Loading... आजः १७ बैशाख २०८१, सोमबार । Monday 29th April 2024

ठेकादार कम्पनीको लापरवाही, अधुरै काँक्रेबिहार पुनः निर्माण

सुर्खेत ।

ठेकेदार कम्पनीको लापरवाहीका कारण काँक्रेविहार पुनःनिर्माण कार्य पुनःसुस्ताएको छ । निर्माण कम्पनी सिद्धबाबा कन्स्ट्रक्सन प्रालीले काँक्रेविहारमा गजुर राखेको सात महिना बितिसक्दासमेत फिनिसिङ, कम्पाउन्डिङलगायतका कार्य अधुरै छाडेको छ । निर्माण कम्पनीले भदौ पहिलो साता गजुर राख्दै फिनिसिङको कार्य तत्काल शुरु गर्ने प्रतिबद्धता जनाएको थियो । काँक्रेविहारमा मूर्ति अड्याउन राखिएका फलामका डण्डीसमेत निर्माण कम्पनीले निकालेको छैन । जसले गर्दा काँक्रेविहारको स्वरुप बिग्रँदै गएकामा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

पुरातत्व विभागका इञ्जिनीयर पूर्णबहादुर श्रेष्ठले ठेकेदार कम्पनीको अटेरी कारण अन्तिम चरणका पुनःनिर्माणसम्बन्धी कार्य शुरु हुन नसकेको बताउनुभयो । कम्पनीले बाँकी काम सम्पन्न गर्न विभागसमक्ष म्याद थपसम्बन्धी अनुमति पनि पाइसकेको छ । “फिनिसिङ, मूर्ति मर्मत, पर्खाल, गार्डेन लगायतका अन्तिम चरणका काम बाँकी नै छन्”, इञ्जिनीयर श्रेष्ठले भन्नुभयो, “ठेकेदारले थपिएको म्यादसम्म काम सम्पन्न गर्छु भन्ने प्रतिबद्धता जनाएको छ तर आयोजनास्थलमा पुगेको छैन, ताकेता गरिरहेका छौँ ।” ठेकेदारको लापरवाहीका कारण अन्तिम चरणमा पुगेको पुनःनिर्माण कार्य रोकिएको छ । ठेकेदारले तोकिएको अवधिसम्म बाँकी काम सम्पन्न नगरे कानूनअनुसार कारवाही हुने पुरातत्व विभागले जनाएको छ ।

विभागले विसं २०७२ देखि यस क्षेत्रमा रहेका भग्नावशेष सङ्कलन गर्दै पुरानै स्वरुपमा पुनःनिर्माण आयोजना सञ्चालन गरेको थियो । काँक्रेविहारमा २१ मिटर अग्लो शिखर शैलीको ढुङ्गैढुङ्गाको मन्दिर निर्माण सम्पन्न भइसकेको छ । उत्खनन स्थलमा पुरातत्व विभागले विसं २०६१ मै मन्दिर बनाउन शुरु गरे पनि विसं २०७२ देखि पुनःनिर्माणले गति लिएको हो । सिद्धबाबा कन्स्ट्रक्सन कम्पनीले ८ करोड १८ लाख ३५ हजार ८ सय ७० लागतमा पहिलो चरणको पुनःनिर्माण कार्य पूरा गरेको थियो ।

वीरेन्द्रनगर नगरपालिका–९ मा पर्ने संरक्षित वन क्षेत्रमा अवस्थित काँक्रेविहार कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थलमा पर्दछ । यसलाई हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले उत्तिकै श्रद्धा गर्ने गर्छन् । बुद्ध मूर्ति प्रतिस्थापन गर्ने विषयमै छ वर्षअघि यहाँ हिन्दू–बौद्धबीच विवाद उत्पन्न भएको थियो । विवादका कारण प्रतिस्थापन हुन नसक्दा उक्त मूर्ति अझै जिल्ला प्रहरी कार्यालयको हातामा राखिएको छ ।रासस