Loading... आजः ६ भाद्र २०८३, शनिबार । Saturday 22nd August 2026

कविता – अर्पण

शीर्षक – अर्पण

Image result for birthday wishes for best friend
इन्द्रेणीका रंगहरुको
भरिया बनेर
पृथ्वीको परिक्रमा गर्दै
विगतका पदचापहरु पछ्याउँदै
फेरि आएको छ वसन्त ऋतु
यही वसन्तको आगमनसँगै
झर्छन् पूराना पातहरु
पलाउँछन् पालुवाहरु
आफ्नो बैंस पट्ट फुटाएर
फुल्छन् लालीगुराँसहरु

राताम्य बनाउँछन् वनपाखा
दिन्छन् शुभकामनाका शब्दोपहार
तिम्रो जन्मदिनमा ।

 

ढुकुर ढुकुर कराउँछन्
ढुकुरका जोडीहरु
न्याओ न्याओ कराउने न्याउली चरी
माइती गएकी छे आजभोली
त्यसैले, कतै सुनिदैन विरहको बोली
रमाइरहेका छन् परेवाको जोडी
तिनै जोडी परेवालाई हेरेर
रमाउने गर्दछ तिम्रो मन

तिम्रो मनसँगै रमाउछ मेरो मन पनि ।

भैरी, गौथल्या र पाखाबाडामा
फक्रिदैछन् काफलका चिचिलाहरु
घुम्टो उघार्दैछन् चोत्राका फूलहरु
अलि पर
सातमूल्याको चिसोपानीमा
रम्दैछन् गोठालाहरु
बा“झ, रजाँझ र बुरुसका रुखहरुसँग
छेकामारि गर्दै
मुख मिठ्याउँदैछन् गौमाताहरु
त्यही पुगेको छ मेरो मन

मनाउँदैछ तिम्रो जन्मदिन ।

मन्दगतिमा सुस्केरा सुसेल्दै
बगेको भेरी
आफ्नै संगीतमा रमाएको राप्ती
निलाम्य सुतिरहेको कर्णाली
आँखा झिम्क्याईरहेको बुलबुले

ठिङ्ग उभिएको काँक्रेविहारले
दिईरहेका छन् आशिष तिमीलाई
म सँगसँगै ।

धेरै वसन्तहरु आए र गए
सयौं वसन्तहरु आउँन र जाउँन
रमाओस् तिम्रो मन मेरो मनसँगै
रमाओस् मेरो मन तिम्रो मनसँगै
त्यसैले
मन, मुटु, आयु र प्राण
मेरो सर्वश्व
अर्पण गरिदिएको छु तिमीलाई ।