Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी

कुनैपनि देशको राज्य व्यवस्था संचालन हुनका लागि तीन वटा निकायको मुख्य भूमिका रहेको हुन्छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका । व्यवस्थापिकाले व्यवस्थापन गर्ने काम गर्दछ भने कार्यपालिकाले कार्यान्वयन गर्ने काम गर्दछ । त्यसैगरि यी दुई वटा निकायले गरेको कामलाई स्वतन्त्र, निष्पक्ष रुपमा ठीक छ वा छैन भन्ने बारेमा न्यायपालिकाले हेर्ने गर्दछ । राज्यका मुख्य तीन अंगहरु हुन्, यी । यी तीन अंग बिनाको राज्य अधुरो हुन्छ ।

राज्यका मुख्य तीन अंगहरुले गरेको कार्यलाई समेत स्वतन्त्र, निष्पक्ष र पारदर्शी रुपमा राज्यका सबै नागरिकहरु समक्ष पु¥याउने काम गर्ने निकाय भनेको सञ्चार जगत हो । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका बीचमा समेत मिलेमतो भएर उनीहरुले राज्य वा जनताका विरुद्धमा कुनै खतरनाक निर्णय पनि त गर्न सक्छन्, त्यस कुरालाई जनताका सामु लैजानका लागि निर्माण भएको अंगको रुपमा विश्व समुदायमा परिचित छ सञ्चार जगत । त्यसैले सञ्चार जगतलाई राज्यको चौथो अंगका रुपमा परिभाषित गरिएको छ ।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका पछि महत्वपूर्ण भूमिकामा रहेको चौथो अंग सञ्चार जगत राज्यको निकाय हो पनि र होइन पनि को अवस्थामा छ । विश्व परिवेशलाई हेर्ने हो भने पनि सञ्चार जगतले निर्वाह गरेका भूमिकाहरु अत्यन्त स्रहनीय छन् । कतिपयका व्यक्तिगत स्वार्थ पूरा नभएका कारण सञ्चार जगत माथि नै सांघातिक आक्रमणहरु भएका छन् । न्यायपालिकामा काम गर्नेहरु सर्वशक्तिमान भएर बसेका छन् । प्रायः सबै निकायमा काम गर्नेहरुले देशको ढुकुटीबाट तलब खाएका छन् । व्यवस्थापिकामा पुग्नेहरु आफनो तलबको आफै निर्धारण गर्ने गर्दछन् । उनीहरुको योग्यता भन्दा पनि जनतालाई रिझाउन सक्ने क्षमताका कारण उनीहरुले पाँच वर्षको कार्यकाल निर्धारण गरि कार्य सम्पादन गर्ने गर्दछन् । तर एउटा सञ्चारकर्मीले न त राज्यको ढुकुटीबाट तलब लिन्छ न त अन्य कुनै सेवा सुविधा नै ।


राष्ट्रसेवक कर्मचारीको रुपमा सेवा प्रवेश गरेका सुरक्षाकर्मीहरुको भूमिका पनि देश र जनताको लागि अतुलनीय छ । शारिरीक सु–संगठनदेखि शैक्षिक अवस्थालाई समेत मूल्याङ्कन गरि सेवा प्रवेश गराइएको सुरक्षाकर्मीले आफ्नो सेवा अवधिमा गर्नु गर्ने काम, कर्तव्य र अधिकारका साथै उसको जिम्मेवारी हेर्दा लाग्छ, उसले पनि देश र जनताका लागि आफ्नो प्राण नै सुम्पिन तयार हुन्छ । चाहे त्यो सीमानाकाको रक्षा गर्नका लागि खटिरहेको सेना होस् वा शान्ति स्थापनाका लागि दौडिरहेको प्रहरी होस् ।

