Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

गरिबीको गन्ध – कथा

प्वाट प्वाट आवाजसँगै चसक चसकको दर्द पनि पानसराको हात हुँदै दिमागसम्मै पुगेको पानसरा र पानसरा जस्तै गिट्टी कुट्नेहरुलाई मात्र थाह होला । झुप्रा खोलाको किनारमा पानसराले गिट्टी कुट्न थालेको दशक पुग्न लागिसक्यो । पानसराले कुटेको गिट्टीबाट धेरैका घर बने र फेरियो उनीहरुको बासस्थान । तर पानसराको जीवन भने अझैँ पनि फेरिएको छैन । फेरिएको छैन उनको दैनिकी पनि । झट्ट हेर्दा २ बीसै १० की जस्तै देखिएपनि १ बीसै १० पनि पुगेकी छैनन् पानसरा ।

गिट्टी कुटेर आम्दानी
तस्वीरः गुगलबाट

दुई तीन ठाउँमा च्यातिएको चोली । त्यही च्यातिएको चोलीलाई ढाक्नका लागि एउटा हरियो रंगको पछ्यौरा टिमिक्क पारेर कख्रेलीमुनी बेरेकी छन् पानसराले । छिटको लुङ्गी त्यस्तै पाँच – छ ठाउँमा सेतो घागोले आफैले तुनेको स्पष्ट देखिन्छ । गिट्टी कुट्दा–कुट्दा पानसराका हात त्यो फलामको हथौडा जत्तिकै दरा भइसकेका छन् । आजभोलि त जति कुटेपनि उनका हात दुख्न छोडिसकेका छन् ।

उनको दुःखमा साथ दिने अरु कोही छैन । बेला बेलामा ‘आमा भोक लाग्यो’ भन्ने एउटा छोरी बाहेक । गिट्टी कुटन थालेपछि जन्मिएको हो त्यो छोरी । आमाको दुःख र गरिबीलाई के बुझ्न सक्थि त्यो अबोध बालिकाले । भोक लाग्यो भने रोइदिन्छे । एकसरो फ्रकले आफ्नो माथिल्लो ज्यान ढाकेकी पानसराकी छोरी अञ्जानमै भएपनि साना–साना ढुङ्गा बटुल्न भने सहयोग गर्छे ।

गिट्टी निर्माणार्थ ढुङ्गामा बज्रिनु पर्ने हथौडा सयौं पटक पानसराका औलामा बज्रिएको छ । उसका औलाहरु आफ्नै हातले हानेको हथौडाका कारण कयौं पटक फुटेका छन् । रगत बगेको छ । कति कट्ठा गिट्टी त पानसराको रगतसँग लत्पतिएका छन् । एक कट्ठा गिट्टीको २० रुपैयाँका दरले २० क्टठा गिट्टी बेचेर ४ सय रुपैयाँ हात पर्दा उनले ती सबै दुःख बिर्सिन्छिन् । त्यही पैसाले पुछ्छिन् मनको अन्तरकुनामा आएको पसिना र किन्छिन् अलिकति चामल र मेटाउछिन् आफ्नो र छोरीको भोक ।

जिन्दावाद ! जिन्दावाद ! कता कता पानसराको कानमा आवाज गुन्जिन्छ । गिट्टी कुट्न छोडेरै भएपनि हेर्छिन दायाँ बायाँ । भुच्चोकको पुल हुँदै एक हुल मान्छे नारा जुलुस गरेर आइरहेका छन् । हात–हातमा झण्डा बोकेका छन् । हेर्दा सबै सुकिला मुकिला देखिन्छन् । कुनै पाटीको कार्यक्रम होला । कोही ठूलै नेता आउने होलान् त्यही भएर होला । मनमनै सोच्दै फेरि आफ्नो कर्ममा तल्लिन हुन्छिन् पानसरा ।
खटङ्–खटङ् । टिट्–टिट् गर्दै ट्याक्टर आयो । खोलामा बालुवा र गिट्टी लिनका लागि ट्याक्टर आयो भने बालुवा चाल्ने र गिट्टी कुट्नेहरु चनाखा हुन्छन् । नहुन् पनि कसरी पानसरा जस्तै आफ्नो र सन्तानको भोक मेटाउनु छ सबैलाई ।

