Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

सपना

घ्वार्र गाडि स्टार्ट भइसकेपछि एकैपछिमा ट्वाँ–ट्वाँ हर्न बजाउँदै आफ्नो गन्तव्यतिर अगाडि बढ्छ । त्यही गाडिको हर्न जस्तै गरि कराउँदै र बाआमा, भाइ बहिनी, श्रीमती र छोराछोरीलाई अंगालो हालेर रुन मन छ मलाई पनि । मेरो शक्ति भएको भए त्यो गाडिलाई अगाडि जानबाट रोकिदिने थिएँ तर के गर्नु मेरो सामथ्र्यले नै भ्याउँदैन । त्यही गाडिको गतिसँगै सबैसँग छुट्टिनु परेको छ मैले ।


आफ्नो गन्तव्य भेट्नका लागि अगाडि बढिरहेको गाडि रोकिन्छ, छिन्चुमा । केही यात्रुहरु ओर्लिन्छन् उक छिनका लागि । तर मलाई भने ओर्लिनै मन छैन । पानीपुरी हजुर, अमिलो पिरो, खट्टो । एउटा मधेशी कराइरहेको हुन्छ । उसले आफ्नो व्यापार गरिरहेको छ । तर मलाई भने कुनै मतलब छैन । म आफ्नै धुनमा छु । खाडीको यात्राको लागि गाडिमा बसेको यो पहिलो पटक हो । मेरो मन एक तमासको भएको छ । साँच्चिकै सदाका लागि सबैसँग छुट्टिएको जस्तो पो भएको छ ।

विभिन्न घुम्तिहरु पार गर्दै भोलिपल्टको विहानैसँगै राजधानीमा पुग्छु म । राजधानी मेरो लागि नौलो थिएन । तर पनि म नौलो शहरमा जाने योजनाका साथ मनको बताससँग उडिरहेको थिएँ । त्यसैले पनि काठमाडौं मेरा लागि नौलो जस्तो लागेको होला ।

ऋण काढेर ल्याएको पैसाको बिटो म्यानपावरको टेबलमा बिना रसिद र बिना भरपाई राखेपछि भोलिपल्टको लागि मेरो खाडिको यात्रा तय भएको थियो । मन एकातिर उत्साह र अर्कोतिर निराशाले भरिएको छ । आजको दिन काठमाडौंका विभिन्न गल्लीहरु घुम्दै विताइदिएँ मैले ।

विहान सूर्यले आफ्नो साम्राज्य जमाउनु भन्दा अगाडि नै मलाई निद्रादेवीले साथ दिन छोडिसकिन् । घरमा खुबै झक्झकाएर उठाउनु पथ्र्यो मलाई । यतिधेरै फरक हुँदोरहेछ घर र बाहिरमा ।

हिन्दुहरुका आराध्यदेव भगवान पशुपतिनाथको दर्शनका लागि म गौशालाको लागि गाडि चढे । गाडिले मलाई गौशालामा ओराली दियो । पुशपतिनाथको दर्शन पछि मनदेखि भेटी चढाउन खल्ती छामे । रित्तो थियो मेरो खल्ती । पाकेटमारले कतिबेला हो उछिट्याइसकेछ मेरो पर्श । सायद यहीबाट मेरा दुःखका दिन सुरु भए ।

यो काठमाडौं साँच्चिकै चोर काठमाडौं रहेछ । आफ्नाहरुसँग छुट्टिएर आएको एउटा निर्दोषको खल्ती समेत बाँकी नराख्ने । कुनै समयमा सुनेको कथा जस्तै लाग्ने पाकेटमारको समाचार आज आफैले भोग्नु परेकोमा नराम्रो लाग्यो । पशुपतिनाथलाई ५ रुपैयाँ भेटीसम्म चढाउन नपाइँ फर्किए म ।

