देश समृद्धिको आधार साहित्य पनि हो : यरी

कर्णाली वाङ्मय प्रतिष्ठानका अध्यक्ष सीता यरीसँग पत्रकार खगेन्द्र अधिकारीले गरेको कुराकानीको सारसंक्षेपः

सीता यरी

आजभोली के काममा व्यस्त हुनुहुन्छ ?
विशेष गरेर मेरो अध्ययन हो । समाजका रहेका हरेक मानिसहरु अध्ययनशील बन्नु पर्दछ । अध्ययन सँगसँगै साहित्य सिर्जना, सामाजिक सेवा र विभिन्न संस्थाको नेतृृत्व गरेको हुनाले संस्थाहरुलाई गतिशील बनाउने कुरा मै व्यस्त छु । अब केही समयपछि दूरबिन पत्रिकाको प्रकाशन गर्नु पर्ने भएको हुनाले पूर्व तयारी गर्दैछु ।

कर्णाली वाङ्मय प्रतिष्ठानले के कस्ता कामहरु गर्दछ ?
कर्णाली वाङ्मय प्रतिष्ठानले भाषा, साहित्य, कला र संस्कृति सम्बन्धि कामहरु गर्ने गर्दछ । यो संस्था गैरराजनैतिक संस्था हो । साहित्यका माध्यमबाट समाजमा रहेका खराब कुराको अन्त्य गरेर सुन्दर समाजको निमार्ण गर्ने अभियानमा यो संस्था लागेको छ । गुर्भाकोट नगर पालिका वडा न. ५ मा रहेको दूरबिन डाँडाको नामबाट दूरबिन नाम राखेर अर्ध वार्षिक रुपमा साहित्यिक पत्रिका प्रकाशन गर्ने गर्दछ । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र विकास गर्ने सोचमा लागेका व्यक्तित्वहरु स्थापना कालदेखि सम्मान गर्दै आएको छ । यो संस्थाले ठूला ठूला साहित्यिक कार्यक्रमहरु नियमित रुपमा गर्छ । कर्णाली वाङ्मय प्रष्ठिानले यो आर्थिक वर्षमा ५०,००० को अक्षय कोष स्थापना गर्न लागेको छ । यो अक्षय कोष साहित्यको संरक्षण र विकास गर्नका लागि हुनेछ ।

विभिन्न संस्थाको नेतृत्व गर्दा कस्ता–कस्ता चुनौतीहरु आउँदा रहेछन् ?
मैले गैरराजनैतिक र राजनैतिक दुबै संस्थाको नेतृत्व गर्दै आएकी छु । जसले अप्ठ्यारो बाटोलाई सजिलो बनाउन सक्छ उसले नै नेतृत्व गर्न सक्छ । नेतृत्वलाई गाली, धम्की र विभिन्न खालका आरोप आउँछन् । यस्ता खालका चुनौतीहरुलाई सामना गर्नु पर्दछ । जीवनमा अप्ठ्यारा र दुःखका बाटाहरु आउँदा कोही पनि मानिस निरासा हुनुहँुदैन । त्यस्ता समस्याहरुलाई सजिलो बनाउन सक्नु पर्दछ । चुनौती विना मानिसले प्रगति गर्न सक्दैन । एउटा पुतलीको लार्भाले संघर्ष गरेर बाहिर आयो भने मात्र त्यो लार्भा पुतली बन्न सक्छ । यदि त्यो लार्भा भन्दा बाहिरोको जालोलाई मानिसले फालिदिने हो भने त्यो लाभा मरेर जान्छ र त्यो लार्भा पुतली बन्न सक्दैन ।

 दूरबिनमा कस्ता रचनाहरु समावेश हुन्छन् ?
समाजमा रहेका विकृति, विसंगति विरुद्धमा र समाजलाई सहि बाटो हिडाउँने खालका साहित्यिक रचनाहरु दूरबिनमा समावेश भएका हुन्छन् । विधाका हिसाबले हेर्ने हो भने नाटक, कथा, कविता, लघु कथा, गजल, मुक्तक, हाइकू, गेडि, गीत लगायतका विधाहरु दूरबिनमा समावेश भएका हुन्छन् । समाज र देशभित्र देखिएका खराव कुरा सफा बनाउँने सोच दूरबिनले लिएको हुन्छ । देश सन्दर बनाउनका लागि साहित्य पनि महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ।