हेर्दा अधबैंसे जस्तै देखिने हातमा कालो चश्मा बोकेको एउटा जुङ्गामुठे पानसराले जम्मा पारेको गिट्टी नजिकै पुग्छ । ‘यो गिट्टी तिम्रो हो ?’ उसको प्रश्न झर्न नपाउँदै ‘हो हजुर हो ।’ पानसराले जवाफ फर्काउँछिन् ।

‘कसरी हो ?’
‘कट्ठाको २० रुपैयाँ ।’
‘अलि मिलाउन मिल्दैन ?’
‘रेट नै त्यही हो हजुर ।’
झुप्राखोलामा बालुवा र गिट्टी किन्न जानेहरु सबै दररेटको बारेमा जानकार हुन्छन् । तर यस पटक आएको यो नयाँ मान्छे हो । नयाँ ठेकेदार, हर्कमान ।

एक्कासी हर्कमानको नजर पानसराका हातमा पर्छ । गिट्टी कुट्दा–कुट्दा पट्पटी फुटेर पानसराका औलाबाट रगत आएको देखेपछि हर्कमानको मन कटक्क खान्छ । त्यसपछि पानसराको दुःख बुझ्ने मनसायले हर्कमान बस्छ । ‘तिम्रा औलाहरु त नराम्रोसँग फुटेछन् त रगत पनि आएको छ ।’ ‘यस्तै हो हजुर, यी ढुङ्गा फुटाल्न आफ्ना औलाहरु पनि फुटाल्नुपर्छ नत्र यी ढुङ्गाहरु गिट्टी बन्दैनन् क्यारे ।’ पानसराले सजिलै जवाफ फर्काइन् । ‘कति भयो यसरी गिट्टी कुट्न थालेको ?’ हर्कमानले फेरि प्रश्न गर्छ ।

आफ्नो दुःखको बारेमा जान्ने चासो देखाएको पानसराले बुझिहालिन् । अनि आफ्नो गिट्टी किनिदेला भन्ने आशामै आफ्नो सुखदुःखको पोको फुकाएको पानसरालाई पत्तै हुँदैन ।

मैले यो खोला छेउमा गिट्टी कुट्न थालेको त करिब १० वर्ष जति भयो । त्यो भन्दा पहिले म जुम्लामा थिएँ । जुम्ला शिजाका चौतारिया खलककी छोरी हुँ । जुम्लामा निकै रवाफ जमाएको खलक हो चौतारिया खलक । हातमुख जोर्नका लागि कसैको भर पर्नु पर्दैनथ्यो मेरो माइती खलकलाई । कपडा त के गहनाको समेत अभाव थिएन । चौतारिया खलक भनेपछि सबैका नजर झुक्थे मेरो बा, बुबु (हजुरबा) का अगाडि ।

एकदिनको कुरा हो । म भेडी गोठाला गएकी थिएँ । भेडाहरु मस्त चरिरहेका थिए । नराकोट मुखियाको नाती कालिकोट जानका लागि आइरहेको रहेछ । मलाई खयरका रुखको शिलतमा बसिरहेकी देखेपछि ऊ नजिकै आयो र सोध्यो ‘यी यतिका भेडा कसका हुन् ?’
‘जेठा चौतारियाका ।’ मैले छोटो जवाफ दिएँ ।

केही पाइला अगाडि गएपछि फेरि फर्कियो ऊ । ‘बेच्न्या जाग्ना छन् ?’
‘त्यो त बा कन थाहा होला ।’ मेरो जवाफले ऊ अल्मिलियो ।

त्यसपछि उसले अलि धेरै कुरा ग¥यो । कुरै कुरामा हाम्रो परिचय भयो । उसको नाउँ बलबहादुर रहेछ । कहिले जाग्ना किन्ने निहुँमा, कहिले खयर किन्ने निहुँमा ऊ मेरो घरतिर आउन थाल्यो । हामी भेट्न थाल्यौ । ऊ मलाई शहरको बारेमा धेरै कुराहरु सुनाउन थाल्यो । आफू व्यापारी, घरको एक्लो छोरो, रुपको सुन्दरतादेखि धनको समेत खुबै वर्णन गथ्र्यो उसले । हुँदा हुँदै हाम्रो माया बस्यो । ऊ क्षेत्रीको छोरो भएपनि म रौतेली (ठकुरीको छोरी) भएपनि खै कसरी हो ऊसँग मेरो मनमुटु साटिएको मलाई पत्तै भएन । त्यसपछि हामी भागेरै विहे गर्ने निधोमा पुग्यौ ।

तीजको दिन उसैलाई पाउनका लागि म ब्रत बसेकी थिएँ । साँझपख शिवजीको पूजा गरि नाच हेर्न जाने योजना बनाएर हिडेकी म अहिलेसम्म जुम्ला फर्केकी छैन ।

तीन दिनको पैदल यात्रापछि हामी दैलेख हुँदै सुर्खेत पुग्यौ । एउटा कोठामा हाम्रो बसाइँको बस्दोवस्त भयो । करिब १ वर्षको बसाइँमा निकै सुखका दिनहरु बितेका थिए हाम्रा । त्यो एक वर्षसम्म पनि मलाई उन (बलबहादुर) ले आफ्नो घर भने लगेनन् । त्यो त मलाई थाह छैन किन त्यसो गरेका । माइतीले त क्षेत्रीसँग भागेको जानिसकेपछि मलाई जिउँदै मरे सरह पारिसकेका थिए । त्यसपछि जति याद आएपनि मैले कहिल्यै माइती सम्झने कोसिससम्म गरिन ।

यो छोरी पेटमा बसेको छ महिना भएको थियो । यसका बा कालिकोट गएका थिए । कालिकोटबाट सुर्खेत आउँदै गर्दा भएको दुर्घटनामा परेर उनी कहिल्यै नफर्किने गरि संसारबाट विदा भए । विहे गरेर एक पटक पनि घर नगएकी म छ महिनाको पेट बोकेर घर जान पनि सकिन । जिउँदै मारिसकेकाले माइतीघर पनि मेरा लागि परलोक जस्तै भइसकेको थियो ।

भाग्यको खेल भनौं या दैवको लिला । त्यसपछि हो मैले यो छोरीको भविष्य र आफ्नो वर्तमानलाई जोगाउनका लागि यो खोलामा बस्न थालेको । सुँक–सुँक रोइरहेकी थिईन् पानसरा । टोलाएर हेरिरहेको थियो हर्कमान ठेकेदार ।

प्रकृतिले वरदान स्वरुप दिएपनि मान्छेले त्यसको व्यवस्थापन गर्न नजानेपछि त्यो अभिसाप हुँदोरहेछ । भगवानले हेला गरे भनेर पुर्पुरोमा हात लगाउँदैमा गरिबी हट्ने होइन । दुःखका दिनहरु घट्नुका साटो बढ्दै जाने रहेछन् । भाग्यलाई दोष त कमजोरहरुले दिन्छन् । त्यसैले ठेकेदार साहेव ! मैले कहिल्यै भाग्यलाई दोष दिने गरेकी छैन । मेरो बुद्धि र समयको खेल हो भन्ने सम्झँदै अहिलेसम्म संघर्ष गर्दै गरिबीको गन्धसँग रमाउँदै बाँचिरहेकी छु ।

