Loading... आजः २८ श्रावण २०७७, बुधबार । Wednesday 12th August 2020
Trending:

विद्यालय खोल्ने मुर्खता र कर्णालीमा गर्नुपर्ने कार्य

यतिबेला विश्व कोरोना भाइरसका कारण आक्रान्त बनेको छ । नेपालमा कोरोना छिरेपछि निकै लामो समयसम्म कर्णालीमा देखा परेको थिएन । लकडाउन भएको लामो समयसम्म पनि कर्णाली गी्रनजोनमै रह्यो । तर रोजगारीका लागि भारत गएका कर्णालीका नागरिकहरु सीमाक्षेत्रमा आइपुगेपछि उनीहरुलाई उद्दार गरेर कर्णाली भित्र्याइयो । उनीहरुलाई कर्णाली ल्याउन आवश्यक थियो । तर त्यो पूर्ण सावधानीका साथ ल्याउनु पर्दथ्यो । उनीहरुलाई ल्याइसकेपछि तुरुन्त परीक्षण गर्नुपर्दथ्यो । तर त्यसो नगरि सरासर घर पढाइदिने असावधानी जुन देखियो त्यसले कर्णालीमा अब महासंकटको पैदा भयो । भारत लगायतका स्थानहरुबाट आएका र ल्याइएकाहरुलाई अहिले क्वारेन्टाइनको नाममा कहाँ र कसरी राखिएको छ भन्ने कुरालाई प्रदेश सरकार र स्थानीय सरकारले समेत आंकलन गर्न आवश्यक छ ।


बाहिरबाट आएकाहरुको उचित परीक्षण र व्यवस्थापन गर्न नसक्दा अहिले दिन दुगुना र रात चौगुना फैलिरहेको कोरोना नियन्त्रण गर्नका लागि कुनैपनि शक्तिले काम नगर्ने समय आउन थालिसक्यो । यस्तो भयावह अवस्थामा सरकार र सरोकारवाला निकाय समेतले विशेष ध्यान जरुरी छ । अझैँ पनि धेरै गर्न सकिन्छ । कोरोनाबाट बच्न र बचाउनका लागि अझै पनि धेरै उपायहरु अवलम्बन गर्न सकिन्छ । त्यसका लागि सरकारलाई मात्र दोष दिएर पनि पुग्दैन । नागरिक पनि सचेत हुनु आवश्यक छ तर सरकारले पनि उचित व्यवस्थापन र जिम्मेवारी निर्वाह गर्न आवश्यक छ ।

केही विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने अनि केही विद्यालय संचालन गर्ने योजना बनाइयो भने त्यो भन्दा खतरा केही पनि हुन सक्दैन । खास गरि नीजि विद्यालयहरुले आर्थिक लोभलालचका कारण यस्तो कुरा गरिरहेका छन् भने अर्कोतिर सरकारमा बस्नेहरुले पनि रात रहे अग्राख पलाउँछ भन्ने कुरालाई बुझेर अगाडि बढ्नु पर्ने देखिन्छ । एक वर्ष विद्यार्थीले पढ्न पाएनन् भने फरक नपर्ला तर क्वारेन्टाइन बनाइएका विद्यालयहरुमा विद्यार्थी र अभिभावकलाई भेला पारेर महामारीको आगोमा घिउ थप्ने काम नहोस् । यस्तो गल्ती गरियो भने भविष्यमा पछुतो मानेर हुने छैन भने क्षमा मागेर क्षमा पनि पाइने छैन भन्ने कुरालाई ध्यान दिइयोस् ।

बैकल्पिक रुपमा कक्षा संचालनका कुरा भइरहेको छ । यो कति सम्भव छ भन्ने कुरालाई आंकलन पनि गर्न नसक्नेहरु शिक्षा विदको रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन् । यो भन्दा लज्जाजनक अरु के हुन सक्छ । विदेशी राष्ट्रहरुका कुरा नगरौं । हाम्रै कर्णालीको बारेमा सोच्ने हो भने दुर शिक्षा प्रणाली कति प्रभावकारी होला त्यसको मात्र अनुमान गरियो भने पनि एकातिर विद्यार्थीको मानसिकतामा पढ्न नपाएको नकारात्मक असर पर्न सक्छ भने अर्कोतिर अभिभावकलाई आर्थिकदेखि मानसिक भार समेत पर्ने निश्चित छ । शिक्षालाई व्यापारको रुपमा प्रयोग गर्न थालिएको त उहिल्यै देखि हो । मानव महामारीले महासंकट निम्त्याएको समयमा पनि शिक्षा माथि व्यापार गर्न नछोड्नेहरुले मानवीयता गुमाएका छन् ।

कर्णाली आफैमा दुर्गम छ । अहिलेपनि फोन गर्नका लागि मोवाइल बोकेर रुख चढ्नु पर्ने कर्णालीका गाउँमा बस्ने विद्यार्थीलाई अनलाइनबाट पढाउँछौ भन्नु हास्यास्पद मात्र होइन लज्जास्पद पनि छ । टेलिभिजन र रेडियोबाट अनलाइन कक्षा संचालन गर्छौ भन्नु अभिभावकबाट आर्थिक असुल्छौ भन्नु बाहेक अरु केही हुँदै होइन ।

यस्तो अवस्थामा अभिभावक र विद्यार्थी पनि सचेत हुन जरुरी छ । अभिभावकले आफ्ना बच्चाहरुलाई विद्यालय पठाउनु हुँदैन भने विद्यार्थी पनि विद्यालय जानु हुँदैन । एक वर्ष पढ्न र पढाउन पाइएन भने बाँचिएला तर क्वाइन्टाइन बनाइएका हुन् वा नबनाइएका हुन् विद्यालयमा पठाइयो र गइयो भने कोरोनाले विद्यार्थी मात्र होइन ती विद्यार्थी मार्फत अभिभावक पनि बाँच्ने कि नबाँच्ने भन्ने अवस्थाको सिर्जना हुन्छ । यसैले आर्थिक चलखेलका लागि विद्यालय खोल्ने मुर्खता नगरौं ।
के गर्नु पर्छ कर्णालीमा