त्यसपछि मलाई अघिल्लो रात आश्रय दिने होटेलमा पुगे । साहुजीसँग आफ्नो यथार्थता सुनाए । धन्न होटलबास खर्च अघिल्लो दिन नै बुझाइसकेको समस्यामा पर्नु परेन मैले । गौशालादेखि गंगबुसँग हिड्दै आएको थिएँ म । मनको हुरिबतासले मलाई आफ्नै गाउँघर र आफ्नै परिवारसँग पु¥याईरहेको थियो । तर पनि मनमा बोकेका अनेकौं सपनाले मलाई खाडि जानका लागि प्रेरित गरिरहेका थिए ।

घडीले दिउँसोको २ बजायो । झोलाभरि सामान र मन भरी कल्पनाको भारी बोकेर म लम्किए मेनपावर तिर । मैले दिएको पैसाको विटोको बदलामा म्यानवापरको म्यानेजरले मेरै पासपोर्ट, एक थान जहाजको टिकट र चार पाना कागज थमाइदियो । मैले त्यसै पन्ध्र – अठार ठाउँमा सहीछाप गरे हुँला । त्यहाँ लेखिएका सबै वाक्यांश पढ्ने फुर्सद र जांगर दुबै थिएन मसँग । उसले दिएका सल्लाहमा सही थाप्दै म त्यहाँबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तर्फ रमाना भएँ ।

एअरपोर्टसम्म जानका लागि गाडि भाडा नभएको कुरा पनि भन्न सकिन मैले । बरु हिडरै पुग्ने योजना बनाए । मसँगै जाने साथीहरु म भन्दा अगाडि गैसकेका रहेछन् । एउटा झापाको सतार र अर्को सप्तरीको महतो । अनुहारले त चिन्दैनथे म उनीहरुलाई र उनीहरु पनि मलाई । तरपनि पुग्नु पर्ने गन्तव्यमा पुगेपछि अवश्य भेटघाट होला । चीनजान होला भन्ने विश्वास संगाले मनमा ।

पहिलो पटक एअरपोर्टमा पुगेपछि म सोध्दै – सोध्दै बोर्डिङ्ग पास बनाउँछु अनि त्यहाँका कर्मचारीहरुले भने झँै अगाडि बढ्छु । चेकिङ्ग सिध्याउँदै अन्तिम गेटमा पुग्छु म । मेरो आँखाले बाहिर जहाज देखिरहेका थिए । यति ठूलो जहाज । मेरो मनमा यति ठूलो जहाजमा उड्न पाइने रहर पनि पलाएको छ ।

अन्तिम चेक पोइन्टमा फेरि एउटा प्रहरीले मेरो झोला देखाउन आदेश गरे । मैले आफ्नो झोला खोले । मेरो झोलामा एउटा आधा प्रयोग गरेको र एउटा नयाँ कोलगेट थियो । उता पुगेपछि तुरुन्तै कहाँ किन्नु भनेर आमाले झोलामा हालिदिएको नयाँ कोलगेट । ती प्रहरीको आँखा त्यसैमा परेछ । हुन त त्यो अवैध पनि होइन । नेपाल सरकारले लैजान निधेष गरेको सामान पनि होइन । कुनै भन्सार छलेर ल्याएइको पनि होइन । तर ती प्रहरीले दुईवटा कोलगेट लिन नपाइने भनेपछि म नराम्रोसँग झस्किएँ ।

मलाई मेरो जन्मदेखिको रिस उठेर आयो । आफ्नो रिस पोख्नका लागि चिच्याउन मन लाग्यो । तर केही गर्न सकिन । किनकी म निरिह जस्तै भएको थिएँ । एकछिन त किन लिन नपाउनु भनेर प्रतिपाद गर्न खोजे । ‘तपाइँ धेरै ठूलो कुरा नगर्नु फेरि उड्न नपाइएला’ भनेपछि म कक्रक्क परेको थिएँ । मेरी आमाले माया गरेर मेरो झोलामा राखिएको कोलगेट उसले लैजान खोज्यो । मैले नलगिदिन अनुरोध गरे । त्यसको बदलामा उसले खाजाका लागि भन्दै ५० रुपैयाँ माग्यो । त्यसदिन थाह भयो मलाई पुलिसको नियत कतिसम्म गिरेको हुँदोरहेछ भन्ने । उसलाई दिनका लागि ५० रुपैयाँ नभएको हुँदा मैले पनि त्यो कोलगेट खोलेर त्यहाँको डस्टविनमा निचोरी दिएँ, कागती निचोरे जस्तै । टन्टै साप । पुलिस हेरेको हे¥यै । त्यसपछि उसले मसँग केही बोलेन ।

