिला हुन्छन् । (विभिन्न अनलाइनहरुको सहयोगमा)