यो देशमा विभिन्न आन्दोलनहरु भए । राजनीतिक परिवर्तनहरु भए । शाहवंशीय शासनको अन्त्य भयो । नेताहरु बदलीय । जनताको दिनचर्या कहिल्यै बदलिएन । राणाकालदेखि प्रजातन्त्र, पञ्चायत हुँदै लोकतन्त्र गणतन्त्र आयो । देशमा संघीयता आयो । जनताका प्रतिनिधिले बनाएको संविधान समेत आयो । तर जनताका समस्याहरु समाधान हुने दिन कहिल्यै आएन । जनताका दुःख बुझ्ने सरकार अहिलसम्म आएको छैन । नेताका चाकडी गर्नेहरुको दैनिकीमा परिवर्तन आएपनि तिनलाई सिंहदरबारमा पु¥याउन भोट दिनेहरु अहिलेपनि खाडी र मलेशिया रुपी भोटमा जान बाध्य छन् । यो सबै गरिबीको उपज हो ।

कर्णालीकै कुरा गर्ने हो भने कर्णाली आफैमा सुन्दर छ । भौगोलिक विविधता भित्रको सुन्दरतालाई प्रदेश र स्थानीय सरकारहरुले तीन वर्ष वितिसक्दा पनि बुझ्न सकेनन् । काठमाडौंको सिंहदरबारले त कर्णालीलाई कहिले बुझेको थियो र । भेरी र कर्णाली नदीबाट बिजुलीको उत्पादन गरेको भए नेपालकै गरिबी हट्थ्यो होला । कर्णालीका स्याउ विदेशी बजारमा पु¥याउन सकेको भए आज धने, बले, श्याम र रुपलालहरु दुई छाक टार्नकै लागि विदेश पलायन हुनु पर्दैनथ्यो । रारालाई सिंगार्न सकेको भए होली वाइनको घुट्कोसँग डलर साट्नु पर्दैन्थ्यो । हर्रो, बर्रो र अमलालाई प्रशोधन गर्न सकेको भए भारतीय मुद्राको आर्जन गर्न महाकाली सम्झौतामा हस्ताक्षर गर्नु पर्दैनथ्यो । यार्सागुम्बाको संरक्षण, प्रशोधन र उचित पैठारी गर्न सकेको भए एमसिसि भित्र्याउन मरिहत्ते गर्नु पर्दैनथ्यो । कर्णालीमा भएको खेती योग्य जमिनलाई मात्रै आवादी गर्न सकेको भए रोजगारका लागि भौतारिनु पर्दैनथ्यो भने अर्कोतिर भारत र चीनसँग चामल, दाल, तेल र अचारका लागि हात फैलाउनु पर्दैनथ्यो । हुम्ला र डोल्पामा चौरी र च्याङ्ग्राको व्यावसायिक पशुपालन गर्न सकेको भए भारतबाट ट्रकका ट्रक दूध र राँगा भैसी ओसार्नु पर्दैन्थ्यो । स्वार्थी, अदूरदृष्टि भएका नेताहरु र लोभ लालचमा परेका कर्मचारीहरुका कारण आज पनि कर्णालीमा गरिबीको गन्ध हट्न सकेको छैन ।

हाम्रो कर्णाली संस्कृतिमा कति धनी छ भन्ने कुरालाई अड्कल नै गर्न नसक्नेहरुको जमातले गर्दा आज घाटु, पैसेरी, टप्पा, सिंगारुहरु ओझेलमा परेका छन् । विकास गर्नु भनेको बाटो र पुल बनाउनु हो अझ भनौं आफ्ना कार्यकर्ताहरुलाई पोस्नु हो भन्ने सम्झने नेताहरुका कारण कर्णालीमा गरिबीको गन्ध हट्ने संकेत छैन ।

सामाजिक रुपमा भएको एकतालाई विगार्नका लागि जातीय, भेकिय र धार्मिक रुपमा समेत विभाजनको सीमारेखाहरुले हामीलाई कहिल्यै माथि उठ्न दिएको छैन । जातीयताको विउ रोप्नेहरुले अहिले पनि सुख र शान्तिले बाँच्न दिएका छैनन् । सामाजिक सद्भावलाई खल्बल्याएका छन् । एकातिर जातीयता नै छैन सबै समान हुन् भन्ने अर्कोतिर संविधानमै दलित र गैरदलितको कुरालाई उल्लेख गरेर सामाजिक विखण्डन गर्नेहरुले समानताका नारा लगाइरहेका छन् । गाउँमा बस्नेहरुको चेतनाको स्तर विकास गर्नका लागि अनेक कानूनको निर्माण गर्नेहरुले आफ्नै चेतनाको स्तरमा विकास गर्न सकेका छैनन् ।

साँच्चै भन्ने हो भने अहिलेको शासन व्यवस्थाले आर्थिक विकास कसका लागि र के का लागि गरिरहेका छन् । करको दायरा बढाएर जनताको ढाक सेक्दै करोडौका गाडिमा हुइँकिदैमा आर्थिक क्रान्ति हुन्छ ? शिक्षा, स्वास्थ्यसँगै गास, बास र कपासलाई मौलिक हकमा उल्लेख गर्नेहरुले कोरोनाको महामारीमा आफ्ना जनतालाई पुग्ने गरि अस्पतालको व्यवस्थापन गर्न नसक्नु लाचारिपन होइन ?