Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

कर्णालीको साहित्य र वर्ष २०७६

कर्णाली भन्ने वित्तिकै जुम्लाको नाम जोडिन्छ । किनकी साविकको कर्णाली अञ्चलको अञ्चल सदरमुकाम जुम्ला हो । अर्कोतिर कर्णाली भनने वित्तिकै कर्णाली नदीको नाम पनि मानसपटलमा आउने गर्दछ । त्यति मात्र होइन कर्णाली भन्ने वित्तिकै नेपाली भाषाको उद्गमस्थलको रुपमा पनि चिनिन्छ । त्यसैले त कर्णाली नेपाली साहित्यको क्षेत्रमा उर्बर भूमिको रुपमा परिचित छ ।

खगेन्द्र अधिकारी ‘अमृत’

नेपाली साहित्यको अथाह कच्चा पदार्थ रहेको क्षेत्रको रुपमा परिचित कर्णालीमा भएको साहित्यको कच्चा पदार्थलाई प्रशोधन गर्न भने सकिएको छैन । जसरी एउटा खानीमा भएको ढुङ्गालाई निकालेर प्रशोधन गरिन्छ र बहुमल्य पत्थरका रुपमा प्रयोग गरिन्छ । त्यसरी नै कर्णालीमा भएका साहित्यका खानीलाई उत्खनन् गर्न सकेको भए यो प्रदेशलाई देश विदेशमा चिनाउनका लागि कुनै अर्को वैकल्पिक बाटोको खोजि गर्नु पर्ने थिएन होला ।

नेपाली भाषाको पहिलो शिलालेखदेखि विभिन्न संस्कृतिहरुलाई टपक्क टिपेर माला बनाउन सक्ने हो भने यसले निकै ओजपूर्ण रुपमा प्रस्फूटन हुने मौका पाउने थियो । कर्णालीमा भएका साहित्यकारहरुले त्यसो गर्न सक्ने हैसियत पनि राख्छन् । तर विगतको केन्द्रिकृत शासन प्रणालीको स्वाद लिनका लागि काठमाडौंमुखी बनेकाहरुले कर्णालीको साहित्य विकासका लागि केही गर्न सकेनन् भन्दा कसैको मन दुख्न सक्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवका रुपमा कर्णालीबाट सुर्खेतका प्रा.डा. जीवेन्द्रदेव गिरीले एक कार्यकाल काम गरिसकेका छन् भने वर्तमानमा कर्णालीकै दैलेखका प्रा. जगत्प्रसाद उपाध्याय पदासिन छन् । यी दुई जना हस्तीहरुले प्रज्ञा प्रतिष्ठानमा काम गर्दा कर्णालीमा साहित्यका कार्य भएनन् भन्ने होइन । तर जति हुनु पथ्र्यो त्यति हुन सकेनन् । अर्को तर्फ मञ्चमा हुने कार्यक्रम भन्दा पनि कर्णालीको साहित्यको खोज र अनुसन्धानका क्षेत्रमा हुनु पर्ने काम हुन सकेनन् भन्ने पनि हो ।

दैलेखको दुल्लुमा, जुम्लाको सिंजामा, मुगुको रारामा लगायत सुर्खेतका विभिन्न स्थानहरुमा साहित्यको खोज अनुसन्धानका क्षेत्रमा खोज अनुसन्धानको खाँचो छ । वर्ष २०७६ मा पनि त्यस्ता कामहरु हुन सकेनन् । कर्णालीमा स्थापना भएका साहित्यिक संघसंस्थाहरुले पनि खासै साहित्यका क्षेत्रमा वर्ष २०७६ मा काम गर्न सकेको देखिएन । एकाध साहित्यिक कार्यक्रम गर्नु र रचना वाचन गर्नु बाहेक खासै उन्नती र प्रगतिको पथमा कर्णालीले साहित्यको विकास गर्न सकेन यो सबैले स्वीकार्नै पर्छ ।

आरंग नेपालको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २०७५ साल फागुनमा भएको राष्ट्रिय नाटक महोत्सव एक उदाहरणीय कार्यक्रम थियो । यस महोत्सवमा देशभरबाट प्रतिनिधित्व हुने गरि नाटकको प्रस्तुती हुनु रंगकर्मीहरुका लागि मात्र नभई साहित्यमा कलम चलाउने र समग्र कर्णालीकै लागि ठूलो उपलब्धि हो । तर वर्ष २०७६ मा कर्णालीमा नाटकका खासै कार्यक्रमहरु हुन सकेनन् ।

