Loading... आजः ६ बैशाख २०८१, बिहीबार । Thursday 18th April 2024

नियात्रा : सौराइलाग्या भनिअल्नु बिपना काँ होली

हामी फर्किने बेला उनका निश्चल र बिस्फारित आँखा भूइंतिर सोझिएका थिए ।टुल माथिको बसाइ कुनै गम्भीर चिन्ताले पिरोलिरहेको जस्तो देखिन्थ्यो । जूनझै प्रदिप्त चेहरा पुरै नियास्रोले छोपिरहेको थियो । रातभरि आँखा झिमिक्क नगरेको तिलानदी एकाएक गतिहीन भएर बग्न थाल्यो । नदी पारिपट्टिको सल्लाघारी हामीलाइ एकोहोरो हेर्न थाल्यो । सायद त्यो सल्लेरी पाखाले हामीलाइ बिदाइ गर्न मानिरहेको थिएन ।

मोतीराज बम

भरतले राहतको प्याकेज (चामलको बोरा) पाखा गाउँका अक्कल मल्ललाई हस्तान्तरण गरेपछि औपचारिक रुपमा बिदाइ हुन्छौं हामी । महिन्द्रा जीपले घच्याक्क ब्रेक लगायो । ड्राइभर दीपक परियारले ईशारा गरे हामीलाइ ‘सर ढिलो भैसक्यो ।’ बिर्तामोडलाई बायाँ पारेर अगाडि बढ्यौं । यही ठाउँमा केही वर्ष पहिले बस दुर्घटना हुँदा तीन दर्जन बढी मान्छेले ज्यान गुमाएका थिए । यस्तो अलच्छिन ठाउँमा यस्ता लच्छिनका परिवार कसरी कुटुरो बनाएर किन बसेहोलान ! मनमनै सोचे मैले ।

जर्मा सिंहसंग जान्छु त भने तर पाइतला उचाल्न कठिन भैरहेको थियो । उनका श्रीमान हामीसँगै मान्मसम्म जाने भएकाले उनलाइ बाइ भन्नू परेन । सिधै सुर्खेतका लागी जीप हुइकिन्छ हाम्रो अब ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीले नेपाललाई पनि अछुतो राखेन । यस्तो संकटको बेला आफ्ना मान्छेहरुको चिन्ता गर्नु र उनिहरुलाइ सकेको सेवा गर्नु एक सचेत नागरिकको लागि अन्यथा होइन । समाजसेवामा ख्याति कमाएका र नाम अनुसार काम पनि गर्दै आएका जाजरकोटका पूर्व सभासद काँग्रेस नेता राजीवविक्रम शाहलाई एक भेटमा मैले भनेको थिएँ, माननीयज्यू तपाई कर्णाली प्रदेशको मान्छे, नेता पनि , माननीय पनि, अब्बल समाजसेवापनि गरिरहनु भएको छ । यस्तो महासङ्कटको परिस्थितिमा कष्टकर जीवन जिउँन विवस कर्णाली प्रदेशका जनतालाई प्रत्यक्ष सेवा पुग्नेगरी कुनै राहतको प्याकेज लिएर दिन पाए जनता खुशी हुने थिए र तपाई पनि जनताको नजरमा आजीवन धन्यवादको पात्र बन्नुहुने थियो । मेरो एक वाक्यमा उनी कन्भिन्स भए र तुरुन्त मोबाइलमा दाताको खोजीमा अभ्यस्त हुन थालिहाले । एक हप्ताको अथक प्रयासपछि चर्चित उद्यमी स्व. प्रभाकर शमशेर जबराकी छोरी माया राणाले प्रदेश अस्पताल सुर्खेत र कुमारी ट्रस्टको बिचमा समन्वय गर्ने आश्वासन दिएको जानकारी समाजसेवी शाहबाट मलाई प्राप्त भयो । तत्पश्चातको घनिभूत छलफलपछि हामी खाद्य भन्दा स्वास्थ्यलाई ध्यान दिने निश्कर्षमा पुग्यौ । हाम्रो माग बमोजिम माया राणाले शाहको ‘कुमारी फाउन्डेसन’ लाई कर्णाली प्रदेशका १० वटा जिल्ला अस्पतालका लागि जरुरी स्वास्थ्य सामाग्री उपलब्ध गराइन । ४÷५ दिनको निरन्तर प्रयत्नपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पास उपलब्ध गरायो । अनि हामीले सरकारले जारी गरेको लकडाउन नियमलाई उच्चरूपमा पालना गर्दै सुर्खेत जाने निधो ग¥यौं । अघिल्लो दिन स्वास्थ्य सामाग्री ट्रकमा पठायौ । भोलिपल्ट ०७७ जेठ ७ गते ६ः३५ बजे मन्त्रालयको अनुमति अनुसार राजीवविक्रम शाह, मोतीराज बम, ई.हरेराम दवाडी र भरतबहादुर मल्ल राजीव शाहको ल्याण्डक्रुजर गाडीमा थापाथलिबाट कर्णाली प्रदेशको राजधानी सुर्खेततिर लाग्यौं । पासमा तारा शाहको पनि नाम थियो तर के कारण हो उनी आइनन् काठमाडौमै बसिन । गाडी शाह आफैंले हाके ।

बन्दाबन्दी सम्बन्धि सरकारको कडा आदेशले यात्रामा कतै अबरोध हुन्छ कि भित्रभित्रै त्रास पनि थियो । सचेतनाका सुत्रहरु हामीले भरपुर अपनाएका थियौं । सडक खाली भएकोले गाडी फुक्काफाल थियो । गाडिको गति जति तीब्र थियो त्यो भन्दा तीब्र हाम्रो धड्कन दौडिएको थियो । नागढुङ्गामा के पो हुन्छ ! पुलिसको केरकार कस्तो हुने हो ! यस्तै यस्तै ! तर समाचारमा भनिए भन्दा ठिक उल्टो त्यहाँ कुनै कडाइ भएन । सामान्य चेकजाचपछि अगाडि लाग्यौ । ‘हुन त पास र स्वास्थ्यको सामान भनेपछि अवस्था खुकुलो पनि हुनसक्छ ।’ त्यहाँदेखि त फिलिली ….।

बाटोभरी राजीव शाहका जवानी अङ्कुराएका उद्यान र डेटिङ स्पटहरुको सुरम्य पिउदै मस्तसित गफिदै नारायणघाट पुगेको पत्तो नै भएन । नारायणघाटमा रेडियो नेपालका अधिकृत, पत्रकार समीरजङ्ग शाहले खानाको बन्दोबस्त मिलाएका थिए । नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र रेडक्रसकर्मी कृष्ण ढकालले चितवन मेडिकल कलेजको क्यान्टिनमा हामीलाई भोजन गराए ।

कोरोनाको डर त थियो तर प्रबन्ध चाहिँ राम्रै मिलाएका थिए । पूर्व परिचित थियौं हामी, पुनः परिचय रिन्यु ग¥यौ । डाइनिङ टेबुलमा नै समग्र राजनीति, पार्टीका आन्तरिक कुरा, कोरोना कहर र बन्दाबन्दिको अपरिहार्यताबारे कटु टिप्पणी पनि गर्न भ्यायौ । काठमाडौबाट २ घण्टामा चितवन पुगेका हामी सुर्खेत अपेक्षाकृत छिटो पुगिन्छ भनेर निकै हौसिएका थियौ । दीपक र कृष्णजिसँग खुबै गफिने मुड हुँदाहुँदै लकडाउन फोबियाका कारण छुट्टियौ ।

अलि भिन्न खालको छु म । मेरा थुप्रै कमजोरी छन । आफैंलाई बिर्सिदिन्छु कैले । गम्भीर र हल्का चिन्दिन कैलेकाँही । तर खै किन हो लोप्रोफाइल प्रोटोकल रुचाउँछु म । आत्मश्लाघा जीवनको सबैभन्दा निन्दनीय कुरा हो ठान्छु म । मेरो सिट अघिल्लो थियो । माननीय शाहकै छेउमा । सिटबेल्ट अनिवार्य बाध्नु पर्नेरहेछ त्यो गाडीमा । बाधेन भने सिग्नल दिइहाल्ने । तर अफसोस म जति पटक झरे उक्लिदा बाध्ने याद गरिन । सिग्नल बज्थ्यो अनि राजीव राजा भन्थे, राजा सिटबेल्ट ।

सुर्खेतसम्मै यो क्रम चल्यो । यो सत्य हो, जीवनकै रोचक कहानी बन्यो यो घटना । किमार्थ मेरो लापरबाही थिएन तरपनि भयो यस्तै । अत्यन्तै बिस्मित छु म । नागढुङ्गा कटेपछि केही खुल्ला महसुस त भएको हो तथापि बाटोमा पर्ने अन्य शहरहरुमा कोरोना कहरको नियम अत्यन्त कडा होला । प्रहरी चेकजाँचको हैरानी कहाँ–कहाँ खेप्नुपर्ने हो बाटोभरी तनावै तनाव होला । तर नवलपरासीको गैंडाकोटदेखि बाँके बर्दियाको बबईसम्म चेकजाँच त के प्रहरीको नामोनिशान नै भेटिएन भन्नुपर्छ । फाट्टफुट्ट भेटिएका चेकपोस्टका प्रहरीहरु बिल्कुल जागरलेस थिए । टाढैबाट संकेत गर्थे ‘भो पर्दैन जानुहोस ।’

पत्रकार जयसिंह केसी, तरुण नेता लुटबहादुर केसी, काँग्रेस नेता कृष्ण कार्की, भानुभक्त भट्टराई लगायतका साथिहरु हामीलाई खाजा खुवाउन कोहलपुरमा प्रतीक्षारत थिए । बाँकेको नरैनापुर गाउँमा एकैदिन ५० भन्दा बढी मान्छे कोरोना सक्रमित देखिएपछि नेपालगन्ज पुरा आतंकित बनेको थियो । बाँकेको ढुङ्गामाटो, रुखबिरुवा, हावापानी, घाममा पनि कोरोना छ कि सन्त्रासले मन अमिलो बनेको थियो । प्रतीक्षारत साथीहरूसँग कोहलपुर धिताल पेट्रोलपम्प नजिकै घरमा चिसो पानी र तातो चियाको स्वाद मेट्यौ । नेपालगन्जमा जेठमा त उखापात गर्मि हुनुपर्ने हो तर गर्मीको महसुस त्यति भएन ।

लाग्यो ल ‘लु’ लाई समेत माथ गर्ने कोरोनाले गर्मि ह्वात्तै घटाएछ । त्यहाँ एक घण्टको बसाइमा साथीहरुका कुरा सुन्दा पार्टीमा टिम छ टिम भित्र पनि उप टिम छ भन्ने अनुभूत गरियो । हुनत यो कोरोना स्थापनाकाल देखि नै पार्टीभित्र मजबुत जरा गाडेर बसेको छ । तापनि राजनीति हो चल्छ चलिरहन्छ भनेर उति वास्ता गरिन मैले । कोहलपुर पुग्दा त्यस्तै साढे चार पाँच बजेको हुँदो हो । त्यहाँबाट बिदा भयौ । कर्णाली प्रदेशको प्रवेशद्वार बबईमा पुलिसको चहलपहल राम्रै देखियो । थर्मलगनले हाम्रो तापक्रम नापियो । सबैको नर्मल थियो । गाडीमा स्प्रे गरे पुलिसले । गाडीमा सेनिटाइजर छर्कने सल्यानी हवल्दारसँग सामुहिक फोटो खिच्यौ । उनको खटनपटन हेर्दा प्रहरी उनी मात्र हुन् उनले मात्रै कर्तव्य पालना गरेका छन भन्ने लाग्यो । नाम थाहा भएन थर केसि हो उनको । स्यालुट हवल्दारसाप । सुर्खेतमा कान्तिपुर पब्लिकेसन्सका कर्णाली ब्यूरो प्रमुख चर्चित पत्रकार भाइ कलेन्द्र सेजुवालले हामीलाई भ्यालिभ्यू होटलमा खाने र सिटिभ्यू होटलमा बस्ने व्यवस्था गरेका थिए । सुर्खेती युवा समाजसेवी तथा व्यावसायि पूर्णदेव अधिकारीले स–शरीर उपस्थित भएर सघाए हामीलाई । त्यो रात एक्लै सुते म भरत गाएव… ।

जेठ ८ गते ३ बजेतिर जिल्ला अस्पतालको सामान लिएर कालिकोट हिड्यौ । हामी चारजना मोतीराज बम, भरतबहादुर मल्ल, सिर्जन शाही र प्रकाश शाही जुम्लाको साथी । पासको व्यवस्था प्रदेश अस्पताल सुर्खेतका प्रमुख डा. डम्बर खड्काले गरिदिए । सुर्खेत अस्पताललाई ७० लाख बढीको स्वास्थ्य सामाग्री दाता आफैले हस्तान्तरण गर्नु पर्ने भएकोले शाहको टोलि सुर्खेतमै बस्यो । अन्तर्राष्ट्रिय कुक (पकुवान) मनराज शाहीले जिब्रोमै टास्सिने गरि बनाइदिएको बाटोको खाना छाक्मिस्या ( गहुँ र कोदोको पिठो मिसाएको) रोटि र आलुको अचार सियाकोटको पान्धारामा खाँदा सित्ती मिठो त भएन । जय होस मनराज शाहीको । सुवाछेडामा २४ किलो काँक्रा किने सिर्जनले । बुढिमाउको सोमत प्रसंशायोग्य थियो । बाटोभरी पुलिसलाई सेनिटाइजर र मास्क बाँढ्दै हाँसी मजाक गर्दै राती १२ बजे कालिकोट मान्म पुग्यौं । काग्रेस नेता नन्द शाही (घमान) र धर्मा शाही हाम्रो आगमन पर्खिरहेका थिए । लोकल पाब्णोसँग लोकल भात यस्तरी लागेछ एकैचोटि ९ बजे आँखा खुले ।

जेठ ९ गते अलि चाँडै सुर्खेतमा दाता राजीव शाहले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सामाग्री हस्तान्तरण गरेको समाचार बज्यो । हामीपनि हतारियौ । किनकी हामीले ल्याएको जीप नै जाजरकोट जाने कुरा थियो । १ बजे तय भयो कार्यक्रम । जिल्लामा उपलब्ध पार्टीका साथीहरुलाइ खबर गरे । साथी भरत र म जिल्ला अस्पताल पुग्यौं । पार्टीका साथीहरू दमन शाही, यसोधा शाही, नन्द शाही, खड्गजङ्ग शाही, कुर्मराज बम, सबिन बिष्ट, जगतजङ्ग बिष्ट, हरिश बोगटी र पत्रकारहरु भरतराज बिष्ट, पुष्पराज भट्टराई, पहाडी खडानन्द अधिकारी लगायत थिए । मैले पनि मेरो पहलमा उपलब्ध भएको राजीव शाहको लगानी त्यही दिन कालिकोट जिल्ला अस्पताल प्रमुख डा. भिष्मप्रसाद पोखरेललाई सामुहिक रुपमा हस्तान्तरण गरे । उक्त हस्तान्तरण कार्यक्रममा डा.नहकुल शाही, जिल्ला जनस्वास्थ्य प्रमुख कटकबहादुर महत लगायत अन्य डाक्टर र कर्मचारी पनि उपस्थित थिए । कोरोना बिरामीको लागी ५० शैय्याको अस्पताल बन्दैरहेछ कालिकोटमा । बेड एउटा पनि रहेनछ । ५ वटा बेड दिएपछि औधी प्रसन्न भए डाक्टर, जिस्वाका प्रमुख र कर्मचारीहरु । ४५ बेडको खाँचो अझै छ । यस्ता सहयोगी हातहरु अझँै उदात्त भएर फैलिउन जिस्वाका प्रमुख कटकबहादुर महत दातालाई हौस्याउदै थिए । मलाई ४ लाख बराबरको सामान जिल्ला अस्पताललाई दिएको खुसी भन्दा पनि कालिकोटकै नागरिक अस्पताल प्रमुख, जिस्वाका प्रमुख र डाक्टर भएको देख्दा गर्वले छाती गमक्क भयो मेरो । धन्न झरेनन् हर्षका आँसु । स्यावास ! भने उनीहरुलाइ । तर ज्यानको बाजि थापेर खटिएका ती स्वास्थ्यकर्मिलाई जनप्रतिधिबाट कुनै सहानुभूतिसम्म प्राप्त नभएको देख्दा निकै दुःख लाग्यो । बेरोजगार नेताको त कुरै छोडौ । तपाईंको रक्षा भगवानले गर्छ्न तर आख्ला नमार्नुहोला मेरो स्यालुट र समर्थन छ ।

त्यहाँ मैले सामान प्रोभाइट गर्दै गर्दा अस्पतालको कुनातिर नाक खुम्च्याउने एउटा महिला कर्मचारीको रौद्र अनुहार देख्दा ज्यादै घृणा लागेर आयो । ‘आरिसको पनि सिमा हुन्छ आरिसले सिमा नाघ्यो भने त्यो बेवारिस हुन्छ’ भन्नेसम्म हेक्का रहेन छ तिनलाई । त्यही साँझ भरत र म साबिक पाँखा गाबिसको बिर्तामोड गयौ । खाडाचक्र नपाको वडा नम्बर ८ मा केहि प्याक चामल राहतस्वरूप बाड्ने योजना थियो हाम्रो । नेकपा जिल्लास्तरको उपल्लो दर्जाका नेता चित्रसिंह गाउँलेको चिटिक्क परेको एक्लो घर छ बिर्तामोडमा । त्यो रात त्यै घरमा कटनी भयो ।

‘गाउँले’ बहुआयामिक र बहुप्रतिभाशाली व्यक्तित्व हुन् । पत्रकार, कवि, गीतकार, सङ्गीतकार, नेता, उद्घोषक उनका थुप्रै परिचय र विशेषण छन् । त्यहाँ पुग्दा त अर्कै चमत्कार भेटियो । उनी मात्र होइन सिङ्गो परिवारमा नै विलक्षण प्रतिभा रहेछ । तिला नदीको असला माछाको खिरिलो झोलसँग चिल्या गहुँका रोटिले बिछट्ट मिठ्याएको मुख कोदोको ठ¥राले चरक्क घाँटी चिर्दा एकछिन त ठुसुक्कै मन म¥यो । धन्न टाउको भलक भलक भल्केन । जे होस खाना मस्तले खाइयो । हातमुख चुठेर सुत्ने बेला ‘गाउँले’ जि त जुँघा मुसार्दै भन्न थाले– आज दोहोरी खेल्ने ?को सँग ? म अन्यमनस्क हुन्छु ।
छोरी बिपनासँग नि ।
जवाफ सहज आउँछ म छक्क पर्छु !
ठ¥राले ठस्ठस्ती गन्हाउदै भरत उफ्रिन थाल्यो । ‘ओके गूड् भिनाजु आज बमको पाता कस्छन मेरि भान्जी’ कान फालेर सुन्न तम्तयार भैहाले अक्कल मल्ल । आमा जर्मा सिंह झन हौस्याउन थालिन् छोरीलाई । एक्कासी गज्जब ढंगले माहोल मोहक बनेर आयो घरमा । भाका ‘ताल्मोरा’ फाइनल भयो । हामी जम्यौ दोहोरिमा । ताल्मोराबाट शुरु भएको दोहोरी ‘राइझुमा’ मा पुग्दा निकै उत्कर्षमा पुग्यो । सवाल–जवाफमा बिछट्ट सिपालु रहिछन् बिपना । कला र गला उत्तिकै बेजोड, दमदार प्रस्तुति, ओजपूर्ण शब्द रचना, उठान र बिसानको तादात्म्यता पनि सारै लोभलाग्दो । गाउँमा गाउँलेको घर महफिल बन्यो त्यो रात । गाउँकै विद्यालयमा कक्षा ९ मा अध्ययनरत बिपना सिंह प्रखर कला अद्भूत क्षमता भएकी एक प्रतिभावान चेलि हुन् । आमा जर्मा भन्दै थिइन् यो त भविष्यमा कि गायक , कि अधिवक्ता, कि राजनीतिज्ञ बन्छु भन्छे । कुरो मनासिव लाग्यो । यत्तिको उमेरमा पोइल गएर बुहार्तन सम्हाल्नु पर्ने समाजमा यिनको लक्ष्यले सदियौदेखि समाजमा जकडिएको असमानता अन्त्यको सपना कुनै चानचुने लागेन मलाई ।

हरियो रङको स्नेहजडित गाउँलेको घरमा अर्को एकदिन बसौ भन्ने त लागेको हो । तर देशको विषम परिस्थिति र कोरोना कहरका कारण तुरुन्त काठमाडौ फर्किहाल्नु पर्ने भएकोले फर्किनै पर्ने भो । उनी त्यही थिइन् । भौतिक शरीर त्यही थियो उनको सुमधुर आवाज साथमा लिएर हिंडे म । कति छिट्टै सौराइ लाग्यो उनको । सुर्खेत पुग्ने बित्तिकै मेरा दुइटै कानमा त्यही सुरिलो आवाज र गीतको अन्तरा बज्न थाल्यो ।

सिजा राज्य चलायाका मल्ल हुन मावली
सौराइलाग्या भनिअल्नु बिपना काँ-होली ।