Loading... आजः २८ श्रावण २०७७, बुधबार । Wednesday 12th August 2020
Trending:

मेयर साहेबलाई चिठी

आरदणीय मेयर ज्यू
सादर नमस्कार ।
हामी वीरेन्द्रनगरवासीहरु अहिलेसम्म कोही सञ्च कोही विरामी छौ तर तपाइँ स–परिवार सहित सञ्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु । हुन त तपाइँ पनि उपचारको क्रममा भारत जानु भएको छ । सञ्चो भयो होला भन्ने विश्वास गर्दै आज बाध्यात्मक परिस्थितिमा परि यो पत्र लेख्ने कोसिस गर्दैछु । आशा छ यो हजुर समक्ष पुग्नेछ ।


मेयर साहेब,
हजुर उपचारको लागि भारततिर जानु र भारतबाट कोरोना नेपाल आउनु संयोग जस्तै भयो भन्दा बढि बोलेको नठान्नु होला । हजुर उता गइसकेपछि यता कोरोना नामको भाइरसले निकै तहल्का पिट्यो । २०७६ सालको चैत्र ११ गतेदेखि सरकारले कोरोनाको ओहोर दोहोर नहोस् भनेर देश पुरै लकडाउन ग¥यो । देश लकडाउन गर्दा औषधी लिन जानेहरुले पनि लकडाउन उलङ्घन गरेको भनेर पुलिसका भाटा खाए । चैते घाममा ठिङ्ग उभिएर सजाय भोगे । जति बेला नेपालमा कोरोना नै फैलिएको थिएन ।

समय बित्दै गयो । स्थानीय सरकारले राहत बाँँड्ने योजना बनायो । दैनिक ज्याला मजदुरी गरेर खानेहरुका चुलामा आगो नबल्ने अवस्थाको सिर्जना भयो । हजुर यहाँ नभएपनि हजुरको नगरपालिका भित्रका वडाअध्यक्षहरु लगत संकलन गर्दै राहतका पोका लिएर गाउँ–गाउँ, वस्ती–वस्ती छिरे । ५ जनाको परिवारलाई १५ केजीका हिसावमा राहत बाँडियो । त्यो १५ केजी चामल ती विचराहरुले कहिलेसम्म पु¥याएर खाए त्यो त मलाई पनि थाह छैन । संघीय सरकारदेखि स्थानीय सरकारसम्मले राहतका ठूलै कुरा गरे । तर मेयर साहेव पाउनु पर्नेले राहत पाए अनि नपाउनु पर्नेले पनि राहत पाए । कतै कुहिएको चामल दिए भन्दै सामाजिक सञ्जालमै चर्चा र परिचर्चाको विषय बन्न पुग्यो । कतै कुखुरालाई चारो दिन त हुन्छ भन्दै राहत थाप्नेहरुका सुनका औठी झल्किँदा साँच्चिकै बालुवा चाल्ने र गिट्टी कुट्नेहरुका आँखा तिरमिराए । हजुर नभएको समयमा यस्तै भयो यहाँ । राहत दिनेहरुले आफ्नै घरबाट ल्याएर दिएको झँै गरे । कसैले दुःखसुख गरेर सारै समस्यामा परेकाहरुलाई लौ न अलिकति भएपनि राहतको महसुस गर भन्दै गर्दा एकद्वार प्रणालीको नाममा विज्ञप्ति निकालेर रोक्ने प्रयास गरे ।

रोजगारको लागि भारतलगायत तेस्रो मुलुक गएकाहरु नेपाल आउन थाले । हाम्रो कर्णाली प्रदेश सरकारले स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरि बबईमै थर्मल गनले ज्वरो नापेर प्रदेश प्रवेश गराउन थाल्यो । नेपालका अन्य प्रदेशमा फैलिए पनि कर्णालीमा आउन डराइरहेको कोरोनाले पनि कर्णालीलाई हेप्यो । जसरी हेप्ने गर्छ काठमाडौंले कर्णालीलाई, ठ्याक्कै त्यस्तै गरि । कर्णाली र भेरीको पानीले पखाल्न सकेन कोरोनालाई । दैलेखको लोहोरे र छामगाढले पनि डुबाउन सकेन कोरोनालाई । भारतमा काम गर्न गएकाहरु मरे पनि आफ्नै माटोमा मरौला भन्ने दृढसंकल्प बोकेर फर्किएका हुन । उनीहरुलाई घर भित्र्याउनु बाध्य थियो । त्यही बाध्यतामा परेर उनीहरुसँगसँगै कोरोना पनि ल्याइयो । बाहिरबाट आउनेहरुलाई विशेष व्यवस्थापन गरेर सबैको परीक्षण गरि संक्रमितहरुलाई छुट्टै व्यवस्थापन गर्न सकेको भए सायद कोरोनाले कर्णालीवासीलाई छुने हिम्मत गर्दैनथ्यो होला । तर त्यसो गरिएन । रोगले ठूला, साना, धनि, गरिब, ज्ञानी, अज्ञानी, पढेलेखेका, नपढेको अनि नेता र जनतामा कुनै भेदभाव नगरि सबैलाई समान देखे झैँ यहाँ राहत बाँड्दा होस् वा परीक्षण गर्दा होस् त्यसरी समान देखिएन र त्यस्तो व्यहार गरिएन ।