कर्णालीमा वर्ष २०७६ मा साहित्यका दुईवटा मुख्य कार्यहरु भए । वर्ष २०७६ मै स्थापना भएको कर्णाली साहित्य समाजले कर्णालीकै ठूलो साहित्यिक पुरस्कारको स्थापना ग¥यो । देशभरबाट प्रकाशित भएका कृतिहरु मध्यबाट छनोट गरि प्रदान गर्ने गरि स्थापना भएको कर्णाली साहित्य समाज कृति पुरस्कारको राशि नगद ५० हजारसहित प्रमाण पत्र रहेको छ । त्यसै गरि उक्त संस्थाले नगद २५ हजारसहित प्रमाण पत्र रहेको कर्णाली साहित्य समाज प्रतिभा पुरस्कारको स्थापना ग¥यो भने ताम्रपत्रसहितको कर्णाली साहित्य समाज साधना सम्मानको स्थापना ग¥यो । वर्ष २०७६ मा यी सम्मान र पुरस्कारबाट क्रमशः महेश थापाको कथाकृति मरीचिका, कर्णालीका स्रष्टा बुद्धिसागर र श्यामल पुरस्कृत एवम् सम्मानित भए ।

कर्णालीको विकासका लागि समग्रमा के गर्न सकिन्छ भन्ने कुरालाई समेटेर बहस र छलफलको कार्यक्रम कर्णाली उत्सव ऋति फाउण्डेशनको आयोजनामा कर्णालीको राजधानीमा सम्पन्न भयो । यो कार्यक्रमले एकातिर कर्णालीको विकासका बारेमा बहसको श्रृजना ग¥यो भने अर्कोतिर साहित्यको एउटा भागलाई कोट्याउने कोसिस ग¥यो । यी बाहेक सामान्य रुपमा साहित्यकारहरुका जन्मजयन्ती, स्मृति दिवस, संस्थाहरुले आयोजना गर्ने रचना वाचन भन्दा अरु कार्यहरु हुन सकेनन् । व्यक्तिगत रुपमा केही कृतिहरु भने निरन्तर प्रकाशित भए भने कर्णाली वाङ्मय प्रतिष्ठानले दुरविनको प्रकाशन ग¥यो ।

लेखन र विधाको क्षेत्रमा हर्ने हो भने गजल, कविता, मुक्तक, हाइकु, गीतजस्ता विधाहरुले निरन्तरता पाए । कर्णालीका बारेमा कथाकार महेशविक्रम शाहले केही कथाहरु राष्ट्रियस्तरका पत्रिकाहरुमा प्रकाशित गरेका छन् भने नियात्राकार युवराज नयाँघरेले केही नियात्रा तथा निबन्धहरु राष्ट्रियस्तरका पत्रिकामा प्रकाशित गरेका छन् ।

माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका बीचमा कर्णाली प्रदेश स्तरीय निबन्ध लेखन प्रतियोगीताको थालनी हुनु सवल पक्ष हो । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा कृषिसँग सम्बन्धित विषयवस्तु छनोट गरेर लेखन शैलीको विकास गराउने कार्यले पनि साहित्यको क्षेत्रमा एउटा हाँगा थपिएको छ ।

कर्णाली प्रदेश सरकारले विश्व साहित्य महोत्सवको आयोजना गर्ने उद्देश्यका साथ ५० लाख बजेट विनियोजन गरेको थियो । तर विश्वमा महामारीको रुपमा देखिएको कोरोनाको कारण उक्त कार्यक्रम हुन सकेन । २०७६ को चैत्रमा आयोजना गर्ने गरि तय भएको उक्त कार्यक्रम हुन नसक्नु कर्णालीको साहित्यलाई ठूलो नोक्सानी हुनु हो ।

