Loading... आजः १६ चैत्र २०८०, शुक्रबार । Friday 29th March 2024

महिला माथि हेर्ने दृष्टि

हरेक मानिसको फरक–फरक आन्तरिक क्षमता हुन्छ । अवसर पाएमा उजागर पनि हुन्छ । आफू प्रस्फुटन हुने क्रममा कोहि राजनीतिमा कोहि शिक्षामा, कोहि साहित्यमा, कोहि स्वास्थ्यमा, कोहि अन्य सामाजिक कार्यमा लागेकै हुन्छ ।


पहिलाको तुलनामा अहिले महिला दिदी बहिनीहरु धेरै सक्रिय भएर लाग्नु भएको छ । तर महिला माथी कुपात्र पुरुषले देखाउने व्यवहारले हरेक क्षेत्रमा महिलालाई जोगिएर प्रस्तुत हुन अति असजिलो भएको छ । आफ्ना छोरी, बुहारी, नातिनी जस्ता मान्छेसँग मैले कस्तो व्यवहार गर्नुपर्छ भन्ने चेतना नभएका गोबर वरिष्ठहरुले हरेक क्षेत्रमा महिलालाई अन्याय गरिरहेका छन् ।

आफ्ना छोरी बुहारीलाई अरुले गरेको कतिसम्म व्यवहार खप्न सकिन्छ ? त्यो भन्दा बढी आफुले पनि गर्नु हुन्न भन्ने सोच किन नआएको होला ? त्यस्ताको औकात कति भन्ने मुल्यांकन अरुले पनि गरेकै हुन्छन् । सोझै भन्न नसके पनि समाजमा मुल्यांकन अवश्य भएकै हुन्छ । अन्याय गर्नु भनेको बलात्कार गर्नु मात्र होइन । बोलीवचन, शब्द प्रहार , नजर प्रहार आदिबाट पनि बलात्कार गरिरहेका छन् ।

फुर्क्याउने, फकाउने अनि उचाईमा पु¥याउछु भनेर लालच देखाउने विभिन्न आश्वासन मार्फत अपराधिक काम गरिरहेका छन् । महिलाले पनि आफू अरुको खुट्टामा टेकेर उचाई पुग्ने सपना देख्नु हुन्न । अन्याय खपेर होइन अन्यायसँग लडेर अगाडि बढ्नु पर्छ ।

कामुक मान्छे साहित्यमा लाग्छन भन्ने सोच भएका मान्छे भेटियो । हरेक मानिसमा जैविक गुण हुन्छ । साहित्य बाहेक अन्य क्षेत्रमा लाग्नेहरु निर्जीव त हैनन् होला । सबै स्वस्थ मानिस कामुक त हुन्छ । तर कामुक हुने पनि स्थान र सिमा हुन्छ । सबैलाई सबै ठाउँमा गलत देख्नु र सोच्नु आफ्नै मानसिक कमजोरी हो । कोही खुलेर गलत काम गर्दैनन् । खुल्नेहरु सहि हुन्छन् । गलत काम लुकेर गरिन्छ । सच्चा साहित्यकारहरु कलमको माध्यमबाट शब्द मार्फत आफ्ना र समाजका विभिन्न कुरा प्रस्तुत गर्छन । शब्द खेल्छन्, शब्द ओछ्याउछन, शब्द ओड्छन । हरेक कुरा शब्दमै पस्किन्छन् ।

नेपाली भाषा, साहित्य र कला, संस्कृतिले नेपाललाई नै धनि बनाएको छ । हामीले आफ्नो भाषालाई त्यति माया गर्दछौ जति माया जन्मभूमि र जन्मदिने जननीलाई गरेका हुन्छौ । नेपाली साहित्यमा लाग्नेहरु सबैलाई कामुक देख्नु दृष्टिभ्रम हो । यो दृष्टिभ्रमलाई बेलैमा भंग गर्न जरुरी छ । नेपाली साहित्यका चर्चित लेखिकाहरु पारिजात हुन् या मदन पुरस्कार प्राप्त पछिल्लो पुस्ताका लेखिका निलम कार्की निहारिका हुन् । नेपाली पत्रकारिता क्षेत्रमा लागेका बबिता बस्नेत हुन् वा सगरमाथाको विजय गर्ने पासाङ्ग ल्यामु शेर्पा हुन् । के उनीहरु कामुकताका कारणले यस क्षेत्रमा लागेका हुन् ? नेपाली भाषा, साहित्य, सञ्चार र आरोहणको क्षेत्रमा आफ्नो उच्च कद निर्माण गर्नका लागि लागेको यी महान नारीहरुको बारेमा गहन अध्ययन गर्न आवश्यक छ अनावश्यक बक–बक गर्नु अगाडि ।