भनिन्छ, स्वास्थ्य नै धन हो । हो बाँचेपछि संसार देख्न पाइन्छ । विभिन्न घटना र दुर्घटनामा परेका हुन् वा दीर्घरोग लागेका हुन् वा सर्ने र नसर्ने रोग लागेका रोगीहरु हुन् । उनीहरुले प्रत्यक्ष रुपमा आफ्नो आँखा अगाडि उभिएको एउटा स्वास्थ्यकर्मीलाई भगवानको रुपमा देखिरहेका हुन्छन् । किनकी स्वास्थ्यकर्मीले नै उसलाई बचाउन सक्छ । यो संसारमा जन्मेपछि अजम्मरी त कोही छैन । यदि त्यसो हुँदो हो त सबै भन्दा पहिलो अजम्मरी स्वास्थ्यकर्मी नै बन्ने थिए । विज्ञानले रोगलाई जित्न सकेपनि सास्वत सत्य मृत्युलाई जित्न सकेको छैन । विश्वमा फैलिने भयानक र खतरनाक रोगहरुसँग लड्नु पर्ने अवस्थामा मात्र होइन विभिन्न रोगका किटाणु र जीवाणुसँग बारम्बार लडिरहने स्वास्थ्यकर्मी पनि महान छन् । उनीहरु अर्काको ज्यान बचाउनका लागि आफ्नो ज्यान नै खतरामा राखिदिन्छन् ।


यति भन्दै गर्दा यहाँ उल्लेख भएकाहरु बाहेक अरु गौण छन् भन्न खोजिएको होइन । सबैको आ–आफ्नै भूमिका, महत्व र जिम्मेवारी छ । एउटा परिवारको संचालन हुनका लागि बाबुको कर्तव्य, आमाको कर्तव्य जति हुन्छ छोरा, छोरी र बुहारीको कर्तव्य पनि त्यत्तिकै हुन्छ । जिम्मेवारी कसैको कम हुँदैन । तर पनि अभिभावकीय जिम्मेवारीको रुपमा बाबु र आमाको काँधमा जति जिम्मेवारी हुन्छ त्यो भन्दा छोराबुहारीको काँधमा कमै हुन्छ । छोरा बुहारी नै कमाउन थाल्ने भइसकेपछि र उता बाबुआमा नै बृद्ध भएपनि एउटा अनुशासित परिवारमा सबैको सल्लाह बमोजिम जुन परिवार संचालन भएको हुन्छ त्यही परिवार खुसी र सुखी रहन्छ ।

हाम्रो देश नेपालमा मात्र होइन । विश्व परिदृष्यमा समेत हेर्ने हो भने सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको भूमिका साँच्चिकै अहम् छ । चाहे त्यो कुनै आन्दोलनमा होस् । चाहे त्यो कुनै दुर्घटनामा होस् । चाहे त्यो कुनै संकटमा होस् । कुनैपनि आन्दोलनमा सबैभन्दा अगाडि सुरक्षाकर्मी आफ्नो छाति खोलेर ज्यानको बाजी लगाएर लडिरहेको हुन्छ । कसले कस्तो भूमिका खेल्यो भन्ने कुरालाई सर्वसाधारणसामु ल्याउनका लागि सुरक्षाकर्मी भन्दापनि अगाडि दुई पक्षबाट चलेका अस्त्रहरुको समेत प्रवाह नगरि समाचार सामग्रीहरुको संकलन गरिरहेको हुन्छ सञ्चारकर्मी । उक्त स्थानमा चाहे जुनसुकै पक्षको भएपनि घाइतेलाई बचाउनु आफ्नो पेशा र धर्म सम्झँदै एउटा स्वास्थ्यकर्मीले आफ्नो कर्म गरिरहेको हुन्छ ।

विश्व यतिबेला कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बनेको छ । यो महामारीले विश्वलाई नै त्राही बनाइरहेको छ । चीनको वुहान प्राप्तबाट फैलिएको यो भाइरस अहिले विश्वका लगभग सबै देशमा पुगिसकेको छ । कोरोनाले उत्पन्न गरेको विश्व संकटमा कोरोनासँग प्रत्यक्ष रुपमा स्वास्थ्यकर्मीले आफ्नो ज्यानको बाजी लगाएर लडिरहनु परेको छ । कयौंले ज्यान नै गुमाइसकेका छन् । सर्वसाधारणलाई सुरक्षित राख्नका लागि सुरक्षाकर्मीले आफ्नो ज्यानको बाजी लगाइरहेका छन् भने कोरोना र त्यसले पारेको असरको बारेमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले आफ्नो ज्यानको प्रवाह नगरि समाचार संकलन, प्रकाशन र प्रशारण गरिरहेका छन् सञ्चारकर्मी ।

