Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

आधिकारिक नक्सा प्रकाशन गर्न सरकारको ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपालले भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर जाने सडक निर्माण गरी उद्घाटन गर्नु अत्यन्त दुःखद् र आपत्तिजनक रहेको बताएका छन् ।

आइतबार एक वक्तव्य जारी गर्दै नेता नेपालले सीमा विवाद समाधान गर्न नेपालले प्रस्ताव गरेको परराष्ट्र सचिवस्तरीय बैठकको बेवास्ता गर्दै एकाएक नेपाली भूमिमा सडक निर्माण गर्नुले नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि प्रहार भएको जिकिर गरेका छन् । यसबाट दुई देशबीच यसअघि भएका सम्झौता र सहमतिको गम्भीर उल्लङ्घन भएको उनको ठहर छ ।

पूर्वप्रधानमन्त्री नेपालले भारतको उक्त कदमको विरोध गर्दै नेपाली भूमिभित्र कुनै पनि संरचना निर्माण र प्रयोग नगर्न पनि आग्रह गरेका छन् । नेपालको पश्चिमी पहाडी भू–भाग र भारतबीचको सीमा सन् १८१६ मा सम्पन्न सुगौली सन्धिबाट निर्धारित भएको भन्दै उनले ऐतिहासक तथ्य प्रमाणका आधारमा लिम्पियाधुराबाट निस्कने काली (महाकाली) नदी नै दुई देश बीचको सीमा नदी भएको बताएका छन् । कालापानीबाट भारतीय सैनिक फिर्ता र राजनीतिक नक्सा सच्याउन नेपालले बारम्बार आग्रह गर्दै आएको कुरा पनि उनले स्मरण गराएका छन् ।

पूर्वप्रधानमन्त्री नेपालले सीमा अतिक्रमण जस्तो संवेदनशील विषयमा उच्च राजनीतिक तहमा वार्ता गर्न, नेपालको वैध हकलाई कुनै पनि हालतमा कुण्ठित हुन नदिन आवश्यक तथ्य–प्रमाणसहित दृढताका साथ प्रस्तुत हुन र आफ्नो भूमि कायम गर्न सरकारको पनि ध्यानाकर्षण गराएका छन् ।

आफ्नो मुलुकको सम्पूर्ण भूभागसहित आधिकारिक नक्सा प्रकाशन गर्न सरकारको ध्यानाकर्षण गराउँदै नेता नेपालले नेपाली भूमि र नागरिकको रक्षाका लागि सीमा क्षेत्रमा सुरक्षा संयन्त्र स्थापना गर्न, सीमाको नियमित रूपमा नियमन गर्न र विकट सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीका लागि उचित प्रबन्ध गर्न पनि माग गरेका छन् ।

घटना र विचार