देशमा तनि तहका सरकार छन् । त्यसका साथै साहित्यको क्षेत्रका काम गर्ने उद्देश्य साथ स्थापना भएका विभिन्न नामक साहित्यिक संघसंस्थाहरु छन् । देशले संघीयताको अभ्यास गर्ने क्रममै साहित्यिक क्षेत्रमा पनि उल्लेख्य परिवर्तन गर्न सहयोग पुग्ला भन्ने आशा गरिएको थियो । तर आशा गरेको जस्तो परिणाम आउन सकेको छैन । विकास गर्नु भनेको भवन निर्माण गर्नु, डोजर चलाउनु र बाटो बनाउनु अनि पुल निर्माणको सुरुवात गर्नु हो भन्ने बुझाईबाट सरकार संचालकहरु माथि उठ्न सकेका छैनन् । जसले गर्दा बौद्धिक बहसका कार्यक्रम हुन् वा साहित्यको खोज अनुसन्धान तथा लेखकलाई प्रोत्साहनमा कुनै कार्य हुन सकेका छैनन् । स्थानीय सरकार होस् कि प्रादेशिक सरकार । साहित्यका क्षेत्रमा माखो मार्न सकेका छैनन् । सभा, सम्मेलन र संघसंस्थाले गरेका औपचारिक कार्यक्रममा भाषण गर्नु बाहेक जनप्रतिनिधिले केही गर्न सकेनन् ।

सरकारी पक्षबाट साहित्यमा कुनै पनि काम हुन नसकेको अवस्थामा कर्णालीका लेखक निजी क्षेत्रबाटै फड्को मार्न सक्ने अवस्थामा छैनन् । जसको फलस्वरुप समूहगत साहित्यिक गतिविधिमा संलग्न हुनु उनीहरुको बाध्यता हो । कर्णाली प्रदेशमा खास चर्चामा आउने खालका साहित्यिक कृतिहरु वर्ष २०७६ मा प्रकाशनमा आएनन् । अप्रकाशित रचनाहरुको संख्यामात्र वृद्धि भएको साहित्यले साहित्यको जग बलियो बनाउन सक्दैन ।

कविताको क्षेत्रमा यस वर्ष कर्णालीमा चर्चा कमाउन सफल कवयित्री देवकी तिमिल्सिना समीक्षाको कविता कृति योद्धाका सपनाहरु नै । गजलको क्षेत्रमा रगवीर विश्वकर्माको गजल संग्रह लोभको भाँडो मात्र देखियो ।

प्रायः जसो फागुन र चैत्रमा अलि फुर्सद निकालेर साहित्यिक गतिविधि गर्ने कर्णालीका संघसंस्थाहरु पनि यस वर्ष कोरोनाका कारणले बन्दाबन्दी भए । जसले गर्दा कर्णालीको साहित्य झन कमजोर देखियो । कोरोनाको त्राश र महामारीले सर्जकको मनस्थितिमा पनि प्रभाव पार्ने नै भयो ।

संचार क्षेत्रमा प्रशारण र प्रकाशकलाई हेर्ने हो भने कर्णाली साहित्य समाजले गरेको पुरस्कार अर्पण तथा सम्मान कार्यक्रमले व्यापकता पायो भने दोस्रोमा योद्धाका सपना कविता कृतिले नै व्यापकता पायो । वर्ष २०७६ मा कर्णालीमा भएका साहित्यिक गतिविधिहरु उचित स्थान दिएर प्रकाशन तथा प्रशारण हुनु सुखद पक्ष हो । कर्णाली प्रदेशको राजधानीमा हुने प्रायः साहित्यिक कार्यक्रमको समीक्षकको रुपमा डा. दीपक गौतम, प्रा. खोपीराम लम्साल, उपप्राध्यापक विष्णुकुमार खड्का, बलभद्र भारती, महेन्द्रप्रसाद गिरीले नै निरन्तरता दिए ।

अनलाइन खबरमा पनि २०७६ सालमा नेपाली साहित्यको क्षेत्रमा भएका गतिविधिको बारेमा यसरी चर्चा गरिएको छ –
यो वर्ष स्थापित लेखकका कमै मात्र आख्यान (उपन्यास र कथा) सार्वजनिक भए । बरु गैरआख्यानतर्फका पुस्तक धेरै सार्वजनिक भए । गैरआख्यानतर्फ नेत्र चिकित्सक सन्दुक रुइतको जीवनी सर्वाधिक चर्चित रहृयो । लेखक डा. तीर्थबहादुर श्रेष्ठको ‘नेपाल नखुलेका पाटाहरू’ले पनि इतिहास र विज्ञानमा रुची हुने पाठकलाई आकर्षित ग¥यो । राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’ पनि यसै वर्ष आयो । पत्रकार सुधीर शर्माको अंग्रेजी पुस्तक ‘दी नेपाल नेक्सस’ देखि लिएर अमृता लम्सालको ‘हजुरआमाका कथा’ पनि बजारमा आए । यस्तै आख्यानतर्फ भदौमा अमर न्यौपानेको ‘गुलावी उमेर’, दशैं सेरोफेरोमा सञ्जीव उप्रेतीको ‘हंस’, उषा शेरचनको ‘आधि’ र सरुभक्तको ‘प्रतिगन्ध’ सार्वजनिक भयो ।