कुनै समयमा तपाइँ क्यापसमा विद्यार्थी नेता भएको बेलामा तपाइँ प्रति आश र भरोसा गर्नेहरुले पनि तपाइँलाई वीरेन्द्रनगर नगरपालिकाको मेयर बनाउन निक्कै कसरत गरे । तपाइँलाई निर्वाचनमा विजय बनाउनका लागि वीरेन्द्रनगरवासीले साँच्चिकै ठूलो योगदान दिए । तपाइँका प्रतिद्वन्द्वीको अगाडि तपाइँ युवा, जोसिलो, जुझारु, मिसन र भिजन भएको नेता देखे । राजनीतिक सिद्धान्तलाई एक मिनेट विर्सेर भएपनि तपाइँको चुनाव चिन्हमा मतदान गरे । त्यो मतदानको बदलामा तपाइँबाट उनीहरुले जुन प्रतिफलको आशा गरेका थिए आज त्यो निराशामा परिणत भएको छ । यसैमा दुःखी छन् वीरेन्द्रनगरवासीहरु ।

हुन त तपाइँ उपचारको लागि जानु भएको हो । उपचार गर्ने अधिकार तपाइँलाई छ । तपाइँको पनि व्यक्तिगत जीवन छ । यहाँ मानव अधिकारदेखि स्वतन्त्रताका हक अनि नागरिक अधिकारका कुरा पनि छन् । तिनीहरुबाट तपाइँ बञ्चित हुनुपर्छ भन्ने मेरो आशय होइन । विश्व नै बन्दाबन्दी भएको बेला तपाइँ मात्र आफ्नो नगर फर्किन सक्ने कुरै भएन । फेरि तपाइँ ती अन्य कर्णालीवासी झँै रोजगारी गर्न गएको पनि होइन । त्यसरी दुःख सास्ती खेपेर आउनु पनि भएन । पद, प्रतिष्ठाको कुरा हुन्छ ।

मेयर साहेब
मेरा यी शब्दहरु पढेपछि तपाइँ भन्नुहुनेछ मैले त कार्यबहाक छोडेर गएको थिएँ । हो हजुरले कार्यबहाक छोडेर जानु भएको थियो । तपाइँका कार्यबहाकले धाने वीरेन्द्रनगरको कार्यलाई । उनले त्यति पनि नगरिदिएको भए वीरेन्द्रनगर साँच्चिकै असहाय भइसक्थ्यो । यो ‘कार्यबहाक’ भन्ने अलि पढेलेखेकाहरुले बुझ्ने शब्द हो । कोरोनाको कहरमा परेकाहरु हुन कि योजनाको मारमा परेकाहरु हुन् । जहाँ पनि तपाइँका कार्यबहाकलाई देखेपछि संघदेखि प्रदेश र स्थानीयमा समेत तपाइँ किन आउनु हुन्न भनेर हेर्ने गर्दछन् । यतिबेला वीरेन्द्रनगर बासीहरु भन्दैछन् निर्वाचन त फेरि पनि आउँछ होला । सायद मेयर साहेव त्यसैबेला आउनु हुन्छ होला ।

हजुर सुर्खेत उपत्यका नगर विकासको पनि अध्यक्ष हुनुहुन्छ । अध्यक्ष त हजुर धेरै ठाउँमा हुनुहुन्छ होला । तर सरकारी सम्पत्तिको संरक्षण गर्ने स्थानको अध्यक्ष भएकोले जनताले अलि धेरै त्यतै आँखा लगाउँदा रहेछन् । नीति, नियम र कानून सानालाई मात्र लाग्ने रहेछ । सानालाई ऐन र ठूलालाई चैन त्यसै भनेका रहेनछन् । अहिले आएर बुझ्दैछन् वीरेन्द्रनगरवासीले । नगर विकासकै अधिनमा रहेको घण्टाघर नजिकको जग्गामा बन्दै गरेको संरचनाको बारेमा हजुर कत्तिको जानकार हुनुहुन्छ मलाई थाह छैन । तर हजुरको अनुपस्थितिमा खै कसरी हो त्यो जग्गा एउटा प्रतिष्ठानलाई दिइयो । सञ्चार माध्यमहरुले समाचार लेखेपछि प्रक्रिया नपुगेको भनेर काम रोकिएको छ । हजुर कहिले आउनुहुन्छ र प्रक्रिया पु¥याउनु हुन्छ ?