साहित्यको कुरा मात्र होइन महिला र पुरुष सबै क्षेत्रमा हुन्छन् । जो खुल्छ त्यो सँग डराउनु पर्दैन् । जो लुक्छ त्यो सँग मात्र शंका हुन्छ । बिरालो कसैको अगाडि गएर म्याउँ ग¥यो भन्दैमा बिरालोको श्रीमती बिरालो श्रीमान पनि हुँदैनन् । तर नजिक हुँदाको चरित्र नियाल्नु पर्छ ।
बिरालो भातको लागि नजिक आएको हो कि कामुक भएर आएको त्यो पनि बुझ्नु पर्छ । कामुक त बिरालो पनि हुन्छ तर सबैसँग हुन्न । उसको पनि आफ्नै स्थान छ । त्यसैले हरेक कुरामा सकारात्मक व्यवहार गर्न र सोच्न जरुरी छ ।

जसले महिला दिदिबहिनी माथी गलत शब्द, गलत सोच राख्नु हुन्छ नि त्यो भोग्ने महिलाले आफू जस्तै अर्कोलाई पनि सुनाएकै हुन्छ । त्यसको मुल्यांकन भएकै हुन्छ । इज्जत कमाएर मात्र पुग्दैन, जोगाउन पनि सक्नु पर्छ । नामले मात्र म ठूलो हुँ भनेर हुन्न काम र व्यवहार पनि उच्चतहको हुनुपर्छ । गिद्द जति उचाइमा पुगे पनि सिनो नै हेर्छ । त्यस्तै गिद्द हुने कि विवेकशील मानव हुने आफुमा भर पर्छ ।

पंक्तिकारले यी शब्दहरु पोखिरहँदा विवेकशीललाई अन्याय परेको भान हुन सक्छ । तर पछिल्लो समयमा समाज यति खुल्न थाल्यो कि महिला र पुरुषका बीचमा के कस्तो सम्बन्ध बनाउनु पर्छ भन्ने हेक्कालाई बिर्सेर केवल शारिरीक सम्बन्धको कुरालाई मात्र जोडेर हेर्ने नजरले गर्दा आज धेरै चेलीहरुको इज्जत लुटिएको छ । उनीहरु मर्नु न बाँच्नुको अवस्थामा पुगेको छन् । त्यसको जिम्मेवार कुदृष्टिले भरिएको पुरुषवादी सोच हो । जुन सोचले अहिले पनि महिलाहरु अझैँ पनि चुलो चौकोमा बस्न बाध्य भएको हेर्न चाहान्छ । परिवर्तनका ठूल्ठूला हाँक दिनेहरु र समाजको ऐना हो भन्नेहरुले नै महिलालाई केवल खेलौनाको रुपमा अंकित गरेको थुप्रै उदाहरणहरु छन् । जसले गर्दा महिला अझैँ पनि स्वतन्त्र रुपमा जीवन यापन गर्नबाट बञ्चित हुनु परेको छ ।

दाजुभाइ, काकाबाबा, आफन्तदेखि साथीसंगी समेतबाट सुरक्षाको प्रत्याभूति गर्न नसक्ने अवस्था रही रहने हो भने एकदिन पुरुषवादी सोचले भयंकर मूल्य चुकाउनु पर्नेछ । अझ भन्ने हो भने यस्ता लगत सोचको अन्त्य गर्न नसक्ने हो भने महिला बाध्य भएर देवीको रुप धारण गर्दै एउटा भयानक नरसंहारमा उत्रनु बाध्य हुनुपर्नेछ । त्यस्ता नरपिचास सोच भएकाहरु बेलैमा नसच्चिने हो भने भोली नामै तोकेर तिम्रा यथार्थतालाई बाहिर ल्याउन नारी बाध्य हुनेछन् भन्ने कुराको हेक्का रहोस् ।