आफन्तहरु पनि हुने खानेलाई मात्र हेर्छन । यो राम्रोसँग बुझेकी छु मैले । किनकी चौतारिया खलकमा भएका केही गन्थनमन्थनको जानकार म पनि छु । मान्छेलाई हावापानीले समेत हेप्दोरहेछ । यो गिट्टी कुटेर खाएको समेत सहन नसकेर कहिले पानीले दुःख दिन्छ । कहिले हावाहुरी लागेर यो घाम छेक्नका लागि बनाएको प्लाष्टिकको पाल समेत उठाएर लैजान्छ ।

एकातिर श्रीमान् नभएकोले शारिरीक रुपमा गरिब भएको देख्नेहरु पनि छन् । अर्कोतिर महिला भएकोले पनि होला । हुन त यो देशमा महिला नै राष्ट्रप्रमुख छन् । तरपनि हामी जस्ता महिलाहरुको दिनचर्यामा परिवर्तन आउने आशा गर्नु व्यर्थ छ । भएन भनेर यो उनको नासो पनि छोरीकै रुपमा पैदा भई । अलिकति पिरलो यही लाग्छ । आफूले बुद्धि पु¥याउन नसक्दा भनुँ या बैंसको उन्मादले भनौं । मेरो जीवन त सकियो तर पनि छोरीको जीवनलाई सुन्दर बनाउन सकेको भए यही आशा गर्दैछु आजभोली ।

सुन्दा सुन्दै एकोहोरिएको हर्कमान बीचैमा बोल्छ, ‘खास शिंजाका कुन चौतारिया हुन् नि तिम्रा माइती ?’

भो कुरा नगर्नहोस् ठेकेदार साहेव । यतिका वर्षसम्म छोरी कहाँ गई ? के गरि ? जिउँदै छ या मरि कुनै अत्तोपत्तो नगर्ने पनि माइती हुन्छन् ? १८ वर्षको कच्चा उमेरमा कहाँ गई ? को सँग गई ? भन्ने चासो नराखेर जातीय आडम्बरको खोल ओढेर छोरी जिउँदै मरेको भन्नेहरुलाई कसरी माइती भनुँ ? जन्मको हिसावले भन्ने हो भने जेठा चौतारियाका जेठा छोरा हरिजंगकी छोरी हुँ म ।

‘हरिजंगकी छोरी ?’ हो म हरिजंगकी छोरी हुँ । चिन्नु हुन्छ र ? अलिकति रसिलो देखिन्छ पानसराको अनुहार । बाउको भन्दा पनि आमाको अनुहार आँखामा आइदिन्छ पानसराको । ‘चिन्छु अलिअलि ।’ हर्कमानले भन्यो ।

ए ! मेरी दिदी यिनै रहिछन् । हर्कमानले मनमनै विचार ग¥यो । तर भन्न सकेन पानसरालाई । म पनि हरिजंगकै छोरो हुँ भन्ने आँट आएन उसमा । किनकी पानसराले माइतीप्रतिको आवेग पोखेको देखेको छ उसले ।

पानसराले तयार पारेको गिट्टी सबै किनिदिन्छ हर्कमानले । त्यो पनि पानसराले भनेकै मूल्यमा । गिट्टीको पैसा तिरेपछि एक सय रुपैयाँ पानसराकी छोरीको हातमा थमाउँछ हर्कमान । यो ठेकेदारले किन पैसा दियो मेरो छोरीलाई । पानसराको मनमा चिसो पस्छ । आखिर ऊ त ठेकेदार हो । किनकी छोरीलाई माया गरेको भए त ठीकै छ तर मलाई दयाभावले हेरेर उसले त्यसो गरेको रहेछ भने । पर्दैन हजुर पर्दैन पानसराले रोक्छिन् । ठीकै छ नि बच्चा हुन् के फरक पर्छ । निल्नु न ओकल्नु झैँ हुन्छ पानसरालाई त्यो पैसा ।

अनि तपाइँको घर ? पानसराले आफ्नो भावनात्मक संवेगलाई एकत्रित पार्दै प्रश्न गर्छिन । मेरो घर त बुटवल हो । तर म त्यता पनि ठेक्काको काम गर्थे । केही कुरा ढाँट्दै छ ऊ । त्यसैले अलिअलि चिनेको । यता हर्कमानको मनले चिनिसकेको छ पानसरालाई । हर्कमानकी आफ्नै दिदी रहिछन् पानसरा । आज ऊ पानसराको भाइको रुपमा चिनिन चाहँदैन । तर पनि दिदी र भान्जीको अवस्था हेर्दा निक्कै दुखेको छ हर्कमानको मन । तर पानसराले व्यक्त गरेको माइतीप्रतिको अभिव्यक्तिका कारण हर्कमान पानसराको भाइ भएको कुरा ओकल्नै सक्दैन ।

घ्वार्र स्टार्ट हुन्छ ट्याक्टर । फेरि आउला है हर्कमान फर्किन्छ । एकछिन् रोकिदै अगाडि बढ्दै पानसरालाई हेर्दै जान्छ हर्कमान । पानसरा भने एकोहोरो हेरिरहन्छिन् हर्कमानलाई ।

पानसराको मनमा अनेक थरी आशा, डर र त्रासले शंका जमाएको छ । कस्तो ठेकेदार होला । जसले मेरो बारेमा त्यत्ति विघ्न सुन्न किन चाहेको होला । कतै त्यसले म माथि नराम्रो दृष्टिले त हेरेन । धन हुनेहरुले गरिबलाई अनेक जालमा पार्ने योजना बुन्छन् र गरिबको जीवन माथि खेलवाड गर्छन । आखिर झट्ट हेर्दा त्यस्तो स्वभावको पनि देखिँदैन । कि मलाई चिन्यो र त्यसले ? मनमा यस्तै कुरा खेलाउँदै आफ्नै धुनमा गिट्टी कुटिरहेकी पानसरालाई ‘आमा भोक लाग्यो’ भन्ने छोरीले आवाजले झसंग बनाउँछ ।

यता हर्कमान पनि आफ्नी दिदीको अन्तरकुन्तरको व्यथा सुनेर खपिनसक्नु भएको छ । तर उनले माइती प्रति बनाएको सोचले उसले ‘म तिम्रो भाइ हुँ’ सम्म भन्न सकेन । कति निर्दयी छ समय एउटा चेली र माइतीलाई भेटाएपनि परिचय गराइदिन सकेन । बा ले दिदीको बारेमा भनेका कुराहरु मात्र सुनेको हो हर्कमानले । काठमाडौं बसेर पढ्ने भएकोले दिदी भाइ बीचमा बाल्यकालदेखि नै खासै संगत पनि भएन । पहिलेको भन्दा निकै फेरिएको रहेछ हर्कमान । त्यसैले पनि पानसराले उसलाई चिन्न सकिनन् ।

सानैदेखि काठमाडौंमा बसालेर पढाएका थिए हरिजंगले हर्कमानलाई । घरमा के भयो कसो भयो । खासै केही थाह हुँदैनथ्यो हर्कमानलाई । पानसरा पोइल भागेको बेलामा बा आमालाई सम्झाउन कोसिस गरेको हर्कमान असफल भएको थियो । आज पुनः दिदीलाई भेट्यो तर ‘आफ्नै भाइको अनुहार पनि चिन्न सकिनन् दिदीले ।’ हुन त उनलाई न माइतीको माया छ, न आशा र भरोसा । घरमा बा आमा बुढा भइसकेका छन् । अब मैले दिदीको स्याहार सुसार त गर्नैपर्छ । एउटा फूलको कोपिला झैँ भान्जी छन् । उनको भविष्य निर्माण गर्ने जिम्मा मेरो काँधमा छ । भिनाजु मर्दापनि बा ले त्यहाँ जान दिएनन् । हुन त दिदी पनि आउन सकिनछन् ।

पर्सिपल्ट फेरि पुग्छ हर्कमान पानसराको गिट्टी कुट्ने ठाउँमा । नमस्कार ! ठेकेदार साहेव । झस्किन्छ हर्कमान आफ्नै दिदीले नमस्कारको अभिवादनसहित साहेव लगाएकोमा । उसको एक मनले भन्छ जाउँ र दिदीका पाउ समाउ । तर अर्को मनले रोकिरहेको छ । फेरि दिदीले मलाई पनि त्यही नजरले हेरिन् भने के गर्ने ? पानसराको नजिकै थचक्क बस्छ हर्कमान लामो सुस्केरा हालेर ।

‘के भयो हजुरलाई सास त लामै फेर्नु भो ।’ पानसराले सोधिन् ।
‘थकाई लाग्यो ।’ छोटो उत्तर दियो । एकै दिनमा निकै धेरै गिट्टी कुटिछ्यौ त ।
‘हेर्नुहोस् ठेकेदार साहेव हजुरहरु गाडिमा गुडेर हिड्दा पनि थकाई लाग्छ । तर के गर्नु हाम्रो जीवनमा थकाई भन्ने नै हुँदैन ।’ पट्पटी फुटेका हातले छोरीको कपडा मिलाउँदै पानसराले भनिन् ।

‘तिमीसँगको अस्तिको कुराले मलाई निकै भावुक बनायो । तिम्रो यथार्थताले थकायो मलाई । म थाके’ हर्कमान बोल्दाबोल्दै पानसराले भनिन् ‘मेरो कुराले तपाइँलाई थकाई लाग्यो ? माफ गर्नुहोस् ठेकेदार साहेव । मैले त मनको भारी विसाएकी मात्र हुँ । हामी जस्ता दीनदुःखीको कुरालाई बिर्सिदिनुहोस् ।’

अँ ! एउटा कुरा भनौं । ‘भन्नुस् ।’
‘के तिम्रो माइतीबाट कोही लिन आए जान्छ्यौ तिमी ?’

मुन्टो बटार्दै आँखातिर झरेका कपालका सिसा मिलाउँदै पानसराले भनि, ‘लिन को आउँछ ? एक पटक मरिसकी भनेर काजक्रिया नै गरिसके रे फेरि लिन आउने को छ ? तर एउटा भाइ थियो । आजसम्म त्यो भाइले त खोज गरेन भने अरुको के कुरा । हुन त काठमाडौंमा बसेर पढेको उतै जागिर खाँदैछ होला । आजसम्म त विहे पनि गरिसक्यो होला । उसले पनि भुलिदियो म अभागी दिदीलाई । आफ्नो इज्जतलाई माटोमा मिसाएको भनेर बा आमाले त म मरेपनि मेरो लास नहेर्ने प्रण गरिसकेका छन् । अरु को आउँछ ?’

तप्प–तप्प आँसु खसाल्दै हर्कमानले भन्यो, ‘त्यसो नभन दिदी । म नै हुँ तिम्रो अभागी भाइ हर्कमान ।’

‘हर्कमान’ मेरो भाइ ।
हो दिदी म हरिजंगको छोरा हर्कमान ।

जुरुक्क उठ्छन् बसेको ठाउँबाट दुबैजना । दिदीका खुट्टा समात्छ हर्कमानले । वर्षौपछि भेटेको भाइलाई गल्र्याम्म अंगालो मार्दै डाँको छोडेर रुन्छे पानसरा । पानसराको तल माथि बालुवा चालिरहेका र गिट्टी कुटिरहेकाहरु एक्कासी दौडिदै पुग्छन् पानसराकै छेउमा । ‘मेरो भाइ, मलाई माफ गरिदे । मैले विहे गर्दा बा आमाले इज्जत गएको सम्झे । अब फेरि मसँगको भेटले तेरो पनि इज्जत नबच्ला । किनकी तँ ठेकेदार म गिट्टी कुटुवा । अब मबाट चौतारियाको होइन गरिबीको गन्ध आउँछ भाइ गरिबीको गन्ध । मन हलुका हुने गरि दिदी भाइ अंगालोमै बाँधिएर रोइरहे ।