विश्वलाई कोरोनाले थिलो–थिलो पारेको अवस्थामा सरकारी जग्गा माथि आँखा लगाउनेहरु पनि रहेछन् । हुन त भू–कम्प गएको बेला सहयोगस्वरुप आएका कर्कटपाता नै बेचेर खाने मान्छेहरु छन् हाम्रो देशमा । ठाउँ पाएभने लास माथि राजनीति गर्ने मान्छेहरु छन् हाम्रो देशमा ।

कसैको नाममा प्रतिष्ठानको स्थापना हुनु अथवा मृतकले गरेको योगदानको कदर गर्नु नराम्रो होइन । कुरा प्रष्ट छ । आफू मरेर पनि अरुलाई बचाउने महान हुन्छन् । हजुरलाई पनि थाहै होला हजुर आफू मरेर देश जोगाउने अझ महान हुन्छन् भन्ने कुरा । जसको योगदान जहाँ छ त्यही कदर हुनुपर्दछ । सायद त्यसैले होला नेपाल भारतमा रामको पूजा गरिन्छ लंकामा रावणको पनि मन्दिर निर्माण गरिएको छ । लंकाको लागि रावणले जति गरेको थियो । त्यसमा उसको योगदान जति थियो त्यसलाई त्यहाँका बासिन्दाले अहिले पनि भूल्न सकेका छैनन् । भुल्नु पनि हुँदैन । कुनै समयमा आफू मरेर अरुलाई बचाउन महान क्याप्टेनको सम्झनामा पार्क नै बनाउनु छ भने जहाँ दुर्घटना भएको थियो त्यहाँ बनाएको भए उनको आत्माले साँच्चिकै शान्ति पाउथ्यो होला । त्यहाँ पर्यटकीय विकास पनि हुन्थ्यो होला । तर प्रदेशको राजधानी वीरेन्द्रनगरको मुटु मानिने स्थानमा रहेको सरकारी जग्गामा कसरी आँखा लाग्यो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्राहलय बनाउने कुरा होस् कि भानुभक्तको घरलाई संग्राहलय बनाउने कुरा होस् । इतिहासलाई पनि हेर्नु पर्छ । नजिरहरु राख्न सक्नु पर्छ । घाँसी कुरा सर्लाही सिराहतिर बनाए पनि त हुने थिएन र । तर किन तनहुँमै बनाउनु परेको भन्ने कुरालाई दृष्टिगत नगरि हजुरका कार्यबहाकले पद र शक्तिको आडमा जे आदेश गर्नुभयो त्यसले वीरेन्द्रनगरवासीको मन सारै नराम्रोसँग कुँडिएकोछ ।

मेयर साहेब,
हजुरलाई थाह छ नि । संघीयताको सूरुवात हुने बेलामा वर्तमानको कर्णालीलाई सुदुरपश्चिमको हाता भित्र रेखाङ्कन गरेको कुरा । त्यति बेला निकै ठूलो आन्दोलन भएको थियो । चार जनाले आफ्नो प्राणको आहुति दिएका थिए । तिनीहरलाई सरकारले समेत शहिद घोषणा गरेको छ । कर्णाली प्रदेश तिनै चार जनाको रगतले सिमाङ्कन भएको हो भन्ने कुरालाई तपाइँ र तपाइँ जस्तै जनताबाट चुनिएकाहरुले कति छिट्टै बिर्सिएका नि । प्रदेश सरकारले प्रदेश स्थापना दिवस मनाउने निर्णय बाहेक ती शहिदहरुका लागि केही गर्न सकेको छैन भन्ने कुरा जनताका अगाडि घाम जत्तिकै छ । आन्दोलनको सुत्रपात भएको अनि घटना घटेको र प्रदेशको राजधानी समेत भएको नगरपालिकाको नगरपिताको हैसियतले हजुरले ती शहिदको सम्मानका खातिर के गर्न सक्नुभयो ? सरकारी कार्यालयहरुमा, प्रदेशका मन्त्रालयहरुमा तिनीको फोटो नराखी नहुने भएकोले लाजले पनि फोटो राख्नु भएको हो जस्तो लाग्छ ।