वर्तमान अवस्थामा कस्तो साहित्य सिर्जना हुनुपर्छ तपाईको विचारमा ?
हामीले सिर्जना गरेको साहित्यले हरेक मानिसको मन छुनु पर्दछ । समाजलाई सकरात्मक सन्देश दिनुपर्दछ हाम्रो सिर्जनाले । सिर्जनाले गलत बाटो सिकाउन होइन असल बाटोमा लाग्न निर्देशन दिनुपर्दछ । सिर्जनाले कहिल्यै पनि फोहोर कुराहरुलाई बोक्नु हुँदैन । देशलाई माया गर्ने साहित्यकारले म नेपाली हुँ भन्ने भावनाको विकास गर्ने खालको सिर्जना गर्नुपर्दछ । अर्थ र सन्देश विनाको सिर्जना हुन सक्दैन । सिर्जनाले समाजलाई सुन्दर सन्देश दिनुपर्छ । सिर्जनाले कसैलाई पनि भेदभाव गर्नु हुँदैन, सबैलाई सम्मान र माया गर्ने प्रवृतिको सिर्जना गर्नुपर्दछ । सिर्जनाले समाजमा रहेका खराब कुराको विरोध गरेर सभ्य बनाउनु पर्दछ । एउटा असल सिर्जनाले कसैको पुरै जीवन परिवर्तन गरिदिन सक्छ । साहित्य सिर्जना गर्ने स्रष्टा दिमाग नकरात्मक होइन, सकरात्मक हुन्छ । यदि स्रष्टाको दिमाग नै नकरात्मक भने उसले समाज र देशका लागि साहित्य सिर्जन गर्न सक्दैन । उसको सिर्जनाले केवल गलत कुरा मात्र बोकेको हुन्छ ।

तपाईले साहित्य सिर्जना गरेर के प्राप्त गर्नु भएको छ ?
मैले साहित्य सिर्जना गरेर यो देशको असल नागरिक बन्नु पर्दछ भन्ने भावना प्राप्त गरेकी छु । मानिस आफ्ना लागि होइन समाजका लागि बाँच्नु पर्दछ भन्ने विकास सिर्जना गर्दा मैले प्राप्त गरेकी छु । सिर्जनशील व्यक्तिले समाजमा आफ्नो असल पहिचान बनाउन सक्छ । मान्छेको भौतिक शरिर मरेर गएपनि उसको सिर्जनाका कारणले उसलेको मृत्यु कहिल्यै हँुदैन । त्यसकारण साहित्य सिर्जना गर्ने व्यक्तिले अमरत्व प्राप्त गर्छ । उसको सिर्जनाले अमर बनाउँछ । साहित्य सिर्जनाले गर्ने सर्जकले जीवनको असल परिभाषा जानेको हुन्छ । आफ्ना हातहरुलाई कुन ठाउँमा कसरी प्रयोग गर्नु पर्दछ भन्ने कुराको जानकारी प्राप्त हुन्छ । समाज र देशका मैले केही गर्नु पर्दछ, म बाँचेको देशका हो भन्ने कुरा मलाई प्राप्त गएको छ । हामी नेपालीहरुले अनेकतामा एकताको भावना विकास गरि सबैको एउटै आवाज र विचार हुनुपर्दछ भन्ने कुरा साहित्य सिर्जना गरेर नै मैलै प्राप्त गरेकी हुँ ।

कर्णाली वाङ्मय प्रतिष्ठानको मूख्य सोच के रहेको छ ?
एउटै आवाज र विचारका साथ संस्थालाई अगाडि बढाऔँ, साहित्यका माध्यमबाट देशलाई उज्यालो बनाऔँ भन्ने कर्णाली वाङ्मय प्रतिष्ठानका नारा रहेको छ । यो संस्थाको मूख्य सोच भनेको भाषा, साहित्य र कलाका माध्यमबाट देशलाई उज्यालो र सुन्दर बनाउनु रहेको छ । यो संस्थाले समाज र देश पक्षमा काम गर्नेछ ।