जहाज चढियो । सम्झिएँ, एकपटक आमाको माया अनि सबै घरपरिवारलाई । सम्झिएँ आफ्ना कूल देवतालाई र कामना गरे सुरक्षित यात्राको । एकैछिनमा उड्यो गल्फ एअरको जहाज बहराइनलाई गन्तव्य बनाउँदै । त्यही जहाजसँग उड्यौ हामीपनि । काठमाडौं विमानस्थललाई जहाजले छोड्दै गर्दा मेरो मनले मातृभूमिलाई ढोगिरहेको थियो । पशुपतिनाथसँग प्रार्थना गरिरहेको थियो । सोचिरहेको थियो आज म जुन ढंगले खाडिका लागि उडिरहेको छु अबको तीन वर्षपछि म नेपालका लागि यस्तै गरि उड्नेछु । तर त्यतिबेलाको मेरो उडाई अहिलेको भन्दा धेरै फरक हुनेछ ।

आज मेरो खल्ती रित्तो र मन गरुङ्गो छ तर त्यतिबेला मेरो खल्ती भरिएको हुनेछ, मन हलुका हुनेछ । आजको जस्तो घरबाटै ल्याएका लत्ता कपडा होइन सबै परिवारका लागि ल्याइएका नयाँ लुगाले मेरो लगेज भरिएको हुनेछ । आज म एअरपोर्टभित्र पस्दा जसरी एक्लै थिएँ तर तीन वर्ष पछि म भित्रिदा मलाई लिनका लागि मेरो आफन्तहरु आएका हुनेछन् । जहाजबाट ओर्लिएपछि म पहिलो पटक मेरो मातृभूमिलाई ढोग्नेछु । अरुहरुले पनि सायद त्यसै गर्छन होला । त्यसपछि म मेरी आमालाई ढोग्नेछु । आमाले आफ्नो न्यानोे अंगालोमा लिएपछि अलि अलि सुँकसुकाउनु हुनेछ । सायद मेरा पनि खुसीका आँसुहरु झर्नेछन् त्यतिबेला । त्यसपछि मलाई आफ्नो अंगालोमा बेर्नका लागि आतुर मेरी श्रीमतीको धैर्यताको बाँध फुट्नेछ । उनले हतार–हतार ढोग्नेछन् मलाई । उनका दुई पाखुरामा समाउँदै उठाउनेछु म । एउटा युद्ध जितेर आएको सिपाहीलाई पल्टनले गरेको जस्तै स्वागत हुनेछ, मेरो ।

एक्सक्यूज मी, एउटी अपरिचित महिलाको आवाजले झसंग भएँ म । जहाज आकाशमा उडिरहेको थियो । कहाँ पुग्यो मलाई केही थाह छैन । त्यो ४४ हजार फिटको उचाइँबाट हेर्दा धर्तीमा कतै झिलिमिलि बत्तिहरु बलिरहेका देखिन्थे । कतै भने अन्धकार । ती अपरिचित महिलाले मलाई एक गिलास कोक र एउटा स्यानविच दिइन । अरुलाई पनि त्यसरी नै बाँड्दै आइरहेकी थिइन । सबै आ–आफ्नै धुनमा खाइरहेका । मैले पनि मन लागि नलागि खाएँ ।

आफ्नै देशमा रोजगारीको सिर्जना नभएकोले हामी नेपाली युवाहरुले भोग्नै पर्ने वास्तविक यथार्थता हो यो । म मात्र होइन त्यो जहाज भित्र म जस्ता सयौं नेपालीहरु रोजगारीका लागि मेरो जस्तै मन र सपनाहरु बोकेर उडिरहेका थिए ।

चार घण्टा बढिको आकाश उडाइपछि हामी बहराइनको एअरपोर्टमा अवतरण गर्ने तरखरमा रहेछौ । विस्तारै विस्तारै जहाज धर्तीसँग नजिक हुन खोजिरहेको थियो । रातको समय भएकोले बाहिर बलिरहेका बत्ति र सडकमा गुडिरहेका गाडि बाहेक अरु केही देखिदैनथ्यो । पशुपतिनाथको अनुकम्पाले जहाज स–कुशल अवरण ग¥यो । विस्तारै ओर्लियौ हामी । अरुहरु जता जान्छन् म पनि त्यतै जानुको विकल्प थिएन, मेरा लागि ।

एअरपोर्टबाट बाहिर निस्किने ठाउँमा कसैले मेरो नाम लेखेको ठूलै कागज समातेर बसिरहेको थियो । ऊसँगै दुई जना झोला बोकेका मान्छेपनि थिए । हेर्दै थाह हुन्थ्यो उनीहरु नेपाली हुन् । मलाई मेनपावरको मान्छेले भने झैँ म पनि कोही मलाई लिन पो आएको छ कि भन्नेमा चनाखो थिएँ । त्यसपछि मैले जानी नजानी ठुटे अंग्रेजीमा बोले, ‘एक्सक्यूज मी, आइ एम फ्रम नेपाल ।’ ‘गिभ मि युओर पासपोर्ट’ उसलाई मैले पासपोर्ट दिएँ । उसले पासपोर्ट हेरेपछि मलाई आफूसँग आउन इशारा ग¥यो र अगाडि बढ्यो म पछि पछि । झापाको सतार र सप्तरीको महतोसँग त्यही चिनजान भयो । उनीहरु पनि मसँगै र म पनि उनीहरुसँगै त्यही अरबी मान्छेसँग गइयो ।

तीन वर्षको लागि मलाई जसले खरिद गरेको थियो, पुगें म त्यहाँ । एकातिर विदेश कमाउन आउन सकेकोमा खुसी र अर्कोतिर परिवार छोड्दाको आलो पीडा । म खुसी थिएँ या दुःखी मैले नै छुट्याउन सकिरहेको थिएन । जे होस् त्यसको भोलिपल्टदेखि मैले गर्नुपर्ने काम शुरु भयो । अब दैनिक १२ घण्टा काममा जोतिन थाले म । असारमा जोतिने गोरु जस्तै ।

महिना दिन वित्न मेरा लागि वर्षदिन जस्तै लामो अनुभव भएको छ । महिना दिन बितेपछि दैनिक १२ घण्टा दुःख गरेर काम गरेवापत हातमा ६ सय रियाल परेपछि एक पटक तिनै नोटहरुले आफ्नो निधारको पसिना पुछेको थिएँ मैले । घरमा सबै कुरा व्यवस्थित भएको र राम्रो काम पाएको खबर गर्न बाध्य भएको थिएँ म । जसले गर्दा मेरो घरपरिवारलाई सन्तोष लागेको थियो ।

दिन, महिना र वर्ष हुँदै तीन वर्ष वित्नै थाले । मन घर जानका लागि आत्तिएको थियो । अलि अलि गर्दै घरमा लैजाने सामानहरु किनिरहेको थिएँ मैले । एक वर्षको कमाईले मैले आफू विदेश आउँदा लगाएको ऋण तिरिसकेको थिएँ । दुई वर्षको कमाई त चोखो बचेको थियो । पठाइसकेको थिएँ आफूलाई चाहिने भन्दा बढि पैसा । अब त धेरै दिन बाँकी छैनन् । मन झन आत्तिन थाल्यो । भोली त नेपालका लागि साइत पो छ त । आज साँझ खाना खाइसकेपछि साथीहरुसँग भेटघाट गरेर निकै आनन्दको निद्रा सुत्ने योजनाका साथ एसीको चिसो हावा लिँदै म पल्टिएँ आफ्नो विस्तरामा ।