परिवारको सदस्य गुमाउदाको पीडा, आफ्नो अभिभावक गुमाउदाको पीडा अनि आफ्नो सिन्दुर पुछिदाको कुराको आफ्नो काख रित्तो हुँदाको पीडा शब्दमा व्यक्त गर्न त सक्दिन म । तर पनि मेयर साहेव फेरि एक पटक अनुरोध गर्दछु हजुर आफ्नो नगरमा फर्केपछि एक पटक घण्टाघरको छेउमा बन्न लागेको पार्कको अवलोकन गरिदिनु होला । त्यसपछि एक पटक गोपाल सिंह रजवारका छोराहरु, टिकाराम गौतमकी श्रीमती र उनका भविष्यविहिन बनेका बच्चाहरु याम बहादुर बिसीका आमा बाबुका रित्ता काखहरु, हरिबहादुर कुँवरको सुनसान आगन पनि हेरिदिनु होला ।

हजुर त नगरपिता पो त । हजुरलाई नै अभिभावक स्वीकार गर्दै वीरेन्द्रनगरवासीले भोट दिए । आज हजुरकै नगरभित्र प्रक्रिया नपु¥याइ पदको दुरुपयोग हुँदा हजुरलाई नै पत्तो छैन । आज कोरोनाबाट हजुर नगर आक्रान्त हुँदा हजुर सीमा पारी बस्नु भएको छ । जतिबेला अभिभावकको खाँचो हुन्छ त्यति बेला अभिभावकत्व निर्वाह गर्न सक्नु पर्छ । लगन पछिको पोते के काम भन्ने उखान त्यसै चरितार्थ भएको होइन मेयर साहेव ।

अब आउने निर्वाचनमा हजुरले गत निर्वाचनको घोषणापत्र पनि बोक्नु होला है । किनकी हजुरलाई वीरेन्द्रनगरवासीले सोध्नेछन्, मेयर साहेव के के काम गर्नुभयो हजुरले एक कार्यकालमा ? त्यतिबेला हजुरले बाटाहरु बने, घरहरु बने, गाडि किनियो, कोरोना महामारीमा जनतालाई राहत बाँडियो भनेर जनताले छुट दिने छैनन् । बाटाहरु बन्नु नियमित प्रक्रिया हो । के जनप्रतिनिधि विहिन २० वर्षको समय चक्रमा कहिँ कतै बाटाहरु बनेनन् ? के जनप्रतिनिधि नभएको अवस्थामा सरकारी घरहरु बनेनन् ? के जनप्रतिनिधि नहुँदा सरकारी गाडिहरु किनिएनन् ? यी नियमित हुने प्रक्रियाहरु हुन् हुँदै जान्छन् । तर तपाइको कार्यकालमा मैले गरेका कामहरु यी – यी हुन् भनेर जनतालाई हिसाव दिनु पर्नेछ । कोरोनाले च्यापेको बेला म सीमापारि थिएँ भनेर तपाइँले फेरि जनतासँग भोट संकलन गरौला भन्ने आशा गर्नुभएको छ भने त्यो व्यर्थ हुनेछ । चित्त बुझ्दो जवाफ दिन नसक्नु भएन भने म पनि हजुरलाई कसरी मतदान गरुला र ? म जस्ता हजुरलाई मतदान गर्नेहरु निकतष्ट होइन तथष्ट बसे भने हजुरको राजनीति के होला अनुमान गर्नुहोला ।

अन्तमा, लेख्दा लेख्दै धेरै लेखेकी जस्तो लाग्यो । तपाइँलाई पनि पढ्न झण्झट लाग्ला । छिटै सञ्चो भएर नगर फर्केको हेर्ने हाम्रो चाहना पूरा होस् । पदको दुरुपयोग गर्ने कार्यहरु रोकिउन् । इन्जिनियरले निर्माण सम्पन्न गर्ने, जग्गाधनीले भत्काउने र कार्यकारी अधिकृतले स्वीकृति दिने कार्यहरु बन्द होओन् । अझै पनि समय छ वीरेन्द्रनगर साँच्चिकैं कर्णालीको राजधानी वीरेन्द्रनगर जस्तो बन्न सकोस् । शुभकामना ।

हजुरको शुभचिन्तक
बलिराज रोकाया