साहित्य क्षेत्रमा लागेका मानिसहरुको भविष्य कस्तो देख्नु भएको छ ?
उनीहरुको भविष्य समाजमा पहिचानका हिसाबले सुन्दर देख्छु । साहित्य क्षेत्रमा लागेको मानिस मान सम्मान धेरै पाउने गर्दछ । त्यति मात्र होइन, उसले सुन्दर साहित्य सिर्जना गरेर आफ्नो जीवन चलाउन पनि सक्छ । गजल, गीत, कविता, नाटक लगायतका विधाहरु बिक्री भएर हाम्रो आम्दानी गरेका पनि पाउन सकिन्छ । पैसा सँगसँगै उसले आफ्नो नाम पनि कमाएको हुन्छ । साहित्यिक कार्यक्रमहरु टिकट हुने गरेको पाउन सकिन्छ । श्रोता तथा पाठक दुबै खुसीका साथ सहयोग गरेको पाइन्छ । साहित्य सिर्जना गर्ने व्यक्तिको भविष्य अन्धकार हुनै सक्दैन । उसले समाजको बारेमा बुझेको हुन्छ । जसले समाजको बारेमा बुझ्न र समाजको बारेमा काम गर्न सक्दैन उसको भविष्य अन्धकार हुन्छ । देश उज्यालो भयो भने साहित्यकारले आफ्नो जीवन उज्यालो भएको अनुभूति गर्छ । समग्रमा हेर्ने हो भने सुन्दर सिर्जन गर्ने व्यक्तिको भविष्य देखिन्छ ।

तपाई साहित्य क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ?
मलाई साहित्यमा सहभागी गराउने व्यक्तित्वहरु महेन्द्र चन्द महासागर, खगेन्द्र अधिकारी ‘अमृत’, धिरेन थापा र विष्णु महतारा हुनुहुन्छ । उहाँहरुले साहित्यिक पत्रिका दिनु हुन्थ्यो र पढ्न अनुरोध गर्नुहुन्थ्यो । उहाँहरु भन्नु हुन्थ्यो हामी लेखेको रचना कालान्तरणसम्म बाँच्न सक्नु पर्दछ । क्षणिक रचनाहरु गर्नु हुँदैन । संरचना मिल्दैमा सिर्जना बन्न सक्दैन । हामी सिर्जना गरेको साहित्यले त मानिसका हृदयमा बस्न सक्नु पर्दछ । मेरो प्रेरणाको स्रोत भनेको सुर्खेतका सबै रेडियोहरु, विभिन्न साहित्यिक पत्रिका, काव्य गोष्ठी र विभिन्न स्रष्टाहरु हुनुहुन्छ ।

साहित्यका क्षेत्रमा कुनै भुल्नै नसकिने क्षणहरु रहेका छन् ?
साहित्यका क्षेत्रमा तिता र मिठा दुबै घटना तथा क्षणहरु रहेका छन् । तितो क्षण भन्दा मेरो अनुरोधमा सिम्ताली एकता समाजले २०७२ सालमा गुर्भाकोट बहुमुखी क्याम्पसमा कार्यक्रय गर्ने सोच बनाईयो । मैलै पहिला भनेकी थिएँ कार्यक्रय भव्य हुन्छ तर स्थानीय वासिन्दाहरुको सहभागिता भएन । त्यसपछि मलाई नरमाईलो अनुभूति भयो । गुर्भाकोटमा साहित्यको विकास गर्नु सोच आयो र मेरो नेतृत्वमा कर्णाली वाङ्मय प्रतिष्ठान स्थापना भएको हो । मिठा क्षणहरु सुनाउँदा कर्णाली वाङ्मय प्रतिष्ठानको आयोजना श्री जनसेवा माध्यमिक विद्यालय सहारे, सुर्खेतमा प्रा.डा. जीवेन्द्रदेव गिरी र कथाकार महेश विक्रम शाहको उपस्थितिमा भव्य कार्यक्रम सफल हुँदा म धेरै खुसी थिएँ । राष्ट्रिय गजल महोत्सव २०७६ मा कर्णाली प्रदेशबाट छनोट भएँ र गजल वाचन गर्न पाउँदा निकै खुसी भएँ । यी क्षणहरुलाई जीवनमा कहिल्यै बिर्सिन सकिदैन ।

यस संचार माध्यमबाट पाठकलाई केही भन्न चाहानु हुन्छ ?
साहित्य भनेको राष्ट्रको महत्त्वपूर्ण सम्पति हो । यसको संरक्षण र विकासमा एउटा व्यक्तिदेखि राज्यसम्मले चिन्ता र चासो दिनुपर्दछ । राज्यले साहित्यमा लगानी गरिदिनु पर्दछ । जुन समाजमा साहित्यको विकास भएको छैन्, त्यो समाजको विकास हुन सक्दैन । कर्णाली वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेका दूरबिन पत्रिकालाई पढिदिन सम्पूर्ण पाठकलाई अनुरोध गर्दछु र सल्लाह सुझावको पनि अपेक्षा गर्दछु । सबै नेपालीले हामी नेपाली हुँ भन्ने भावनाको विकास गरौँ । साहित्य गरेको लगानी कहिल्यै खेर जाँदैन, सबैले साहित्यमा लगानी गरौँ । देश समृद्धिको आधार साहित्य पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *