कोरोनाबाट यसकारण नआत्तिनुहोस्

 

author-image
अखण्ड भण्डारी

उपचार भरपर्दो, पूर्वाधार धमाधम, आपूर्ति नियमित

काठमाडौं : मिर्गौला प्रत्यारोपण गरी फर्किएको एक सातामा प्रधानमन्त्री केपी शर्मा ओली देशवासीलाई सम्बोधन गर्न टेलिभिजन पर्दामा देखिए। उनले सुरुमै भने, ‘आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईंहरूसामु उपस्थित भएको छु। यति खेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिंगो विश्व इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ। विश्वका अधिकांश मुलुक यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन्। सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा देखिएको छैन। तर, हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा भने छैनौं।’

त्यस दिन अर्थात् चैत ७ गतेसम्म देशमा एक जना संक्रमित थिए। त्यो संख्या बढेर अहिले १६ पुगेको छ। प्रधानमन्त्रीले भनेजस्तो ‘जोखिमबाट ढुक्क नहुने’ संकेत देखिन थालेको छ। त्यही भएर सर्वसाधारणमा त्रास बढ्दो छ। तर, नआत्तिनुहोस्– उपचार सफलता र नियन्त्रण सुझबुझका हिसाबले हाम्रो देश संसारमै गनिने अवस्थामा छ।

कोरोना विशेष अस्पतालमा तयार पारिएको आइसियू । तस्बिर : लक्ष्मण पोखरेल

संक्रमित संख्या १८ भएको जिम्बावेमा ३ र बेलिजमा २ जनाको ज्यान गएको छ। नेपालसरह १६ संक्रमित भएको मालाबीमा २ जनाको मृत्यु भएको छ। ७ संक्रमित भएको मौरितानियामा १ जना बितेका छन्। खुसीको कुरा, स्वनिर्मित व्यक्तिगत सुरक्षा सामग्री (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट– पीपीई) लगाएर पनि नेपाली चिकित्सक एवं स्वास्थ्यकर्मीले प्रभावकारी उपचार सेवा दिइरहेका छन्। साथमा आफूलाई पनि संक्रमणबाट जोगाइरहेका छन्।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ठीक एक महिनाअघि एउटा दैनिकमा लेख लेखेका थिए। त्यसमा भनेका थिए– ‘नेपालमा कोरोना पुष्टि भएका पहिलो संक्रमित अस्पतालबाट डिस्चार्ज हुनुभन्दा अगाडिसम्म उनको नमुना परीक्षणको नतिजा आइसकेको थिएन। उनलाई उपचार गर्दा विशेष सुरक्षा कवच (पीपीई) पनि लगाइएको थिएन। तर पनि चिकित्सक वा स्वास्थ्यकर्मीलाई कोरोना सर्न पाएन। उनका कुरुवा पनि सर्नबाट जोगिए।’

अर्थात्, कोरोना भाइरस भनेर नचिनी पहिलो उपचार पूरा भयो। तर, कसैलाई केही भएन। यसको अर्थ– हाम्रा चिकित्सक सुरक्षित उपचारमा निपुण छन्। ढुक्क हुने एउटा आधार यो पनि हो। साथमा सरकारले कोरोना नियन्त्रण÷उपचारकै लागि भौतिक पूर्वाधार थपेको वा तयार गरेको छ। जनशक्ति परिचालन बढाएको छ। सचेतना विस्तार गरेको छ। लकडाउनमा नागरिकको अन्तरमनबाट साथ–सहयोग छ।

‘मानसिक एवं भौतिक रूपमा र जनशक्तिका हिसाबले हामी तयारी अवस्थामा छौं’, नोभल कोरोना रोेग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले अन्नपूर्ण पोस्ट्सँग भने, ‘सरकारले केही गरेको छैन भन्नु कि नबुझेको हो कि पूर्वाग्रह हो। यत्रो महामारी आयो, सरकारले के गर्नुपर्थ्यो ? ’