धार्मिक रुपमा हेर्ने हो भने मान्छेको जीवनमा तीनवटा महत्वपूर्ण कर्महरु हुन्छन्, जन्मकर्म, विवाहकर्म (चुडाकर्म) र मृत्युकर्म । यी तीन कर्म धार्मिक परम्परा अनुसार नै सम्पन्न हुने गर्दछन् भने मान्छेले आफूले गर्ने महत्वपूर्ण कर्म भनेको कृतिकर्म हो । एउटा व्यक्तिले जसरी शिक्षा आर्जन गरेको हुन्छ त्यसरी नै ज्ञान प्राप्त गर्दछ । उसले प्राप्त गरेको ज्ञानलाई कसरी व्यवहारमा लागु गर्दछ र समाजका लागि के दिन्छ ? यो यसको कृतिकर्म हो । कृति कर्मकै कारण मान्छे टोल, समाज, देश र परदेशसम्म चर्चित हुन्छ । कुन क्षेत्रमा कसले के काम ग¥यो भन्ने कुरा न महत्वपूर्ण हुने हो । चाहे शेक्सपियरका कुरा गरौं, चाहे हिटलरका कुरा गरौं । वर्तमानमा चर्चित बनेका डोनाल्ड ट्रम्पका कुरा हुन् चाहे सी जिनफिनका कुरा हुन् । अहिंसावादी गान्धी हुन् वा माओ, लेलिन जस्ता महान क्रान्तिकारी नै किन नहुन् । माल्थस हुन् वा ग्यालिलियो हुन् । उनीहरु आफ्नो कृतिकर्मले प्रख्यात भएका हुन् ।

यो युग भनेको विज्ञानको युग हो । विज्ञानले चमत्कार गरिरहेको यो युगमा आँखाले देख्न नसकिने कोरोना भाइरसले विश्व मानव समुदायलाई हैरान पारेको छ । यो अवस्थामा त्यसलाई नियन्त्रण गर्नका लागि एकातिर स्वास्थ्यकर्मीहरु लागिरहेका छन् भने अर्कोतिर जनसमुदायलाई सुरक्षित राख्नका लागि सुरक्षाकर्मी लागिरहेका छन् । सर्वसाधारणलाई कसरी सचेत गराउन सकिन्छ र त्यसबाट जोगिनका लागि अपनाउनु पर्ने सुरक्षित तरिकाहरुको बारेमा जानकारी दिनका लागि सञ्चारकर्मीले भूमिका खेलिरहेका छन् ।

आर्थिक रुपमा, व्यवस्थापकीय रुपमा सरकारले खेल्नु पर्ने भूमिकाहरु आ–आफ्नो ठाउँमा महत्वपूर्ण छन् । ती भूमिका खेल्नका लागि सरकारमा बसेकाहरुले कहीँ कतै कमीकमजोरी हुन दिनु हुँदैन । यो संकटको घडिमा सम्पूर्ण सर्वसाधारणहरु समेत चनाखो हुनु जरुरी छ । अर्कोतिर हाम्रै देशको कुरा गर्ने हो भने यो लेख तयार पार्दै गर्दा देश लकडाउनमा छ । अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन र आफू सुरक्षित भइ अरुलाई सुरक्षित गर्न सरोकारवालाहरुले भनिरहेका बेला लकडाउनको समेत अटेर गर्नेहरुलाई कारवाही गर्नु परिरहेको छ ।


कोरोना लाग्दैमा मरिदैन तर मर्न पनि त सकिन्छ । किन हामीले यो कुरालाई बुझ्न नसकेको ? सरकारले हाम्रै लागि गरेको कार्यलाई हामीले किन साथ नदिएको ? आफ्नो स्वास्थ्यको लागि हामीले हाम्रो खानपान र आनीबानीमा किन परिवर्तन नगरेको ? कोरोनाबाट बच्नका लागि सरकारले बनाएको नियमहरुको पालना हामीले किन नगरेको ? यावत प्रश्नहरु छन् । सरकारले यो वा त्यो गरेन भनेर हामी सरकारको आलोचना गर्ने तर्फ मात्र लाग्यौ भने हामी जोखिन सक्छौ कि सक्दैनौं ? ध्यान दिनु आवश्यक छ । यस्तो अवस्थामा कुनैपनि पक्ष नहेरी आफू र आफ्नो परिवारलगायत सबैको स्वास्थ्यको बारेमा चासो दिएर गर्न हुने र गर्न नहुने काम छुट्याएर अघि बढ्न जरुरी छ । संयमता र धैर्यता देखाएर मानवत्व प्रस्तुत गर्ने अवसर पनि हो यो । त्यसैले जाने वा नजानेर लकडाउनको उलङ्घन नगरौं । सरकार, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि भरपुर रुपमा सहयोग गरौं, सचेत बनौं, बाँचौं र बचाऔं । कर्तव्य पालना गरौं । यदि यो महामारीले नेपालमा पनि विकराल रुप धारण ग¥यो भने भविष्यमा पछुताएर मात्र केही हुनेवाला छैन ।

विभिन्न सरुवा रोगले महामारीको रुप धारण गरेको समयमा आफ्नै ज्यानलाई जोखिममा पारेर पनि रोग नियन्त्रणका लागि खटिरहने स्वास्थ्यकर्मी न हार्छन न थाक्छन् । जसको कारण रोग नियन्त्रणमा आउन बाध्य हुन्छ । त्यसैले कोरोना पनि ढिलोछिटो नियन्त्रणमा आउने निश्चित छ । स्वास्थ्य विज्ञहरुले अहिले औषधीको खोजि गरिरहेका छन् ।

स्वास्थ्यकर्मीले औषधीको पत्ता नलगाउने समयसम्म यसलाई फैलिनबाट रोक्नु नै उत्तम उपाय हो । यसलाई फैलिनबाट कसरी रोक्ने भन्ने बारेमा विश्व स्वास्थ्य संगठनदेखि नेपाल सरकार समेतले विभिन्न उपायहरु बताइरहेको छ भने त्यसलाई सञ्चारकर्मीहरुले दिनरात नभनि सम्प्रेषण गरिरहेका छन् । कोरोनाको तत्कालिन समाधान भनेको यसलाई फैलिन नदिनु नै हो ।

केवल सरकारको भर परेर मात्र हुनेवाला छैन । कोरोना रोकथामका बारेमा सरकारले चालेका पहलकदमी पूर्ण भएनन् भनेर नागरिकहरुले सरकारको आलोचना गर्ने र सरकारी अनुरोधलाई अवज्ञा गर्ने हो भने समाजले नराम्रो स्थितिको सामना गर्नु पर्ने अवस्थाको सिर्जना हुन सक्छ । त्यसैले प्रत्येक नागरिकले कोरोना विरुद्धको लडाईमा एक्यवद्धता देखाउन आवश्यक छ । सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई साथ दिनु बाहेक अरु विकल्प छैन ।

यस्तो परिस्थितिमा सरकारले पनि विभेदको नीति अवलम्बन गर्नु हुँदैन । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई दिईने सेवा सुविधा एक खालको छ तर सञ्चारकर्मी न कुनै तलब खान पाएका छन् । न मिडिया हाउसले भने झैँ तलब दिन सकेका छन् । न त कुनै विशेष योजना नै सरकारले ल्याउन सकेको छ । त्यसैले सञ्चारकर्मीको लागि पनि बिमा लगायतका सेवा सुविधा तर्फ सरकारले ध्यान दिने कि ?

अन्तमा, यी तीन कर्मीहरुले खेलेको भूमिकालाई मध्यनजर गर्ने क्रममा अरु पेशा व्यावसाय गरिरहेका, अन्य क्षेत्रमा काम गर्ने कर्मचारी, विद्यार्थी, नागरिक समाज, राजनीतिज्ञ, जनप्रतिनिधिहरुले केही गरेका छैनन् भन्न खोजिएको होइन । सबैले आ–आफ्नो ठाउँबाट गरिरहेका छन्, छौ र गर्नु पनि पर्छ । अतः आफ्नो कर्तव्यपथमा आमनागरिकको स्वास्थ्यपचार गरिरहेका स्वास्थ्यकर्मी, आमनागरिकको सुरक्षा गरिरहेका सुरक्षाकर्मी र आम नागरिकलाई सु–सुचित गरिरहेका सञ्चारकर्मीलाई ह्दयतः सलाम ।

(यो लेख सूक्ष्मदृष्टि साप्ताहिकमा प्रकाशित छ ।)