पूर्वप्रधान्यायाधीश सुशीला कार्कीको पहिलो उपन्यास ‘कारा’ पनि यही वर्ष सार्वजनिक भयो । कार्कीको यसअघि ‘न्याय’ नामक आत्मसंस्मरण चर्चामा थियो । यसबाहेक नारायण ढकालको ‘तमस’, निरु त्रिपाठीको ‘पेरिस्कानो’, प्रकाश तिवारीको ‘निहारिका’, राजेन्द्र थापाको ‘सकुनी’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, सर्वज्ञ वाग्लेको ‘पुनर्बास’, मुना चौधरीको ‘दुलारी’, अमला अधिकारीको ‘आलय’, रुमन न्यौपानेको ‘अनुगामी’पनि यसै वर्ष प्रकाशित भए ।

वर्षको सुरुमा धर्मेन्द्रविक्रम नेम्बाङको ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ र मध्यतिर सुन्दर कुरुपको ‘पृथ्वीको अविष्कार’ सार्वजनिक भयो । यस्तै १० जना युवाकवि समेटिएको कवितासंग्रह ‘उज्यालोका मालीहरू’ महेश पौड्यालको सम्पादनमा फागुन महिनामा बजार आयो ।

व्यंग्य र कवितामा आफ्नो विशिष्ट पहिचान बनाएका कवि विमल निभाको तेस्रो कवितासंग्रह ‘जोकरको बन्दुक’ मंसिरमा प्रकाशित भयो । रुपेश श्रेष्ठको ‘घिन्ताङ घिसी ट्वाक’, मणी लोहनीको ‘मृत्युको अघिल्तिर’, बादलदेवी चाम्लिङको ‘वीर्यको जमिन’, नरेन्द्रकुमार नगरकोटीको ‘सन्नाटाको लय’, र निमेषराज सापकोटाको ‘खोज्दै हिँड्दा आफैंलाई’ प्रकाशित भयो ।

माघ महिनामा चार सय जनाभन्दा बढी आदिवासी जनजाति कविका कविता समेटिएको कवितासंग्रह ‘इतर आवाज’ दक्षिण कोरियाबाट सार्वजनिक भयो । ‘इतर आवाज’को सम्पादन स्वप्नील स्मृति र पराजित पोमुले गरेका हुन् । यसबाहेक राष्ट्रियस्तरको कविता विमर्श, कविता महोत्सव र कविता सम्मेलन आधा दर्जनको संख्यामा मात्र भए । नेपाल प्रज्ञा प्रतिष्ठानले गर्ने कविता महोत्सवबाहेक अन्य कविता प्रतियोगिता छायामा परे ।

वर्ष २०७६ मा सर्वाधिक चर्चामा रहृयो नाटक, ‘महाभोज’ । अनुप बरालको निर्देशनमा र भारतीय लेखक मन्नु भण्डारीको यो नाटक भदौ महिनाभरि प्रदर्शन भयो । वर्षको अन्त्यमा विराटनगरमा पनि यो नाटक पुगेको छ । ‘महाभोज’को नेपाली अनुवाद विप्लव प्रतीकले गरेका हुन् ।

वर्षको सुरुमा नाटककार घिमिरे युवराजको लेखन र निर्देशनमा ‘आँधीको मनोरम नृत्य’ प्रदर्शन भयो । ‘अर्को कुरुक्षेत्र’, ‘जनयुद्ध जारी छ’, ‘योगमाया’ पनि प्रदर्शन भयो । नीलम कार्की निहारिकाको उपन्यास योगमायामा आधारित रहेर टंक चौलागाईको निर्देशनमा बनेको उक्त नाटकले महिला अधिकारकर्मीलाई बढी आकर्षित ग¥यो । यस्तै जीवन बरालको निर्देशनमा प्रदीप नेपालको नाटक ‘बर्ब्रकि’ पनि असार महिनामा प्रदर्शन भयो । सुनिल पोखरेलको निर्देशनमा प्रज्ञा भवनमा तीन दिन चलेको ‘अनि माक्र्स फर्किए’ नाटकले पनि दर्शकको साथ पायो । वर्षको अन्त्यमा शिल्पी थिएटरले नाटकलाई य्ट्युबमा राख्ने कामको सुरुवात ग¥यो । यस्तै लकडाउनलाई केन्द्रमा राखेर भर्चुअल नाटक महोत्सव पनि सुरु भयो ।

यस वर्षको मदन पुरस्कार (वर्ष २०७५ भरि प्रकाशित पुस्तकबाट) इतिहासविद् योगेशराजको ऐतिहासिक उपन्यास ‘रणहार’ले पायो । भक्तपुरका राजा रणजित मल्लको जीवन र तत्कालीन गोरखा–काठमाडौं उपत्यका युद्धबारे लेखिएको ‘रणहार’ले मदन पुरस्कार जित्दा संस्मराणात्म निबन्धसंग्रह ‘छुटेका अनुहार’ले पद्मश्री पुरस्कार पायो ।

मदन पुरस्कार गुठीले नै दिने जगदम्बाश्री पुरस्कार बैरागी काइँलाले पाए । खेमकला–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले दिने पद्मश्री सम्मान इतिहासकार महेशराज पन्तलाई र पद्मश्री पुरस्कार निबन्धकार रमेश सायनको ‘छुटेका अनुहार’लाई दिइयो ।

‘साताको साहित्य पुरस्कार’ कवि सीता तुम्खेवाले पाइन् भने अमेरिकाबाट दिइने अनेसास पुरस्कारबाट भारतीय नेपाली साहित्यकार लीलबहादुर क्षेत्री पुरस्कृत भए । नेपाल कलासाहित्य डटकम प्रतिष्ठानले दिने राष्ट्रिय कलाश्री पुरस्कार गायक तथा लेखक गणेश रसिक र कलाश्री सम्मान गायक प्रेमध्यवज प्रधानले पाए । साथै यसै वर्षदेखि मदन पुरस्कार र जगदम्बाश्री पुरस्कारको राशी दुई लाखबाट बढेर चार लाख पुग्यो ।

यसले नेपाली साहित्यमा बढिरहेको सम्मेलन तथा महोत्सवमाथि व्यंग्य गरेको प्रष्ट हुन्छ । फागुनमा निकै तामझामका साथ धनगढीमा ‘विश्व नेपाली साहित्य सम्मेलन’ भयो भने हरेक वर्ष हुने आइएमई नेपाल लिट्रेचर फेस्टिभल पोखरा र जनकपुर संस्करण नाम दिई दुई ठाउँमा आयोजना भयो ।

यस्तै असोज पहिलो सातामा ‘इलाम साहित्य सम्मेलन’ले नेपाली साहित्यको ध्यान केन्द्रीत ग¥यो । साहित्यको किल्ला मानिने पूर्वी नेपालको इलाममा भएको उक्त सम्मेलनमा साहित्यकार, कलाकार, पत्रकार र राजनीतिक विश्लेषको उपस्थिति थियो ।

यस्तै, लिम्बू कविहरूको ‘कविता तङ्सिङ’ काठमाडौं र झापामा सम्पन्न भयो । अन्तरराष्ट्रिय मातृभाषा दिवसको कार्यक्रम, दाङमा भएको मिनी लिट्रेचर फेस्टिभल र माघ महिनामा काठमाडौंमा भएको ‘किताब जात्रा’ वर्षका प्रमुख कार्यक्रम बनेर देखिए । महोत्सवमा साहित्यको चर्चासँगै समसामयिक राजनीति, इतिहास र अधिकारका सेसन पनि प्रशस्त भए । जापान, दक्षिण कोरिया, कतार र संयुक्त राज्य अमेरिकामा नेपाली डायस्पोराका साहित्यिक कार्यक्रमले पनि यो वर्ष निरन्तरता पाए ।

अग्रज साहित्यकारको निधनले साहित्य जगतमा निकै तरंग ल्याउने गर्छ । त्यसबेला नै दिवंगत साहित्यकारले गरेका मुख्य योगदान र कृतिको चर्चा हुने गर्छ । यस वर्ष साहित्यकार डीपी भण्डारीको निधन भयो । निबन्ध विधामा कलम चलाउने प्राध्यापक भण्डारीको चैत्र १ गते निधन भयो । यस्तै बाल साहित्यकार विनय कसजू, कुबेर गर्तौला, भारतीय नेपाली साहित्यकार हायमनदास राई, वीण हाख्मि, इन्द्रबहादुर गुरुङ र लक्खीदेवी सुन्दासको निधन भयो । कवि दुर्गा दाहाल, कवि एवं कलाकार उपेन्द्र पागलको पनि वर्ष २०७६ मा निधन भयो ।