उच्चस्तरीय समितिका सदस्य शिक्षामन्त्री गिरिराजमणि पोखरेलले समुदायमा कोरोना फैलिन दिनुअघि नियन्त्रण गर्ने सरकारको मुख्य जोड रहेको बताए। ‘विपद् विश्वस्तरको बन्दै गएको छ। हामीकहाँ पनि यो छिरेको छ’, मन्त्री पोखरेलले भने, ‘यसलाई जनस्तरमा जान रोक्ने पहलमा छौं र सफल हुँदै गइरहेका छौं। यससँगै हाम्रो प्रणाली निर्माण हुँदै गएको छ।’

उनले नेपाली समाजमा नकारात्मकता हाबी भएको उल्लेख गर्दै भने, ‘बाहिर रहेका नेपालीलाई ल्याउनु भनेको भाइरस भित्र्याउनु हो। बरु जहाँ छन् त्यहींका सरकारसँगको समन्वयमा सुरक्षित बन्दोबस्त गरिनुपर्छ।’

नेकपा महासचिव विष्णु पौडेलको हेराइमा सरकारले लिएका निर्णय र चालेका कदम प्रभावकारी छन्। ‘कोभिड–१९ सिंगो विश्व र मानव जातिका लागि चुनौती बनेको छ। यस्तो विशिष्ट अवस्था, खुला सिमाना, आर्थिक अवस्थाजस्ता पक्षलाई हेर्दा प्रकोप नियन्त्रणमा जे–जति काम भएको छ, सन्तोषजनक छ’, महासचिव पौडेलले भने।

उनका अनुसार लकडाउनको प्रभावकारी निरन्तरता, सीमा र हवाई सेवा बन्द कायम राख्ने हो भने यो जोखिमबाट राहत मिल्न सक्छ। ‘जोखिम त अवश्य छ। यसमा सरकार, सबै राजनीतिक दल, नागरिक समुदाय एकताबद्ध भएर लागेको अवस्था छ। यसले कोरोनाविरुद्ध युद्धमा बल पुगेको छ’, उनले भने।

नेकपाकै एक नेताका अनुसार दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण भर्खरै गरेर आरामकै चरणमा भए पनि प्रधानमन्त्री ओली कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा सक्रियतापूर्वक अग्रसर भइरहेका छन्। ‘उच्चस्तरीय समितिका बैठक नियमित बस्ने, आवश्यकताअनुसार मन्त्रिपरिषद् डाँक्ने र तत्काल निर्णय लिने काम भइरहेको छ’, ती नेताले भने, ‘समयमा भएको लकडाउन र त्यसको निरन्तरता सरकारको विवेकसम्मत निर्णय हो।’

पूर्वाधार धमाधम

सरकारले कोरोना महामारीको जोखिमसँगै सातै प्रदेशमा उपचारसम्बद्ध भौतिक पूर्वाधार मजबुत बनाउँदै लगेको छ। प्रदेश १ का १४ जिल्लास्थित अस्पताललाई प्रदेश सरकारबाट २ करोड ९० लाख र केन्द्रबाट २ करोड रुपैयाँ प्रदान गरिएको छ। केन्द्र सरकारले दुई र प्रदेशले अन्य सबैलाई कोरोना उपचार र रोकथामका लागि तम्तयार बनाएका छन्।

त्यस्तै, प्रदेश १ सरकारले विराटनगरमा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ। उदयपुरको अस्पताललाई स्तरोन्नति गरिएको छ। प्रत्येक जिल्लाका अस्पतालमा आइसोलेसन वार्ड राखिएको छ। जिल्लापिच्छे क्वारेन्टाइन बनाइएको छ। नेपाली सेनाले झापा, मोरङ र उदयपुरमा ५÷५ सय जना राख्न सकिने क्वारेन्टाइन बनाएको छ।

प्रदेश २ मा पनि सबैजसो अस्पताललाई कोरोना उपचारयोग्य पारिएको छ। त्यहाँ क्वारेन्टाइन संख्या १ सय ६१ छ भने बेड संख्या ३ हजार २ सय ९५। ८ सय ३५ जना क्वारेन्टाइनमा छन्। आइसोलेसन बेडको क्षमता २ सय २० छ। त्यहाँ २४ जना उपचाररत छन्। जनकपुरस्थित प्रादेशिक अस्पतालमा पीसीआर मेसिन जडान गरिएको छ।

बागमती प्रदेशले ५० करोड रुपैयाँको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको छ। उक्त रकम १ सय १९ वटै स्थानीय तह र १३ जिल्ला समन्वय समितिमा पठाइएको छ। उक्त प्रदेशमा २ हजार ८ सय ३२ क्वारेन्टाइन बेड निर्माण गरिएको छ। ८ सय ५० आइसोलेसन बेड छन्। ३ सय ७५ आईसीयू बेड बनाइएको छ। प्रदेशका कोरोना विशेष अस्पतालहरूलाई ९ करोड ९३ लाख निकासा गरिएको छ। उच्चस्तरीय समितिहरू गठन गरिएका छन्।

गण्डकी प्रदेशले २ सय ९५ क्वारेन्टाइनमा ४ हजार ७ सय बेड व्यवस्था गरेको छ। त्यसमध्ये २ सय ६५ आइसोलेसन बेड छन्। उक्त प्रदेशमा ८९ वटा फिभर क्लिनिक चलाइएको छ। त्यसमा ६० हजार ७ सय ८७ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। त्यहाँ २ हजार ६ सय ६५ जना होम क्वारेन्टाइनमा बसे।

प्रदेश ५ ले ५ सय ३९ बेडको आइसोलेसन अस्पताल बनाएको छ। बुटवलमा ५० बेडको कोरोना विशेष अस्पताल निर्माण गरिएको छ। त्यसमा १० आईसीयू र भेन्टिलेटर जडान गरिएको छ।

भैरहवाको भीम अस्पताल, बुटवलको कोरोना विशेष अस्पताल, दाङको आयुर्वेद प्रदेश अस्पताल र नेपालगन्जको भेरी प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको छ। १२ जिल्लाका ४८ अस्पतालमा ३ सय ९ बेड रहेको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताए। प्रदेशमा ६ हजार ३ सय ३७ बेडको क्वारेन्टाइन बनाइएको छ। त्यहाँ १ हजार ६ सय ४६ जना बसेका छन्।

प्रदेश सरकारले कोरोना परीक्षणका लागि भैरहवा, घोराही र नेपालगन्जमा प्रयोगशाला बनाउने निर्णय गरेको छ। कोरोना विशेष अस्पतालको निगरानीका लागि चार मन्त्री खटाइएका छन्। प्रदेश ५ मा १० करोड रुपैयाँको कोरोना विपद् कोष बनाइएको छ।

कर्णाली प्रदेशमा २ सय ९२ वटा क्वारेन्टाइन बनाइएको छ। तिनमा ३ हजार ६ सय ४२ बेड छन्। त्यहाँको आइसोलेसन बेड संख्या ४ सय ६६ छ। आईसीयू १७ र भेन्टिलेटर ११ वटा व्यवस्था गरिएका छन्। ११ हजार ४ सय ९१ जनाले फिभर क्लिनिकमा उपचार लिएका छन्। ५४ हेल्थ डेस्क छन्।

सुदूरपश्चिम प्रदेशले तीनवटा ठूलो रियल टाइम पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ। एक थान कैलालीको सेती प्रादेशिक अस्पताल र अरू दुई बैतडी र डोटी जिल्ला अस्पतालका लागि हुनेछन्।

उक्त प्रदेशमा २० वटा भेन्टिलेटर थपिने भएको छ। हरेक जिल्ला अस्पताललाई कोरोना अस्पताल बनाइएको छ। त्यहाँ कम्तीमा १०÷१० आइसोलेन बेड राखिएको छ। सेती प्रादेशिक र महाकाली अञ्चल अस्पतालनजिक ५०÷५० बेडका अस्थायी आइसोलेसन अस्पताल बनाइने भएको छ।

त्यसबाहेक संघीय सरकारले राजधानीका सबै सरकारी अस्पताललाई कोरोना उपचारमा तम्तयार राखेको छ। आवश्यक परे सेवा दिन निजी अस्पतालले पनि रुचि देखाएका छन्।

आपूर्तिमा ढुक्क

सरकारले खाद्यान्न र औषधिलगायत अत्यावश्यक वस्तुको मौज्दात ढुक्क हुने गरी रहेको जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार वैशाख २ गतेसम्म देशभर २१ हजार ८ सय २५ मेट्रिक टन चामल मौज्दात छ। ७ हजार २ सय ९४ मेट्रिक टन चिनी र १ लाख ५७ हजार ९ सय ६५ मेट्रिक टन नुन जगेडा छ। पेट्रोलियम पदार्थ एक सातालाई पुग्ने बचत छ।

आयाततर्फ लकडाउनको तेस्रो साता खाद्यान्न ५१.२ प्रतिशत, दलहन ४१.९ प्रतिशत, फलफूल १५८.३ प्रतिशत वृद्धि गरिएको छ। चैत २४ देखि भारतले २४ वटा औषधिजन्य पदार्थमा लगाएको प्रतिबन्ध हटाएको छ। नेपाल–चीन नाका खुला छ, जहाँबाट स्यानिटाइजर र मास्क आइरहेका छन्।

‘सरकारले गरेन भन्नु पूर्वाग्रह’

ईश्वर पोखरेल, उपप्रधानमन्त्री तथा कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक

सुरुमा चीनको वुहानमा संक्रमण देखापरेपछि प्रभावित युवा, विद्यार्थीलाई ल्याउनुपर्ने आवश्यकता पर्‍यो। कतिपय देशले नलगिरहेको अवस्था थियो। हाम्रामा स्वयं प्रधानमन्त्रीज्यूको सक्रियतामा त्यहाँबाट उद्धार गर्‍यौं। स्थिति यति भयावह थियो कि– जहाज लिएर जान कोही तत्पर नहुने, स्वास्थ्यकर्मी नमान्ने, आइसकेकालाई लैजान ट्राभल एजेन्सीका सवारी साधन पन्छिने गर्थे। त्यस्तो अवस्थामा हामीले सफलतापूर्वक उद्धार गर्‍यौं। त्यस बेला मुख्यसचिवको टिमले टास्क फोर्सको काम गर्‍यो।

प्रधानमन्त्रीज्यूको मिर्गौला प्रत्यारोपणपछि उच्चस्तरीय समन्वय समिति बन्यो। ९ वटा मन्त्रालयलाई नेतृत्व गर्ने मन्त्रीहरू संलग्न हुनुहुन्छ त्यसमा। त्यसले प्रदेशका मुख्यमन्त्री, सामाजिक सुरक्षामन्त्री र सबै राजनीतिक दलका नेतालाई राखेर सर्वसम्मतिले प्रतिबद्धता लिने काम भयो। त्यति बेला हामीसँग कुनै सामान थिएन। निर्धारित अस्पताल थिएन। एउटा देशमा मात्र फैलिएको भएकाले हाहाकार थिएन। अहिले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बनाएर ४ क्षेत्र (औषधि–उपचार, लजिस्टिक, अत्यावश्यक सेवा र मिडिया)मा काम गरिरहेका छौं।

पछिल्लो समय कोरोना महामारी बनेर आएको छ। हामी आफ्नो वस्तुस्थितिअनुसार तयारीमा छौं। मानसिक रूपमा तयारीमा छौं। भौतिक तयारी गर्दै छौं। जनशक्तिको व्यवस्थापन गर्दै छौं। शक्तिशाली राष्ट्रकै हालत खराब भइरहेको छ। तर, हामी सिँगै मुलुक एकताबद्ध भएर लागेका छौं। सबै दलका नेताको ऐक्यबद्धता छ।

लकडाउनले प्रभावकारी काम गरेको छ। विदेशबाट आएर समुदायमा पुगेकाहरूको पहिचानमा लागेका छौं। ट्र्याकिङ गरिरहेका छौं। तिनीहरूको जाँच हुँदै छ। संक्रमित फेला पर्दै छन्। सरकारले सक्दो मेहनत गरेको छ। तर, सरकारले केही गरेको छैन भन्नु कि नबुझेको हो कि पूर्वाग्रह हो। यत्रो महामारी आयो, सरकारले के गर्नुपथ्र्याे ?

(कुराकानीमा आधारित) अन्नपूर्ण पोस्टबाट साभार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *